सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बंगलादेश क्रिकेट बोर्डको भविष्यबारे आईसीसीसँग परामर्श गर्ने तयारी

बिहीबार, ०५ चैत २०८२, १४ : ०६
बिहीबार, ०५ चैत २०८२

सारांश

  • बंगलादेशका खेलमन्त्री अमिनुल हकले बीसीबीको भविष्यबारे आईसीसीसँग परामर्श गर्ने बताए।
  • मन्त्री हकले टी-२० विश्वकपमा बंगलादेश सहभागी नहुनुको कारण पत्ता लगाउन अर्को अनुसन्धान समिति बनाउने बताए।
  • मन्त्रीले बीसीबी निर्वाचनमा अनियमितता भएको आरोपबारे छानबिन गर्न समिति गठन गर्ने कुरा उल्लेख गरे।

काठमाडौँ । बंगलादेशका खेलमन्त्री अमिनुल हकले आईसीसीसँग परामर्श गरेर मात्र बीसीबीको भविष्यबारे अन्तिम निर्णय लिने बताएका छन् । साथै, उनले यस वर्ष भारत र श्रीलंकामा आयोजना भएको पुरुष टी–२० विश्वकप मा बंगलादेश किन सहभागी हुन सकेन भन्ने विषयमा पनि अर्को अनुसन्धान समिति गठन गर्ने तयारी गरेका छन् ।

गत मार्च ११ मा खेल मन्त्रालयले बीसीबीको गत वर्षको निर्वाचनमा अनियमितता, हेरफेर र शक्तिको दुरुपयोग भएको आरोपबारे छानबिन गर्न समिति गठन गरेको थियो । यसप्रति बीसीबीले सरकारको हस्तक्षेप भएको भन्दै आपत्ति जनाएको थियो ।

पूर्व बंगलादेशी फुटबल कप्तान समेत रहेका मन्त्री अमिनुल हकले पाँच सदस्यीय समितिले १५ कार्य दिनभित्र प्रतिवेदन बुझाएपछि आईसीसीसँग छलफल गर्ने बताएका छन् । उनले अघिल्लो सरकारबाट बीसीबी निर्वाचनमा प्रत्यक्ष हस्तक्षेप भएको दाबी समेत गरेका छन् ।

निर्वाचनका क्रममा तमिम इकबाल सहित ढाका क्लबका अधिकारीहरूले निर्वाचनमा हेरफेर भएको आरोप लगाएका थिए । बीसीबी अध्यक्ष अमिनुल इस्लाम माथि पनि निर्वाचनअघि नै हस्तक्षेप गरेको आरोप लागेको थियो । अमिनुल इस्लामले केही जिल्लाका काउन्सिलर परिवर्तन गर्न खेल मन्त्रालयलाई पत्र पठाएको आरोप लागेको थियो भने तमिमले मनोनयन दर्ता गर्ने समय सीमा दुई पटक थपिएको दाबी गरेका थिए ।

तमिमले अक्टोबर १ मा आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए भने अमिनुल इस्लाम ले आरोप अस्वीकार गरेका थिए । मन्त्री हकले छानबिन समितिले निर्वाचन आयुक्त, वर्तमान अध्यक्ष, बोर्ड निर्देशक, सीईओ तथा जिल्लास्तरीय प्रशासकसँग पनि छलफल गर्ने बताएका छन् । कतिपय जिल्लामा पहिले नै मनोनयन गरिएका काउन्सिलरलाई पछि फेरि परिवर्तन गरिएको आरोपको पनि अनुसन्धान हुने उनले जानकारी दिए ।

यसैबिच, टी–२० विश्वकपमा सुरक्षा चिन्ताका कारण बंगलादेशले टोली नपठाएपछि आईसीसीले स्कटल्याण्डलाई प्रतिस्थापन गरेको थियो । यसबारे पनि सरकारले छुट्टै छानबिन गर्ने तयारी गरेको छ ।

‘हामी किन विश्वकपमा सहभागी हुन सकेनौँ भन्ने पत्ता लगाउनेछौँ । हाम्रो खेल कूटनीति किन कमजोर भयो भन्ने बुझ्न आवश्यक छ,’ मन्त्री हकले भने– ‘अब यस्तो गल्ती दोहोरिन नदिन खेल कूटनीति मजबुत बनाउनेछौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप