सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
रातोपाटी स्पेसल : इरान युद्धको नेपालमा प्रभाव

पश्चिम एसिया तनावले धर्मराउँदै वैदेशिक रोजगारी

युवाको सपना ‘होल्ड’, अर्थतन्त्रलाई ठुलो धक्का
शुक्रबार, ०६ चैत २०८२, १८ : ००
शुक्रबार, ०६ चैत २०८२

सारांश

  • पश्चिम एसियामा युद्धका कारण वैदेशिक रोजगारीमा जाने युवा प्रभावित, हजारौं स्वदेशमै रोकिन बाध्य।
  • रेमिट्यान्समा आधारित अर्थतन्त्रमा धक्का लाग्ने र दैनिक २.५ अर्ब रुपैयाँ गुम्ने जोखिम।
  • सरकारले उद्धारको नाममा चर्को शुल्क असुलेको आरोप, १७ लाख नेपालीको सुरक्षा चुनौती।

काठमाडौँ । पश्चिम एसियामा पछिल्लो समय चर्किएको युद्ध र तनावको प्रत्यक्ष असर नेपालको वैदेशिक रोजगार क्षेत्रमा पर्न थालेको छ । इजरायल, अमेरिका र इरानबिच सुरू भएको त्रिपक्षीय द्वन्द्वका कारण अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन् भने सुरक्षा जोखिम बढेपछि वैदेशिक रोजगारीको सम्पूर्ण प्रक्रिया पूरा गरेका हजारौँ नेपाली युवा स्वदेशमै रोकिन बाध्य भएका छन् । 

यसले एकातिर विदेश जाने तयारीमा रहेका युवाको सपनालाई ‘होल्ड’ गरिदिएको छ भने अर्कोतिर नेपालको रेमिट्यान्समा आधारित अर्थतन्त्रमा ठुलो धक्का लाग्ने निश्चित देखिएको छ । वैदेशिक रोजगारीको सिलसिलामा पश्चिम एसियामा रहेका लाखौँ नेपालीको सुरक्षा अवस्था र उनीहरूले पठाउने रेमिट्यान्समा निर्भर नेपालको अर्थतन्त्रमाथि अहिले संकटको बादल मडारिएको छ ।

नेपालबाट सामान्य अवस्थामा हरेक दिन वैदेशिक रोजगारीको लागि २ हजार ५ सय भन्दा बढी युवा बाहिरिने गरेका थिए । तर पश्चिम एसियामा भएको युद्धका कारण विशेषगरी संयुक्त अरब इमिरेट्स (यूएई), साउदी अरब, कतार, कुवेत र ओमानको वैदेशिक रोजगारी प्रभावित बनेको छ । वैदेशिक रोजगारीको सम्पूर्ण प्रक्रिया पूरा गरेर विभिन्न देशमा जाने तयारीमा रहेका करिब २० हजार भन्दा बढी नेपाली हाल स्वदेशमै रोकिएको मेनपावर व्यवसायीहरू बताउँछन् । 

उनीहरूका अनुसार खाडीका देशमा वैदेशिक रोजगारीमा जाने प्रक्रिया अहिले लगभग ठप्प जस्तै बनेको छ । व्यवसायीहरूले अहिलेको परिस्थितिलाई व्याख्या गर्दै भनेका छन्, ‘सुरक्षाका हिसाबले तत्काल कामदार पठाउन पनि हुँदैन । तर धेरैको सबै प्रक्रिया पूरा भएर भिसा समेत आइसकेको थियो । ऋण गरेर विदेश जान लागेका युवाहरू पश्चिम एसियाको तनावले रोकिनु परेको गुनासो गरिरहेका छन्, तर तत्काल पठाउने अवस्था छैन ।’

युद्धको सन्त्रासका कारण वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका नेपाली कामदारहरू नराम्ररी प्रभावित भएका छन् । सम्पूर्ण तयारी पूरा गरी भिसा समेत हातमा परिसकेका २० हजार नेपाली कामदार अहिले उड्न नपाई नेपालमै रोकिनु पर्दा उनीहरूको आर्थिक योजना भताभुङ्ग भएको छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष राजेन्द्र भण्डारीले पश्चिम एसियाको तनावले दैनिक सयौँ नेपालीले रोजगारीका अवसर गुमाइरहेको बताए । सामान्य अवस्थामा वार्षिक करिब साढे ३ लाख नेपाली कामदार खाडी मुलुक जाने गरेको र त्यसको मासिक औसत २५ हजार र दैनिक ८ सयदेखि ९ सयको हाराहारीमा नेपालीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने गरेको तथ्याङ्क छ । 

भण्डारीले पछिल्लो अवस्थाको विश्लेषण गर्दै भने, ‘अहिले दैनिक उड्ने ८ सय जनाको दरले हिसाब गर्दा पनि पछिल्लो २० दिनको अवधिमा १८ देखि २० हजार मानिस भिसा आएर पनि जान पाएका छैनन् । युद्ध लम्बिने जस्तो देखिएको छ, सुरक्षाको कारणले गर्दा अहिले नै कामदार पठाउन सक्ने अवस्था छैन । यसरी हेर्दा दैनिक ८ सय जनाले रोजगारी गुमाएको अवस्था छ ।’ 

उनका अनुसार रोजगारदाता कम्पनीहरूले अहिलेसम्म सम्झौता तोडेर कामदार फिर्ता पठाउने औपचारिक निर्णय गरिनसकेको भए पनि गन्तव्य मुलुकमा रहेका नेपाली कामदारहरू भने युद्धका कारण निकै त्रसित अवस्थामा छन् । सम्पूर्ण तयारी पूरा गरेर टिकट समेत काटिसकेका कामदारहरू नेपालमै रोकिँदा उनीहरूमाथि ब्याज र अन्य खर्चको झनै ठुलो आर्थिक भार थपिएको छ । भण्डारी भन्छन्, ‘अहिले त्यहाँ भएका मानिसलाई त उद्धार (रेस्क्यु) गर्नुपर्ने अवस्था सिर्जना भइरहेको छ भने यताबाट थप मान्छे पठाउने भन्ने कुरा हुँदैन । धेरै मानिस तयारी अवस्थामा भएर पनि अहिले वैदेशिक रोजगारमा जानबाट वञ्चित भई होल्डमा बस्न बाध्य छन् । यो पठाउने होइन, उद्धारबारे सोच्ने बेला हो ।’

अर्थविद् केशव आचार्य पश्चिम एसियामा देखिएको युद्ध र तनावका कारण नेपालको वैदेशिक रोजगारी र अर्थतन्त्रमा ठुलो धक्का लाग्ने चेतावनी दिन्छन् । नेपालमा भित्रिने कुल रेमिट्यान्सको झण्डै ५० प्रतिशत हिस्सा पश्चिम एसियाका देशहरूबाट मात्रै आउने र त्यहाँको अस्थिरताले नेपालको दैनिक आम्दानी नै रोकिन सक्ने विश्लेषण उनी सुनाउँछन् । आचार्यका अनुसार नेपालमा वार्षिक करिब १८ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिन्छ, जसअनुसार महिनाको १ खर्ब ५० अर्ब र दैनिक ५ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिने गरेको छ । 

उनी भन्छन्, ‘पश्चिम एसियाका खाडी मुलुकहरूबाट मात्रै ५० प्रतिशत रेमिट्यान्स आउँछ, जसको अर्थ हो– त्यहाँ युद्ध लम्बिएमा नेपालले दैनिक साढे २ अर्ब रुपैयाँ गुमाउनुपर्ने हुनसक्छ ।’ उनले पश्चिम एसियामा लामो समय युद्ध चर्किँदै गएमा उनीहरूको सुरक्षा र उद्धार नेपालका लागि ठुलो टाउको दुखाइ बन्ने बताए । आचार्यले अगाडि भने, ‘यदि स्थिति भयावह भएर १७–१८ लाख नेपालीलाई स्वदेश फर्काउनुपर्ने अवस्था आयो भने त्यसको उद्धार खर्च मात्रै अर्बौँ–खर्बौँ लाग्न सक्छ, जुन नेपालको वर्तमान आर्थिक क्षमताभन्दा बाहिरको कुरा हो ।’

रेमिट्यान्समा कमी आउँदा त्यसको प्रत्यक्ष असर नेपालको आन्तरिक बजारमा पर्ने आचार्यको तर्क छ । वैदेशिक रोजगारीमा गएकाहरूको परिवारले पाउने पैसा रोकिएपछि बजारमा खाद्यान्न, लत्ताकपडा र अन्य विलासिताका वस्तुहरूको माग घट्नेछ । यसले गर्दा नेपालको आन्तरिक व्यापार र चक्रिय अर्थतन्त्र नै सुस्त हुने र राजस्व संकलनमा समेत असर पर्ने देखिन्छ । त्यस्तै, श्रम आप्रवासन विज्ञ डा. जीवन बानियाँले पनि पश्चिम एसियाको तनावले नयाँ जानेहरूका लागि रोजगारीका अवसरहरू खुम्चिने बताएका छन् ।

उनले खाडी मुलुकमा कार्यरत नेपालीहरूको काममा पनि अनिश्चितता पैदा भएको हुँदा वैदेशिक रोजगारको क्षेत्र पूरै धर्मराएको बताए । बानियाँ भन्छन्, ‘तनावका कारण समयमै फर्किन नसक्दा कामदारको व्यक्तिगत खर्च बढ्ने र रोजगारदाताले पछि टिकटको व्यवस्था गर्छ कि गर्दैन भन्ने अन्योल हुन्छ । अहिलेको तुलनामा पछि हवाई टिकट महँगो हुन सक्छ, जसले श्रमिकमाथि थप आर्थिक भार पार्छ ।’

द्वन्द्वग्रस्त क्षेत्रबाट स्वदेश फर्किन चाहने नेपालीहरूका लागि पनि समस्या कम छैन । सरकारले कुवेत र कतार दुई देशमा रहेका नेपालीलाई साउदी अरब हुँदै नेपाल फर्किन सकिने विकल्प अघि सारेको छ । साउदीको हवाईमार्ग खुला नै रहेको अवस्थामा कुवेत र कतारबाट सडकमार्ग हुँदै साउदीसम्म जाने र त्यसपछि हवाई मार्ग हुँदै नेपाल फर्किने व्यवस्था मिलाइएको छ । कुवेत र कतारमा रहेका नेपाली दूतावासहरूले साउदीको पर्यटक भिसा मार्फत नेपालीहरूलाई उद्धारको व्यवस्था मिलाएका छन् । यसका लागि अनलाइन मार्फत साउदी अरबको भिसा लिन आह्वान गरिएको छ । 

कुवेतस्थित नेपाली दूतावासले कुवेतको रेसिडेन्सी वा सिभिल आईडी भएकाहरूलाई नेपाल फर्किन चाहे साउदीसम्म सडक मार्गबाट जान सकिने व्यवस्था मिलाएको जनाएको छ । तर स्वदेश फर्किन चाहने नेपालीहरूले भने सरकारले उद्धार गर्नुपर्नेमा उल्टै उद्धारका नाममा चर्को शुल्क असुल्ने काम गरेको आरोप लगाएका छन् । उनीहरूले रोजगारी समेत गुमेको पीडादायी अवस्थामा सरकारले नेपाल फर्किने बाटो त खुला गर्‍यो, तर त्यसको लागत अत्यन्तै महँगो भएको गुनासो गरेका छन् ।

कतारमा रहेका कपिल भण्डारीको व्यथा यसको ज्वलन्त उदाहरण हो । नौ महिनाअघि वैदेशिक रोजगारीको लागि कतार पुगेका उनी पश्चिम एसियाको तनावले गर्दा अहिले स्वदेश फर्कनु पर्ने बाध्यतामा छन् । उनले स्वदेश फर्कन सरकारले भने बमोजिम अनलाइन दर्ता त गरेका छन्, तर महँगो शुल्कका कारण उनी समस्यामा परेका छन् । भण्डारी आक्रोश पोख्दै भन्छन्, ‘खाने पैसा नभएका बेला यति महँगो शुल्क तिरेर नेपाल जान सक्ने अवस्था छैन । गरिब जनताले विदेशमा गएर खाइनखाई महिनामा २०–३० हजार कमाउने तर आउन ५० हजार रुपैयाँ तिरेकोमा अहिले फर्कन १ लाख १० हजारसम्मको टिकट काट्नुपर्ने ? यो त उद्धारका नाममा लुट्ने प्रयास हो ।’

युद्ध सुरू भएदेखि रोजगारी गुमेको र आफ्नो पैसा तिरेर बस्नु पर्ने बाध्यता रहेको गुनासो धेरैको छ । पूर्वअध्यक्ष भण्डारीले पनि कतार, दुबई लगायतका देशबाट नेपाल आउन टिकट पाउनै मुस्किल रहेको र कतार एयरवेज वा दुबईबाट आउँदा टिकट निकै महँगो भएको पुष्टि गरे ।

परराष्ट्र मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार पश्चिम एसियाका देशहरूमा हाल १७ लाख २९ हजार २ सय ८८ नेपाली कार्यरत छन् । इरान, यूएई, साउदी अरब, कतार, कुवेत, इराक, बहराइन, ओमान, साइप्रस, इजरायल, लेबनान र इजिप्टमा नेपालीहरू छरिएर रहेका छन् । हाल इरानमा भने जम्मा ६ जना नेपाली मात्र रहेको तथ्याङ्क छ । इरानले खाडी मुलुकमा रहेका अमेरिकी सैन्य क्याम्पहरूमा मिसाइल तथा ड्रोन आक्रमण जारी राखेकाले द्वन्द्व तत्काल रोकिने संकेत देखिएको छैन ।

यसै जोखिमलाई मध्यनजर गर्दै सरकारले फागुन १७ गते मन्त्रिस्तरीय निर्णयबाट खाडी तथा इजरायल, टर्की लगायतका ११ देशमा श्रम स्वीकृति स्थगन गरेको थियो । तर पछि बिदामा आएका श्रमिकको मर्कालाई ध्यानमा राख्दै साउदी, यूएई, कतार, ओमान, यमन, जोर्डन र टर्कीमा पुनः श्रम स्वीकृति खुला गरिएको छ । यद्यपि इरान, इजरायल, बहराइन, कुवेत, इराक र लेबनानमा भने अझै पनि श्रम स्वीकृति र नवीकरण स्थगन नै राखिएको छ ।

यति ठुलो तनाव र अनिश्चितताका बिच पनि वैदेशिक रोजगारीमा जाने नेपालीको विवशता भने रोकिएको छैन । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार फागुन महिनामा मात्रै ५२ हजार ९ सय ४४ जनाले श्रम स्वीकृति लिएर विदेशिएका छन् । यसरी हेर्दा पश्चिम एसियाको असरले नेपालले एकातिर स्वदेशमै रोकिएका हजारौँ युवाको व्यवस्थापन गर्नुपर्ने चुनौती थपिएको छ भने अर्कोतिर विदेशमा रहेका १७ लाख भन्दा बढी नेपालीको सुरक्षा सुनिश्चित गर्दै सम्भावित आर्थिक मन्दीबाट देशलाई जोगाउनुपर्ने गम्भीर दायित्व राज्यसामु खडा भएको छ । पश्चिम एसियाको यो युद्ध केवल दुई देशबीचको लडाइँ मात्र नभई नेपालको अर्थतन्त्र र लाखौँ परिवारको भविष्यसँग जोडिएको संकट बनेर देखा परेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अनिष मिजार
अनिष मिजार
लेखकबाट थप