सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

एनआरएनएको प्रतिनिधिमण्डल र परराष्ट्रमन्त्रीबिच भेटवार्ता

शुक्रबार, ०६ चैत २०८२, १८ : २८
शुक्रबार, ०६ चैत २०८२

सारांश

  • नवनिर्वाचित एनआरएनए अध्यक्ष डा. हेमराज शर्मा नेतृत्वको टोलीले परराष्ट्र मन्त्रीसँग भेटघाट गरेको छ।
  • भेटमा एनआरएनए र सरकारबीचको सहकार्य सुदृढ बनाउने र गैरआवासीय नेपालीहरूको हित प्रवर्द्धन गर्ने विषयमा जोड दिइयो।
  • एनआरएनएले मध्यपूर्व क्षेत्रको बैठकको निर्णय प्रतिवेदन बुझाउँदै, आपतकालीन राहत कोषका लागि १ करोड रुपैयाँ सङ्कलन गरेको जानकारी गरायो।

काठमाडौँ । नवनिर्वाचित अध्यक्ष डा. हेमराज शर्मा नेतृत्वको गैर आवासीय नेपाली सङ्घ(एनआरएनए)को प्रतिनिधिमण्डलले काठमाडौँस्थित सिंहदरबारमा परराष्ट्र मन्त्रीसँग शिष्टाचार भेट गरेको छ । उक्त भेटवार्तामा विश्वभर रहेका नेपाली डायस्पोराको हित प्रवर्द्धनमा एनआरएनए र नेपाल सरकारबिचको सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा जोड दिइएको थियो ।

नव–निर्वाचित नेतृत्वका तर्फबाट बोल्दै डा. शर्माले नेपाल सरकारको निरन्तर सहयोगप्रति आभार व्यक्त गर्दै एनआरएनएभित्र एकता कायम गर्न सरकारको भूमिकाको प्रशंसा गरे ।

भेटका क्रममा मन्त्री बालानन्द शर्माले नव–निर्वाचित एनआरएनए टोलीलाई बधाई दिँदै सङ्घ एकताबद्ध रहँदै १२औँ अन्तर्राष्ट्रिय महासभा तथा विश्व सम्मेलन २०८२ सफलतापूर्वक सम्पन्न गरेकोमा खुसी व्यक्त गरे। उनले एनआरएनएका पहलहरूमा मन्त्रालयको निरन्तर सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गरे ।

मन्त्री शर्माले भने, “मलाई एनआरएनएसँग काम गर्ने तथा एनआरएन र गैर आवासीय नेपालीहरूलाई नजिकबाट चिन्ने अवसर मिल्यो । एनआरएनएले उठाएका मुद्दाप्रति म सकारात्मक छु र हामी सक्दो सहयोग गर्नेछौँ। नयाँ संसद् सदस्यहरूसँग पनि समन्वय गर्न सुझाव दिन्छु, र आगामी सरकार पनि यसप्रति सकारात्मक रहनेमा विश्वस्त छु। स्पष्ट दृष्टि र मिसनसहित आएका नव–निर्वाचित अध्यक्षलाई हामी पूर्ण सहयोग गर्नेछौँ ।”

परराष्ट्र सचिव अमृत बहादुर राईले  भने, “एनआरएनएले १२औँ अन्तर्राष्ट्रिय महासभा सफलतापूर्वक सम्पन्न गरेकोमा हामी खुसी छौँ र आगामी दिनमा सहकार्य गर्न तत्पर छौँ। नेपाली डायस्पोरा विश्वभर विस्तार हुँदै गएको देख्दा पनि हामी उत्साहित छौँ। एनआरएनए नेपाल सरकारको विश्वासिलो साझेदार हो। गैर आवासीय नेपाली नागरिकताको मुद्दा छिट्टै समाधान हुनेछ। नव–निर्वाचित टोलीलाई बधाई।”

भेटका क्रममा अध्यक्ष डा. हेमराज शर्माले एनआरएनएद्वारा तयार गरिएको मध्यपूर्व क्षेत्रको बैठकको निर्णय प्रतिवेदन मन्त्रालयलाई हस्तान्तरण गरे । जसमा उक्त क्षेत्रका नेपालीहरूको अवस्था, राहत कार्यक्रम तथा आवश्यक कदमहरूको विस्तृत विवरण समेटिएको छ ।

उनले हालै सम्पन्न आईसीसी बैठकहरूको संक्षिप्त जानकारी दिँदै पश्चिम एसिया संकटसम्बन्धी छलफल र निर्णयहरू प्रस्तुत गरे । साथै सङ्कटमा परेका नेपालीहरूको सहयोगार्थ वैदेशिक रोजगार राहत कोषका लागि १ करोड रुपैयाँ सङ्कलन गरिएको जानकारी दिए। नेपाली डायस्पोरासम्बन्धी ‘ह्वाइट पेपर’ तयार भइरहेको उल्लेख गर्दै रोजगारीका अवसर र गैर आवासीय नेपाली नागरिकताको विषयमा केन्द्रित भई डायस्पोरासँगको सम्बन्ध सुदृढ गर्ने लक्ष्य रहेको बताए ।

उपाध्यक्ष मनोज श्रेष्ठले बैठकका प्रमुख निर्णयहरू प्रस्तुत गर्दै मध्यपूर्वमा रहेका नेपालीहरूको हितका लागि समन्वित प्रयास भइरहेको जानकारी दिए । 

उपाध्यक्ष चिन्तामणि सापकोटाले स्पेनमा रहेका नेपालीहरूले भोगिरहेका राहदानी तथा आप्रवासन समस्याहरू उठाउनुभयो भने यज्ञ नारायण पौडेलले ती विषयहरूमा सरकारको तत्काल सहयोग आवश्यक रहेको बताए। 

उपाध्यक्ष रामशरण सिम्खडाले पूर्वी युरोपमा देखिएका प्रहरी प्रतिवेदनसम्बन्धी समस्या तथा विदेशस्थित गोर्खा सैनिकहरूले भोगिरहेका चुनौतीहरूबारे ध्यानाकर्षण गराउँदै तत्काल हस्तक्षेपको माग गरे ।

मध्यपूर्व आपत्कालीन बैठकका मुख्य निर्णयहरूमा: मध्यपूर्वमा रहेका नेपालीहरूका लागि राहत तथा उद्धार कार्यक्रम सञ्चालन; आकस्मिक खाद्य, आवास र स्वास्थ्य सेवाको सुनिश्चितता; स्वदेश फर्किन चाहने नेपालीहरूलाई टिकट, भिसा तथा चार्टर्ड उडानमार्फत सहयोग (नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्ससँग समन्वय गरी); दूतावासस्तरमा आपत्कालीन कार्यदल गठन तथा साउदी अरेबियाको दम्मामस्थित नेपाली दूतावास पुनः सञ्चालन; आपत्कालीन कोष स्थापना र पारदर्शी व्यवस्थापन; गलत सूचनाको रोकथाम तथा सचेतनामूलक कार्यक्रम सञ्चालन (कल सेन्टर र हटलाइन सहित); कतार, बहराइन, इराक र ओमानजस्ता संवेदनशील देशहरूमा रहेका नेपालीहरूको सुरक्षा तयारी; विदेशमा निधन भएका नेपालीहरूको व्यवस्थापन तथा स्वदेश फिर्ता; तथा परराष्ट्र मन्त्रालय, एनआरएनए, राष्ट्रिय समन्वय परिषद्, वैदेशिक रोजगारसम्बन्धी सङ्घ–संस्था लगायत सरोकारवालाहरूको सहभागितामा ‘मध्यपूर्व आपत्कालीन समन्वय समिति’ गठन रहेका छन्।

डा. शर्माले पश्चिम एसियामा कार्यरत २० लाखभन्दा बढी नेपाली श्रमिकहरूको अवस्थाप्रति सरकार गम्भीर रहनुपर्ने आग्रह गर्दै यस संवेदनशील समयमा एनआरएनए सरकारसँग सहकार्य गर्न पूर्ण रूपमा तयार रहेको बताए । उनले गैर आवासीय नेपालीहरू नेपालका सामाजिक तथा आर्थिक विकासमा निरन्तर योगदान गर्न प्रतिबद्ध रहेको पनि दोहोर्‍याए । 

परराष्ट्र मन्त्रालयका सचिव, सहसचिव तथा अन्य अधिकारीहरूको समेत सहभागिता रहेको उक्त भेटले एनआरएनए र मन्त्रालयबीचको समन्वय र सहकार्यलाई थप सुदृढ बनाएको छ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष रोविन प्रसाद शेरचन, उपाध्यक्षहरू, आईईएस तथा ओबी सदस्यहरू, आईसीसी सदस्यहरू, एनसीसी अध्यक्षहरू तथा विभिन्न देशका गैर आवासीय नेपालीहरूको उपस्थिति रहेको थियो। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप