आपूर्ति सहज नभए विकास निर्माणका काममा आउन सक्छ समस्या
सारांश
- पश्चिम एसियामा जारी द्वन्द्वका कारण पेट्रोलियम पदार्थको मूल्य बढेपछि नेपालको निर्माण क्षेत्र प्रभावित भएको छ।
- निर्माण सामग्रीको मूल्यवृद्धिले गर्दा देशभरका निर्माण कार्यहरू प्रभावित भएको र कतिपय ठाउँमा ठप्प भएको छ।
- निर्माण व्यवसायीहरूले मूल्य समायोजन गर्न वा 'कन्स्ट्रक्सन होलिडे' घोषणा गर्न सरकारसँग माग गरेका छन्।
काठमाडौँ । पश्चिम एसियामा जारी द्वन्द्वले नेपालको निर्माण क्षेत्र प्रभावित भएको छ । अमेरिका-इजराइल र इरानबिचको द्वन्द्वका कारण पेट्रोलियम पदार्थमा भएको भारी मूल्य वृद्धिका कारण निर्माणमा आवश्यक सिमेन्ट, डन्डी र बिटुमिन लगायत सम्पूर्ण वस्तुको मूल्यवृद्धि भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा अहिले कच्चा तेलको मूल्य प्रतिब्यारेल ११३ अमेरिकी डलर पुगेको छ । थप युद्ध लम्बिए अझै बढ्न सक्ने देखिएको छ । पेट्रोलियम पदार्थको मूल्य बढेसँगै सम्पूर्ण निर्माण सामग्रीको अनपेक्षित र अत्यधिक मूल्यवृद्धिका कारण देशभरका निर्माण कार्यहरू प्रभावित भएको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए । निर्माण सामग्रीको मूल्य आकासिएका कारण हाल निर्माण क्षेत्र लगभग ठप्प (बन्द) को अवस्थामा पुगेको उनको भनाइ छ ।
अध्यक्ष सिंहले उत्पादकहरूले सिमेन्ट, डन्डी र बिटुमिन जस्ता अत्यावश्यक सामग्रीको मूल्यमा भारी वृद्धि गरेको जानकारी दिए । उनका अनुसार पछिल्लो समय सिमेन्टमा प्रतिबोरा झण्डै ५० रुपैयाँ, डन्डीमा प्रतिकिलो १८ देखि २० रुपैयाँ र बिटुमिनमा प्रतिकिलो ४५ रुपैयाँसम्म मूल्य बढाइएको छ ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुनुअघि ८५ रुपैयाँ पर्ने बिटुमिनको मूल्य अहिले १३० रुपैयाँ पुर्याइएको छ भने ७२ रुपैयाँ पर्ने डन्डीको भाउ ८५ रुपैयाँ पुगेको छ । ओपीसी सिमेन्ट प्रतिबोरा ६८० रूपैयाँ र पीपीसी सिमेन्ट ७८० रूपैयाँमा पाइन्थ्यो । तर अहिले भने दुवै प्रकारको सिमेन्टमा प्रतिबोरा २० रूपैयाँ बढेर क्रमशः ७०० र ८०० रूपैयाँ पुगेको छ ।
उत्पादकको ‘कार्टेलिङ’ र कृत्रिम मूल्यवृद्धि
अध्यक्ष सिंहले सिमेन्ट र डन्डी उद्योगीहरूले ‘कार्टेलिङ’ गरेर मूल्य बढाएको आरोप लगाएका छन् । ‘सिमेन्ट र डन्डी उत्पादकहरूले उत्पादन कटौती गरेर बजारमा अभाव सिर्जना गरी रेट बढाएका हुन्,’ उनले भने । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारल ७० डलरबाट बढेर ११० डलर माथि पुगेको बहानामा उद्योगीहरूले अहिले नै मूल्य बढाएको उनको तर्क छ ।

उताबाट कच्चा पदार्थ आउन अझै दुई-तीन महिना लाग्ने भए पनि यहाँ मौज्दात रहेकै सामानमा मूल्य वृद्धि गरिएको उनले उल्लेख गरे । बढ्दो महँगीका कारण काम गर्न नसकिने स्थिति आएपछि निर्माण व्यवसायीहरूले सरकारसँग कि त मूल्य समायोजन गर्न, कि त ‘कन्स्ट्रक्सन होलिडे’ (निर्माण कार्य स्थगन) घोषणा गर्न माग गरिसकेका छन् । तर अन्तरिम सरकारले कुनै प्रतिक्रिया नदिएको उनको भनाइ छ ।
‘हामीले माग गरेर सरकारको ध्यानाकर्षण गराएका हौँ,’ सिंहले भने, ‘अहिलेको सरकार जाने तयारीमा रहेकाले कुनै प्रतिक्रिया आएन । नयाँ सरकार आएपछि यस विषयमा पुनः दबाब दिनेछौँ ।’
हालको अवस्थामा काम अगाडि बढाउन प्राविधिक र आर्थिक रूपले असम्भव हुँदै गएकाले निर्माण क्षेत्र मन्द मात्र नभई पूर्णरूपमा बन्द हुने स्थितिमा पुगेको उनले बताए । निर्माण व्यवसायीहरूले मूल्यवृद्धिको मारमा परेर देशभरका योजनाहरू ठप्प हुन थालेको भन्दै राज्यको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
युद्ध लम्बिए निर्माण कार्य ठप्प हुन सक्छ
सडक विभागका महानिर्देशक डा. विजय जैसीले देशका मुख्य सडक आयोजनाहरूको निर्माण कार्य हालसम्म ठप्प नभए पनि इन्धनको मूल्य वृद्धि भएका कारण निर्माण प्रभावित भएको बताएका छन् । उनले निर्माण व्यवसायीहरूसँग १५ दिनदेखि एक महिनासम्मका लागि आवश्यक सामग्री मौज्दात (स्टक) रहेकाले अहिलेसम्म काम नरोकिएको स्पष्ट पारे । ‘निर्माण ठप्पै भएको अवस्था त छैन, तर बिस्तारै इन्धनको समस्या देखिने र लागत बढ्ने खतरा भने छ,’ डा. जैसीले भने ।
महानिर्देशक जैसीका अनुसार हाल सूर्यविनायक–धुलिखेल सडकखण्ड, नागढुङ्गा सुरुङमार्ग र मुग्लिन–पोखरा राजमार्ग जस्ता ठुला र महत्त्वपूर्ण आयोजनाहरूको काम नियमित रूपमै भइरहेको छ । व्यवसायीहरूले पहिलेकै मौज्दात सामानबाट काम चलाइरहेको भए पनि अन्तर्राष्ट्रिय स्तरमा देखिएको द्वन्द्व र त्यसले निम्त्याएको मूल्यवृद्धिको असर अब देखिने उनले संकेत गरे । डा. जैसीले भने, ‘यदि अहिलेको जस्तै समस्या थप एक–दुई हप्तासम्म लम्बियो र इन्धन तथा निर्माण सामग्रीको आपूर्ति सहज भएन भने निर्माण कार्यमा समस्या पर्न सक्छ ।’
पछिल्लो समय इन्धनको मूल्यमा भएको भारी वृद्धिका कारण निर्माण सामग्रीको ढुवानी र उत्पादन लागत बढेको भन्दै निर्माण व्यवसायीहरूले सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् । यद्यपि, विभागले भने राष्ट्रिय गौरवका र रणनीतिक सडकहरूको कामलाई गति दिन समन्वय गरिरहेको महानिर्देशक जैसीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन
-
भन्सालीको ‘लभ एन्ड वार’ को सेटमा भयानक दुघर्टना, एक जनाको मृत्यु
-
टिपर दुर्घटनामा चालकको मृत्यु
-
पूर्वप्रधानन्यायाधीश पराजुली भन्छन्, ‘न्यायाधीशलाई गोलाप्रथाबाट मुद्दा तोक्ने व्यवस्था संविधानसम्मत छैन’
-
‘झिंगे दाउ २’ असोजमा रिलिज हुने
-
जैविक धरातलको संरक्षणमा नेपाल अद्वितीय छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण