डीजेबाट स्वयंसेवक, जेनजी विद्रोहबाट गृहमन्त्री
सारांश
- बालेन शाहको मन्त्रिपरिषद्मा सुधन गुरुङ गृहमन्त्री नियुक्त भएका छन्।
- गुरुङले जेनजी आन्दोलनको नेतृत्व गरेका थिए र गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचित भएका हुन्।
- नवनियुक्त गृहमन्त्रीको अगाडि गृह प्रशासन सुधार, प्रहरी समायोजन, र जीबी राईलाई पक्राउ गर्ने चुनौतीहरू छन्।
काठमाडौं । बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको मन्त्रिपरिषद्मा सुधन गुरुङ गृहमन्त्री भएका छन् । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका अगुवा गुरुङ गोरखा क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गुरुङलाई गृहमन्त्री नियुक्त गरेका हुन् ।
काठमाडौंको ठहिटीमा जन्मेहुर्केका गुरुङका बुवा–आमा डिभोर्सी हुन् । ६ महिनाको हुँदा बुवा र आमाले उनलाई हजुरआमासँग छाडिदिएका थिए । हजुरबा अन्नपूर्ण होटलमा काम गर्थे । स्कुल पढ्दादेखि नै उनले परिवारको माया पाएनन् । नर्सरी पढ्दादेखि नै होस्टलमा बसेर पढेका गुरुङको स्कुले जीवन १० कक्षासम्म होस्टलमै बित्यो । चाडपर्वमा परिवारका सदस्यहरु लिन नआउँदा उनले होस्टेलका आमाहरुसँग बसेर चाडबाड मनाउँथे । होस्टेलका ती दिन सम्झँदै गुरुङले रातोपाटीसँगको कुराकानीमा भनेका छन्, ‘रुँदा रुँदा स्ट्रोङ भएँ ।’
उनले ४ कक्षासम्म काठमाडौंको एलिज कोवेटमा पढे । धनकुटा गएर दुई वर्ष पढे । चितवनको कालिका गुरुकुल इङ्लिस सेकेन्डरी बोर्डिङ स्कुलबाट एसएलसी उत्तीर्ण गरेका गुरुङलाई उनका बुवाले काठमाडौंको मल्टी इन्टरनेसनल स्कुलमा ए लेभलमा भर्ना गरे । तर उनले ए लेभलको दोस्रो वर्षपछि पढाइ अघि बढाउन सकेनन् । ए लेभल सकाएपछि उनका बुवा सुधनलाई अमेरिका पठाउन चाहन्थे, तर उनी काठमाडौंको ठमेल र आसपासमै रमाए ।
जिन्दगी चलाउन गुरुङले पहिलो काम कल सेन्टरमा गरे । त्यसपछि डान्स र डिजे सिके । डिजेको आफ्नो ‘कलेक्सन’ बनाए । स्वयंसेवामा लाग्नुअघि गुरुङले पार्टी आयोजना गरेर पैसा कमाउँथे । कहिलेकाहीँ डिजे पनि गर्थे । त्यसपछि उनले काठमाडौंका ठमेलमा आफूभन्दा दाइ उमेरकाहरुसँग मिलेर ओएमजी क्लब खोले । प्रहरी इन्काउन्टरमा मारिएका दिनेश अधिकारी ‘चरी’ उनका साथी थिए । रातोपाटीसँगको कुराकानीमा उनले भनेका छन्,‘चरी साथी थियो मेरो ।’
२०७२ अघिसम्म ठमेलमा डिजेइङ गर्ने र क्लब चलाउँदै हिँड्ने गुरुङको दिनचर्या त्यसपछि स्वयंसेवकमा फेरियो । करिअरको सुरूमा उनी र्यापर थिए । रातोपाटीसँगको कुराकानीमा उनले भनेका छन्, ‘भूकम्पपछि मलाई डिजे र बी–बोइङले तानेन् ।’
भूकम्पका कारण काठमाडौं उपत्यकामा सयौं मानिसहरु घाइते भए । उनले भूकम्प प्रभावितको उद्धारको नेतृत्व गरेर अस्पताल पुर्याए । स्वयंसेवा गर्दागर्दै उनले ‘हामी नेपाल’ नामको संस्था खोले । सो संस्थामार्फत जाजरकोटको भूकम्पमा पनि काम गरे । पछिल्लो १० वर्षदेखि आफू समाजसेवामा रहेको दाबी गर्दै आएका सुधन टर्कीमा भूकम्प जाँदा त्यहाँ पुगेका थिए । त्यसबेला नेपाल सरकारसँगको सहकार्यमा हामी नेपाली संस्थाले २३ टन सामान लगेर त्यहाँ प्रभावितहरुको लागी काम गरेको थियो ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिडपछि आन्दोलन सुरू भयो । ‘सेभ घोपा’ भनेर महिनौं चलेको आन्दोलनमा गुरुङ पनि थिए । काठमाडौंमा चलेको ‘इनफ इज इनफ’ र ‘अकुपाइ बालुवाटार’ आन्दोलनमा सुधन निरन्तर सहभागी थिए । दुवै आन्दोलन हुँदा सरकारको नेतृत्वमा केपी ओलीले थिए । उनी भन्छन्, ‘त्यो फेस लेस मुभमेन्ट थियो ।’
बेथितिबिरुद्ध आवाज उठाउँदा गुरुङले बुझे, ‘मुलुकमा ‘सिस्टमबाट काम हुँदैन् । आइटी सम्बन्धी जानकार गुरुङ भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा अग्रपंक्तिमा खटिए । आन्दोलनका नेतृत्वकर्तामध्ये एक उनी थिए । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार निर्माण र त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग काठमाडौंका तत्कालीन मेयर बालेन शाहलाई ‘एकताबद्ध’ बनाउन उनको भूमिका छ ।
चुनावमा उनले राष्ट्रिय स्वतन्त्र पार्टीबाट टिकट पाए । गोरखा क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका उनी २९ हजार ८२९ मत ल्याएर निर्वाचित भए । सुधन चुनावी दौरानमा भन्थे, ‘परिस्थितिले हामीलाई यो ठाउँमा ल्यायो, हामी साधारण मानिस हौं ।’
राजनीतिमा चासो नभएका सुधन आन्दोलन र समाजसेवाबाट मूलधारको राजनीतिमा आइपुगेका छन् ।
चुनौतीको चाङ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङमाथि गृह प्रशासन सुधारका धेरै चुनौती छन् । गृह मन्त्रालय मातहतका जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको नेतृत्व उनले गर्नुपर्नेछ । अपराधका घटना अनुसन्धान गर्ने जिम्मेवारी भएको ७९ हजार ५४१ फौजको कमाण्ड अब सुधनको हातमा छ ।
जेनजी प्रदर्शनमा प्रहरीका ब्यारेक र अन्य साधन स्रोतमा क्षति पुग्यो । स्थानीयको सहयोगमा कार्यालय मर्मत गरेर ब्यारेकमा फर्किएका सुरक्षाकर्मीले फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गरे । तर सुरक्षाकर्मीको मनोबल पुरानै अवस्थामा फर्किएको छैन । भिड नियन्त्रण गर्न आवश्यक सामान नहुँदा ठुलो भिड देख्दा प्रहरी ‘तर्सिनुपर्ने’ अवस्थामा छ । सुरक्षाकर्मीलाई भिड नियन्त्रण गर्न ‘अब्बल’ बनाउनुपर्ने चुनौती गुरुङको काँधमा छ ।
अनुसन्धान गर्नेहरुमाथि पूर्वाग्रही भावना राख्ने अहिलेको अवस्थालाई अन्त्य गर्नुपर्ने चुनौती पनि उनको काँधमा छ । निजामती कर्मचारीको समायोजन भएपनि नेपाल प्रहरी अहिले पनि केन्द्रीय संरचनामा छ । संघीय शासन प्रणाली अनुसार प्रदेशमा प्रहरीका डीआईजीले कमाण्ड गरेका छन् । तर उनीहरू अधिकारविहीन छन् । प्रहरीलाई प्रदेशमा समायोजन गर्नुपर्ने चुनौती उनको अगाडि छ । समायोजनप्रति प्रहरीका अधिकृतहरु नै असन्तुष्ट छन् । इन्स्पेक्टर र डीएसपीहरुले समायोजनमा जाँदा आफ्नो करिअर देखेका छैनन् ।
प्रहरी र सशस्त्र प्रहरी विधेयक संसद्मा पुगे पनि पारित हुन सकेको छैन । दुवै विधेयकलई अघि बढाएर नयाँ कानुन बनाउनुपर्ने चुनौती सुधनको काँधमा छ ।
सुरक्षा निकायमा राजनीतिक हस्तक्षेप हुने गरेको तथ्य ‘ओपन सेक्रेट’ छ । सरुवा र बढुवा पद्धतिमा चल्छ भन्ने कुरा प्रहरी अधिकृतहरु स्वीकार्न चाहँदैनन् । ‘रोजेको ठाउँमा सरुवा पाउन शक्तिकेन्द्रबाट भन्न लगाउनुपर्छ’ भन्ने कुरा प्रहरीमा स्थापित छ । पहुँच नभएका अधिकृतहरु सधैं चेपुवामा पर्ने गरेका छन् । उनीहरुको मनोबल गिरेको छ । सरुवा र बढुवामा हुँदै आएको सदाबहार हस्तक्षेप र अधिकृतहरुको मनोबल उकास्ने चुनौती अब नवनियुक्त गृहमन्त्री गुरुङको काँधमा छ ।
रास्वपा सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेले सार्वजनिक रुपमा भनेका थिए, ‘जीबी राई मलेसियामा लोकेट भए ।’ तर पोखरास्थित सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईलाई प्रहरीले अहिलेसम्म ल्याउन सकेको छैन ।
सहकारीको निक्षेप अपचलन गरेको कसुरमा अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलबाट उनीविरुद्ध रेड नोटिस जारी भएको छ । राईलाई पक्राउ गर्ने चुनौती पनि सुधनको काँधमा आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्भवती महिलाको उद्धार
-
पूर्वमन्त्री खरेलको पार्थिव शरीर कांग्रेस मुख्यालयमा
-
ट्राफिक कारबाहीः २४ घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला
-
क्रियाशील सदस्यता डिजिटल रूपमा अध्यावधिक कांग्रेसको विधानभन्दा बाहिरको व्यवस्था हो : वरिष्ठ अधिवक्ता पोखरेल
-
कोशी नदी किनारबाट १६८ केजी गाँजा बरामद
-
वार्तापछि इरानी तेलमाथिको प्रतिबन्धमा छुट भएको छ : इरानी विदेशमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण