बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय
'टक फर्वार्ड'मा गायक हिमाल सागर

‘'न मैले लेखें' भएको एल्बम एक महिनासम्म कसैले किनेनन्’

शनिबार, १४ चैत २०८२, १० : ००
शनिबार, १४ चैत २०८२

काठमाडौँ । हिमाल सागरलाई संगीतप्रेमीहरूले विशेषगरी दुईवटा ‘टाइमलाइन’बाट सम्झिन्छन् । २०६० सालतिर ‘म मैले लेखें न उनले लेखिन्’ गीतबाट र पछिल्लो समय ‘ए हो र माया’बाट । पहिलो गीत सुन्ने पुस्तामा जेन वाई बढी थिए भने पछिल्लो गीत सुन्ने पुस्ता जेनजी । 

नेपाली संगीतमा दुई दशकभन्दा लामो समयदेखि निरन्तर सक्रिय छन् । उनले गाएको पहिलो गीत ‘न मैले लेखें’ नै लोकप्रिय बन्यो । त्यसपछि उनले पछाडि फर्केर हेर्नु परेन भन्दा हुन्छ । बिचमा केही गीत राम्रै चले । बिस्तारै संगीतको स्वाद पनि फेरिँदै गयो, हिमाललाई पुरानै शैलीमा चल्न गाह्रो भयो । 

करिब चार वर्षअघि उनी जबर्जस्त कमब्याक भए- ‘ए हो र माया’ गीतबाट । यो गीत यति चल्यो कि यस्तै नाममा अरू चारवटा गीत सार्वजनिक भए । सबैले श्रोता-दर्शकको मन जिते । 

हिमालले सबै जनराका गीत गाएका छन् । मूलत: सुगम संगीतबाट उदाएका उनले गजल, पप सबै शैलीका गीत गाएका छन् । पछिल्लो समय उनले रोदी भाका कौडा गीत समेत गाएका छन्- ‘सुर्खेतफ झापाली’ ।
 
रातोपाटी पडकास्ट ‘टक फर्वार्ड’मा अन्तर्वार्ताका क्रममा हिमालले आफ्नो सांगीतिक यात्राको सुरूवातदेखि एल्बम निकाल्दाको सकस, गीत चल्न छाड्दा झन्डै डिप्रेसनमा पुगेको अवस्था, फेरिएको प्रविधि, संगीतको अबको भविष्यसम्मका कुरा सेयर गरेका छन् । उनले कलाकार राजनीतिमा आउनु ठीक कि बेठिक भन्ने कुरामा समेत खुलेर आफ्नो विचार राखेका छन् । प्रस्तुत छ अन्तर्वार्ताको सम्पादित अंश (विस्तृत भिडियोमा हेर्न-सुन्न सकिन्छ) :

गायकले समयअनुसार आफूलाई अपडेट गर्नुपर्छ । तपाईंको ‘ए हो र माया’ सिरिजले त बजारमा तहल्का नै मच्चायो । त्यो गीत रेकर्ड गर्दा यति धेरै चल्छ भन्ने सोच्नुभएको थियो ?

साँचो भन्नुपर्दा, ‘ए हो र माया’ रेकर्ड गर्दा मलाई यो यति धेरै सफल होला भन्ने लागेकै थिएन । कहिलेकाहीँ हामीले निकै मेहेनत गरेका र आफूलाई असाध्यै राम्रो लागेका गीतहरू चल्दैनन्, तर एभरेज सोचेका गीतले मार्केट पिटिदिन्छन् । ‘ए हो र माया’ त्यस्तै भयो ।

Himal Sagar1

यसका पाँच–छ वटा भाग आए र सबैले करोडौँ भ्युज पाए । यसमा ‘लक’ र समयको पनि भूमिका हुन्छ । अरू ठुला कन्टेन्ट नभएको बेला वा सही समयमा गीत रिलिज हुँदा त्यसले एकलौटी राज गर्ने मौका पाउँछ । यो गीतले अहिलेको जेनेरेसन र ट्रेन्डलाई समात्यो । यदि यो गीत नआएको भए सायद म केही समय ओझेलमा पर्थें होला । अहिले कन्सर्टहरूमा जाँदा पनि दर्शकले सबैभन्दा बढी यही गीतको माग गर्नुहुन्छ ।

समयसँगै प्रविधि फेरियो । तपाईंले भर्खरै मात्र आफ्नो आधिकारिक युट्युब च्यानल सुरु गर्नुभएको छ । यति लामो समय साङ्गीतिक बजार बुझेको मान्छे, डिजिटल प्लेटफर्मको उपयोग गर्न चाहिँ किन यति ढिलो गर्नुभयो ?

यसमा म अलिकति पछि परेको कुरा स्वीकार गर्छु । मलाई च्यानल खोल्नुपर्छ भन्ने थाहा त थियो, तर अरूका च्यानलबाट गीतहरू हिट भइरहेका थिए, देश–विदेशका कार्यक्रममा व्यस्त थिएँ, त्यसैले सुरुमा अलि अल्छी गरेँ । तर अहिले आएर मलाई रियलाइज भएको छ कि मैले ५–७ वर्ष अगाडि नै आफ्नै च्यानल सक्रिय बनाउनुपर्ने रहेछ । ढिलै भए पनि अहिले आफ्नै नामको च्यानलबाट ‘सुर्खेत झपाली’ सुरु गरेको छु र अब आफ्ना सबै कन्टेन्टहरू यहीँबाट ल्याउने योजना छ ।

अब थोरै विगततिर फर्कौँ । २०६० सालमा तपाईंको पहिलो एल्बम ‘रिलेसन’ आयो, जसमा ‘न मैले लेखेँ’ सुपरहिट गीत थियो । त्यो बेलाको सङ्घर्षका दिनहरू कस्ता थिए ?

म २०५९ सालमा झापाको बनियानीबाट काठमाडौँ छिरेको थिएँ । वास्तवमा म गायक बन्छु नै भनेर आएको थिइनँ । तिहारमा दिदीहरूको हातको टीका लगाउन र पढ्न आएको थिएँ । तर सङ्गीतमा सानैदेखि रुचि थियो । काठमाडौँ आएपछि साथीहरू र परिवारले यतै बसेर केही गर्न हौसला दिनुभयो । मेरो पहिलो एल्बमका लागि मेरा साथी चूडामणि दाहाल र मामाको छोरा भरतकुमार पाठकले झन्डै ४ लाख लगानी गरिदिनुभयो । त्यो बेला ४ लाख भनेको निकै ठुलो रकम थियो ।

Himal Sagar2

सुरूमा एल्बम तयार पार्न ९ महिना लाग्यो । रेकर्डिङ स्टुडियो धाउनु, एरेन्जर खोज्नु निकै कठिन थियो । एल्बम निस्किएपछि पनि पहिलो एक महिनासम्म त कसैले किनेनन् । म निकै निराश भएको थिएँ । तर पछि विस्तारै एफएम स्टेसनहरू र रेडियो नेपालमा गीत बज्न थालेपछि यसले यस्तो गति लियो कि म हस्ताक्षर गर्नै भ्याउँदिनथेँ । त्यो बेला क्यासेटको पछाडि गायकले हस्ताक्षर गर्नुपर्ने चलन थियो । दिनकै २–३ हजार प्रतिमा साइन गर्दा हातै दुख्थ्यो । पछि त स्ट्याम्प नै बनाइयो ।

तपाईंको पहिलो कन्सर्ट र पहिलो पारिश्रमिकको अनुभव कस्तो रह्यो ?

मेरो पहिलो कन्सर्ट पेप्सीकोलामा भएको थियो । त्यतिबेला म नयाँ थिएँ, आनन्द कार्की, कुन्ती मोक्तान जस्ता हस्तीहरूसँग एउटै स्टेज सेयर गर्न पाउँदा निकै डराएको थिएँ । म यहाँबाट बिक्रम टेम्पो चढेर कार्यक्रम स्थल पुगेको थिएँ । कार्यक्रम सकिएपछि आयोजकले खाममा १५ सय रुपैयाँ दिनुभयो । त्यो मेरो पहिलो कमाइ थियो । मलाई त्यो पैसाले यति धेरै खुसी दियो कि मैले भृकुटीमण्डप पुगेर एउटा जिन्स पाइन्ट र ४५० रुपैयाँको जुत्ता किनेको थिएँ । ती दिनहरू निकै सम्झनायोग्य छन् ।

सङ्गीतको यात्रा सधैँ उकालो मात्र हुँदैन । कुनै यस्तो समय आयो, जतिबेला तपाईं साङ्गीतिक क्षेत्रबाटै पलायन हुने वा निकै निराश हुने स्थितिमा पुग्नुभयो ?

दोस्रो एल्बम ‘फर यु’ पछि मेरो जीवनमा एउटा निकै कठिन समय आयो । ‘मेरो माया मारेपछि’ निकै हिट भयो तर मलाई कन्सर्टहरूबाट अफर आउनै छाड्यो । धेरै आयोजकले झुटो बोलेर विदेश लैजाने प्रलोभन देखाए, पासपोर्ट लिएर महिनौँ हराइदिए, कतिले त कार्यक्रम नै नगरी बिचल्लीमा पारे । आर्थिक रूपमा पनि म निकै कमजोर भएँ । डिल्लीबजारको एउटा सानो कोठामा बस्थेँ, जहाँ पहिले प्रमोद खरेल मामा (गायक प्रमोद खरेल) बस्नुहुन्थ्यो । एक्लै कोठामा बस्दा अनेक कुरा मनमा खेल्थे, फ्रस्ट्रेसन चरम बिन्दुमै पुगेको थियो ।

तर मैले हार मानिनँ । मलाई लाग्थ्यो— म एउटा सानो गाउँबाट आएर यहाँसम्म त आइपुगेँ, अब किन डराउने ? म आफ्नो तनाव अरूसँग सेयर गर्थें, जसले मलाई हलुका बनाउँथ्यो । त्यही पीडा र सङ्घर्षकै बिचमा डा. भोला रिजालको शब्दमा ‘मेरो मनमा आगो लाउने’ भन्ने गीत कम्पोज गरेँ, जसले मलाई फेरि साङ्गीतिक रूपमा पुनर्जीवन दियो ।

हिजोआज धेरै कलाकार अमेरिका वा अन्य विकसित देशमा सेटल भइरहेका छन् । तपाईं पनि अमेरिका त जानुभएको थियो, किन त्यस्तो इच्छा भएन ?

२०७२ सालकव भूकम्पपछि म च्यारिटी शोका लागि अमेरिका गएको थिएँ । धेरैले उतै बस्न सल्लाह पनि दिनुभयो । भविष्य सुरक्षित हुन्छ भन्ने तर्क सबैको थियो । तर मलाई चाहिँ नेपालकै सङ्गीत क्षेत्रमा अझै धेरै काम गर्न बाँकी छ जस्तो लाग्यो । एउटा कलाकार विदेशमा गएर जिरो लेबलबाट काम गर्नुपर्छ ।

Himal Sagar3

त्यहाँ कामको सम्मान छ, ट्वाइलेट सफा गरे पनि इज्जत छ, तर आफ्नो प्यासन मार्नुपर्ने हुन्छ । मलाई आफ्नो देश र यहाँका श्रोताको मायाले यतै तान्यो । अरूको व्यक्तिगत रोजाइको म सम्मान गर्छु, तर म नेपालमै सङ्घर्ष गर्न रुचाउँछु ।

अहिले एआईको समय आएको छ । सङ्गीतमा एआईको हस्तक्षेपलाई तपाईं कसरी हेर्नुहुन्छ ? यो चुनौती हो कि अवसर ?

यसलाई म दुवै रूपमा हेर्छु । एआईले प्राविधिक काम र नयाँ एक्सपेरिमेन्टका लागि बाटो खोलेको छ । कहिलेकाहीँ एआईले गाएको सुन्दा ‘कस्तो राम्रो भोकल म्याच गरेको’ भन्ने पनि लाग्छ । तर ओरिजिनल गायकको स्वरमा जुन मिठास, भावना र ‘फिल’ हुन्छ, त्यो मेसिनले कहिल्यै दिन सक्दैन । एआईले कौडा वा मारुनी गीतको त्यो मौलिक आत्मा समात्न सक्दैन । यो एउटा ‘बेमौसमी फल’ जस्तै हो, जसले केही क्षणका लागि स्वाद त दिन्छ तर दिगो हुँदैन । सङ्गीतमा मानवीय संवेदना नै प्रधान हुन्छ ।

अहिले कलाकार र राजनीतिको सम्बन्ध निकै चर्चामा छ । तपाईंलाई राजनीतिमा आउने रहर भएन ? कि अफर आएन ?

मलाई राजनीतिमा रुचि नै नभएको चाहिँ होइन । एउटा सचेत नागरिकको हैसियतले देशको संविधान, सुशासन र बेरोजगारीका बारेमा चिन्ता हुनु स्वाभाविक हो । बालेन शाह वा नयाँ शक्तिहरूबाट आम नेपालीले जस्तै मैले पनि आशा राखेको छु । तर म राजनीतिमा होमिने सोचमा छैन ।

भिडियो/फोटो : मनोज खड्का/रातोपाटी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खेम रिसाल
खेम रिसाल

खेम रिसाल रातोपाटीका कपी एडिटर हुन् ।

लेखकबाट थप