शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

आज पनि काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा

शनिबार, १४ चैत २०८२, २० : ५२
शनिबार, १४ चैत २०८२

काठमाडौँ । आज पनि काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबारको तुलनामा आज केही कम वर्षा भए पनि सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा छिटपुट वर्षाका साथै अन्य प्रदेशका अधिकांश जिल्लामा मध्यमसम्म वर्षा भएको छ ।

विभागका सूचना अधिकारी दिनकर कायस्थले आज मुलुकका अधिकांश स्थानमा ३० देखि ४५ मिलिमिटरसम्म वर्षा भएको जनाउँदै पूर्वमा सबैभन्दा बढी वर्षा भएको बताए । काठमाडौँमा पनि आज साँझ हल्का वर्षा भएको उल्लेख गर्दै उनले २५ भन्दा बढी वर्षा मापन केन्द्रमा आज २० मिलिमिटरभन्दा माथि वर्षा मापन गरिएको जानकारी दिए । 

विभागका सूचना अधिकारी कायस्थले विस्तारै वर्षा कम हुँदै गएको भन्दै आइतबार भने मौसममा बदली कायम रहने जानकारी दिए । वर्षा भने तुलनात्मक रूपमा कम हुँदै जाने उनको भनाइ छ ।

विभागका अनुसार अहिले पनि पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव कायम छ । विभागले आज साँझ जारी गरेको मौसम बुलेटिनमा आइतबार देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्ने जनाएको छ ।

सोही कारणले देशका पहाडी र हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको मौसमविद् हरिप्रसाद दाहालले जानकारी दिए । त्यसपछि विस्तारै वर्षा कम हुँदै जानेछ ।

तर कतैकतै बदली, चट्याङ, हावाहुरीसहित असिना पानी पर्नसक्ने सम्भावना कायमै रहने उनले बताए । हिउँदमा कम वर्षा भएको नेपालमा प्रिमनसुनमा भने विभिन्न प्रणाली विकास भई नियमितजसो वर्षा भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप