शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

उच्च अदालतका दुई न्यायाधीशमाथि अवहेलना कारबाहीको मागमा 'दोहोर्‍याई पाउँ' बुझ्न सर्वोच्चको आदेश

बुधबार, १८ चैत २०८२, १७ : ३७
बुधबार, १८ चैत २०८२

काठमाडौँ । उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदालतको अवहेलनामा कारबाही हुनुपर्ने माग गर्दै पेस भएको निवेदनमा 'दोहोर्‍याई पाउँ' पेस भए र नभएको बुझेर इजलासमा पेस गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधीशद्वय बालकृष्ण ढकाल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले उक्त आदेश गरेको हो ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गत नेपाल ल क्याम्पसमा अध्ययनरत कानुनका विद्यार्थी विवेक चौधरीले उच्च अदालत पाटनका न्यायाधीशद्वय ऋषिराज भण्डारी र गोपालप्रसाद बास्तोलाले सवारी ह्वील लकको मुद्दामा सर्वोच्च अदालतको प्रतिपादित सिद्धान्त पालना नगरी निर्णय गरेको भन्दै अदालतको अवहेलनामा निवेदन पेस भएको थियो ।

निवेदनमा उच्च अदालतले फैसला गर्दा सर्वोच्च अदालतबाट प्रतिपादित बाध्यकारी कानुनी सिद्धान्तको पालना नगरी निर्णय गरेको आरोप लगाइएको छ । चौधरीले आफ्नो रिट निवेदनमा सर्वोच्चका विभिन्न निर्णयबाट स्थापित कानुनी सिद्धान्तहरू स्पष्ट रूपमा उल्लेख गरेको भए पनि ती सिद्धान्तलाई बेवास्ता गरी फैसला गरिएको दाबी गरेका छन् ।

निवेदन अनुसार नगर प्रहरी तथा ट्राफिक प्रहरीले सवारी साधनमा ‘ह्विल लक’ लगाउने कार्य कानुनी आधारबिना गरिएको भन्दै उक्त कार्य बदर गराउन उच्च अदालतमा रिट निवेदन दायर गरिएको थियो । तर, अदालतले ट्राफिक व्यवस्थापनका लागि सीमित स्रोत साधनका आधारमा ‘ह्विल लक’ प्रयोगलाई अवैध भन्न नमिल्ने भन्दै रिट निवेदन खारेज गरेको थियो ।

नेपालको संविधानको धारा १२८ (४) ले सर्वोच्च अदालतले प्रतिपादन गरेको कानुनी सिद्धान्त सबैले पालन गर्नुपर्ने स्पष्ट व्यवस्था गरेको छ । यस्तो अवस्थामा तल्लो अदालतबाट उक्त सिद्धान्तको बेवास्ता गरिनु केवल न्यायिक त्रुटि मात्र नभई अदालतको अवहेलना हुने दाबी निवेदनमा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप