बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

चेल्सीको प्रिमियर लिग इतिहासकै सबैभन्दा ठूलो वार्षिक घाटा

बिहीबार, १९ चैत २०८२, ०७ : ३४
बिहीबार, १९ चैत २०८२

लण्डन । लण्डनस्थित फुटबल क्लब चेल्सीले प्रिमियर लिग इतिहासकै सबैभन्दा ठुलो वार्षिक घाटा बेहोरेको छ। सन् २०२४-२५ को आर्थिक वर्षमा क्लबलाई २६ करोड २० लाख पाउन्ड पूर्व-कर घाटा भएको हो।

यसअघि सन् २०११ मा म्यानचेस्टर सिटीले बेहोरेको १९ करोड ७५ लाख पाउन्डको घाटा नै प्रिमियर लिगको सबैभन्दा ठुलो वित्तीय संकट मानिन्थ्यो, जसलाई चेल्सीले अहिले उछिनेको छ। क्लबले ४९ करोड ९ लाख पाउन्ड आम्दानी गरे पनि भारी खर्चका कारण यो ऐतिहासिक घाटा देखिएको हो।

गत सिजन चेल्सीले यूईएफए कन्फरेन्स लिग र क्लब वर्ल्ड कपको उपाधि जितेको थियो भने प्रिमियर लिगमा चौथो स्थान हासिल गरेको थियो। सन् २०२२ मा ब्लुकोले क्लब सम्हालेपछि नयाँ खेलाडी अनुबन्धमा मात्रै १ अर्ब पाउन्डभन्दा बढी खर्च भएको छ।

ठुलो घाटा देखिए पनि क्लबले आफू प्रफिट एन्ड सस्टेनेबिलिटी रुलभित्रै रहेको दाबी गरेको छ। यो नियम अनुसार तीन वर्षमा १० करोड ५० लाख पाउन्डसम्म मात्र घाटा हुन पाउने प्रावधान छ, तर नियम पालनाका लागि गणना गरिने तथ्याङ्कहरू पूर्व-कर घाटाभन्दा फरक हुने गर्दछन्।

यसपटकको घाटामा विगतका जरिवाना र केही हाइ-प्रोफाइल खेलाडीहरूको लेखांकनले मुख्य भूमिका खेलेको छ। रोमन अब्रामोविचको पालामा एजेन्टहरूलाई गरिएको भुक्तानी बापतको १० करोड ७५ लाख जरिवाना र रहिम स्टर्लिङ जस्ता खेलाडीको बहिर्गमनले क्लबको ब्यालेन्स सिटमा ठूलो असर पारेको छ।

त्यस्तै, खराब औषधि परीक्षणको अनुसन्धानमा रहेका मिखाइलो मड्रिकको विषयले पनि वित्तीय भार थपेको छ। सिजनको सुरुमै यूईएफएले क्लबलाई २ करोड ६७ लाख पाउन्ड जरिवाना समेत गरिसकेको छ।

चेल्सीले आगामी वर्षमा भने स्थिति सुधार हुने अपेक्षा राखेको छ। क्लब वर्ल्ड कप जिते बापतको ८ करोड ५० लाख र च्याम्पियन्स लिगको प्रसारण अधिकारबाट प्राप्त हुने ८ करोड पाउन्डले अर्को वर्षको आम्दानीमा रेकर्ड कायम हुने क्लबको विश्वास छ।

यसैबिच, चेल्सीको महिला टोलीले पनि १७ करोड १० लाख पाउन्ड घाटा बेहोरेको सार्वजनिक भएको छ। चेल्सीको वित्तीय अवस्थाको पूर्ण विवरण केही समयपछि कम्पनी हाउसमार्फत सार्वजनिक हुनेछ, जसले क्लबको वास्तविक आर्थिक चित्र अझ प्रस्ट पार्नेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप