हनि ट्रयाप प्रकरण : बलात्कारको धम्की दिएर करोडौँ असुल्ने गिरोहकी ‘थ्रेट एजेन्ट’ को यस्तो छ भूमिका
सारांश
- ललितपुरका व्यवसायीलाई हनि ट्रयापमा पारी करोडौँ असुल्ने गिरोहमा नेलिका लामिछाने मुख्य 'थ्रेट एजेन्ट' र आर्थिक व्यवस्थापकको रूपमा संलग्न रहेको पाइएको छ।
- नेलिकाले पीडितलाई जबरजस्ती करणीको मुद्दा लगाउने धम्की दिँदै मानसिक दबाब दिएको र गिरोहका लागि शङ्कास्पद आर्थिक कारोबार गरेको पुष्टि भएको छ।
- सरकारी वकिल कार्यालयले नेलिका विरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरण लगायतका अभियोगमा १० वर्ष कैद र बिगोको दोब्बर जरिवाना मागदाबी गरेको छ।
काठमाडौँ । ललितपुरका शंकर चिमोरिया(नाम परिवर्तन)लाई हनि ट्रयापमा पारेर करोडौँ असुल्ने गिरोहमा नेलिका लामिछानेको भूमिका मुख्य ‘थ्रेट एजेन्ट’ र ‘आर्थिक व्यवस्थापक’को रूपमा देखिएको छ । सरकारी वकिल कार्यालय ललितपुरले उनलाई आपराधिक लाभ (एक्सटर्सन), संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा प्रतिवादी बनाएको छ ।
नेलिका लामिछाने तुल्सी अधिकारीको मुख्य सहयोगीमा रूपमा देखिएकी छिन् । पोखरा घर भई ललितपुर बस्दै आएकी २८ वर्षीया नेलिकाका अनुसार उनको तुल्सी अधिकारीसँगको भेट करिब दुई वर्ष अगाडि टिकटकबाट भएको थियो। टिकटकमा एउटा ब्रासलेट मन परेपछि सो किन्न जाँदा तुल्सीसँग चिनजान भएको र पछि उनीहरू कफी खाने र एक–अर्काको कोठामा आउजाउ गर्ने नजिकको साथी बनेका थिए ।
नेलिकाले पीडित भनिएका जाहेरवालालाई ‘जबरजस्ती करणीको मुद्दा हाल्ने’ धम्की दिन पीडितको अफिस पुगेको प्रमाण र भिडियो समेत मिसिलसाथ संलग्न राखिएको छ । साथै कुराकानीका क्रममा नेलिकाले केस मिलाउन दबाब दिएको पाइएको छ । मुख्य प्रतिवादी तुल्सीले नेलिकाको बैंक खातामा मात्रै १९ लाख ८ हजार रुपैयाँ हालिदिएको पाइएको छ भने तुल्सीको स्कुटरसमेत नेलिकाले नै चलाउँदै आएको भेटिएको थियो । उक्त स्कुटर हाल प्रहरीले नियन्त्रणमा राखेको छ ।
अनुसन्धानका अनुसार, नेलिका लामिछाने मुख्य अभियुक्त तुल्सी अधिकारीको योजना कार्यान्वयन गर्ने प्रमुख व्यक्ति हुन्। २०८१ फागुन १३ गते (सन् २०२५ फेब्रुअरी २६) का दिन उनी जाहेरवाला शंकर चिमोरियाको नयाँ बन्दै गरेको अफिसमा पुगेकी थिइन्। उनले चिमोरियालाई धम्काउँदै भनेकी थिइन्– “तुल्सी दिदीले तपाईं विरुद्ध जबरजस्ती करणीको मुद्दा हाल्न जाहेरी तयार पार्नुभएको छ, म तपाईंको माया लागेर भन्न आएको, कुरा मिलाउनुस्।"
उनले आफ्नो मोबाइलमा तयार पारिएको जाहेरीको फोटो समेत देखाई चिमोरियालाई मानसिक दबाबमा पारेकी थिइन्। चिमोरियाले आफ्नो आइफोन १६ प्रो म्याक्समार्फत नेलिकाले दिएको धम्कीको अडियो गोप्य रूपमा रेकर्ड गरेका थिए, जुन अहिले मुख्य प्रमाण बनेको छ ।
नेलिका केवल धम्की दिने काममा मात्र सीमित थिइनन्। उनी तुल्सी अधिकारीसँगै भारत र श्रीलङ्का भ्रमणमा जाने, तुल्सीकै स्कुटर (अप्रिलिया बा.प्र.०२–०३३ प १८६४) प्रयोग गर्ने र गिरोहभित्र ’सेटिङ’ मिलाउने काममा सक्रिय थिइन्। उनले जाहेरवालालाई धम्काउने क्रममा “म आएको कुरा लक्ष्मी खतिवडा दिदीलाई नभन्नु“ भन्दै गिरोहभित्रको गोपनीयता कायम राख्न खोजेको अडियोबाट खुल्छ।
कुनै व्यवसाय बिनै करोडौँको शङ्कास्पद आर्थिक कारोबार
नेलिकाको बैंक खाताको विश्लेषण गर्दा उनी कुनै व्यवसाय नगर्ने भए तापनि करोडौँको कारोबार गरेको भेटिएको छ । तुल्सी अधिकारी र उनकी छोरीको खाताबाट नेलिकाको प्राइम कमर्सियल बैंकको खातामा १९ लाख ८० हजार १४० रुपैयाँ ट्रान्सफर भएको देखिएको छ । उनले उक्त रकम तुल्सीको घर मर्मत (ढल, ट्वाइलेट, फर्निचर), वकिलको खर्च, अदालतको दस्तुर र तुल्सीको स्कुटरको कर तिर्न प्रयोग भएको बताएकी छिन्। साथै, तुल्सीले आफ्नो जन्मदिन मनाउन ५० हजार र जुत्ता किन्न ३० हजार रुपैयाँ हाल्दिएको पनि उनले स्वीकार गरेकी छिन्।
उनको प्राइम कमर्सियल बैंकको खातामा ६९ लाख २५ हजार र मुक्तिनाथ विकास बैंकको खातामा ८४ लाख ४० हजार गरी करिब १ करोड ५३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । उनले आफ्नो नाममा कास्कीको मट्टिखानमा जग्गा समेत खरिद गरेको भेटिएको छ, जसको वैध आयस्रोत उनले खुलाउन सकेकी छैनन्।
सरकारी वकिलले नेलिका लामिछाने विरुद्ध बिगोको दोब्बर जरिवाना र १० वर्षसम्म कैदको मागदाबी गर्दै जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेको छ। साथै, उनको नाममा रहेको बैंक मौज्दात र कास्की जिल्लाको कित्ता नं. १०९४ को जग्गा समेत जफत गर्न माग गरिएको छ।
नेलिका लामिछानेले अनुसन्धान अधिकारी समक्ष दिएको बयान
“मिति २०८२।०८।२७ गते जाहेरवाला कुमार चिमोरियाले निवेदन साथ पेश ४ जिबी पेन्ड्राईभमा राखि पेश गरेको अडियो भ्वाईस (स्वर) रेकर्ड सुनाउँदा सुनि पाएँ, उक्त अडियो भ्वाईस रेकर्डमा महिला बोलेको भ्वाईस (स्वर) मेरो आफ्नो भ्वाईस (स्वर) भएको हुँदा सुनि सनाखत गरी दिएको छु । यसमा मेरो सत्य साँचो ब्यहोरा यो छ की करिव २ बर्ष अगाडी देखी पढाईको सिलसिलामा पोखरा देखी ललितपुर आई चीनजानको आफन्त मानिसको घरको फल्याट भाडामा लिई बस्दै आएको थिए, एकिन मिति समय याद छैन ।
मैले टिकटक चलाउने क्रममा टिकटक मा हातमा लगाउने ब्रासलेट देखेको र उक्त ब्रासलेट किन्न भनि टिकटकमा उल्लेख गरेको लोकेशनमा गई ब्रासलेट खरिद गर्ने क्रममा तुल्सी अधिकारीसँग देखादेख भई सामान्य कुराकानी भयो । सो दिन मलाई मन परेको ब्रासलेट खरिद गरी निस्केको थिए, त्यसको केही समयपछी निज तुल्सी अधिकारीलाई एकान्तकुना स्थित रहेको कफी पसलमा भेट भई कुरा भए पश्चात मेरो र तुलसा भन्ने तुल्सी अधिकारीविच राम्रोसँग चीनजान भयो । पछी मेरो कोठामा तुलसा भन्ने तुल्सी अधिकारी खाजा खान आउनु भएको हुँदा सो समयमा दिदी र मेरो नम्वर आदान प्रदान भयो । त्यसपछीका दिनहरुमा तुलसा भन्ने तुल्सी अधिकारी र मेरो फोनमा कुराकानी हुन थाल्यो ।
पछि म आफैँ निज तुल्सी अधिकारीले ललितपुरको जावलाखेलमा संचालन गरेको तुल्सा कलेक्शन प्रा.लि.मा गई दिदी सँग भेटघाट भई कुराकानी हुने गर्ने गरेको थिए । निज तुल्सी अधिकारीसँग कुरा हुँदै जाने क्रममा कुमार चिमोरिया र म रिलेशनमा बसेको थिए, निजसँग रिलेशनमा बसेपछी मलाई जागिर तथा व्यापार गर्नको लागी फेन्सी पसल समेत खोली दिई मेरो खुट्टा टेकाई दिएको थियो । निजले मलाई प्रभावमा पारी विवाह गर्ने भनि आफ्नो श्रीमती क्यान्सर पीडित भएको भनि ढाटी म सँग रिलेशनमा बसी पछि बुझ्दा उसको बुढीलाई केही नभएको थाहा पाएपछी मैले निजको श्रीमतीलाई जानकारी गराएका थिए । पछी मलाई अत्याचार गरेर मैले संचालन गरेको पसल र घर लगायत मेरो सम्पुर्ण स्वामित्वमा रहेको धनमालहरु खोसेपछी म निजबाट टाढा भए भन्ने समेत व्यहोरा मलाई बताउनु भएको थियो ।
सामाजिक संजालमा तुल्सा कलेक्शनले कुमार चिमोरियाको ३ करोड रुपैँया खाएको भनेर गलत अफवाह फैलायो भन्दै रुनु हुन्थ्यो । रुँदै कुरा गर्ने क्रममा म अव कुमार चिमोरियालाई जवरजस्ती करणीको केश हाल्छु, मलाई बिस्वास घात गर्यो भन्ने कुरा मलाई शेयर गर्नु भएको थियो । निज तुलसा भन्ने तुल्सी अधिकारी र कुमार चिमोरियाको बिचमा अन्य के के हुने गथ्र्यो मलाई थाहा भएन । मलाई मिति २०८२।०८।२७ गते जाहेरवाला कुमार चिमोरियाले दिएको निवेदनको व्यहोरा देखाई पढी वाची सुनाउँदा सुनि थाहा पाए, एकिन मिति याद छैन ।
मैले टिकटक हेर्ने क्रममा हाम्रो अटोमोबाईल्स प्रा.लि.ले गाडीको विज्ञापन सहितको फोटो सहित लोकेशन राखेको हुँदा उक्त टिकटकमा राखेको मोबाइल नम्वर याद भएन, सोही नम्वरमा कल गरेर आउँदा उक्त गाडी सोरुम कुमार चिमोरियाले संचालन गरेको हाम्रो अटो मोबाईल्स रहेछ । सो समय सम्म मलाई उक्त अटो मोबाईल्स कुमार चिमोरियाले संचालन गरेको भन्ने थाहा थिएन, उक्त अटो मोबाईल्समा जाँदा स्टाफहरु मात्र रहेको हुँदा गाडीको कुरा भयो । कुरा हुँदै जाँदा जाहेरवाला कुमार चिमोरिया आईपुग्नु भएपछी सामान्य गफगाफ हुँदै जाँदा निजले क्याविनमा बसेर कुरा गरौँ भन्नु भयो । मैले गाडी सम्बन्धी कुरा गर्दै जाँदा टिकटकमा देखेको अर्कै अटो मोबाईल्सले विक्रीको लागी राखेको गाडी देखाउँदा यो गाडी बिक्री गर्ने अटो मोबाईल्स मेरो चीनजानको मानिसको हो भनि कुरा समेत गर्दिनु भयो । मलाई मन परेको अर्को अटो मोबाईल्समा रहेको गाडी भोलि मगाई दिन्छु । सके सम्म मिलाएर दिलाई दिने काम गर्छु भन्नु भयो ।
कुरा गर्दै जाँदा तपाईलाई मैले कहाँ देखेको जस्तो लाग्यो भनेर घुमाउँदै कुरा गर्न थाल्नु भयो । उँहाले तपाईलाई कहाँ देखे देखे जस्तो लाग्छ, तपाईलाई कसैसँग सामाजिक संजालमा देखि राखेको मान्छे हुनु हुँदो रहेछ भन्दै कुरा गर्नु भयो । मैले म सामाजिक संजाल धेरै चलाउदिन भनेँ, कँहा देख्नु भयो कतै देख्नु भयो होला भनेँ, उहाँले आफैँ सम्भेफर तुल्सा अधिकारीसँग देखेको हुँ भन्नु भयो । घुमाई फिराई तुल्सी अधिकारीको कुरा गर्नु भयो । त्यसै बखत मैले अहिले गाडीको कुरा गर्न आएको हुँ भन्दै सो बिषयमा मैले कुरा गर्न चाहिन, सो समयमा अर्कै ग्राहकसँग कुरा गर्न जानु भयो । उहाँ सँग कुरा सकेर आएपछी तुल्सी अधिकारीको बारेमा कुरा गर्न थालियो । त्यो बेलामा कुमार चिमोरियाले मैले तुल्सी अधिकारीलाई कानूनी बाटो अपनाउँदै छु भन्दै गर्दा मैलै एक्लै एकान्तमा बोलाएर त्यो हजुरहरुको कुरा हो । बरु तुल्सी अधिकारीले तपाईको विरुद्धमा मुद्दा हाल्दै हुनुहुन्छ म आएको कुरा कसैलाई नभन्नु, केही पर्यो भने मेरो नम्वरमा फोन गर्नु भनि निस्केको हुँ ।
सो विषयमा कुमार चिमोरिया र मेरो लगभग १० मिनेट जति कुरा भएको थियो । निज कुमार चिमोरियासँग कुरा गर्दाको समयमा निजले आफ्नो मोबाईलमा अडियो भ्वाईस रेकर्ड गरेको रहेछ, निजले आफ्नो बोलेको र मैले बोलेको सम्पुर्ण भ्वाईस रेकर्ड काटेर दिएको रहेछ, म र कुमार चिमोरिया बिच भएको कुराको अडियो भ्वाईस रेकर्ड पुरै रहेनछ । निज कुमार चिमोरिया र मेरो बिच भएको पुरै भ्वाईस रेकर्ड मगाएर सुनि दिन हुन समेत अनुरोध गर्दछु । मेरो बुवा नेपाली सेनाबाट अवकाश प्राप्त कर्मचारी भएको र आमा घरमा गृहणीको काम गर्नु हुन्छ । मेरो दिदी म्ख् परेर अमेरिका जानु भएको करिव ५ बर्ष जति भयो । मेरो हाल कुनै व्यापार व्यवसाय केही छैन । म अहिले ललितपुर स्थितमा अर्कैको घरमा बस्दै आएको छु, सोको भाडा आफैँले तिर्ने गरेको छु, भाडा तिर्ने रकम कुनै सानो तिनो काम पाएमा गर्ने गरेको छु, सो बाट आएको रकमले आफ्नो फल्याट भाडा र आफ्नो खर्च चलाउने काम गर्दछु ।
मलाई तुल्सी अधिकारीको गरिमा बिकास बैंक र तुलसा भन्ने तुल्सी अधिकारी संरक्षक रहेको प्रनिशा न्यौपानेको कुमारी बैंकको खाताबाट जम्मा हुन आएको बैंक स्टेटमेन्ट देखाउँदा देखेँ, तुल्सी अधिकारीको गरिमा विकास बैंकबाट मेरो खाता रहेको प्राईम कमर्सियल बैंकमा जम्मा हुन आएको सबै रकम तुल्सा अधिकारी दिदीले आफ्नो घर मर्मत संभार, घरको ढल मर्मत, सेफ्टी ट्याङ्की झिकेको, पाईप फेरेको, ट्वाईलेट मर्मत, घरको तला थपेको, फर्निचरको कामको खर्च, वकीलको खर्च, ललितपुर अदालतमा कुमार चिमोरियाको विरुद्धमा लेनदेनको फिराद दर्ता गर्दा लाग्ने राजश्व, तुल्सी अधिकारीको नाममा रहेको ब्उचष्बि कम्पनीको ०२–०३३ प १८६४ नम्वको स्कुटरको सवारी दर्ता किताबको राजश्व र स्कुटरको विमा समेत मैले तिरी दिएको थिए । उक्त स्कुटर नविकरण र विमा गर्दा रु. २८/२९ हजार रुपैँया लागेको हुँदा सो समेत मैले दिरी दिएको हुँ । निज दिदीले मेरो जन्म दिन मनाउनको लागी भनि रू.५० हजार रुपैँया, कसैको लागी जुत्ता किनेर दिनु भनेर रु.३० हजार रुपैँया समेत मेरो खातामा हाल्दिनु भएको हो । मैले अझ समेत तुल्सी अधिकारीसँग रु.१०,०००/१२,००० रुपैँया लिनुपर्ने छ । निज तुल्सी अधिकारीको घरको बत्तीहरु फेर्ने काम समेत भएको थियो । निजले पठाएको रकम मध्ये केही रकम मैले कमिशन खाई काम गरेको हुँ ।
कुमार चिमोरियाले तुल्सी अधिकारीको विरुद्धमा ठगी केश हालेको भन्ने कुरा तुल्सी अधिकारीले थाहा पाउनु भयो । मैले निजसँग केही ठगेको छैन बरु उल्टै निजले मलाई दिनुपर्ने छ, मेरो उक्त काम गर्ने आफन्त कोही छैन । बुवा आमा बृद्ध हुनुहुन्छ, तिमीलाई वारेश राखी अदालतमा मुद्दा दर्ता गर्नु पर्यो । वारेशको कागजातहरु म पठाउँछु भन्ने कुरा गर्नु भयो । कानून व्यवसायीले अर्कै मान्छेको वारेश राखेर फिराद दर्ता गराउने कुरा गर्दा तुल्सा अधिकारी दिदीले नमानेपछी म बाध्यताले आफैँ वारेश बसी कुमार चिमोरियाको विरुद्धमा ललितपुर जिल्ला अदालतमा फिराद दर्ता गराएको हुँ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण