घुरको धुवाँ आकाशतर्फ
सारांश
- राजेश खनालको 'घुरको धुवाँ' कृतिले मधेसको मौलिक संस्कृति, परम्परा र लेखकको बाल्यकालका स्मृतिहरूलाई जीवन्त रूपमा प्रस्तुत गरेको छ।
- पुस्तकमा पूर्वी र पश्चिमी मधेसको रहनसहन, खानपान, रामलीला, नौटङ्की र प्रकृतिसँगको सामीप्यलाई मार्मिक ढङ्गले चित्रण गरिएको छ।
- सूचना प्रविधिको प्रभाव र पुस्तान्तरणको अभावले लोप हुँदै गएको मधेसी लोक संस्कृति र सभ्यताको संरक्षणमा पुस्तकले जोड दिएको छ।
घुरको धुवाँ भन्नेबित्तिकै आकाशतर्फ उडिरहेको धुवाँको बिम्ब बन्छ हाम्रो मस्तिष्कमा । राजेश खनालको ‘घुरको धुवाँ’मा व्यक्तिगत विगत झल्किन्छ । जसमा तपाईं–हाम्रो अतीत सल्बलाएको देखिन्छ । मार्टिन चौतारीको एक कार्यक्रममा राजेश सरसँग उक्त कृति लिने अवसर मिल्यो, जसमा मैले आफ्नै विगत भेट्टाएँ । कीर्तिपुरमा बसेर म ‘घुरको धुवाँ’ पढ्दै छु किन्तु अक्षरमार्गसँगै मेरो तन तौलिहवामा घुर ताप्दै छ, जहाँ मेरो बाल्यकाल बितेको थियो ।
ससानो खाल्टो पारी त्यसमा पराल, झिक्राझिक्री र रूखबाट झरेका पातहरूको थुप्रोलाई जलाउँदा उड्ने धुवाँलाई घुरको धुवाँ भनिन्छ । लगभग हेमन्तको पहिलो प्रहरदेखि शिशिरको मध्यसम्म घरको आँगनमा सबै एकै ठाउँ बसेर घुर ताप्ने चलन छ । अनुजदेखि अग्रजसम्मका कुराकानी र विचार सुन्ने अवसर मिल्छ त्यस मौकामा । उखानटुक्का र हाँसो गर्दै आगो ताप्दा वातावरण नै रमणीय बन्छ ।
समय गएको पत्तै हुँदैन । लाग्छ मलाई मधेसमा प्रायः मान्छेहरू घुर तापेर नै हुर्केका हुन्छन् । भलै अगाडि तातिएर पछाडि चिसिएको किन नहोस्, त्यसरी प्रकृतिसँगै हुर्कन सिकेका हुन्छन् । त्यस समय हिटर हुँदैनथ्यो । वातानुकूलित पार्ने त्यस्तो केही जिनिस थिएन । अहिले त्यहाँ जाडो सुरु भएपछि घुर ताप्ने चलन छ कि छैन होला ? अहिले घुरको विकसित रूप भएर कोठाकोठामा हिटर आयो कि !
कालोमैलो गराउने त्यो घुर आजभोलि मन पर्दैन । हुन त मन परे पनि नपरे पनि समाजमा घुरको छुट्टै संस्कृति छ, आत्मीयता छ, प्रेम छ, मिठास छ । आफू हुर्किएको धर्तीको माया छ । त्यसैले खनालका पुस्तकमा ती स्मृतिहरू ब्युँझिएर एकमुष्ट भएका छन् ।
ती दिनहरू सम्झँदा आँखाअगाडि आएर बस्छ उही बाल्यकालीन समय । ठाउँ फरक होला, भाषा फरक होला तर आनीबानी, रीतिरिवाज, संस्कृति भने एउटै हुँदो रहेछ मधेसको ।
गाउँघरमा गर्मीको समयमा हावा खाने चौतारो हुन्थ्यो भने जाडोमा आगो ताप्ने घुरसहितको अँगेनो । किन्तु घुर आगो ताप्ने ठाउँ मात्र होइन जीवनको चौतारी पनि हो, जहाँ अग्रजबाट अनेकौँ पाठहरू सिक्न पाइन्छ । सायद पूर्वी र पश्चिमी मधेसको परिवेश, भूगोल, सभ्यता, संस्कृति एकै हुँदो रहेछ । पुस्तक पढ्ने क्रममा पूर्वी मधेसको औरही गाउँको परिवेश, त्यहाँको संस्कृति, सभ्यता र पश्चिमी मधेसको परिवेशमा धेरै समानता पाएँ ।
औरही गाउँ हाम्रो तौलिहवामा पनि छ । गुइँठा बाल्ने चलन हाम्रोमा पनि छ । आलु, चना र केराउको हरियो झ्याङ पोलेर खाने चलन पनि छ । खाजाका रूपमा भुजा–चना खाने चलन पनि उत्तिकै छ । हाम्रोतिर भनिने भुजालाई पूर्वमा मुरई भन्दा रहेछन् । टुकीलाई हाम्रोमा ढेबरी भन्छन् भने त्यहाँ डिबिया भन्दा रहेछन् । हामी पनि खाजाका रूपमा आलु पोलेर, भारमा भुजा भुटेर खाने गर्थ्यौँ । कति रमाइला थिए ती स्वर्णिम दिनहरू ! अहिलेजस्ता बनिबनाउ खानेकुराहरू थिएनन् ।
ती दिनहरू सम्झँदा आँखाअगाडि आएर बस्छ उही बाल्यकालीन समय । ठाउँ फरक होला, भाषा फरक होला तर आनीबानी, रीतिरिवाज, संस्कृति भने एउटै हुँदो रहेछ मधेसको । हामी अवधी क्षेत्रका हौँ । मैथिली, अवधी, हिन्दी भाषाको सम्मिश्रण त हुन्छ नै । त्यसैले पूर्वी र पश्चिमी मधेसको रहनसहनमा समानता भेट्टाएँ । अतीतको गर्भमा लुकेको आफ्नै अतीत भेट्टाएँ खनालको संस्मरणात्मक कृतिमा ।
कुनै विलासी वस्तु तथा मनोरञ्जनको साधन थिएन त्यस समय । मधेस आफैँमा धनी थियो आफ्नो संस्कृतिमा । लेखकले भनेजस्तै हाम्रोमा पनि सांस्कृतिक कार्यक्रम, नाचगान, रामलीला र नौटङ्कीजस्ता विविध सांस्कृतिक कार्यक्रमहरू हुने गर्थे । यसैबाट मानिसहरूले भरपूर आनन्द लिन्थे । त्यस समय मानिसमा एकत्वको भाव थियो । आफ्नो संस्कृतिप्रति लगाव थियो, प्रेम थियो ।
महिलाहरूले नौटङ्कीजस्तामा भाग लिन पाउँदैनथे । उनीहरू हेर्ने मात्र हुन्थे । त्यस क्षेत्रमा महिलाको भूमिका निर्वाह गर्नुपरेमा नारीको लुगा लगाएर पुरुषहरू नै खेल्नुपर्थ्यो । आज त्यसरी सांस्कृतिक सद्भावमा रमाउने गाउँ भलुवाही सुनसान भएको छ । त्यहाँ दसैँको अवसरमा नौटङ्की र सांस्कृतिक कार्यक्रम नभएको धेरै भइसकेको छ । लेखकको सिराहाको भलुवाही गाउँ मात्र होइन, आज प्रायः देशभरका गाउँहरू सुनसान भएका छन् । संस्कृति र सभ्यता मासिँदै गइरहेका छन् । त्यसैले गर्दा आजभोलि गाउँमा नौटङ्की तथा सांस्कृतिक कार्यक्रम हुन नसकेका हुन् ।
उत्तरआधुनिक समयमा सूचना प्रविधिको साम्राज्य प्रतिदिन व्यापक रूपले अरू फैलिँदै गएको छ । पश्चिमी संस्कृतिले दैलो टेकेको छ । यसैको प्रभावस्वरूप युवाहरू बिदेसिने क्रममा छन् । त्यसैले गर्दा मधेसको संस्कृति पुस्तान्तरण हुन सकेन । मौलिक संस्कृति र सभ्यता घनीभूत भएको मधेस, आज साइबर संस्कृतिको अतिक्रमणमा परेको छ । वैश्विक कारणले गर्दा पुस्तौँपुस्तादेखि निरन्तर चलिआएको मधेसको मौलिक परम्परा र संस्कृति विस्थापित हुँदै गइरहेको छ । कोठामा बसेर विश्व नियालिरहेका पुस्तालाई रामलीला र नौटङ्की भन्ने के थाहा ? एकादेशको कथाजस्तो लाग्दो हो आजका युवाहरूलाई ।
अहिलेका बच्चाहरूजस्तो कोठाको परिधिभित्र बाँधिएर बस्दैनथे त्यतिखेरका केटाकेटीहरू ।
यसरी मधेसका लोक संस्कृतिहरू मासिनुमा हामी आफैँ जिम्मेवार छौँ । चाडपर्व तथा संस्कृतिलाई एक पुस्तादेखि अर्को पुस्तामा पुस्तान्तरण गर्न सकेनौँ । त्यसैले गर्दा भाषा, संस्कृतिहरू लुप्त हुँदै छन् । ‘बुढा मरे भाषा सरे’ भन्ने उखान चरितार्थ भएको छ ।
घुर आगो ताप्ने तरिका मात्र होइन । पातपतिङ्गर, झिक्राझिक्री जलाएर मल बनाई फोहोर व्यवस्थापन गर्ने तरिका पनि हो; जबकि खरानी मल वा विषादीका रूपमा प्रयोग हुन्छ ।
अहिलेका बच्चाहरूजस्तो कोठाको परिधिभित्र बाँधिएर बस्दैनथे त्यतिखेरका केटाकेटीहरू । साथीभाइसँग रमाउँथे । कृतिमा लेखक त्यसरी रमाएका छन् । हजुरआमासँग कुराकानी गर्दागर्दै साथीले सिठी फुकेपछि उनी बाहिर खेल्न निस्किन्छन् ।
‘अन्धडको टिकुला’ उपशीर्षकले पाठकलाई झोला वा बोरा लिएर आँपको बगैँचामा पुर्याउँछ । मुखमा पानी रसाउँछ त्यो समयलाई सम्झँदा । मैले र साथीले रूखबाट आँप टोक्दै फाल्दै गरेको सम्झना जीवन्त भएर आउँछ । गर्मीको समयमा बेतोडले हावा चल्थ्यो, आँप झार्थ्यो । उता हामी आँधीसँग सम्झौता गर्दै झरेको आँप टिप्थ्यौँ । ‘अन्धडको टिकुला’ पढ्दा मधेसको त्यस समयको आँधीहुरी सम्झिएँ । साथीभाइ सम्झिएँ । आँधी आउँदा चाहे आफैँलाई उडाउने किन नहोस् निफिक्री भई दौडेर आँपको टिकुला टिप्न गइन्थ्यो । अहिले सम्झिँदा अचम्म लाग्छ ।
अहिले धुम्मिएको छ काठमाडौँको आकाश । सूर्यलाई बादलले ढपक्क ढाकेको छ । मधेसको जस्तै आँधीहुरी आउने हो भने पक्कै पनि यो धुम्मिएको आकाश सफा हुन्थ्यो होला । यतिखेर काठमाडौँमा आँपले मुजुरा लगाउँदै छ । मधेसमा त यतिखेर सानो टिकुला हुन लागिसकेको छ ।
नजिकिँदै छ हावाहुरी आउने समय । आँप पनि बिस्तारै ठूलो हुँदै छ । अहिले पनि केटाकेटीहरू यसरी नै कुद्छन् होला जसरी स्रष्टा र उनको परिवार ढकिया लिएर बगैँचामा कुदेको छ ।
‘आँप महिनामा खाजा खाने बेला एक बाल्टिन पाकेको आँप पखालेर राखिन्थ्यो र रुचेजति, पचाउन सक्नेजति चुसेरै खाइन्थ्यो ।’ साँच्चै स्रष्टाले यहाँ मेरै बाल्यकाल लेखिदिएजस्तो लाग्यो । यो प्रसङ्गले म मेरै अतीतमा डुबुल्की मार्न पुगेँ । तब शब्दहरूलाई अँगालो हाल्न मन लाग्यो । बाल्टिनलाई बीचमा राखेर आँप चुस्दै, खाँदै, फाल्दै गरेको दृश्य आँखावरिपरि झलझली आयो । आँपको सिजनमा हो, हामी पनि यसरी नै खाने गर्थ्यौँ ।
‘जन्मभूमिमा अन्तिम शिविर’ उपशीर्षक पढ्दा व्यक्ति जहाँ गए पनि जन्मे–हुर्केको जन्मभूमिले उसलाई पछ्याइरहँदो रहेछ ।
अहिले मेरा छोरीहरूलाई यसै भन्ने गर्छु । काटेर आँप कहिल्यै खाँदैनथ्यौँ । अझै पनि त्यो आँपको स्वाद जिब्रोमा झुन्डिएको छ । दुई–तीनपटक पढेँ मैले पुस्तकका यी अंशहरूलाई, जहाँ आत्मीयता भेट्टाएँ । म फेरि सानो भएँ । खुसीले हृदय नाच्यो । त्यो मेरो प्रिय तौलिहवा सम्झेँ यहीँबाट । अगाडि बढेको जीवन फेरि फर्किएर हेरेँ । कति प्रिय हुँदा रहेछन् ती बालापनका स्मृतिहरू ! भिन्न ठाउँ, भिन्न संस्कृति भए तापनि स्रष्टा र हाम्रो मधेसका बालापनहरू उस्तैउस्तै हुँदा रहेछन् । समय र परिवेश फेरिए पनि मन त बालापनकै छ ।
अहिलेका बच्चाहरू १४–१५ वर्षको हुँदासम्म अभिभावकले झोला बोकेर स्कुल पुर्याउन र लिन जाने गरेको देखिन्छ । त्यतिखेरको समयमा सानै उमेरका बच्चाहरूले आफ्नो जिम्मेवारी आफैँ निर्वाह गर्थे । प्रकृतिमा रमाउँथे, नदीमा पौडी खेल्थे । अहिले बच्चाहरू ब्रोइलर कुखुराजस्ता भएका छन् । मधेसको संस्कृति बुझ्न बच्चाहरूलाई यो पुस्तक उपयुक्त होला ।
‘जन्मभूमिमा अन्तिम शिविर’ उपशीर्षक पढ्दा व्यक्ति जहाँ गए पनि जन्मे–हुर्केको जन्मभूमिले उसलाई पछ्याइरहँदो रहेछ । आफ्नो गाउँ छोडेर काठमाडौँ आए तापनि लेखक र उनका मामा डा. अञ्जनीकुमार शर्मालाई गाउँप्रतिको माया उत्तिकै छ । कहाँ बिर्सिन्छ र आफू जन्मेको माटोको सुगन्ध ! डा. अञ्जनीकुमार शर्माले ८५ वर्षको उमेरमा पनि गाउँमा गएर उत्तिकै जोसका साथ बिरामी हेर्नुहुन्छ । अझ अचम्मको कुरा त आफू क्यान्सरको बिरामी हुँदा पनि गाउँमा गएर स्वास्थ्य शिविर राख्ने वाञ्छा प्रकट गर्नुहुन्छ । सायद यो नै मातृभूमिप्रतिको श्रद्धा होला, जुन माटोमा भिजेको छ त्यस माटोको सुगन्ध अनन्तसम्म हुँदो रहेछ ।
‘सीता बिँडी खाइरहेकी छिन्’ उपशीर्षक पढ्दा पाठक उन्मुक्त भएर हाँस्छ । सीता बनेको मान्छेले लुकेर बिँडी खाएको देख्दा १२–१५ वर्षका युवाले आश्चर्य मान्दै भनेका छन्- भगवान् भएर पनि सीताले बिँडी खाएकी छन् ! यो दृश्यले दर्शक मात्र होइन पुस्तक पढ्ने मान्छे जो पनि हाँस्छ । अर्को कुरा, रामलीलामा रामको बाण लागेपछि ढल्नुपर्नेमा कलाकारले ‘पहिले तलब दू तब मरब’ भन्छ । यो नै अर्को हाँसो उठ्ने कुरा छ । कलाकारले दुई महिनादेखि पारिश्रमिक पाएको रहेनछ । त्यसकारण जति बाण लागे पनि ढल्दैढल्दैनन्... ।
परम्परित रूपबाट चल्दै आएका हाम्रा गाउँका नौटङ्की, सर्कस तथा रामलीलाहरू दुर्लभ भइसकेका छन् । तैपनि स्रष्टाको मनमा ती मनोरञ्जनहरू आइरहेका छन् । लेखकले मधेसको रहनसहन, खानपान, संस्कृतिलाई जीवन्त उतारेका छन् । समय र परिवेश फेरिए पनि लेखकको मन बालापनमै केन्द्रित छ ।
संस्मरणात्मक शैलीमा लेखिएको ‘घुरको धुवाँ’मा लेखकको व्यक्तिगत अनुभूति मात्र होइन, पाठकका अनुभूति पनि अन्तरघुलित भएर आएका छन् ।
प्रस्तुत संस्मरणात्मक कृति भाषिक सौन्दर्यका दृष्टिले राम्रो र पठनीय छ । ठाउँठाउँमा आञ्चलिकताको प्रयोगले भाषाशैलीमा बेग्लै मिठास थपेको छ । शब्दशब्दमा मधेसको बिम्ब बन्छ मस्तिष्कमा । मधेसको गाउँदेखि काठमाडौँको व्यस्त सडकसम्मलाई लेखकले यस कृतिमा इङ्गित गरेका छन् । यस सङ्ग्रहमा विविध प्रकारका १८ वटा शीर्षकहरू अनुभूतिका बिस्कुन बनेर शब्दमा उतारिएका छन् । यस कृतिले लेखक र पाठकको बालापन र मातृभूमिलाई पुनर्मिलन गराएको छ ।
(कीर्तिपुर, काठमाडौँ)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण