उपसभामुख निर्वाचनमा एक्लियो राप्रपा, सबै दलको समर्थन ठाकुरलाई
काठमाडौँ । प्रतिनिधि सभाको उपसभामुख निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) एक्लिएको छ। प्रतिनिधि सभामा रहेका ६ दलमध्ये राप्रपाबाहेकका दलले श्रम संस्कृतिकी उम्मेदवार ठाकुरलाई समर्थन गर्ने बताएपछि राप्रपा एक्लिएको हो।
सभामुख डोलप्रसाद अर्यालले शुक्रबार दिउँसो ४ बजे बस्ने प्रतिनिधि सभा बैठकमा उपसभामुखको निर्वाचन गर्ने मिति तोकेका थिए। सभामुख अर्यालको निर्देशनअनुसार सङ्घीय संसद् सचिवालयका सचिव हर्क राईले उपसभामुख निर्वाचनको कार्यतालिकासम्बन्धी सूचना सार्वजनिक गरेका थिए। उक्त सूचनामा बिहीबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिएको थियो।
तोकिएको समयमा राप्रपाकी सांसद सरस्वती लामा र श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुरले उम्मेदवारी दर्ता गराएका छन्। सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले उपसभामुखमा लामा र ठाकुरको उम्मेदवारी दर्ता भएको जानकारी दिए।
रुवीकुमारीको प्रस्तावकमा श्रम संस्कृति पार्टीका सांसद आर्यन राई र समर्थकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अशोककुमार चौधरी र श्रम संस्कृतिकी सांसद अम्बिकादेवी निरौला छन्।

त्यस्तै, लामाको प्रस्तावकमा राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाही र समर्थकमा राप्रपाकै सांसदहरू खुस्बु ओली, ताहिर अलि र भरत गिरी रहेको सङ्घीय संसद् सचिवालयले जानकारी दिएको छ।
२७५ सदस्यीय प्रतिनिधि सभामा उपसभामुख निर्वाचित हुनका लागि १३८ मत आवश्यक पर्छ। तसर्थ, ठाकुर उम्मेदवार बनेको श्रम संस्कृति पार्टी र लामा उम्मेदवार बनेको राप्रपाका सांसदको मतले मात्रै त्यो सङ्ख्या पुग्दैन।
दुवै उम्मेदवारले अन्य दलको समर्थन लिनुपर्ने आवश्यकता छ। प्रतिनिधि सभामा रास्वपाको एक्लै १८२, नेपाली कांग्रेसको ३८, नेकपा एमालेको २५, नेपाली कम्युनिस्ट पार्टीको १८, श्रम संस्कृति पार्टीको ७ र राप्रपाको ५ सिट छ। महावीर पुन स्वतन्त्र सांसद छन्।
सत्तारुढ दल रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले सिंहदरबारमा उम्मेदवारी दर्ताका बेला पत्रकारहरूसँग आफूहरूको समर्थन श्रम संस्कृतिकी उम्मेदवार ठाकुरलाई रहने बताएका थिए।

रास्वपा प्रवक्ता मनिष झाले पनि आफ्नो दलको समर्थन श्रम संस्कृति पार्टीलाई रहेको बताएका छन्। ‘प्रतिनिधि सभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन श्रम संस्कृति पार्टीका सांसद माननीय रुवीकुमारी ठाकुर (धनुषा) लाई रहने निर्णय भएको छ। यसको समर्थकमा रास्वपा सांसद अशोककुमार चौधरी रहनुहुनेछ,’ झाले भने।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले उपसभामुखमा आफूहरूको समर्थन ठाकुरलाई रहने बताए। ‘उपसभामुखमा हाम्रो समर्थन श्रम संस्कृति पार्टीकी उम्मेदवारलाई रहन्छ,’ पौडेलले रातोपाटीसँग भने, ‘राप्रपासँग हाम्रो सिद्धान्त पनि मिल्दैन। यसबारे उसले हामीसँग कुनै छलफल पनि गरेन।’
एमाले उपाध्यक्ष तथा प्रतिनिधि सभा सदस्य गुरु बरालले पनि उपसभामुखमा आफूहरूको समर्थन श्रम संस्कृति पार्टीलाई हुने बताए। ‘हाम्रो समर्थन श्रम संस्कृतिकै उम्मेदवारलाई रहन्छ, निर्णय परिवर्तन गर्दैनौँ,’ बरालले रातोपाटीसँग भने।
नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश मल्लले उपसभामुखमा आफूहरूको रोजाइ श्रम संस्कृति पार्टी रहेको बताए। ‘राप्रपा र श्रम संस्कृतिबाट उपसभामुखमा उम्मेदवारी परेको छ। त्यसमध्ये हाम्रो रोजाइ श्रम संस्कृति नै हो,’ मल्लले रातोपाटीसँग भने।
बिहीबार बिहान विपक्षी दलहरूले बैठक बसेर श्रम संस्कृति पार्टीलाई उपसभामुखमा सघाउने निर्णय गरेका थिए। पछि सत्तारुढ दल रास्वपाले पनि श्रम संस्कृति पार्टीकी उम्मेदवारलाई नै सघाउने निर्णय गरेपछि ठाकुर उपसभामुखमा निर्वाचित हुने निश्चितजस्तै छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सियाटलमा बोस्नियाको वर्चस्व, पहिलो हाफमा कतार २–१ ले पछाडि
-
सात विपन्न परिवारलाई घर
-
रास्वपा महाधिवेशनमा सुरु भयो मतदान
-
मध्यरातसम्म पनि सुरु भएन रास्वपाको मतदान, लाइनमै छन् प्रतिनिधि
-
१२ बजे १२ समाचार: रास्वपालाई महाधिवेशन व्यवस्थापन गर्नै धौधौदेखि कर्णालीको ‘कन्तबिजोग’सम्म
-
गर्मी बढेपछि वीरगन्जका विद्यालय ४ दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण