सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

निगममा पदको दुरुपयोग : सम्धिलाई एयरबस ए–३२० तालिमको अवसर !

आइतबार, २९ चैत २०८२, १० : ४३
आइतबार, २९ चैत २०८२

सारांश

  • नेपाल वायुसेवा निगममा पाइलट रोशन कोइरालाको नियुक्ति र तालिम प्रक्रियामा गम्भीर अनियमितता भएको पाइएको छ।
  • अपरेशन डाइरेक्टर सुवास रिजालले आफ्ना सम्धी कोइरालालाई नियम मिचेर महँगो तालिम र अवसर दिएको आरोप लागेको छ।
  • योग्यता पुगेका अन्य पाइलटहरूलाई पाखा लगाउँदै निगमको स्रोत र साधनको चरम दुरुपयोग गरिएको निगमका अधिकारीहरूले बताएका छन्।

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) भित्र पाइलट नियुक्ति, परीक्षा प्रणाली र एयरबस ए–३२० तालिम प्रक्रियामा अनियमितता भइरहेको पाइएको छ। जसका कारण निगमको सुशासन, पारदर्शिता र जवाफदेहितामाथि नै गम्भीर प्रश्न खडा भएको छ।

विवादको केन्द्रमा करारमा नियुक्त फर्स्ट अफिसर (एफओ) रोशन कोइरालाको एयरबस ए–३२० फ्लिटमा गरिएको नियुक्ति रहेको छ। नियुक्ति लिने समयमा नै उनले निगमको नियमअनुसार अनिवार्य अवकाशको ५८ वर्षे उमेर हद पार गरिसकेका थिए। 

सेवा अवधि अत्यन्तै सीमित भएको अवस्थामा उनलाई महँगो र लामो अवधिको तालिमका लागि छनोट गरिनुले संस्थाको स्रोतको चरम दुरुपयोग भएको निगम स्रोतको भनाइ छ। स्रोतका अनुसार उक्त नियुक्ति तत्कालीन अपरेशन डाइरेक्टर क्याप्टेन श्रवण रिजालको कार्यकालमा मानव संशाधन विभागसँगको मिलेमतोमा गरिएको हो।

कोइरालाको नियुक्तिबारे थप रहस्यमय तथ्य के छ भने, उनी नेपालमा नियुक्त हुनुअघि र पछिको केही समय अफ्रिकामा 'युनाइटेड नेसन्स ह्युमानिटेरियन एयर सर्भिस' अन्तर्गत 'लेट एल–४१०' विमान उडाइरहेका थिए। एउटै समयमा दुई फरक संस्थामा सक्रिय रहनुले नियामक मापदण्ड र व्यावसायिक उत्तरदायित्वको ठाडो उल्लंघन भएको देखिने निगमका एक अधिकारीको भनाइ छ । 
निगमले पाइलट अभावलाई देखाएर यस्ता निर्णयको बचाउ गर्दै आए पनि आन्तरिक तथ्याङ्कले भने अर्कै चित्र प्रस्तुत गर्छ। हाल करिब १० जना फर्स्ट अफिसर 'टाइप–रेटिङ' बिना निष्क्रिय छन् भने ६ जना 'ट्विन अटर' फर्स्ट अफिसर एयरबस कन्भर्जनका लागि पूर्ण रूपमा योग्य छन्। 

केही वरिष्ठ क्याप्टेनहरूले आफ्नै खर्चमा एयरबस ए–३२० तालिम गर्न इच्छा देखाउँदा समेत उनीहरूलाई पाखा लगाएर उमेर पुगिसकेका व्यक्तिलाई अवसर दिनुले नियतमाथि शंका उब्जाएको छ। विगत ६ वर्षदेखि एमए–६० र वाई–१२ फ्लिटका पाइलटहरू रविन केसी, मेल्सम ओझा, प्रचण्ड श्रेष्ठ, प्रशान्त शाह, प्रतीक पौडेल, बादलराज गुप्ता, आनन्द कुमार श्रेष्ठ, रामकृष्ण श्रेष्ठ, अंकित बोहरा र सृजना आचार्य निष्क्रिय अवस्थामा छन्। त्यस्तै, ट्विन अटर फ्लिटका विवेक प्याकुरेल, अबिन गौचन, विश्वराज थापा, अमृत खनाल, निमिषा नेपाल र सन्तोष यादव एयरबस तालिमका लागि योग्य भए पनि उनीहरूलाई उपेक्षा गरिएको छ।

वर्तमान अपरेशन डाइरेक्टर क्याप्टेन सुवास रिजालको कार्यकालमा तालिम तथा परीक्षा प्रक्रियामा स्थापित मापदण्डलाई समेत कुल्चिएको पाइएको छ। सामान्यतया कम्प्युटर बेस्ड हुने परीक्षालाई कोइरालाकै लागि पेपर बेस्ड बनाइएको, एयरबसका योग्य प्रशिक्षक पाइलटबाट प्रश्नपत्र तयार नगराई नन–टाइप रेटेड पाइलट सञ्जय पौडेललाई प्रश्नपत्र निर्माण, गार्ड र मूल्याङ्कनकर्ता बनाइएको स्रोतको दाबी छ।

नियमअनुसार एयरबस इन्स्ट्रक्टरले प्रश्नपत्र बनाउने र विशेषज्ञ समूहबाट नतिजा प्रमाणित गर्ने अभ्यास छ। तर, यस प्रक्रियामा उत्तरपुस्तिकाको उचित परीक्षण नै नगरी कोइरालालाई १०० प्रतिशत अङ्क दिइएको र व्यक्तिगत अङ्क समेत गोप्य राखिएको आरोप छ। १६ फेब्रुअरी २०२६ मा क्रु ट्रेनिङ डिभिजनलाई पठाइएको इमेलमा प्रश्नपत्र अपरेशन डाइरेक्टरको कार्यालयबाटै उपलब्ध गराइने उल्लेख हुनुले परीक्षाको गोपनीयता र निष्पक्षतामा प्रश्न उठाएको छ। यस विषयमा नागरिक उड्डयन प्राधिकरणलाई जानकारी हुँदा समेत कुनै कारबाही भएको छैन।

त्यस्तै, ओएम–ए अनुसार डाइरेक्ट इन्ट्रीको–पाइलटका लागि टाइप–रेटिङ र न्यूनतम ५०० उडान घण्टा अनिवार्य हुन्छ, जसको पालना भएको देखिँदैन। 'सीएई मलेसिया'सँगको तालिम सम्झौता सकिए पनि र उपसमितिले प्रक्रिया रोक्न खोज्दाखोज्दै कन्डिसनल एग्रिमेन्ट मार्फत तालिम अघि बढाइएको छ।

 नियमअनुसार आवश्यक पर्ने बैंक ग्यारेन्टी वा धितो विना नै उनलाई अवकाशअघि नै तालिम सिध्याउने गरी तीव्र गतिमा काम भइरहेको छ। यति धेरै नियम मिचेर गरिएको यो प्रयासको मूल कारण भनेको पदको दुरुपयोग र पारिवारिक स्वार्थ रहेको बुझिन्छ। 

अपरेशन डाइरेक्टर सुवास रिजाल र पाइलट रोशन कोइराला एकाघरका सम्धी हुन्। आफ्नो सम्धिलाई राज्यको ढुकुटी खर्चेर महँगो तालिम दिलाउने र निजी स्वार्थ पूर्ति गर्ने खेलमा निगमको स्रोत र साधनको दुरुपयोग गरिएको छ।

यस प्रकरणले निगमभित्रका अन्य पाइलटहरूको मनोबल गिराएको छ भने संस्थागत विश्वसनीयतामाथि गम्भीर धक्का पुर्‍याएको निगमकै अधिकारीहरु बताउँछन् । यस विषयमा सुवास रोशनसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्कमा आएनन् । 

यसैबिच सरोकारवालाहरूले यस नियुक्ति, परीक्षा र प्रशिक्षण प्रक्रियामाथि स्वतन्त्र छानबिन, वित्तीय अडिट र पारदर्शी पुनरावलोकनको माग गरेका छन्।  समयमै सुधार नभए नेपालको उड्डयन क्षेत्रको सुशासन र सुरक्षामा यसले दीर्घकालीन असर पार्ने विज्ञहरूको चेतावनी छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप