मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
अपराध : फर्केर हेर्दा वर्ष ०८२

फर्केर हेर्दा २०८२ : प्रसाईंको पक्राउ शृङ्खला, टीओबीको आतङ्क

आइतबार, २९ चैत २०८२, १५ : १९
आइतबार, २९ चैत २०८२

सारांश

  • २०८२ सालमा दुर्गा प्रसाईं पटक–पटक पक्राउ परेका छन्।
  • जेनजी आन्दोलन र टीओबी समूहको गतिविधिले चर्चा पाएको छ।
  • वर्षभरि विभिन्न हत्याकाण्ड र हाइप्रोफाइल व्यक्तिहरूको गिरफ्तारीका घटना भएका छन्।

काठमाडौँ । २०८१ चैत १५ मा दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’  र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’को ब्यानरमा विरोध प्रदर्शन भएको थियो ।

दुर्गा प्रसाईंले बागमती प्रदेश–०२७ च ३८४७ नम्बरको गाडी हुँइक्याउँदै प्रहरीको घेरा तोडेर बानेश्वरतर्फ अघि बढेपछि हिंसा भड्कियो । प्रहरीले मञ्चमा अश्रुग्याँस प्रहार गरेसँगै सभा बिथिोलियो र प्रदर्शनकारीहरू तोडफोडमा उत्रिए ।

तीनकुने घटनामा पत्रकार सुरेश रजक र कीर्तिपुर नगरपालिका–४ बस्ने २९ वर्षीय सविन महर्जनले ज्यान गुमाए । आन्दोलनपछि चैत २८ मा भारतबाट पक्राउ परेका दुर्गा प्रसाईं २०८२ सालमा पनि पटक–पटक पक्राउ परे ।

तीनकुने घटनामा प्रसाईंलाई सरकारले हत्या र राज्यविरुद्धको कसुरमा अभियोजन गरेको थियो । त्यसपछिका दिनमा प्रसाईंले बैंकिङ कसुर, सम्पत्ति शुद्धीकरण र भारतीय गुण्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई धम्क्याउन मान्छे परिचालन गरेको आरोपमा मुद्दा खेपे ।

०८२ भदौ २३ र २४ मा जेनजी आन्दोलन भयो । आन्दोलनपछि बनेको अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीले गरिन् । सुशीला कार्की नेतृत्वको सरकारले प्रसाईंलाई पटक–पटक पक्राउ गर्‍यो । अन्तरिम मन्त्रिपरिषदको समयमा प्रसाईं ५ पटक पक्राउ परेका थिए ।

फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन बिथोल्न सक्ने आकलन गर्दै सुरक्षा निकायले प्रसाईंलाई ‘सुरक्षा चुनौती’का रूपमा विश्लेषण गरेको थियो । चुनावअघि फागुन १७ मा पक्राउ परेका प्रसाईं चुनावभर हिरासतमै रहे ।

जेनजी आन्दोलनपछि मुलुक निर्वाचनमा होमिँदा पनि प्रसाईं निर्वाचनमा जान तयार भएनन् । व्यवस्था परिवर्तन र २० लाखसम्मको ऋण मिनाहा लगायतका २६ बुँदे माग राखेर उनी निरन्तर सरकारविरुद्ध सडकमा जान खोजे भने सरकार उनलाई रोक्न खोजिरह्यो ।

आन्दोलन गर्नबाट रोक्न र चुनावको वातावरण बिगार्न नदिन अन्तरिम प्रधानमन्त्री कार्कीले प्रसाईंसँग वार्ता गरिन् । उनको माग पूरा गर्न पहल गर्ने आश्वासन पनि तत्कालीन प्रधानमन्त्री कार्कीले दिइन् । तर, प्रसाईं आफ्नो माग पूरा नभएको भन्दै निरन्तर सडकमा जान खोजिरहेका थिए ।

सरकारले उनलाई कुनै कडा मुद्दा लगाउन सकेन, तर प्रमुख जिल्ला अधिकारीको कार्यक्षेत्रमा पर्ने सार्वजनिक शान्ति विरुद्धको कसुरमा अल्झाएर उनलाई हिरासतमा राख्ने सुरक्षा रणनीति अख्तियार गरेर थुनामा राखिएको थियो ।

मंसिरमा पक्राउ परेर छुटेपछि प्रसाईंले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग ३ पटक भेटेका थिए । संविधान संशोधन र अन्तरिम संविधान बनाएरमात्र चुनावमा जानुपर्ने प्रसाईंको माग पूरा भएन, सरकारले चुनाव गरायो ।

  • यस्तो छ प्रसाईंको पक्राउ शृङ्खला-

–२०८२ मंसिर २ मा सार्वजनिक शान्ति विरुद्धको कसुर ।

–२०८२ माघ ५ मा सार्वजनिक शान्ति विरुद्धको कसुर

–२०८२ माघ २३ मा निर्वाचन आचार संहिता उल्लङ्घन

–२०८२ फागुन ४ मा निर्वाचन भाँड्ने गतविधि गरेको

–२०८२ फागुन १७ मा सार्वजनिक शान्ति विरुद्धको कसुर

  • के थियो टीओबी ?

जेनजी प्रदर्शनमा ‘टीओबी’ लेखिएको टिसर्ट लगाएर आतङ्क मच्चाउने समूहका कमाण्डर तेन्जिङ दावा लामा पक्राउ परेपछि सो समूह निकै चर्चामा रह्यो । चर्चामा रहनुको मुख्य कारण तेन्जिङ दावासँग नेपालको नागरिकता नहुनु नै थियो । उनी तिब्बतियन मूलका हुन् । तिब्बतियन नेतृत्वको समूह जेनजी प्रदर्शनमा घुसपैठ गरेको आशङ्कामा मानिसहरूले सो समूहबारे निरन्तर प्रश्न गरिरहे ।

प्रहरीले उनलाई नागरिकता, राहदानी, लिखत सम्बन्धी कसुरमा पनि मुद्दा चलायो । टीओबी अर्थात् ‘तिब्बतियन ओर्जिनल ब्लड’मा ५७ जना सदस्य आवद्ध थिए । मंसिर ८ मा काठमाडौँ प्रहरीले उनीहरूको लिङ्क चार्ट सार्वजनिक गर्दै सो समूह ‘आपराधिक’ नभएर बाइकर्स समूह रहेको बताएको थियो । बौद्धमा हुर्केका तेन्जिङले सो समूहको नेतृत्व गरेका थिए ।

कमाण्डर तेन्जिङ भए पनि टीओबीका सदस्यहरूले सुरेन्द्र गुरुङ ‘हाकिम’लाई रोलमोडल मान्ने गर्छन् । टीओबीमा ५७ जना सदस्य रहेको काठमाडौँका एसएसपी रमेश थापाले जानकारी दिए । टीओबी २०२४ जुन १० मा स्थापना भएको थियो ।

सामाजिक सेवा प्रदान गर्ने र घुम्ने उद्देश्यले टीओबी गठन भएको थियो । बौद्धस्थित फूलबारी कम्प्लेक्समा सन् २०१७ देखि तेन्जिङले ‘टीओबी ट्याटु हाउस’ चलाउँथे । तिनै तेन्जिङले कमाण्ड गरेको समूहको नाम ‘दि ओर्जिनल ब्रदर्श’ राख्ने सल्लाह हाकिमले दिएका थिए । हाकिम -यापर हुन् । कतिपय टीओबीका सदस्यहरूले टिसर्टमा ‘हाकिम’ पनि लेख्ने गरेका छन् ।

भदौ २३ मा भएको जेनजी प्रदर्शनमा ३१ जना टीओबीका सदस्य संलग्न थिए । उनीहरू अधिकांश विद्यार्थी पृष्ठभूमिका रहेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

उनीहरू ‘टीओबी ब्लड’ नामको ह्वाट्स समूहमा आवद्ध छन् । टीओबीका सदस्य सोनाम शेर्पाले जेनजी प्रदर्शनमा सहभागी हुने भनेर जानकारी गराएपछि उनीहरू बुलेट बाइक चढेर आन्दोलनमा गएका हुन् । विगत डेढ वर्षदेखि उनीहरू राइडमा संलग्न थिए ।

समूहका कमाण्डर तेन्जिङ दावा लामा धरौटीमा छुटेका छन् । काठमाडौँ जिल्ला अदालतको आदेश अनुसार उनी ५ लाख २० हजार धरौटी तिरेर छुटेका हुन् ।

यस वर्षको अर्को चर्चित घटना थियो, ‘सर्वोच्च अदालतका शाखा अधिकृतको पत्रको आधारमा रेशम चौधरीको गिरफ्तारी ।’

२०८२ जेठमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी कमलपोखरीबाट पक्राउ परे । राष्ट्रपतिबाट कैद मिनाहा पाएर छुटेका रेशम अचानक पक्राउ परेपछि राष्ट्रिय राजनीतिमै हलचल मच्चियो । सर्वोच्चका शाखा अधिकृत महिमान सिंह विष्टले अनधिकृत पत्र लेखेर तत्कालीन प्रहरी नेतृत्वलाई गुमराहमा पारेर रेशमलाई पक्राउ गराएका थिए । त्यसबेला धरौटीमा छुटेका विष्टलाई अदालतले सरकारी लिखत किर्तेमा दोषी ठहर गरेको छ ।

मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) यस वर्ष पक्राउ परे । साउन ४ मा उनी बलात्कार मुद्दामा पक्राउ परेका हुन् । अहिराज अहिले कारागार कार्यालय डिल्लीबजारमा छन् ।

टोखाबाट बरामद भएको २५ करोड नगदको धनी नारायण पौडेल २०८२ साउन ८ मा अदालत हाजिर भएका थिए । अदालतले उनलाई ३५ लाख धरौटीमा रिहा गरेको थियो । पौडेल सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ का स्थानीय हुन् । राजस्व अनुसन्धान विभागले पौडेल र ट्रक (कन्टेनर) चालक कुसाङ लामा ‘फुच्चे’ लाई प्रतिवादी बनाएर वैशाख २ मा मुद्दा दायर गरेको थियो ।

२०८१ चैत ४ मा मध्यराति १० बजेतिर टोखास्थित झोर महांकालबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ना.७ ख १६५२ नम्बरको ट्रकबाट सो नगद बरामद गरेको थियो ।

  • यी दर्दनाक हत्या

असार २२ गते भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ स्थित धोदलेखानीमा एक जना युवकले एकै परिवारका ४ जनाको हत्या गरे । भोजपुर नगरपालिका–२ हेलौंछा घर भएका ३० वर्षीय राजेन्द्र राईले ससुरालीमा गएर सासु, ससुरा, श्रीमती र सालोको हत्या गरेका हुन् ।

चारै जनालाई छुरा रोपेर विभत्स तवरले हत्या गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्स्पेक्टर दिपक श्रेष्ठले त्यतिबेला रातोपाटीलाई जानकारी दिएका थिए । आरोपितले ६८ वर्षीय बेल बहादुर गिरी, ४५ वर्षीया मञ्जु गिरी, मनिषा गिरी र सपन गिरीको हत्या गरेका हुन् । मनिषाचाहिँ हत्या आरोपितकी पत्नी हुन् । हत्यापछि उनले प्रहरी कन्ट्रोलमा फोन गरेर भने, ‘मैले चार जनाको हत्या गरेँ, मलाई पक्राउ गर्न आउनुस् ।’ हत्याका आरोपित अहिले कारागारमा छन् ।

Bhojpur-Murder-1024x416-1

ललितपुर महानगरपालिका–१२ स्थित कृष्ण मन्दिर परिसरमा चैत २५ मा छुरा प्रहार गरेर एक जना युवकले दुई जनाको हत्या गरे । मृतक एकै परिवारका दाजुभाइ थिए ।

झापाको कमल गाउँपालिका–६ घर भएर ललितपुरको इमाडोलमा बस्दै आएका ३३ वर्षीय सुमित नेम्वाङ र २५ वर्षीय सृजन नेम्वाङको पाटन दरबार स्क्वायर क्षेत्रमा हत्या भएको हो । गलत नम्बरमा फोन जाँदा विवाद बढेपछि ललितपुर घर भएका सञ्जीव नेपाली ‘सञ्जु’ले उनीहरूको हत्या गरेका हुन् ।

२०८२ पुसमा ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ज्यामिरकोट जंगलमा दुईजना मिलेर अर्का दुई जनाको हत्या गरे । केशवराज हायु र पारुहाङ राईलाई सिन्धुलीको सुनकोशी गाउँपालिका–४ घर भएका २१ वर्षीय देवराज ढुंगेल र २० वर्षीय जयराम अधिकारीले हत्या गरेका हुन् । मदिरा पिलाएर बोहोस बनाएपछि ह्यामरले टाउको र अण्डकोशमा प्रहार गरेर उनीहरूले फरक ठाउँमा दुई जनाको दर्दनाक हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

केशवराज हायुकी बहिनीसँग देवराज प्रेम सम्बन्धमा थिए । प्रेमिकालाई उनले ऋण खोजेर जापान पठाए । ऋण लिएको रकम तिर्न देवराजले केशवराजसँग १२ लाख र पारुहाङसँग ५ लाख सापटी लिएका थिए । करिब ४ महिनाअघि दिएको सापटी रकम केशवराज र पारुहाङ दुवैले माग्न थालेपछि देवराजले हत्या योजना बनाएका हुन् ।

लतिलपुर महानगरपालिका–२४ स्थित धापाखेलमा २०८२ कार्तिकमा भारतिय इन्जिनियर मृत भेटिएका थिए । कात्तिक १९ मा ४६ वर्षीय देव कुमार मृत भेटिएका हुन् । धापाखेलमा निर्माणाधीन कोलोनीको प्यासेजमा गाडेको अवस्थामा उनको शव भेटिएको थियो । भवनको डिजाइन गर्न नेपाल आएका भारतीय इन्जिनियरलाई हातखुट्टा बाँधेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । तर, सो हत्याका आरोपितलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन । घटनास्थल प्रहरी वृत्त सातदोबाटोको क्षेत्रमा पर्छ ।

  • जाँचबुझ आयोग र हाइप्रोफाइल पक्राउ

जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई फौजदारी मुद्दा चलाउन सिफारिस गरेको थियो । भदौ २३ र २४ मा भएको मानवीय क्षतिमा उनीहरू दुई जनासहित केन्द्रीय सुरक्षा समितिका पदाधिकारी जिम्मेवार रहेको आयोगको छानबिन निष्कर्ष छ । आन्दोलन हुँदा ओली र लेखक सरकारको नेतृत्वमा थिए ।

आयोगको सिफारिसको आधारमा चैत १४ मा ओली र लेखक पक्राउ परे । प्रहरीले उनीहरूसँग बयान लिएको छ । पक्राउ परेको १३ दिनमा उनीहरू हाजिर जमानीमा रिहा भएका छन् । उनीहरू विरुद्धको अनुसन्धान फाइल प्रहरीमा विचाराधीन छ ।

ओली र लेखकमात्र होइन, चैत १३ मा बालेन्द्र ‘बालेन’ शाह नेतृत्वको मन्त्रिपरिषद् गठन भएपछि धामधम हाइप्रोफाइलहरू पक्राउ परे । नेकपा एमालेका प्रदेश समिति सदस्य कर्ण बहादुर मल्ल बलात्कार आरोपमा पक्राउ परे । चैत १५ मा पूर्वमन्त्री दीपक खड्का पक्राउ परे । खड्कामाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ ।

व्यवसायी दीपक भट्टलाई प्रहरीले चैत १९ मा नक्सालबाट पक्राउ गरेको थियो । भट्टमाथि पनि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ । शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ परेर छुटेका छन् । चैत २० मा पक्राउ परेका अग्रवालसँग बयान लिएर छाडिएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरले रातोपाटीलाई बताए ।

शंकरका पुत्र सुलभ अग्रवाल पनि पक्राउ परेका छन् । शंकर ग्रुपका सञ्चालक सुलभ अहिले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा छन् ।

लुम्बिनी प्रदेश सभा सदस्य रेखाकुमारी शर्मा चैत १६ मा पक्राउ परिन् । काठमाडौं–४ स्थित धुम्बाराहीमा बस्ने शर्मा विरुद्ध घरमा काम गर्ने बालिकालाई यातना दिएर बालबालिका सम्बन्धी कसुर गरेको आरोप थियो । रेखा अहिले अदालतको आदेशले रिहा भएकी छन् ।

  • भीआईपीलाई धम्क्याउने प्रकाश पाठक

अख्तियार प्रमुख प्रेम कुमार राईसहितका हाइप्रोफाइललाई धम्क्याउने प्रकाश पाठक अहिले प्रहरीको हिरासतमा छन् । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को सहयोगमा पक्राउ परेका पाठकले अख्तियार प्रमुखलाई धम्क्याउन नागरिक उड्ययन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीसँग ‘सुपारी’ लिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

अनुसन्धान अधिकृतहरूसँगको बयानमा पाठकले प्रदिप अधिकारीसँग रकम लिएको स्वीकार गरेका छन् । भक्तपुरको नलिन्चोकमा हेलिप्याड निर्माण गर्दा अनियमितता भएको उजुरीमाथि अख्तियारले अनुसन्धान गरिरहेको थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार मुद्दामा पनि अख्तियारले अनुसन्धान गरिरहेको बेला ती मुद्दाबाट जोगिन अधिकारीले अख्तियार प्रमुख विरुद्ध आपराधिक ‘गिरोह’ परिचालन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

अधिकारीसँग आफूले २ करोड नगद लिएको पाठकले बयानमा स्वीकार गरेका छन् । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार पाठकले बयानमा भनेका छन्, ‘उहाँबाट मैले २ करोड रुपैयाँ लिएको हुँ ।’

अधिकारीले सो रकम एक जना चिनियाँ ठेकदार मार्फत हुण्डी गरेर पठाएको अनुसन्धानबाट थाहा भएको छ । सो रकमले पाठकले फिलिपिन्समा अपार्टमेन्ट खरिद गरेको भेटिएको छ । फिलिपिन्सबाट उनलाई माघ २८ मा नेपाल ल्याइएको थियो । उनले सामाजिक सञ्जाल (फेसबुक) मार्फत अख्तियार प्रमुख सहित १० जना हाइप्रोफाइललाई धम्की दिएका थिए ।

धम्की प्रकरणमा जोडिएका प्रदिप अधिकारी पनि सो मुद्दामा प्रतिवादी बन्ने भएका छन् । पाठकले सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेर लोकमान सिंह कार्की, गोपाल बहादुर खड्का, रमेश लेखक, बालकृष्ण खाण, आरजु राणा, ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेश चन्द ठकुरी र दुर्गा प्रसाईंलाई पनि ज्यान मार्ने धम्की दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप