मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
अटो

दुईपाङ्ग्रे ईभी व्यापारमा उछाल, मिडियम रेन्जमा ग्राहकको आकर्षण

सर्भिस र रिसेल भ्यालुबारे ग्राहकमा अझै संशय
सोमबार, ३० चैत २०८२, ०९ : ४३
सोमबार, ३० चैत २०८२

सारांश

  • पेट्रोलियम पदार्थको मूल्य वृद्धिले गर्दा बजारमा विद्युतीय दुईपाङ्ग्रे सवारी साधनको माग ह्वात्तै बढेको छ।
  • खासगरी मध्यम रेन्जका इलेक्ट्रिक स्कुटरहरूमा ग्राहकको आकर्षण उच्च देखिएको छ।
  • नीतिगत अस्थिरता र रिसेल भ्यालुको अनिश्चितताका कारण ग्राहकमा अझै केही संशय बाँकी रहेको छ।

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यका कारण बजारमा विद्युतीय दुईपाङ्ग्रे सवारी साधनको माग ह्वात्तै बढेको छ । पश्चिम एसियामा चर्किएको भूराजनीतिक द्वन्द्वसँगै विश्व बजारमा बढेको पेट्रोलियम पदार्थको मूल्यमा देखिएको असरका कारण विद्युतीय दुईपाङ्ग्रे सवारी साधनका आकर्षण देखिएको हो । खासगरी इलेक्ट्रिक स्कुटरमा मागको अवस्था अत्यधिक देखिएको सरोकारवालाहरु बताउँछन् ।

 पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुनुअघि बजारमा फाट्टफुट्ट मात्र ग्राहक देखिन्थे । तर अहिले सोधखोज गर्नेको भिड हुन थालेको छ । अहिलेको अवस्थामा बिक्री पनि विगतको भन्दा दोब्बर पुगेको याडिया टु ह्वीलर्सका लागि नेपाली आधिकारिक बिक्रेता कुजु नेपालका निर्देशक उमिद श्रेष्ठ बताउँछन् ।

 खासगरी अहिले मध्यम रेन्जका स्कुटरहरूको माग यति धेरै बढेको छ कि ईभी आयातकर्ता र डिलरहरूलाई सवारी साधन आयात गरेर बजारमा पुर्‍याउन भ्याइनभ्याई नै छ । बेस्ड सेलिङ मोडलहरु त अहिले स्टक क्लियर भएर थप मगाउनुपर्ने अवस्था रहेको उनीहरुको भनाइ छ ।

  •  कुन खालका दुईपाङ्ग्रे ईभीको कस्तो छ माग ?

 बजारको ट्रेन्ड हेर्ने हो भने खासगरी मिडियम रेन्ज र मूल्यका ईभीको माग अहिले सबैभन्दा उच्च छ । डेढदेखि तीन लाखसम्मको मूल्य र ८० देखि १२० किलोमिटरसम्मको रेन्जका स्कुटरको माग धेरै रहेको बिक्रेताहरू बताउँछन् ।

 मूल्य र क्षमताको आधारमा बजारमा उपलब्ध दुईपाङ्ग्रे ईभीलाई मुख्यतया तीन भागमा बाँडेर हेर्ने गरिन्छ । पहिलोलाई लो–रेन्ज भनिन्छ । यसमा ३० देखि ५० किलोमिटरमा स्कुटर तथा मिनी स्कुटरहरू पर्छन् जसको ७०-८० हजारदेखि बजारमूल्य १ लाख ५० हजार रुपैयाँसम्म पर्ने गरेको छ । यसमध्ये केही दर्ता गर्नुपर्ने र केही गर्नु नपर्ने खालका हुन्छन् ।

 दोस्रो, मिडियम रेन्जका दुईपाङ्ग्रे ईभी, जसको मूल्य १ लाख ५० हजारदेखि ३ लाख रुपैयाँसम्म पर्ने गरेको छ । यस्ता साधनले ६० देखि १२० किलोमिटरसम्मको रेन्ज दिने गरेका छन् । यद्यपि वास्तविक रूपमा भने यस्ता सवारी साधनले ६० देखि १०० किलोमिटरसम्म मात्रै रेन्ज दिने विक्रेताहरु बताउँछन् । यस्तो सवारी साधन नियमित रूपमा कार्यालय आउजाउ गर्ने निम्नमध्यम वर्गका व्यक्तिको रोजाइमा हुने गरेको छ ।

 तेस्रो लङ रेन्जका सवारी साधनहरू हुन् । यस्ता सवारी साधनले १२० देखि दुई सय किलोमिटरसम्मको रेन्ज दिने गरेका छन् । कतिपय बिक्रेताले भने यस्ता सवारी साधनमा ३०० किलोमिटरसम्मको रेन्ज दाबी गर्ने गरेका छन् । यस्ता सवारी साधनको मूल्य ३ लाखदेखि ६ लाख रुपैयाँसम्म निर्धारण गरिएको छ ।

  •  किफायती हुँदा मिडियम रेन्जमा आकर्षण

 पछिल्लो समय विद्युतीय सवारी साधनमा सिफ्ट हुन चाहनेहरूमा सबैभन्दा ठुलो हिस्सा निम्नमध्यम वर्गकै छ । पहिल्यै पेट्रोलबाट चल्ने मोटरसाइकल वा स्कुटर छ भएका तर पेट्रोलको भाउ महँगो भएका कारण दैनिक आवतजावतमा आर्थिक भार खेपिरहेका व्यक्तिहरुमा ईभीप्रति बढी आकर्षण देखिएको बिक्रेताहरू बताउँछन् । 

 ‘आफूसँग भएको मोटरसाइकल वा स्कुटर बिक्री गर्ने र केही डाउन पेमेन्ट र केही किस्ता गरेर किन्न चाहने धेरै देखिन्छ । थोरै पैसा हाल्दा डाउन पेमेन्ट पुग्ने र पेट्रोलको मूल्यमा ईएमआई तिर्न पुग्ने भएकाले मिडियम रेन्जको माग छ,’ एक डिलर सञ्चालक भन्छन्, ‘ईभीमा लाग्ने बिजुलीको मूल्य पेट्रोलको भन्दा १० प्रतिशत पनि हुँदैन, बाँकीले ईएमआई धान्छ । मोबिल र इन्जिन सर्भिसिङको कुरा त झन् अलग्गै भयो ।’

 अर्कोतिर महँगो भए पनि राइड सेयरिङ तथा फुड तथा सामानको डेलिभरी गर्नेहरूको रोजाइमा भने लङ रेन्जकै स्कुटरहरू हुने गरेका छन् । यति बेला पठाओ, इनड्राइभ जस्ता राइड सेयरिङ एपमा काम गर्ने तथा विभिन्न इ–कमर्स कम्पनीमा सामान डेलिभरीको क्षेत्रमा काम गरिरहेका युवाको आकर्षण यस्ता ईभीमा देखिएको छ ।

 यद्यपि, राइड सेयरिङमा जाँदा स्कुटरहरू बढी पावरफुल हुनुपर्ने र दिनभर चलाउँदा चार्ज सकिने डर हुने भएकाले, यसको भरपर्दो विकल्पको रूपमा ब्याट्री स्वापिङ सुविधा भएका ईभीको खरिदमा समेत राइडरहरूको ध्यान केन्द्रित रहेको देखिन्छ ।

  •  बिक्री बढे पनि ग्राहकमा हटेको छैन संशय

 दुईपाङ्ग्रे ईभीको बिक्रीमा उछाल आए पनि नेपाली उपभोक्ताले अझै पनि यसलाई ढुक्क भएर पूर्ण रूपमा विश्वास गरिसकेको अवस्था भने छैन । यसका पछाडि केही गम्भीर प्राविधिक, नीतिगत र बजार व्यवस्थापनका कारणहरू जोडिएको बिक्रेताहरूको भनाइ छ ।

 सबैभन्दा पहिलो कारण ठुला र विश्वासिला ब्रान्डको अनुपस्थिति । अहिले अन्तर्राष्ट्रिय रूपमा चारपाङ्ग्रे सवारी साधनमा बीवाईडी, टाटा, टेस्ला जस्ता कम्पनीहरूले एकाधिकार जमाइसकेका छन् । पेट्रोलियम (आईस) सवारी साधन निर्मातामध्ये पनि अधिकांश ठुला कम्पनीहरू पनि ईभीमा समेत सिफ्ट भइसकेका छन् । तर दुईपाङ्ग्रे सवारी साधन त्यो तहको विस्तार भएको छैन ।

 महिन्द्रा, बजाज, टिभीएस लगायत केही स्थापित कम्पनीका इलेक्ट्रिक स्कुटर र मोटरसाइकल ल्याए पनि त्यसमा भेराइटी छैन, यही कारण नेपाली बजारमा ती ब्रान्डले धेरै प्रभाव पार्न सकेका छैनन् । यामाहाले अहिलेसम्म पूर्ण ईभी सुविधा दिएको छैन, बरु हाइब्रिड प्रकृतिको प्रोडक्ट भने बजारमा ल्याएको छ ।

 यद्यपि नेपालमै ठुला ब्रान्डको आधिकारिक बिक्रेता रहेका व्यावसायिक घरानाले नयाँ ब्रान्डका स्कुटरहरू बिक्री गरेर ग्राहकको विश्वास जित्ने प्रयास भने गरिरहेका छन् । उदाहरणका लागि, टोयोटाको आधिकारिक बिक्रेता बैद्य अर्गनाइजेसनले वैद्य इनर्जीमार्फत् अथर ब्रान्डको भारतीय स्कुटर बिक्री गरिरहेको छ ।

 यसबाहेक केही ब्रान्डहरूले विगत ५-७ वर्षदेखि नेपालमा राम्रो सेवा दिइरहेका समेत छन् । उनीहरूले विभिन्न सर्भिस सेन्टरबाट बिक्रीपछिको सेवा दिने र वारेन्टी र ग्यारेन्टीको पूर्ण प्रत्याभूति समेत दिँदै आएका छन् । यसका बाबजुद पनि दुईपाङ्ग्रे ईभीप्रतिको आम बुझाइ भने त्यति सकारात्मक छैन ।

  •  ईभी विस्तारको अवरोध :  नीतिगत अस्थिरता र ‘अन्डर द टेबल’ कारोबार

 यसो हुनुको मुख्य कारण नीतिगत अस्थिरता र नियमनकारी निकायको कमजोरी रहेको सारथि नेपालका बिक्री प्रमुख शंकर शर्मा बताउँछन् । अहिले नेपालमा आयात हुने ईभीको परीक्षण र स्वीकृति दिने सरकारी प्रक्रिया पटक्कै पारदर्शी नरहेको उनको भनाइ छ ।

 ‘यहाँ कतिपय अवस्थामा प्रभाव र पहुँचको भरमा गुणस्तरहीन र अयोग्य सवारी साधनलाई पनि नेपाल भित्र्याउन स्वीकृति दिइन्छ । तर कतिपय अवस्थामा विभिन्न बहानामा योग्य सवारीलाई पनि झुलाउने काम गरिन्छ,’ उनी भन्छन्, ‘जसरी पनि अन्डर दी टेबल कारोबार गर्नुपर्ने भएपछि बिक्रेतामा पनि डर र जिम्मेवारीबोध देखिँदैन ।’

उनी थप्छन्, ‘सवारी साधन किन्ने कुरा कपडा किनेजस्तो बेचेपछि सकियो भन्ने होइन । यहाँ बिक्री जति महत्वपूर्ण हुन्छ, बिक्रीपछिको सेवा पनि महत्वपूर्ण हुन्छ । तर यहाँ रातारात २/४ सय वटा स्कुटर बेचेर गायब हुने प्रवृत्तिले ग्राहकमा ईभीप्रतिको विश्वास नै टुटेको छ ।’

 उनका अनुसार नाम चलेका ब्रान्डले पनि राम्रो सर्भिस त दिएका छैनन्, तर उनीहरूको बजारमा पार्टपुर्जाको अभाव नभएका कारण यो समस्या सतहसम्मै आएको चाहिँ छैन ।

 यो समस्या समाधान गर्नका लागि सरकारले कडा नीति ल्याउनुपर्ने शर्माको सुझाव छ । यस्ता सवारी आयातकर्ता वा डिलरले सरकारलाई निश्चित रकम धरौटी राख्नुपर्ने अनिवार्य व्यवस्था गर्नुपर्ने, त्यस्तो डिलरले पार्टपुर्जा र सर्भिस सेन्टरको सुनिश्चितता गर्नुपर्ने र यदि त्यसो हुन नसकेर ग्राहकले गुनासो गरेमा सरकारले त्यही धरौटी रकम जफत गरेर ग्राहकको व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ ।

  •  रिसेल भ्यालु अवरोधको अर्को कारण

 दुईपाङ्ग्रे ईभीप्रति संशय उब्जिनुको अर्को मुख्य कारण रिसेल भ्यालुको अनिश्चितता हो । अहिले कुनै पनि ग्राहकले आफूले चलाइरहेको दुईपाङ्ग्रे ईभी सेकेन्ड ह्यान्ड मार्केटमा बेच्न चाह्यो भने त्यसको मूल्य कति आउँछ भनेर भन्नसक्ने अवस्था नरहेको कुजु नेपालका श्रेष्ठ बताउँछन् ।

 तर पेट्रोलियम सवारी साधनको रिसेल भ्यालु कम्तीमा अनुमान गर्न सकिन्छ । पाँच वर्षअघि किनेको पेट्रोलबाट चल्ने स्कुटर वा मोटरसाइकल अहिले बेच्दा ३०/४० प्रतिशत आउँछ । तर ईभीको हकमा भने ५ वर्षपछि रिसेल भ्यालु मुस्किलले १० प्रतिशतमा पनि किन्न तयार हुँदैनन् । यद्यपि ईभीले भर्खरै मात्र मास मार्केटमा इन्ट्री गरेकोले आगामी दिनमा यसको रिसेल भ्यालु समेत बढ्दै जाने निर्देशक श्रेष्ठको दाबी छ ।

 ईभीको रिसेल भ्यालु कम हुने विषयमा भने बिक्रेताले ग्राहकलाई फरक तरिकाले कन्भिन्स गर्ने गरेका छन् ।  खासगरी रिसेल भ्यालु नै नहुँदा पनि ईभी पेट्रोलभन्दा सस्तो हुने दाबी उनीहरुको हुने गरेको छ । यसैगरी ग्राहकलाई कन्भिन्स गर्ने गरेको श्रेष्ठ बताउँछन् ।

 ‘एउटा ग्राहकले गाडी किन्दादेखि अन्तिमसम्मको खर्च जोड्ने हो भने एउटा पेट्रोलको मोटरसाइकल वा स्कुटर चलाउँदा अर्को दुईवटा स्कुटर आउने अवस्था हुन्छ,’ उनी भन्छन्, ‘ पेट्रोलमा हुने दैनिक खर्च र सर्भिसिङमा हुने बचतलाई जोडेर हेर्ने हो भने रिसेल भ्यालु नै नआए पनि ग्राहकहरु नाफामै हुन्छन् भन्ने बुझाएपछि उहाँहरु कन्भिन्स हुने गरेको पाएका छौँ । तर अझै पनि संशय बाँकी नै छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप