स्पष्टीकरण सोधिएपछि पूर्णबहादुर खड्काको प्रतिक्रिया – सानो मिटिङमा छु, पछि कुरा गरौँला
सारांश
- नेपाली कांग्रेसको अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ७ दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
- पार्टीको लेटरप्याड प्रयोग गरेर अनधिकृत विज्ञप्ति जारी गरेको भन्दै उनीमाथि कारबाही प्रक्रिया अगाडि बढाइएको हो।
- स्पष्टीकरणबारे प्रतिक्रिया माग्दा खड्काले आफू बैठकमा व्यस्त रहेको भन्दै पछि कुरा गर्ने बताएका छन्।
काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको अनुशासन समितिले सोध्ने स्पष्टीकरणबारे पछि कुरा गर्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको कांग्रेसको अनुशासन समिति बैठकले खड्कालाई ७ दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
अनुशासन समिति बैठकपछि जारी विज्ञप्तिमा लेखिएको छ, ‘नेपाली कांग्रेसको पूर्व उपसभापति पूर्णबहादुर खड्काद्धारा अनधिकृत रुपमा मिति २०८२ / १२ / ३० गते प्रेस विज्ञप्ती जारी गर्ने कार्य पार्टीको विधान विपरित देखिएकोले नेपाली कांग्रेसको विधान २०१७, (संशोधन सहित) को धारा ३४ को उपधारा ८ (घ) बमोजिम ७ (सात) दिने स्पष्टिकरण सोध्ने निर्णय गर्दछ ।’
अनुशासन समितिको निर्णयपछि रातोपाटीले प्रतिक्रिया लिन खोज्दा खड्काले आफू सानो मिटिङमा रहेकोले पछि कुरा गर्ने बताए ।
‘म सानो मिटिङमा छुँ पछि कुरा गरौँला,’ खड्काले भने ।
स्पष्टीकरणको जवाफ दिनुहुन्छ कि हुन्न मात्र भनिदिनुस् न भन्ने रातोपाटीको प्रश्नमा खड्काले भने, ‘के कुरा गर्नुहुन्छ ? यसबारे मिटिङ सकिएपछि कुरा गर्छु ।’
केन्द्रीय सदस्य तारामान गुरुङ संयोजक र केन्द्रीय सदस्यहरू धना खतिवडा र सुवास पोखरेल सदस्य छन् ।
खड्काले यसअघि चैत १४ गते कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गर्दै पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई पक्राउ गरिएको प्रति आपत्ति जनाएका थिए ।
चैत १७ गते कार्यवाहक सभापतिकै हैसियतमा उनले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बोलाएका थिए ।
त्यसपछि केन्द्रीय अनुशासन समितिको चैत १८ गते बसेको बैठकले खड्कालाई पार्टीको नक्कली लेटरप्याड प्रयोग गर्दै कार्यवाहक सभापतिको हैसियतमा अनधिकृत वक्तव्य जारी गर्ने कार्य गलत भएको भन्दै सचेत गराउने निर्णय गरेको थियो । अनुशासन समितिको बैठकपछि जारी विज्ञप्तिमा लेखिएको थियो, ‘अब उप्रान्त यस किसिमको गलत काम गर्ने जो कोही व्यक्ति उपर नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) र प्रचलित नेपाल कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गर्दछ ।’
त्यो चेतावनीलाई चुनौती दिँदै खड्काले सोमबार फेरि पहिलेजस्तै कार्यवाहक सभापतिकै हैसियतमा पार्टीको लेटरप्याड प्रयोग गरेर विज्ञप्ति जारी गरेपछि अनुशासन समितिले ७ दिने स्पष्टीकरण सोधेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी छपाइ प्रकरण : ठेकेदारलाई १ अर्ब पेस्की दिएको फेला
-
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
-
'सिनेमा मानव अधिकार प्रवर्द्धनको सशक्त माध्यम हो'
-
पिसाबमा गन्ध आउनु कुन रोगको लक्षण हो ?
-
कर्णालीको यातायात कार्यालयको आम्दानीको ८० प्रतिशत हिस्सा सवारी साधन कर
-
आरजुसहित १८ जना प्रतिवादीविरुद्ध मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण