सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सार्वजनिक यातायातमा भाडा बढाएको एक सातामै पुनः भाडा समायोजनको माग

बिहीबार, ०३ वैशाख २०८३, ११ : ५२
बिहीबार, ०३ वैशाख २०८३

सारांश

  • पेट्रोलियम पदार्थको मूल्यमा भएको भारी वृद्धिका कारण यातायात व्यवसायीले भाडा समायोजन वा मूल्य वृद्धि फिर्ताको माग गरेका छन्।
  • व्यवसायीहरूले इन्धनको मूल्य घटबढअनुसार भाडा समायोजन गर्ने वैज्ञानिक स्वचालित प्रणाली लागू गर्न सरकारसँग माग गरेका छन्।
  • सरकारले माग पूरा नगरे सवारी साधन ग्यारेजमा थन्काउनुको विकल्प नरहेको चेतावनी महासंघले दिएको छ।

काठमाडौँ । पेट्रोलियम पदार्थमा भएको अनियन्त्रित मूल्यवृद्धिका कारण यातायात क्षेत्रमा संकट पैदा भएको भन्दै यातायात व्यवसायीले पुनः भाडा समायोजन वा मूल्य वृद्धि फिर्ताको माग गरेका छन् ।

 सरकारले डिजेलको मूल्य बढाएसँगै भाडा वृद्धि गरेको एक साता पनि नबित्दै पुनः इन्धनको मूल्यमा भारी वृद्धि भएपछि व्यवसायीले यस्तो माग गरेका हुन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले पछिल्लो समय डिजेलमा प्रतिलिटर कुल ५५ रुपैयाँसम्मको मूल्यवृद्धिले यातायात व्यवसाय धान्नै नसकिने अवस्थामा पुगेको बताए । उनले इन्धनको मूल्य वृद्धिको तुलनामा हालै गरिएको भाडा समायोजन अपर्याप्त रहेको र यसले व्यवसायीको लागत खर्च नउठ्ने दाबी गरे ।

उपाध्यक्ष सिटौलाका अनुसार लामो दूरीमा चल्ने एउटै गाडीलाई इन्धनमा मात्रै ठूलो आर्थिक भार थपिएको छ । ‘काँकडभिट्टा पुगेर आउने एउटा गाडीले करिब ३५० लिटर डिजेल खपत गर्छ । ५५ रुपैयाँको वृद्धिले मात्रै एउटै गाडीलाई एक पटकको यात्रामा १९ हजार २५० रुपैयाँ अतिरिक्त खर्च थपिएको छ,’ सिटौलाले भने, ‘यो अवस्थाले व्यवसायीहरू पूर्ण रूपमा पलायन हुने अवस्थामा छन् ।’

व्यवसायीले अब बारम्बारको विवाद अन्त्य गर्न इन्धनको मूल्य घट्दा भाडा घट्ने र बढ्दा बढ्ने गरी वैज्ञानिक स्वचालित मूल्य प्रणाली कडाइका साथ लागू गर्न माग गरे । ‘राति १२ बजे मूल्य बढ्दा एक मिनेटमै लागु हुने तर भाडा समायोजनमा महिनौँ लाग्ने परिपाटीले व्यवसायी मारमा परे,’ सिटौलाले थपे ।

व्यवसायीले अहिलेको असामान्य परिस्थितिमा सरकारले इन्धनमा लिँदै आएको विभिन्न शीर्षकका करहरू तत्काल छुट दिनुपर्ने र अन्तर्राष्ट्रिय बजारको मूल्यअनुसार समायोजन गर्नुपर्ने माग राखेका छन् । भारतमा इन्धन सस्तो हुँदा नेपालमा अत्यधिक महँगो हुनुले तस्करीको जोखिम समेत बढाएको र स्वदेशी व्यवसायी मर्कामा परेको उनीहरूको तर्क छ ।

भाडा समायोजन गरेको साता दिन नपुग्दै पुनः मूल्यवृद्धिको मारमा परेका व्यवसायीले यसबारे यातायात व्यवस्था विभागमा औपचारिक पत्र पठाउने तयारी गरेको जानकारी दिएका छन् । सरकारले इन्धनको मूल्यमा पुनरावलोकन नगरे वा भाडालाई वैज्ञानिक ढङ्गले समायोजन नगरे सवारी साधन ग्यारेजमा थन्काउनुको विकल्प नरहेको उनको चेतावनी छ ।

गत चैत २५ गते केन्द्र सरकारले सार्वजनिक यातायातमा भाडा समायोजन गरेको थियो । यातायात व्यवस्था विभागले १३  वटा सूचकलाई मध्यनजर गर्दै यात्रुवाहक सार्वजनिक यातायातको भाडा १६.७१ प्रतिश, पहाडी क्षेत्रमा चल्ने मालवाहक सवारीको भाडा २१.६८ प्रतिशत र तराई क्षेत्रमा चल्ने मालवाहक सवारीको भाडा १५.७५ प्रतिशतले बढाइएको छ । त्यसयता २ पटक इन्धनको मूल्य वृद्धि भइसकेको छ । नेपाल आयल निगमले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै वैशाख ३ गते (बिहीबार) बिहान १२ बजेदेखि लागू हुने गरी नयाँ मूल्य समायोजन गरेको थियो । 

नयाँ मूल्य सूची अनुसार डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले बढाइएको छ वृद्धि गरिएको छ । पेट्रोलको मूल्य भने यथावत् राखिएको छ ।यसअघि चैत २६  गते डिजेलमा २५ रुपैयाँ र पेट्रोलमा १७  रुपैयाँ बढेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप