बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

बुटवलमा व्यापारीहरूले स्टल हटाउन देखाएनन् जाँगर

आइतबार, ०६ वैशाख २०८३, १९ : ११
आइतबार, ०६ वैशाख २०८३

बुटवल । चैत १ गतेदेखि बुटवलको देवीनगरमा सञ्चालन गरिएको ‘बुटवल महामेला–२०८२’ प्राकृतिक विपत्ति र प्रशासनिक अवरोधका कारण प्रभावित भयो । तर मेला समापन भएको लामो समय बित्दा पनि व्यापारीहरूले स्टल हटाउन जाँगर देखाएका छैनन् । 

चैत १ गते सुरु भएको मेला चैत २४ गतेसम्म सञ्चालन गर्ने योजना थियो । तर हावाहुरी, वर्षा तथा प्रशासनिक आदेशका कारण मेला पटक–पटक बन्द र सञ्चालन हुने अवस्थाबाट गुज्रियो, जसका कारण अपेक्षाअनुसार दर्शक उपस्थिति हुन सकेन र व्यापार पनि न्यून रह्यो । 

हाल मेला समापन भए पनि बुटवल रंगशालाभित्र पिङ, लण्डन ब्रिज, टेन्ट, सचिवालयलगायत संरचना अझै यथावत् छन् । 

आयोजक फर्वार्ड नेपाल मल्टिपर्पोज कम्पनी प्रालिका अध्यक्ष तथा मेला संयोजक गोविन्द भुसालले मेला आफूहरूका लागि ‘अनलक्की’ सावित भएको प्रतिक्रिया दिएका छन् । उनका अनुसार उद्घाटनको भोलिपल्टै आएको हावाहुरीले टेन्ट उडाएपछि मेला सञ्चालनमा अवरोध सिर्जना भयो र मर्मतमा दुई दिन लाग्यो । त्यसपछि चैत ५ गते कलाकार श्याम रानाको प्रस्तुति रहेको दिन मेला सञ्चालन भए पनि पुनः असिना र वर्षाका कारण दुई दिन अवरुद्ध भयो । 

भुसालका अनुसार मेला मुख्यतः चैत ९ देखि १५ गतेसम्म मात्र नियमित रूपमा सञ्चालन हुन सक्यो । त्यसपछि चैत २४ गतेसम्म अनुमति हुँदाहुँदै पनि एसईई परीक्षालाई लक्षित गर्दै स्थानीय प्रशासनले मेला सञ्चालनमा रोक लगायो । पछि चैत २९ देखि वैशाख १२ गतेसम्म पुनः सञ्चालनको अनुमति पाए पनि व्यापारीहरूमा उत्साह नदेखिएकाले मेला पुनः सञ्चालन हुन सकेन । 

हाल स्टलधनीहरूसँग आंशिक रकम मिलान गर्दै उनीहरूले आफ्ना सामान लैजाने क्रम जारी रहेको आयोजकले जनाएको छ । 

मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुतिसहित विविध सांस्कृतिक कार्यक्रम राखिएको थियो, जसले विशेषगरी साँझको समयमा दर्शक आकर्षित गर्ने अपेक्षा गरिएको थियो । मेलामा करिब १२० स्टल निर्माण गर्ने लक्ष्य राखिएकोमा अन्ततः ७४ स्टल मात्र सञ्चालनमा आए, तीमध्ये ५० स्टलबाट शुल्क लिइएको थियो भने २४ स्टल निःशुल्क राखिएको आयोजकले जनाएको छ । 

आयोजकका अनुसार करिब ५ लाख दर्शक भित्र्याउने र १ करोडभन्दा बढी कारोबार गर्ने लक्ष्य राखिएको थियो । तर प्रतिकूल मौसम र अवरोधका कारण लक्ष्य अनुसारको उपलब्धि हासिल हुन सकेन । अहिले पनि व्यापारीहरूमा स्टल हटाउने उत्साह नदेखिँदा मेला क्षेत्रमै सामग्री थन्किएको अवस्था छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप