सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

भैँसीपालन व्यवसाय छाडेर बाख्रापाल : वार्षिक लाखाैँ आम्दानी लिन्छन् गौचन

मङ्गलबार, ०८ वैशाख २०८३, ०७ : २७
मङ्गलबार, ०८ वैशाख २०८३

म्याग्दी । जिल्लाको धौलागिरि गाउँपालिका–२ लमसुङका कृष्ण गौचन रु ५२ हजार लगानीबाट सुरुआत गरेको बाख्रापालन व्यवसायबाट वार्षिक लाखौँ आम्दानी गर्न सफल भएका छन् ।

विसं २०७४ मा ६० वर्षीय गौचनले घुम्तीकोषको सहुलियत ब्याजदरको ऋण रु ३८ हजार १५० र रु १५ हजार बीउपुजीबाट सुरु गरेको लोकेश कृषि तथा बाख्रा फार्मबाट स्वरोजगार र आत्मनिर्भर बनेका हुन् ।

“ घुम्तीकोषको ऋण र बीउपुँजीबाट तीन माउ बाख्रा किनेर घरमा भएका दुई वटा बाख्रामा थपेर पाँच वटा बनाएको थिए तर दुई वटा मरे”, उनले भने, “जमुनापारी जातको बाख्राको नश्ल सुुधारका लागि भेटेरीनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्रबाट बोयर जातको बोका पाएपछि मेरो गोठमा बाख्राको सङ्ख्या बढेर १२० सम्म पुग्यो ।”

हाल ७० खसीबोका, पाठापाठी र माउबाख्रा छन् । उक्त फार्मबाट वार्षिक १५ भन्दा बढी खसीबोका र उत्तिकै सङ्ख्यामा पाठापाठी बिक्री हुुन्छ । मासुका लागि खसीबोका मासु र पाल्नलाई पाठापाठी किन्न ग्राहकहरु गोठमै आउँछन् । पाठापाठी र खसीबोकाको उमेर तथा तौलको आधारमा फरक–फरक मूल्यमा बिक्री हुने गरेको छ । घुम्तीगोठमा परम्परागत भैँसीपालन व्यवसाय छाडेर गौचनले बाख्रापालन सुरु गरेका थिए ।

बाख्रापालनबाट भएको आम्दानीले घरव्यवहार चलाउन सहज भएको गौचनले बताए । उनलाई व्यवसाय सञ्चालनका लागि श्रीमती र छोरीले साथ दिँदै आएका छन् । बाख्रापालनबाट भएको आम्दानीले कान्छा छोरा लिलेन्द्र गौचनलाई पढ्नका लागि अष्टेलिया पठाएका छन् । वैदेशिक रोजगारीका लागि केही वर्ष पोर्चुगलमा काम गरेका जेठा छोरा सुरेन्द्र जन्मथलो फर्किएर बुबा कृष्णलाई बाख्रापालनमा साथ दिएका छन् ।

वैदेशिक रोजगारीमा सेचोजस्तो सफलता नमिलेपछि घर फर्किएर बुबालाई बाख्रापालनमा साथ दिएको सुरेन्द्रले बताए । “विदेशमा गर्ने मेहनत र बगाउने श्रम पसिनाबाट आफ्नै देशभित्र पनि केही गर्न सकिने रहेछ भन्ने बुबाको व्यवसायबाट सिकेर साथ दिएको छ”, उनले भने, “विदेशको अनुभव पनि गरियो । अबै यतै व्यवस्थित रुपमा बाख्रापालन गर्ने सोचाइमा छु ।”

बाख्रापालनका लागि गौचनले लमसुङ र मरेनी दुई ठाउँमा गोठ बनाएका छन् । चरनका लागि दुई–दुई महिनामा लमसुङ र मरेनीमा गोठ सार्ने गर्दै आएका छन् । खोर निर्माणका लागि पछिल्लोपटक भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले रु एक लाख ५० हजार सहयोग गरेको गौचनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप