सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

पुष्पा २ प्रिमियर भागदौड प्रकरण : अभिनेता अल्लू अर्जुन अदालतमा भर्चुअली उपस्थित हुँदै

सोमबार, ०८ असार २०८३, १४ : ३६
सोमबार, ०८ असार २०८३

हैदराबाद । हैदराबादको सन्ध्या थिएटरमा भएको दुर्घटनाको मामलामा दक्षिण भारतीय चलचित्रका चर्चित अभिनेता अल्लू अर्जुन सोमबार नामपल्ली अदालतमा भर्चुअली उपस्थित हुने भएका छन्। 

अदालतले उनलाई व्यक्तिगत रूपमा उपस्थित हुन समन जारी गरे पनि मुम्बईमा चलचित्रको सुटिङ भइरहेकाले उनको कानुनी टोलीले भिडियो कन्फरेन्स बैंठक सञ्चालनमार्फत जोडिन अनुमति मागेको थियो।

प्रहरीले यस घटनाको अभियोग पत्र (चार्जसिट) मा अल्लू अर्जुनलाई ११औँ नम्बरको आरोपी बनाएको छ। सन् २०२४ डिसेम्बरमा चलचित्र ‘पुष्पा २’ को प्रिमियरका क्रममा भएको भगदडमा एक महिलाको मृत्यु भएको थियो। भीड व्यवस्थापनमा लापरबाही र सुरक्षा व्यवस्था असफल भएको यस मामलाको सुनुवाइका लागि अदालतले अभिनेतासहित अन्य आरोपीहरूलाई जुन २२ मा आफै उपस्थित हुन आदेश दिएको थियो।

यो पूरा मामला सन् २०२४ डिसेम्बर ४ को हो। त्यस बेला हैदराबादको सन्ध्या थिएटरमा ‘पुष्पा २’ रिलिजको अवसरमा एउटा च्यारिटी शो आयोजना गरिएको थियो। उक्त शोको समयमा थिएटर परिसरमा क्षमताभन्दा बढी मानिस जम्मा भएपछि स्थिति अनियन्त्रित भई भारी भागदौड मच्चिएको थियो। यस दुर्घटनामा रेवती नाम गरेकी एक महिलाले ज्यान गुमाएकी थिइन् भने उनका छोरा गम्भीर घाइते भएका थिए। प्रहरी अनुसन्धानका अनुसार घटनाको दिन अल्लू अर्जुन आफै थिएटर पुगेका थिए र उनलाई हेर्नका लागि प्रशंसकहरूको ठुलो भीड मुख्य गेटतर्फ दौडिँदा सुरक्षा व्यवस्था पूर्ण रूपमा असफल भएको थियो।

यस घटनापछि डिसेम्बर १३ मा अल्लू अर्जुनलाई पक्राउ गरी स्थानीय अदालतमा पेस गरेपछि १४ दिनको न्यायिक हिरासतमा पठाइएको थियो। पछि उनले तेलङ्गाना उच्च अदालतबाट ५० हजार रुपैयाँको व्यक्तिगत धरौटीमा अन्तरिम जमानत पाएका थिए र करिब १८ घण्टा हिरासतमा बसेपछि रिहा भएका थिए। 

रिहाइपछि पत्रकार सम्मेलन गर्दै अल्लू अर्जुनले भनेका थिए, ‘यो सबै एउटा दुर्घटना थियो। म परिवारसँग सिनेमाघरमा चलचित्र हेर्न गएको थिएँ। यो घटना बाहिर घटेको हो र यससँग मेरो कुनै सीधा सम्बन्ध छैन। म ती महिलाको परिवारको साथमा छु र जसरी हुन्छ म उनीहरूलाई मद्दत गर्नेछु।’ उनले पीडित परिवारलाई आर्थिक र मेडिकल सहयोग समेत उपलब्ध गराएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप