आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
कम्युनिस्ट पार्टी स्थापना दिवस

लेनिनवादी संगठनात्मक सिद्धान्त र नेपाली कम्युनिस्ट पार्टीको पुनर्गठन

बुधबार, ०९ वैशाख २०८३, १० : ५४
बुधबार, ०९ वैशाख २०८३

सारांश

  • नेपाली कम्युनिस्ट आन्दोलनमा देखिएको संगठनात्मक अराजकता र विभाजनको समस्या हल गर्न लेनिनवादी संगठनात्मक सिद्धान्तको कडाइपूर्वक पालना गर्नुपर्ने आवश्यकता देखिएको छ।
  • पार्टीभित्रको व्यक्तिपूजा र गुटबन्दी अन्त्य गर्दै जनवादी केन्द्रीयताको व्यावहारिक कार्यान्वयन र सामूहिक नेतृत्वको विकासमा जोड दिनु अपरिहार्य छ।
  • राष्ट्रियता र जनजीविकाका सवाललाई बलियो बनाउन तथा समाजवादको यात्रालाई गति दिन युवा सहभागिता र स्पष्ट वैचारिक पुनर्गठन आवश्यक छ।

नेपालको कम्युनिस्ट आन्दोलनले साँढे सात दशक लामो यात्रा पार गरिसकेको छ । ००६ सालमा कमरेड पुष्पलालको अगुवाइ तथा पहलकदमीमा स्थापना भएको पार्टीले सामन्ती राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनाजस्ता महान् उपलब्धिहरू हासिल गरेको छ, तर विडम्बना यत्रो उपलब्धि प्राप्त गर्ने पार्टी जब सत्तामा पुग्छ वा पुग्ने अवस्थामा हुन्छ, त्यतिबेला पार्टीले सांगठनिक रूपमा विभाजनको पीडा बेहोर्नुपरेको तितो यथार्थ छ ।

अहिले नेपाली कम्युनिस्ट पार्टीको मुख्य समस्या भनेको सांगठनिक अराजकता नै हो । सर्वहारा वर्गको अग्रदस्ता बन्नुपर्ने पार्टी अवसरवादीहरूको क्लबमा रूपान्तरित भएको भान हुन्छ । यो पार्टीभित्र लेनिनद्वारा प्रतिपादित संगठनात्मक सिद्धान्तको अभाव खड्किएको छ । 

अब पनि पाठ सिकेर लेनिनवादी सिद्धान्तको दार्शनिक आधारभित्र पार्टीलाई नहिँडाउने हो भने यत्रो उपलब्धिको नेतृत्व गरेको कम्युनिस्ट पार्टीको भविष्य कस्तो होला भन्नेमै सम्पूर्ण वाम जगत्को ध्यान यसमै केन्द्रित छ ।

अहिले के मजदुर, के किसान, के विद्यार्थी, के बुद्धिजीवी, के युवा, के महिला सबैले कम्युनिस्ट आन्दोलन सच्चिने कि सक्किने भन्ने विषयमा छलफल गरिरहेका छन् । लेनिनवादी संगठनात्मक सिद्धान्तको कडाइपूर्वक गरिने पालनाले मात्र कम्युनिस्ट आन्दोलन निर्माण हुन्छ भन्ने मान्यता अंगीकार गर्ने हो भने लेनिनको संगठनात्मक सिद्धान्त के हो भन्ने बुझ्न जरुरी छ ।

लेनिनले सन् १९०२ मा आफ्नो प्रसिद्ध ‘ह्वाट इज टु बी डन’ मार्फत एउटा नयाँ ढङ्गको क्रान्तिकारी पार्टीको जग बसालेका थिए । लेनिनको भनाइमा कम्युनिस्ट पार्टी मजदुर किसानको भीड मात्र नभई मजदुर–किसानमध्येको सचेत र क्रान्तिकारी अग्रदस्ता हो, त्यसैले कम्युनिस्ट पार्टीका कार्यकर्ताहरूले सम्पूर्ण समय पार्टी गतिविधिमा समर्पित गर्नुपर्छ ।

लेनिनवादी संगठनात्मक सिद्धान्तले कम्युनिस्ट पार्टीलाई क्रान्तिकारी, अनुशासित र प्रभावकारी संगठनका रूपमा स्थापित गर्न मार्गदर्शन गर्छ । भ्लादिमिर लेनिनले माक्र्सवादको व्यावहारिक कार्यान्वयनका लागि यी सिद्धान्तहरू प्रतिपादन गरेका थिए, जसमा जनवादी केन्द्रीयता, फलामे अनुशासन र कार्यकर्ताहरूको सामूहिक नेतृत्वले विशेष महत्त्व राख्छ ।

लेनिनवादी संगठनात्मक सिद्धान्त भनेको कम्युनिस्ट पार्टी सञ्चालनको एक विशिष्ट नीति हो । यसले संगठनलाई प्रभावकारी बनाउन महत्त्वपूर्ण मूल खम्बाका रूपमा काम गर्छ ।

नेपालको सन्दर्भमा, एकातिर साढे सात दशक लामो कम्युनिस्ट आन्दोलनले धेरै उपलब्धिहरू हासिल गरेको छ । अर्कोतिर कम्युनिस्ट पार्टीहरू पटक–पटक विभाजन, एकता र पुनर्विभाजनको चक्रमा फसेका छन् । यसले नेपाली वामपन्थी आन्दोलनलाई क्रमशः कमजोर बनाएको छ । यो अवस्था सुधार्न लेनिनवादी संगठनात्मक सिद्धान्तको पुनःव्याख्या र यसको आधारमा नेपाली कम्युनिस्ट पार्टीको पुनर्गठनको आवश्यकता छ ।

  • पार्टी निर्माणको मूल खम्बा

लेनिनवादी संगठनात्मक सिद्धान्त भनेको कम्युनिस्ट पार्टी सञ्चालनको एक विशिष्ट नीति हो । यसले संगठनलाई प्रभावकारी बनाउन महत्त्वपूर्ण मूल खम्बाका रूपमा काम गर्छ । यस सिद्धान्तअन्तर्गत, पार्टीभित्र व्यक्ति संगठनको अधीनमा रहन्छ । अल्पमत बहुमतको अधीनमा रहन्छ, तल्लो कमिटी माथिल्लो कमिटीको अधीनमा रहन्छ र सबै कमिटीहरू केन्द्रीय समितिको अधीनमा रहन्छन् । यो तहगत अधीनता र सामूहिक निर्णय प्रक्रिया नै लेनिनवादी संगठनको मेरुदण्ड हो ।

यी सिद्धान्तहरू लेनिनले सन् १९०३ मा रुसी सोशल डेमोक्रेटिक लेबर पार्टीको दोस्रो महाधिवेशनमा प्रस्तुत गरेका थिए । त्यस बैठकमा पार्टीको सदस्यता परिभाषा, अनुशासन र संगठनको अधिकारको संरचना निर्धारण गरिएको थियो । लेनिनले पार्टीलाई त्यस्तो अचुक र जादुगरी संरचना दिए, जुन जारशाही निरङ्कुशताको प्रतिकूल परिस्थितिमा पनि झाङ्गिने खालको थियो ।

उनले पार्टीलाई पेशेवर क्रान्तिकारीहरूको भ्यानगार्ड पार्टीका रूपमा परिकल्पना गरे । यी सिद्धान्तहरूको उद्देश्य पार्टीलाई सधैँ लचिलो, लडाकु र एकजुट राख्नु थियो । यसले पार्टीलाई सशस्त्र विद्रोह र शक्ति कब्जाको चुनौती सहजै सामना गर्न सक्ने बनाइदियो ।

  • नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास

नेपालको सन्दर्भमा कम्युनिस्ट आन्दोलनको थालनी वि.सं. ००६ वैशाख १० गते (सन् १९४९ अप्रिल २२) पुष्पलाल श्रेष्ठको नेतृत्वमा भारतको कोलकातामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापनासँगै भएको थियो । सुरुवाती दिनमा पार्टीले राणा शासन र सामन्तवादविरुद्ध संघर्ष गर्‍यो, तर स्थापनाको प्रारम्भिक चरणदेखि नै पार्टी विचारधारागत मतभेद, नेतृत्वको असहमति र रणनीतिक भिन्नताका कारण पटक–पटक विभाजित हुँदै आयो ।

छिन्न–भिन्न धारलाई मोहनविक्रम सिंहले चौथो महाधिवेशन गरेर तथा पुष्पलालले तेस्रो सम्मेलन गरेर झापा किसान आन्दोलनको धार निर्माण गरी पार्टीको एकीकरणको प्रयास गरे ।

पार्टीका संस्थापक महासचिव पहिलो महाधिवेशनको सँघारमै महासचिवबाट पदच्युत हुनु, पहिलो महाधिवेशनबाट निर्वाचित महासचिवले आफ्नो कार्यकाल पूरा गर्न नपाउँदै कार्यवाहक महासचिव बनाउनुपर्ने परिवेश सिर्जना हुनु, पुष्पलालबाट कार्यवाहक महासचिव बन्न अस्वीकार गर्नु, केशरजङ्ग रायमाझीजस्तो राजतन्त्रवादीको हातमा नेतृत्व पुग्नु, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको असर नेपालमा पनि पर्नु, राजा महेन्द्रको प्रतिगामी कदम र तेस्रो महाधिवेशनपछि नेतृत्वको असक्षमताले कम्युनिस्ट पार्टी छिन्न–भिन्न हुन गयो ।

छिन्न–भिन्न धारलाई मोहनविक्रम सिंहले चौथो महाधिवेशन गरेर तथा पुष्पलालले तेस्रो सम्मेलन गरेर झापा किसान आन्दोलनको धार निर्माण गरी पार्टीको एकीकरणको प्रयास गरे । यस शृङ्खलाको प्रमुख उदाहरण हो, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को ०७५ सालमा भएको एकीकरण । ०७५ जेठ ३ गते यी दुई ठूला कम्युनिस्ट शक्तिहरू मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भयो । यो ऐतिहासिक एकीकरणले लगभग दुई तिहाइ बहुमतको सरकार गठन गर्‍यो ।

यसले समाजवाद उन्मुख राष्ट्र निर्माणको सपना देखाएको थियो । तर, नेतृत्वको अहंकार, सत्ताको केन्द्रीकरण र पार्टीभित्र ह्रास हुँदै गएको आन्तरिक लोकतन्त्रकै कारण एकता लामो समय टिक्न सकेन । हुँदाहुँदा तिनको अदालतबाट हामी शासित हुँदैनौँ भनी अन्तर्राष्ट्रिय गीत गाउने कम्युनिस्ट पार्टी अदालतको हस्तक्षेपपछि स्पष्ट रूपमा विभाजित भयो । पछि नेपालमा कम्युनिस्ट आन्दोलन झनै टुक्रा–टुक्रामा विभक्त हुन पुग्यो ।

०८२ सालको निर्वाचनको मुखमा बाइस कम्युनिस्ट घटक मिलेर नेपाली कम्युनिस्ट पार्टी गठन भयो । तथापि लेनिनवादी सिद्धान्तअनुसार पार्टीलाई अझै सशक्त ढङ्गले सांगठनिक साँचामा ढालिएको छैन । केन्द्रीय कमिटीको ओज घटाउँदै अहिले पनि २५ सयको केन्द्रीय कमिटी बनाइएको छ । यस अवस्थामा लेनिनवादी सिद्धान्त र नेपाली अभ्यासबीचको अन्तरविरोध हल गर्न नसकेकै कारण होला सांगठनिक एकतामा ढिलासुस्ती भइरहेकै छ ।

अब साँच्चै पार्टी निर्माणको सङ्कल्प गर्ने हो भने नेपाली कम्युनिस्ट नेतृत्वले तपसिलका बुँदाहरूमा निर्ममतापूर्वक ध्यान दिनु जरुरी छ ।

नेतृत्वको सङ्कट नै अहिलेको प्रमुख चुनौती हो । अहिले कम्युनिस्ट पार्टीहरूबिच जुट र फुटको स्थायी चक्र चलिरहेको छ । भर्खरै एकीकृत नेपाली कम्युनिस्ट पार्टी किमकर्तव्यविमूढको अवस्थामा छ ।

पहिलो, वैचारिक र संगठनात्मक रूपमा नेपालका कम्युनिस्ट पार्टीहरू सत्तामा पुगेपछि लेनिनको बोल्सेभिक अनुशासनमा कमजोर हुँदै गएका छन् । नेकपाभित्रको सत्ता सङ्घर्षले के देखायो भने एकातिर नेता–केन्द्रित निर्णय प्रक्रिया र व्यक्तिको वरिपरि निर्मित गुटबन्दीले पार्टीलाई कमजोर बनाएको छ भने अर्कोतिर लेनिनवादी संगठनात्मक शैली कुन चिडियाको नाम हो भन्नेजस्तो भएको छ ।

लेनिन स्वयं पदाधिकारीभन्दा बढी विचार र रणनीतिका नेता थिए । उनी केन्द्रीय समिति सदस्यबाटै आफ्नो प्रभाव स्थापित गर्थे । तर नेपालमा पदीय शक्ति नै विवादको केन्द्र बनेको छ । लेनिनवादी सिद्धान्तको विकृत व्याख्या र नेतृत्वको एकाधिकारवादी चिन्तनले जनवादी केन्द्रीयतालाई नकारात्मक बनाएको छ ।

दोस्रो, ०६० को दशकदेखि सुरु भएको विभाजन र पुनर्गठनको शृङ्खलाले वामपन्थी आन्दोलनलाई क्रमशः कमजोर बनाउँदै लग्यो । जब कम्युनिस्ट शक्तिहरू विभाजित हुन्छन्, त्यसको नतिजा श्रमजीवी जनताका लागि दुःखद हुन्छ । हालैका निर्वाचन परिणामहरूले पनि विभाजित वामपन्थी दलहरूले जनताको विश्वास गुमाउँदै गएको देखाउँछ ।

तेस्रो, नेतृत्वको सङ्कट नै अहिलेको प्रमुख चुनौती हो । अहिले कम्युनिस्ट पार्टीहरूबिच जुट र फुटको स्थायी चक्र चलिरहेको छ । भर्खरै एकीकृत नेपाली कम्युनिस्ट पार्टी किमकर्तव्यविमूढको अवस्थामा छ । पार्टीभित्र दुई वृद्ध नेताहरूको अहंकार, दम्भ र मपाइँत्वको बोझमा थिचिएर पार्टीले देशको नेतृत्व गर्न सकिरहेको छैन ।

लेनिनको मूल सिद्धान्तविपरीत यहाँ नेतृत्व व्यक्तिको हैसियत प्रतिस्पर्धाको विषय बनेको छ । अवसरवादी कार्यकर्ताहरूले ‘बा’, ‘सुप्रिमो’, ‘गणतन्त्रका पिता’ जस्ता शब्दले नेताहरूलाई विभूषित गर्छन् । र, त्यस्तै शब्दहरूबाट नेताहरूको अहम् तुष्टि हुने हुनाले तिनलाई नै नेताहरू असली कार्यकर्ता ठानी तिनकै स्वार्थ पूर्तिका लागि चौगुणा दौडिरहेका हुन्छन् ।

चौथो, जनजीविका र राष्ट्रियताको प्रश्न । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालहरूको सामना गर्न कम्युनिस्ट पार्टीको पुनर्गठन अनिवार्य छ । बढ्दो भूराजनीतिक चुनौती र विश्वव्यापी आर्थिक अस्थिरताको यस घडीमा, विभाजित र कमजोर कम्युनिस्ट आन्दोलनले प्रभावकारी ढङ्गले जनताको हितको रक्षा गर्न सक्दैन । त्यसैले पनि जनजीविका र राष्ट्रियताको प्रश्नलाई बलियो गरी समात्न कम्युनिस्ट पार्टीको पुनर्गठन अनिवार्य छ ।

  • पुनर्गठनको मार्गचित्र

पुनर्गठनका लागि सबैभन्दा पहिले पार्टी सदस्यता र नेतृत्वको मापदण्ड सुधार गर्नुपर्छ । लेनिनले सदस्यता अत्यन्तै कडा बनाएका थिए । पार्टीको कार्यक्रम मान्ने, आर्थिक योगदान दिने र व्यक्तिगत रूपमा सक्रिय सहभागिता अनिवार्य थियो । नेपालमा भने पार्टी सदस्यता प्रायः कागजको खोस्टोसरि बाँडिएको छ । पुनर्गठनको एउटा मुख्य पाटो जनवादी केन्द्रीयतालाई यथार्थमा लागू गर्नु हो ।

बाह्य दबाब हो । राज्यको नीति र अन्तर्राष्ट्रिय भूराजनीतिक समीकरणले पनि नेपाली वामपन्थी आन्दोलनलाई प्रभावित पारेको छ ।

पार्टीभित्रको सबै निर्णय तल्लो तहदेखि माथि र माथिदेखि तल्लो तहसम्म संवादको आधारमा हुनुपर्छ । विगतका एकीकरण प्रयासहरूमा जेनजी पुस्तालाई सभामा बोलाएर पुरानो संरचनालाई बलियो बनाउनका लागि मात्र थपडी पिट्न लगाइयो । यसले वास्तविक सुधारको अपेक्षा गरेका युवाहरूमा निराशा पैदा गर्‍यो । त्यसैले, पुनर्गठनको प्रक्रियामा कम्तीमा ४० प्रतिशत युवा सहभागिता सुनिश्चित गर्ने व्यवस्था हुनैपर्छ । नयाँ पार्टीले पद र शक्ति होइन, कार्य र योगदानलाई प्राथमिकता दिनुपर्छ । यसले मात्र पार्टीलाई लेनिनवादी बनाउँछ ।

यो पुनर्गठनको बाटो भने सजिलो छैन । पहिलो चुनौती हो– व्यक्तिपूजाको मानसिकता । दशकौँदेखि कम्युनिस्ट राजनीतिमा व्यक्ति नै पार्टी बनेका छन् । ती नेताहरूको स्थानीय स्वार्थ र पदको लालसा नै पार्टी पुनर्गठनको सबैभन्दा ठूलो बाधक हो । दोस्रो, वैचारिक भ्रम पनि यसको महत्त्वपूर्ण चुनौती बन्न पुगेको छ । धेरै नेताले लेनिनवादलाई केवल नाराका रूपमा मात्रै बुझेका छन् । सिद्धान्त र अभ्यासबीचको खाडल पुर्नु नै अहिलेको खास चुनौती हो ।

तेस्रो, बाह्य दबाब हो । राज्यको नीति र अन्तर्राष्ट्रिय भूराजनीतिक समीकरणले पनि नेपाली वामपन्थी आन्दोलनलाई प्रभावित पारेको छ । यी चुनौतीहरूको सामना गर्दै वामपन्थी दलहरूले पुनर्गठन गर्न आवश्यक छ । वर्तमान आधुनिक समयमा नेपाली समाजले ब्यहोरिरहेका ज्वलन्त चुनौती र समस्याहरूलाई हल गर्ने मामिलामा गम्भीर बन्दै नेताहरूको घैँटोमा बेलैमा घाम लाग्न सकेन भने आगामी दिनमा नेपालबाट कम्युनिस्ट आन्दोलन नै विलुप्त हुने खतरा छ ।

लेनिनवादी संगठनात्मक सिद्धान्त कुनै ग्रन्थमा सीमित विषय होइन । यो जीवन्त व्यवहार र निरन्तर सुधारको नियम हो । नेपाली कम्युनिस्ट आन्दोलनले गणतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षता जस्ता उपलब्धिहरू दिएको छ । तर पार्टीको आन्तरिक कमजोरी र संरचनात्मक विकृतिले समाजवादको यात्रालाई जटिल बनाएको छ । ऐतिहासिक रूपमा, जतिबेला कम्युनिस्ट शक्तिहरू एकजुट भए, जनताको समर्थन उच्च रह्यो ।

हालै २०८२ मा भएको १८ बुँदे एकता सहमति पुनर्गठनको दिशामा एउटा सकारात्मक कदम त हो तर यो पर्याप्त छैन । वास्तविक पुनर्गठनको अर्थ पुरानो ढाँचा तोड्नु, सामूहिक नेतृत्वलाई सशक्त बनाउनु, जनवादी केन्द्रीयतालाई सही अर्थमा बुझ्नु र पदलाई सेवाको अवसरका रूपमा मात्र हेर्नु हो । नेपाली कम्युनिस्ट पार्टीले यी कुराहरू हृदयङ्गम गरेर पार्टी पुनर्गठन गर्न सक्यो भने मात्र दुई तिहाइको सरकार मात्र होइन, साँचो समाजवादी नेपालको परिकल्पना साकार हुन सक्छ । अन्यथा, विभाजनको शृङ्खला रोकिने छैन ।

के हामी हाम्रो भविष्यलाई गम्भीरतापूर्वक लेख्न तयार छौँ ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बलराम बास्कोटा
बलराम बास्कोटा
लेखकबाट थप