क्रान्तिनायक लेनिनको जीवनका उतारचढाव
सारांश
- भ्लादिमिर लेनिनले रुसमा क्रान्तिको नेतृत्व गर्दै विश्वको पहिलो समाजवादी राज्य स्थापना गर्नुभयो।
- उनको जीवन राजनीतिक सङ्घर्ष, बोल्सेभिक आन्दोलन र राज्य सञ्चालनका अनेकौँ उतारचढावहरूबिच बितेको थियो।
- सन् १९२४ मा लेनिनको निधनपश्चात् उनको राजनीतिक विचार र कार्यशैली विश्व इतिहासमा प्रभावकारी प्रतीक बनेको छ।
भ्लादिमिर इल्यीच उल्यानोभ ‘लेनिन’ ले एउटा यस्तो क्रान्तिको नेतृत्व गरे, जसले शताब्दीयौँदेखि चल्दै आएको निरङ्कुश शासनलाई उखेलेर फाल्ने काम मात्र गरेन, ‘विश्वको पहिलो समाजवादी राज्य’ स्थापनासमेत गर्यो ।
बोल्सेभिक आन्दोलनका नेताका रूपमा उनले मार्क्सवादी सिद्धान्तलाई व्यावहारिक राजनीतिक कर्मसँग जोडिदिए । त्यसैको परिणामस्वरूप उनको प्रभाव मृत्युपश्चात् पनि दशकौँसम्म कायमै रह्यो ।
प्रान्तीय विश्वविद्यालयको विद्यार्थीदेखि निर्वासित जीवन हुँदै प्रखर सिद्धान्तकार तथा अन्ततः राज्यप्रमुखसम्म बन्न पुगेका लेनिनको जीवन सहज र सरल रहेन । उनको जीवनयात्रा दृढ राजनीतिक विश्वास एवं चतुर रणनीतिबाट प्रेरित अविराम सङ्घर्ष र अथक प्रयासको मनमोहक कथाजस्तो छ ।
- बाल्यकाल
लेनिनको जन्म सन् १८७० को अप्रिल २२ मा भोल्गा नदीको तिरमा रहेको सिम्बिस्र्क सहरमा भएको हो । यस सहरको नाम पछि गएर उल्यानोभ्स्क राखियो ।
उनका बुबा इल्या उल्यानोभ सरकारी विद्यालयका निरीक्षकका रूपमा काम गर्थे । ‘जार’ सरकारअन्तर्गत काम गर्नका लागि उनले खानदानी रूपमै कुलीन दर्जा हासिल गरेका थिए । उनकी आमा मारिया अलेक्जान्ड्रोभना ब्ल्याङ्क औसत प्रकारको मिश्रित पारिवारिक पृष्ठभूमिबाट आएकी थिइन् । मारियाको पुर्ख्यौली भने जर्मन र यहुदीसँग जोडिन्थ्यो ।

लेनिनको परिवारले पढाइलेखाइलाई ठूलो महत्त्व दिएको थियो । परिवारका सबै ६ जना बच्चाहरूलाई नै मिहिनेतसाथ पढ्न प्रोत्साहित गरिएको थियो । लेनिनले बाल्यकालमै ल्याटिन र ग्रिकजस्ता शास्त्रीय भाषाहरूमा आफ्नो प्रतिभा प्रस्तुत गरिसकेका थिए ।
सन् १८८७ मा भएको एउटा घटनाले उनीहरूको जीवनमा महत्त्वपूर्ण मोड ल्याइदियो । लेनिनका जेठा दाजु अलेक्जेन्डर उल्यानोभ ‘पिपल्स विल’ नामको क्रान्तिकारी समूहका सदस्य थिए । उनी तत्कालीन जार अलेक्जेन्डर तृतीयको हत्या गर्ने षड्यन्त्रमा भाग लिएको आरोपमा पक्राउ परे र उनलाई मृत्युदण्ड दिइयो ।
दाजुलाई मृत्युदण्ड दिनुभन्दा अघिल्लो वर्ष मात्र उनीहरूका बुबाको मृत्यु भएको थियो । दाजुलाई दिइएको मृत्युदण्डले लेनिनलाई गहिरो भावनात्मक आघात पुर्यायो । त्यतिबेला उनी केवल १७ वर्षका थिए । लेनिन बिस्तारै रुसमा कायम रहेको राजतन्त्रको वैधानिकतामाथि प्रश्न उठाउन थाले र विविध प्रकारका धार्मिक विश्वासलाई अस्वीकार गर्न थाले ।
लगत्तै उनी कानुन अध्ययन गर्न काजान विश्वविद्यालयमा भर्ना भए । विद्यार्थीहरूले सञ्चालन गरेको विरोध कार्यक्रममा संलग्न भएको भन्दै उनलाई त्यहाँबाट निष्कासन गरियो । पछि उनलाई सेन्ट पिटर्सबर्ग विश्वविद्यालयमा बाहिरी रूपमै आफ्नो अध्ययन पूरा गर्न अनुमति दिइयो । तर, त्यसपछिका केही वर्षसम्म उनीमाथि प्रहरी निगरानी भने जारी राखियो ।
सन् १८९० को दशकको सुरुवाततिर लेनिनले कानुनको अध्ययन पूरा गरिसकेका थिए । साथै, छोटो समयका लागि कानुनी सहायकका रूपमा कामसमेत गरेका थिए । त्यही समयमा उनले राजनीतिक साहित्य, त्यसमा पनि विशेष गरी कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सका कृतिहरू पढ्न थालेका थिए ।
बिस्तारै उनले आर्थिक सिद्धान्तको अध्ययन गरे । राजनीतिक निबन्धहरू लेख्न थाले । गोप्य समाजवादी समूहहरूसँग आफ्नो सञ्जाल विस्तार गर्न थाले । बिस्तारै उनको रुचि शैक्षिक गतिविधिभन्दा पनि क्रान्तिकारी योजनाहरूतर्फ सर्न थाल्यो ।

- कट्टर राजनीतिक कार्यकर्ता
सन् १८९३ मा सेन्ट पिटर्सबर्गमा बस्न थालेपछि लेनिनको सम्बन्ध मार्क्सवादी बुद्धिजीवीहरूसँग बढ्न थाल्यो । त्यसबेला उनी प्रतिबन्धित छलफल समूहहरूमा सामेल हुन थाले । त्यस्ता छलफलहरूमा प्रायःजसो बुद्धिजीवीहरू सहभागी हुने गर्थे, जहाँ आर्थिक शोषण र निरङ्कुशतामाथि केन्द्रित रहेर बहस हुन्थ्यो ।
बिस्तारै लेनिनले भूमिगत पत्रिकाहरूमा आफ्ना लेख छाप्न थाले र मार्क्सवादी सिद्धान्तमा आधारित राजनीतिक आन्दोलनको वकालत गर्न थाले ।
उनले सन् १८९५ मा श्रमिक मुक्तिका लागि भन्दै सङ्घर्ष सङ्गठनको स्थापना गरे । त्यसको नाम ‘युनियन अफ स्ट्रगल फर द इमान्सिपेसन अफ वर्किङ क्लास’ थियो । उनको लक्ष्य छरिएर रहेका समाजवादी समूहहरूलाई राज्यसत्ताको दमनको सामना गर्न सक्ने क्रान्तिकारी शक्तिमा एकताबद्ध गर्नु थियो ।
उनका राजनीतिक गतिविधि सधैँ गोप्य रहन सम्भव थिएन । सरकारी गुप्तचर प्रहरी ‘ओख्राना’ को ध्यानाकर्षण हुन थालिहाल्यो । आखिर क्रान्तिकारी सङ्गठनमा संलग्न भएको कारण सन् १८९५ को अन्त्यमा उनी गिरफ्तार भए ।
जेलमा एक वर्षभन्दा बढी समय बिताएपछि उनलाई दुर्गम साइबेरियाली गाउँ शुशेन्स्कोयेमा आन्तरिक निर्वासनको सजाय सुनाइयो । त्यहाँ उनी सन् १८९७ देखि सन् १९०० सम्म निर्वासित रहे ।
निर्वासनको अवधिमा उनले क्रान्तिकारी आन्दोलनमै भेट भएकी प्रखर र प्रतिबद्ध मार्क्सवादी नादेज्दा क्रुप्स्कायासँग विवाह गरे । निर्वासनका दौरान पनि उनले लेख तथा सैद्धान्तिक निबन्धहरू लेख्ने काम जारी नै राखे । त्यस समयका उनका रचनाहरूले रुसी समाजवादी आन्दोलनभित्र भविष्यको राजनीतिक बहसको जग बसाल्दै थिए ।
सन् १८९९ मा उनले ‘द डेभलपमेन्ट अफ क्यापिटालिजम इन रसिया’ (रुसमा पुँजीवादको विकास) नामक पुस्तक प्रकाशित गरे । जसमा सामन्ती संरचनाहरूको निरन्तरताको आलोचना गर्दै ग्रामीण क्षेत्रमा पुँजीवादी सम्बन्धहरूले जरा गाडेको तर्क गरिएको थियो । त्यो एउटा महत्त्वपूर्ण आर्थिक कृति थियो ।
निर्वासनको अवधि पूरा गरेपछि लेनिन रुस छाडेर अन्यत्र निस्किए । उनले विदेशबाटै आफ्ना क्रान्तिकारी गतिविधिहरू व्यवस्थित गर्न थाले । सन् १९०० मा उनले पश्चिमी युरोपमा प्रकाशित हुने मार्क्सवादी पत्रिका ‘इस्क्रा’ (द स्पार्क) सुरु गर्न सघाए । साथै, रुसमा क्रान्तिकारी विचारहरू फैलाउन गोप्य रूपमा त्यस्ता अखबारहरू पठाउन थाले ।

‘इस्क्रा’ मार्फत उनले आन्दोलनभित्र व्यापक अनुशासन र केन्द्रीय नेतृत्व हुनुपर्ने धारणा राख्न थाले । उनको त्यो धारणा पार्टी निर्माण र आगामी विकासमा एउटा प्रमुख मुद्दा बन्ने निश्चित थियो ।
- सन् १९१७ भन्दा अगाडि
सन् १९०३ मा रुसी सामाजिक जनवादी श्रम पार्टी (रसियन सोसल डेमोक्र्याटिक लेबर पार्टी) को दोस्रो महाधिवेशन भयो । महाधिवेशन सुरुमा बेल्जियमको राजधानी ब्रसेल्समा भएको थियो भने पछि बैठक लन्डनमा सर्यो । महाधिवेशनमा विविध मतहरूबिच तिक्त विभाजन देखियो । लेनिनले बोल्सेभिक समूह गठन गरे, जसले पेसेवर क्रान्तिकारीहरू कठोर रूपमा सङ्गठित हुने खालको पार्टी हुनुपर्ने माग गर्यो ।
उनले मेन्सेभिकहरूको अडानलाई अस्वीकार गरे । जुलियस मार्तोभले अगुवाइ गरेको मेन्सेभिक समूहले विस्तारित नेतृत्वसहितको अधिक समावेशी पार्टीको पक्षमा अडान राखेको थियो ।
बोल्सेभिक र मेन्सेभिकबिचको यस्तो विभाजनले आगामी सङ्घर्षका लागि बाटो खोल्यो र क्रान्तिकारी आन्दोलनको सङ्गठनात्मक संरचनालाई पनि नयाँ आकार दियो ।
सन् १९०५ मा रुसमा भएको रक्तपातपूर्ण घटना (जसलाई पछि ‘ब्लडी सन्डे’ भनेर चिनियो) लगत्तै सुरु भएको आन्दोलन बिस्तारै आम हड्ताल र किसान विद्रोहमा परिणत भयो । तर, त्यो आन्दोलन दमनमा परेर असफल भयो । सन् १९०५ को क्रान्तिको असफलताले लेनिनको 'सशस्त्र विद्रोह र केन्द्रीकृत क्रान्तिकारी नेतृत्वको आवश्यकता' माथिको विश्वासलाई अझै पुष्टि गरिदियो ।
सन् १९०५ को क्रान्तिले रुसी संसद् ‘डुमा’ को सिर्जनाजस्ता केही सुधारहरू त ल्यायो, तर लेनिन भने त्यस्ता सुधारले साँच्चिकै परिवर्तन ल्याउन सक्दैनन् भन्ने कुरामा विश्वस्त थिए । क्रान्तिका वर्षहरूमा ‘सेन्ट पिटर्सबर्ग सोभियत’ अर्थात् श्रमिकहरूको नेतृत्वको राजनीतिक सङ्गठनको नयाँ मोडेल छोटो समयका लागि लियोन ट्रोत्स्कीको अध्यक्षतामा चलेको थियो ।

लेनिनले जेनेभा, पेरिसलगायत अन्य सहरहरूमा निर्वासित हुँदा पनि बोल्सेभिकहरूको नेतृत्व गरिनै रहे । त्यस दौरान उनले विभिन्न राजनीतिक कृतिहरू लेखे र अन्य मार्क्सवादी विचारकहरूसँग बहसमा संलग्न भए ।
पहिलो विश्वयुद्धको समयमा लेनिनले जारी युद्धलाई साम्राज्यवादी शक्तिहरूबिचको टकरावका रूपमा तर्क गरे । विश्वयुद्धमा सामेल भएका युरोपेली मुलुकहरूलाई त्यहाँभित्रका समाजवादी दलहरूले समर्थन गरेको विषयलाई लिएर लेनिनले कडा आलोचना गरे ।
सन् १९१६ मा उनको कृति ‘इम्पेरियलिज्मः द हाईएस्ट स्टेज अफ क्यापिटालिजम’ प्रकाशित भयो । जसमा उनले वैश्विक अर्थतन्त्रको विश्लेषण गर्दै औपनिवेशिक विस्तार र एकाधिकारले कसरी युद्ध निम्त्यायो भन्नेबारे विस्तारमा व्याख्या गरेका थिए ।
आफ्नो अडानकै कारण उनलाई धेरै साथी समाजवादीहरूले छाडे र उनी एक्लिँदै गए । तथापि, अन्य देशहरूमा क्रान्तिका लागि समर्थन र वर्गसङ्घर्षको आवश्यकतासम्बन्धी उनको धारणा र सक्रियता थप दृढ हुँदै गयो ।
- फेब्रुअरी क्रान्ति
सन् १९१७ मा पेट्रोग्राडमा फेब्रुअरी क्रान्ति सुरु भयो । खाद्यान्न अभाव तथा विश्वयुद्धमा रुसी सेनाको असफलतालाई लिएर हड्ताल र व्यापक विरोध प्रदर्शनहरू द्रुत गतिमा बढ्न थाले । आन्दोलनकै क्रममा जारले राजीनामा दिए । उदारवादी र मध्यम (मोडरेट) समाजवादी नेताहरूको नेतृत्वमा अस्थायी सरकार बन्यो ।
त्यसैबेला कामदार तथा सैनिकका प्रतिनिधिहरू मिलेर बनेको पेट्रोग्राड सोभियतले पनि आफ्नो अधिकार दाबी गर्न थाल्यो । फलतः देशमा दोहोरो शक्तिकेन्द्रको अवस्था सिर्जना भयो । त्यतिबेला स्विट्जरल्यान्डको जुरिचमा निर्वासनमा रहेका लेनिनले पनि विद्रोहको बारेमा थाहा पाए र तत्कालै रुस फर्किने योजना बनाउन थाले ।

त्यसैबेला जर्मनीलाई रुसमा अस्थिरता बढाएर पूर्वी मोर्चालाई थप अस्थिर पार्दै रुसलाई विश्वयुद्धमा कमजोर पार्नु थियो । त्यही आशामा जर्मनीले लेनिनलाई आफ्नो मुलुक तथा स्विडेनमा सुरक्षा दिएर रुस फर्किने रेलमा यात्रा गर्न सघायो ।
उनी सन् १९१७ को अप्रिल ३ मा पेट्रोग्राडको फिनल्यान्ड स्टेसन आइपुगे । त्यहाँ बोल्सेभिक समर्थकहरू तथा पार्टीका सदस्यहरूको ठूलो भिडले उनलाई स्वागत गर्यो ।
रुस पुगेको केही समयपछि नै उनले ‘अप्रिल थेसिस’ प्रस्तुत गरे । थेसिसमा उनले युद्धको अन्त्य, सबै भूमिमा राज्यको नियन्त्रण र सोभियतहरूलाई शक्ति दिनुपर्ने माग गरे । साथै, तत्कालीन समयमा विद्यमान प्रहरी, सेना र कर्मचारीतन्त्रको विघटन हुनुपर्ने मागसमेत राखे ।
त्यस समय बहाल रहेको अस्थायी सरकारलाई बुर्जुवा शासनको निरन्तरताका रूपमा निन्दा गर्दै उनले समाजवादी राज्य स्थापना गर्न दोस्रो क्रान्तिको आवश्यकता औँल्याए । यस्ता कट्टर मागहरूले समाजवादी आन्दोलनलाई विभाजित गरिदिए । तथापि, नयाँ सरकारले रुसको सङ्कट समाधान गर्ने मामिलामा मजदुर, किसान र सैनिकहरूको विश्वास धर्मराउँदै गयो । त्यस्तो पङ्क्तिले लेनिन र उनको पार्टीलाई समर्थन बढाउन थाल्यो ।
- अक्टोबर क्रान्ति
सन् १९१७ को मध्यसम्म पुग्दा बोल्सेभिकहरूले रुसमा बनेका सोभियतहरूमा व्यापक मात्रामा प्रभाव बढाइसकेका थिए । सोभियतहरूमा लेनिनले आह्वान गरेको दोस्रो क्रान्तिप्रतिको समर्थन बढ्दै गएको थियो ।
जुलाई महिनामा अस्थायी सरकारविरुद्ध विद्रोह भयो तर असफल भयो । त्यसपछि गिरफ्तारीबाट बच्न लेनिन फिनल्यान्ड भागे । तर पनि सो अवधिमा उनले चिठी एवं गोप्य बैठकहरूमार्फत पार्टी गतिविधिलाई निर्देशित गर्न भने जारी नै राखे ।
क्रान्तिका लागि धेरै पर्खिंदा प्रतिद्वन्द्वी समूहहरूलाई सत्ता सुरक्षित गर्ने मौका मिल्छ भन्ने कुरामा विश्वस्त हुँदै उनले तत्काल कारबाही थाल्नुपर्ने कुरामा जोड दिए । लगत्तै सन् १९१७ अक्टोबर महिनाको २४ र २५ तारिखमा बोल्सेभिकहरूले पेट्रोग्राडबाट होसियारीसाथ योजनाबद्ध सशस्त्र विद्रोहको थालनी गरे ।

बोल्सेभिकप्रति वफादार ‘रेड गार्ड’ हरू तथा युद्धबाट फर्केका सिपाहीहरूले पुलहरू, सरकारी भवनहरू तथा टेलिग्राफ कार्यालयलाई नियन्त्रणमा लिइहाले । अर्को दिन बिहानसम्म उनीहरूले त्यसबेलाको रुसको शीतकालीन दरबारमा आक्रमण गरिसकेका थिए ।
उनीहरूले केही घण्टामै अस्थायी सरकारका मन्त्रीहरूलाई गिरफ्तार गरे । त्यसबेला अस्थायी सरकारको नेतृत्व अलेक्ज्यान्डर केरेन्स्कीले गरिरहेका थिए । केही समयमै सोभियतहरूको बैठक बसेर शक्ति सोभियतहरूलाई हस्तान्तरण गर्ने कदमको अनुमोदन गर्यो । साथै, लेनिनको अध्यक्षतामा जनकमिसार परिषद् अर्थात् ‘सोभनारकोम’ गठन गर्यो ।
नयाँ सरकारले शान्ति र भूमि तथा उत्पादनको क्षेत्रमा तत्काल कामदारहरूको नियन्त्रण हुने आदेश जारी गर्यो । त्यही घोषणा लगत्तै रुसी समाज रूपान्तरणको कदम सुरु भयो, जसले पछि गएर वैश्विक राजनीतिक व्यवस्थामानै ठूलो हेरफेर ल्यायो ।
- सत्तामा लेनिन
सोभियत सरकारको नेताका रूपमा लेनिनले ठूलो परिवर्तन र उथलपुथलको नेतृत्व गरे । सन् १९१८ को मार्च ३ मा ‘ब्रेस्ट–लिटोभ्स्क’ को सन्धि भयो । सन्धिले पहिलो विश्वयुद्धमा रुसको संलग्नता अन्त्य गरिदियो । त्यसका अलावा युक्रेन, फिनल्यान्ड, पोल्यान्ड तथा बाल्टिक राज्यहरूलगायतका ठूला क्षेत्रहरू रुसले गुमाउनुपर्यो । रुसलाई आफ्नो जनसङ्ख्याको लगभग एक तिहाइ, उद्योगको लगभग आधा तथा कोइला खानीहरूको नौ-दशांश भाग क्षति भयो ।
सन्धि व्यापक रूपमा अलोकप्रिय भयो । तथापि, शक्ति सुदृढीकरण तथा क्रान्तिको रक्षाका लागि यस्तो सन्धि गर्नैपर्नेमा लेनिन दृढ विश्वास गर्थे । त्यतिबेला रुस गृहयुद्धमा थियो । लियोन ट्रट्स्कीले सङ्गठित गरेको ‘लाल सेना’ ले ‘श्वेत सेना’ विरुद्धको युद्ध लडेको थियो । श्वेत सेनामा राजतन्त्रवादी, राष्ट्रवादी तथा बेलायत, फ्रान्स, अमेरिका र जापानजस्ता मुलुकका विदेशी हस्तक्षेपकारीहरू सामेल भएका थिए ।
अर्थतन्त्रलाई नियन्त्रण गर्न एवं सेनालाई आपूर्ति कायम राख्न लेनिनले ‘युद्ध साम्यवाद’ (वार कम्युनिज्म) लागू गरे । त्यसअन्तर्गत किसानहरूबाट अन्न लिने, अनिवार्य श्रम गर्नुपर्ने तथा उद्योगमा राज्यको नियन्त्रण हुनेलगायतका व्यवस्था थिए ।
युद्ध साम्यवादको नीतिले भोकमरी, विद्रोह र आर्थिक दुरावस्था निम्त्याउन थाल्यो । यी सबै समस्यासँग जुध्दै बोल्सेभिकहरूले अन्ततः सन् १९२१ सम्ममा गृहयुद्धमा जित हासिल गरे ।

गृहयुद्धले ‘चेका’ नामको बोल्सेभिक गोप्य प्रहरीको नेतृत्वमा राजनीतिक दमनको अभियानलाई पनि जन्म दियो, जसलाई ‘रेड टेरर’ अर्थात् ’लाल आतङ्क’ भन्ने गरिन्छ । त्यसबेला हजारौँ साँच्चिकै अथवा शङ्कास्पद विरोधीहरूलाई जेल हालियो, धेरैलाई मृत्युदण्ड दिइयो । राजनीतिक बहुलवाद हराएर गयो ।
सन् १९१८ को जुलाईमा जार अर्थात् निष्कासित राजाहरूको रोमानोभ परिवारका सबै सदस्यलाई बोल्सेभिक सेनाहरूले मृत्युदण्ड दिए । लाल आतङ्क भने त्यसको हप्ता दिनपछि मात्रै आधिकारिक रूपमा सुरु भएको थियो । मृत्युदण्डलाई राजनीतिक हिंसाको व्यापक अभियानसँग जोडेर हेर्ने गरिएको छ ।
गृहयुद्ध समाप्त भएपछि सन् १९२१ को मार्चमा लेनिनले ‘नयाँ आर्थिक नीति’ (न्यु इकोनोमिक पोलिसी) प्रस्तुत गरेका थिए । यस नीतिले सीमित मात्रामा निजी व्यापार तथा बजारजन्य गतिविधिलाई अनुमति दिएको थियो । त्यस्तो निजी अर्थतन्त्र र खुलापन विशेष गरी कृषि क्षेत्रमा अझै बढी थियो ।
नयाँ आर्थिक नीतिले युद्ध साम्यवादको समयमा अभ्यास भएको जबर्जस्ती अन्न अधिग्रहण गर्ने नीतिलाई निश्चित करले प्रतिस्थापन गर्यो । त्यसपछि किसानहरू आफ्नो अतिरिक्त उत्पादन बेच्न पाउने भए । खाद्य उत्पादनमा देखिएको कमी र रुसी समाजमा फैलिँदो अशान्ति बढ्नबाट रोक्न यस्तो प्रावधान लागू गरिएको थियो । तर, त्यस्तो नीतिले कम्युनिस्ट पार्टीभित्र धेरैलाई असन्तुष्ट बनाएको थियो ।
- निधन
सन् १९२२ को मे महिनामा लेनिनलाई लगातार ‘स्ट्रोक’ भयो । त्यसले उनको बोली र क्रियाशीलता दुवैमा गम्भीर असर गर्यो ।
स्ट्रोकलगत्तै छोटो समयका लागि उनी राजनीतिक गतिविधिमा फर्किएका थिए । त्यसबेला उनले जोसेफ स्टालिनको बढ्दो प्रभावविरुद्ध खबरदारी गर्ने पत्र तथा मेमोहरू पनि लेखेका थिए । उनको स्वास्थ्य अवस्था झन्-झन् बिग्रिँदै गयो ।
सन् १९२२ को डिसेम्बरदेखि सन् १९२३ को जनवरीबिच लेखिएको आफ्नो बयानमा उनले स्टालिनको आचरणको आलोचना गरेका छन् र उनलाई महासचिव पदबाट हटाउन सिफारिससमेत गरेका छन् । तर, पार्टी नेताहरूले उनको आग्रह उल्लेखित कागजात नै दबाए ।

सन् १९२३ को मार्चसम्म पुग्दा त उनी राज्यको मामिला वा पार्टी नेतृत्वमा सहभागी हुन पूर्ण रूपमा असमर्थ भइसकेका थिए । जीवनका अन्तिम महिनाहरू उनले मस्कोबाहिर रहेको गाउँ गोर्कीमा बिताएका थिए । त्यहाँ उनी आफ्नी श्रीमती क्रुप्स्काया तथा डाक्टरहरूको हेरचाहमा बसेका थिए ।
सन् १९२४ को २१ जनवरीमा ५३ वर्षको उमेरमा लेनिनको निधन भयो । उनको निधनको खबरले सङ्घभरि व्यापक शोकको माहोल बनायो । सोभियत सरकारले उनको मृत शरीरको संरक्षण गर्ने निर्णय गर्यो र त्यसका लागि उनको शवलाई ‘रेड स्क्वायर’मा विशेष रूपमा बनाइएको समाधिस्थलमा राखियो ।
लगत्तै सन् १९२४ को २६ जनवरीमा उनको सम्मानमा पेट्रोग्राड सहरको नाम फेरेर आधिकारिक रूपमै लेनिनग्राड राखियो ।
लेनिनको निधनपश्चात् उनका कृतिहरू तथा उनको छविको दुरुपयोग हुन थाल्यो । लेनिनको मूल दृष्टिकोणभन्दा भिन्न नीति र कार्यक्रमहरूको औचित्य पुष्टि गर्न पनि उनका रचनाहरूको प्रयोग हुन थाल्यो । लेनिनको नाम एक प्रकारको राजनीतिक प्रतीक बन्न पुग्यो ।
घटनाक्रमहरूमा यी तमाम नागबेली मोडहरूका बाबजुद आज पनि लेनिनलाई संसारले सम्झिरहेको छ । उनले नेतृत्व गरेको क्रान्तिले पुरानो व्यवस्था उल्ट्याइदिएको थियो । साथै, रुस मात्रै नभएर विश्वभर २०औँ शताब्दीलाई नै प्रभाव पार्ने नयाँ राजनीतिक मोडेल सिर्जना गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण