लुम्बिनीस्थित अन्तर्राष्ट्रिय सभाहल अपेक्षाअनुसार सञ्चालनमा आउन सकेन
सारांश
- लुम्बिनीमा अर्बौंको लागतमा निर्मित अन्तर्राष्ट्रिय सभाहल निर्माण भएको चार वर्षसम्म पनि पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन।
- स्पष्ट कार्यविधि र व्यावसायिक योजनाको अभावमा सभाहलले आफ्नो खर्च धान्न समेत कठिन भइरहेको छ।
- स्थानीय व्यवसायीहरूले सभाहललाई चलायमान बनाउन निजी क्षेत्रसँगको सहकार्य र प्रभावकारी प्रचारप्रसारको माग गरेका छन्।
बुटवल । लुम्बिनीमा अर्बौं रुपैयाँको लगानीमा निर्माण गरिएको अन्तर्राष्ट्रियस्तरको सभाहल अपेक्षाअनुसार सञ्चालनमा आउन सकेको छैन । निर्माण सम्पन्न भएको चार वर्ष बितिसक्दा पनि सभाहलमा जम्मा १५ वटा कार्यक्रममात्र सञ्चालन भएका छन् ।
लुम्बिनी विकास कोषको स्वामित्वमा रहेको उक्त सभाहलमा वर्षमा औसत ४–५ वटामात्र कार्यक्रम हुने गरेको देखिन्छ । ५ हजार जनासम्म अट्ने क्षमतासहित निर्माण गरिएको सुविधा सम्पन्न सभाहलमार्फत लुम्बिनीमा आन्तरिक तथा अन्तर्राष्ट्रिय गतिविधि बढाउने लक्ष्य राखिएको थियो ।
सभाहल सञ्चालनका लागि सरकारले अझैसम्म स्पष्ट कार्यविधि तयार नगर्दा समस्या झन् बढेको छ । कोषले भने आन्तरिक कार्यविधिका आधारमा सीमित रूपमा सभाहल सञ्चालन गर्दै आएको जनाएको छ ।
लुम्बिनी विकास कोषका सूचना अधिकारी डा हरिध्वज राईले आन्तरिक कार्यविधिबाट सभाहल सञ्चालन भइरहेको बताए । देशभरका सभाहलहरूका लागि एकीकृत सञ्चालन कार्यविधि निर्माण हुन नसक्दा आन्तरिक कार्यविधिका आधारमा सञ्चालन गरिएको उनको भनाइ छ ।
लुम्बिनीका स्थानीय होटल व्यवसायीहरूले भने सभाहललाई व्यावसायिक रूपमा सञ्चालन गर्नुपर्ने माग गरेका छन् । होटल व्यवसायी अकरम खाँले ठुलो लगानीमा बनेको सभाहलमा कम्तीमा पनि प्रत्येक साता एउटा कार्यक्रम हुनुपर्ने बताए । उनका अनुसार सभाहलमा हुने गतिविधिले लुम्बिनी क्षेत्रका होटल तथा पर्यटन व्यवसायलाई समेत प्रत्यक्ष फाइदा पुग्न सक्छ ।
होटल व्यवसायी खाँले सभाहलमा कार्यक्रम ल्याउन प्रचारप्रसार, आयोजकहरूसँग समन्वय तथा व्यावसायिक पहल गर्नुपर्नेमा यस्ता कामका लागि विकास कोषको ध्यान नपुगेको आरोप लगाए ।
सभाहल निर्माण सम्पन्न भएको चार वर्षको अवधिमा सभाहलबाट कुल ३६ लाख ५० हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । सभाहलका लागि विद्युत्, पानी, सरसफाइ र सुरक्षाजस्ता शीर्षकमा ठुलो रकम खर्च हुँदै आएको छ, जसलाई यसको आम्दानीले धान्न कठिन भएको हो ।
उक्त सभाहल २०७९ साल जेठ २ गते २५६६औँ बुद्ध जयन्तीको अवसरमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उदघाटन गरेका थिए । झन्डै ७० करोड रुपैयाँ लागतमा निर्माण गरिएको सभाहलमा चालु आर्थिक वर्षमा हालसम्म दुई वटामात्र कार्यक्रम आयोजना भएका छन् ।
लुम्बिनी विकास कोषका सूचना अधिकारी डा. हरिध्वज राईका अनुसार चार वर्षको अवधिमा कुल १५ वटा कार्यक्रम उक्त सभाहलमा सञ्चालन भएका छन् । ‘अपेक्षा अनुसार सभाहलको पूर्ण उपयोग हुन सकेको छैन । यसलाई थप चलायमान बनाउन आन्तरिक रूपमा योजना बनाइँदैछ,’ उनले भने ।
चार वर्षमा कति आम्दानी ?
सभाहल निर्माण सम्पन्न भएको चार वर्षको अवधिमा सभाहलबाट कुल ३६ लाख ५० हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । सभाहलका लागि विद्युत्, पानी, सरसफाइ र सुरक्षाजस्ता शीर्षकमा ठुलो रकम खर्च हुँदै आएको छ, जसलाई यसको आम्दानीले धान्न कठिन भएको हो ।
आर्थिक वर्ष २०७९/०८० मा ७ वटा कार्यक्रमबाट १३ लाख ५० हजार रुपैयाँ, २०८०/०८१ मा ३ वटा कार्यक्रमबाट १२ लाख ६० हजार, २०८१/०८२ मा ७ लाख ८० हजार र चालु आर्थिक वर्षको हालसम्म २ वटा कार्यक्रमबाट २ लाख ५० हजार रुपैयाँ आम्दानी भएको कोषका लेखा प्रमुख भीम बस्नेतले जानकारी दिए ।

लुम्बिनी आर्थिक अनुसन्धान केन्द्र, बुटवलका अध्यक्ष होमराज भुसालले सभाहललाई व्यावसायिक ढंगले सञ्चालन गर्न स्पष्ट रणनीति आवश्यक रहेकोमा जोड दिए ।
योजना र बजार व्यवस्थापनको अभावमा यति ठुलो लगानीको संरचना प्रभावकारी रूपमा उपयोग हुन सकेको नसकेको उल्लेख गर्दै उनले लगानी अनुसार प्रतिफल प्राप्त गर्न निजी क्षेत्रसँग सहकार्य, कार्यक्रम आकर्षित गर्ने रणनीति र दीर्घकालीन योजना आवश्यक रहेको औँल्याए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४ कर्मचारीसँग स्पष्टीकरण माग
-
कपिलवस्तु कारागारका कैदीबन्दीका मागबारे छानबिन समिति गठन
-
चीनमा सीपीसीको वैभव, नेपालका कम्युनिस्टले किन खाए धक्का?
-
चीनमा किन बढिरहेछ ‘अनुहार किन्ने’ प्रवृत्ति ?
-
सरकारप्रति दृष्टिविहीनहरूको आक्रोश : सरकार आफैँ दृष्टिविहीन भयो
-
सरकारको हस्तक्षेपले एन्फा निलम्बनमा पर्यो : ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण