सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

६ पूर्व कर्मचारीलाई सात दिने अल्टिमेटम, सरकारी कागजात लुकाएको आरोप

शुक्रबार, ११ वैशाख २०८३, ११ : २०
शुक्रबार, ११ वैशाख २०८३

सारांश

  • बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले कारबाहीमा परेका ६ पूर्व कर्मचारीहरूलाई सात दिनभित्र सरकारी कागजात र जिन्सी सामान बुझाउन अल्टिमेटम दिएको छ।
  • अध्यक्ष सितल साह पूर्वेले पटक-पटक ताकेता गर्दा पनि कागजात लुकाएको भन्दै कर्मचारीहरूलाई सम्पर्कमा आउन निर्देशन दिएका छन्।
  • तोकिएको समयभित्र कागजात नबुझाएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने सूचनामा उल्लेख गरिएको छ।

जनकपुरधाम । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले विभिन्न कारबाहीमा परी निलम्बन तथा बर्खास्त भएका आफ्ना ६ जना पूर्व कर्मचारीहरूलाई सात दिनभित्र सरकारी कागजात र जिन्सी सामग्रीहरू बर–बुझारथ गर्न अल्टिमेटम दिएको छ । 

परिषद्का अध्यक्ष सितल साह पूर्वेले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै पटक–पटकको ताकेतालाई अटेर गरी महत्वपूर्ण कागजातहरू लुकाई–छिपाई राखेको भन्दै ती कर्मचारीहरूलाई तत्काल कार्यालयको सम्पर्कमा आउन अल्टिमेटम दिएका हुन् । 

परिषद्का अनुसार वरिष्ठ प्रशासकीय अधिकृत चिरञ्जीवी ढुङ्गाना, कम्प्युटर अधिकृत कृष्ण मुरारी सिंह, अधिकृत जितेन्द्र कुमार यादव, लेखापाल साबित्री कुमारी गिरि, स्टोर किपर मदन कुमार चौधरी र नायब सुब्बा सञ्जय कुमार मण्डलले हालसम्म पनि बर–बुझारथ गरेका छैनन् ।

उनीहरूमध्ये अधिकांश विशेष अदालत काठमाडौँमा विचाराधीन रहेको मुद्दामा प्रतिवादी समेत रहेका छन् । विशेष अदालतले २०८२ चैत २ गते नै ती सक्कल कागजातहरू झिकाउन आदेश दिएको भए पनि कर्मचारीहरूले त्यसलाई लुकाएको परिषद्को दाबी छ ।

अध्यक्ष पुर्वेलाई विशेष अदालतबाट वैशाख ८ गते प्राप्त पत्रका आधारमा यो सार्वजनिक सूचना जारी गरिएको हो । सूचनामा आगामी सात दिनभित्र ती कर्मचारीहरूले आफूसँग रहेका सक्कल कागजात र जिन्सी सामानहरू बुझाएर भरपाई नलिएमा उनीहरू उपर प्रचलित कानुन बमोजिम कडा कानुनी कारबाही अगाडि बढाइने उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप