आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
आईपीएल २०२६

अपराजित पञ्जाबलाई रोक्ने दाउमा दिल्ली

शनिबार, १२ वैशाख २०८३, १२ : ००
शनिबार, १२ वैशाख २०८३

सारांश

  • आईपीएल २०२६ अन्तर्गत आज दिल्ली क्यापिटल्स र अपराजित पञ्जाब किंग्सबिच अरुण जेट्ली स्टेडियममा प्रतिस्पर्धा हुँदै छ।
  • अङ्क तालिकाको शीर्ष स्थानमा रहेको पञ्जाब आफ्नो लय कायम राख्ने दाउमा छ भने दिल्ली अस्थिर ब्याटिङ र खराब फिल्डिङ सुधार गर्ने प्रयासमा छ।
  • अरुण जेट्लीको पिच ब्याटिङका लागि अनुकूल मानिने र खेलमा उच्च रनको योगफल बन्ने सम्भावना रहेको छ।

नयाँ दिल्ली । आईपीएल २०२६ को ३५औँ खेलमा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबिच प्रतिस्पर्धा हुँदै छ। यो खेल दिउँसो ३:४५ बजेदेखि दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा हुनेछ।

अङ्क तालिकामा पञ्जाब किंग्स ६ खेलबाट ११ अङ्कसहित शीर्ष स्थानमा छ। टोलीले ५ खेल जितेको छ भने कोलकाताविरुद्धको एक खेल वर्षाका कारण रद्द भएको थियो। अर्कोतर्फ, दिल्ली क्यापिटल्स ६ खेलमा ३ जित र ३ हारसहित छैटौँ स्थानमा छ।

यी दुई टोलीबिच हालसम्म ३४ खेल भएका छन्। जसमा १६ खेल दिल्लीले र १७ खेल पञ्जाब किंग्सले जितेका छन् भने एक खेल टाई भएको छ। अघिल्लो सिजनमा यिनीहरूबिच एउटा मात्र खेल भएको थियो, जसमा दिल्ली विजयी भएको थियो।

  • दिल्लीको मिडल अर्डरमा दबाब

दिल्ली क्यापिटल्सको सबैभन्दा ठुलो चिन्ता उनीहरूको अस्थिर ब्याटिङ हो। केएल राहुल, डेभिड मिलर, ट्रिस्टन स्टब्स र समीर रिजवीले राम्रो प्रदर्शन गरेका छन्। तर, ओपनर पथुम निसान्काले राम्रो सुरुवातलाई ठुलो स्कोरमा बदल्न सकिरहेका छैनन्, जसले गर्दा मिडल अर्डरमा दबाब बढिरहेको छ।

कप्तान अक्षर पटेलले ब्याटिङमा थप जिम्मेवारी लिनुपर्ने देखिन्छ। समीर रिजवीले ६ खेलमा १५० को स्ट्राइक रेटमा २०९ रन बनाएका छन् र उनी टोलीका सर्वाधिक रनकर्ता हुन्। बलिङतर्फ लुङ्गी एन्गिडी ७ विकेट लिएर शीर्ष स्थानमा छन्।

अघिल्लो खेलमा अक्षर पटेलका केही कप्तानी निर्णयहरूको आलोचना भएको थियो। अभिषेक शर्माविरुद्ध उनले आफू वा कुलदीप यादवजस्ता प्रमुख बलरको साटो नितिश राणालाई बलिङ गराएका थिए, जुन महँगो साबित भयो। यसबाहेक दिल्लीको खराब फिल्डिङ पनि हारको मुख्य कारण बन्दै आएको छ। टोलीले महत्त्वपूर्ण अवसरहरूमा स्टम्पिङ, रन-आउट र क्याच छोड्दा खेल हातबाट फुत्किएको छ।

  • पञ्जाब किंग्स: सिजनकै सबैभन्दा सन्तुलित टोली

पञ्जाब किंग्सले यस सिजनको सबैभन्दा ठुलो योगफल २५४ रन लखनउविरुद्ध बनाएको छ। टोलीको मुख्य तागत उनीहरूको डिप ब्याटिङ लाइनअप हो। ओपनर प्रभसिमरन सिंह (२११ रन) र कप्तान श्रेयस अय्यर (२०८ रन) उत्कृष्ट लयमा छन्।

प्रियांश आर्या र कुपर कोनोलीले पनि टोलीलाई मजबुत बनाएका छन्। कोनोली २२३ रनसहित टोलीका सर्वाधिक रन बनाउने खेलाडी हुन्।

पञ्जाबको सफलताको रहस्य भनेकै उनीहरू कुनै एक बलरमा मात्र निर्भर छैनन्। अर्शदीप सिंह, युजवेन्द्र चहल, मार्को यानसेन, विजयकुमार वैशाख र जेभियर बार्टलेटको बलिङ आक्रामणले लगातार विकेट लिइरहेको छ। अर्शदीप सिंह ६ विकेट लिएर टोलीका शीर्ष विकेट लिने बलर हुन्।

  • पिच रिपोर्ट

अरुण जेट्ली स्टेडियमको पिच आईपीएलमा ब्याटिङका लागि अनुकूल मानिन्छ। यहाँको सपाट पिच र छोटो बाउन्ड्री (६०–६६ मिटर) का कारण प्रायः 'हाई-स्कोरिङ' खेलहरू हुने गर्छन्।

यस पिचमा हालसम्म आईपीएलका ९८ खेल खेलिएका छन्। जसमा ४८ पटक पहिले ब्याटिङ गर्ने टोलीले जितेको छ भने ५० पटक रन पछ्याउने (चेज गर्ने) टोलीले जितेको छ। एक खेल भने रद्द भएको थियो।

  • मौसम

२५ अप्रिलमा दिल्लीको अरुण जेट्ली स्टेडियमको मौसम गर्मी हुने अनुमान छ। वर्षाको सम्भावना नगण्य छ। तापक्रम ३० देखि ३५ डिग्री सेल्सियसको आसपास रहने र मौसम केही उकुसमुकुस (उमस) हुने सम्भावना छ।

दुवै टोलीको सम्भावित प्लेइङ-१२

  • पञ्जाब किंग्स: प्रभसिमरन सिंह (विकेटकिपर), प्रियांश आर्या, कुपर कोनोली, श्रेयस अय्यर (कप्तान), नेहल वढेरा, शशांक सिंह, मार्कस स्टोइनिस, मार्को यानसन, जेभियर बार्टलेट, अर्शदीप सिंह, युजवेन्द्र चहल र विजयकुमार वैशाख।
  • दिल्ली क्यापिटल्स: पथुम निसान्का, केएल राहुल (विकेटकिपर), नितिश राणा, समीर रिजवी, अक्षर पटेल (कप्तान), डेभिड मिलर, ट्रिस्टन स्टब्स, आशुतोष शर्मा, लुङ्गी एन्गिडी, कुलदीप यादव, टी. नटराजन र मुकेश कुमार।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप