शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

परशुरामका मेयरले ललितपुरका मेयरलाई दिए निम्तो

शनिबार, १२ वैशाख २०८३, १८ : ५५
शनिबार, १२ वैशाख २०८३

धनगढी । सुदूरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिकस्थल परशुराम धामको प्रचारप्रसार र दुई स्थानीय तहबिचको अनुभव आदानप्रदानका लागि डडेल्धुराको परशुराम नगरपालिकाले ललितपुर महानगरपालिकालाई निमन्त्रणा पठाएको छ । 

परशुराम नगरपालिकाका नगर प्रमुख भरत बडायर जोशीले ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनलाई पत्र लेख्दै संस्कृतिदेखि समृद्धिसम्म, परशुराम–ललितपुर साझा दृष्टि नामक कार्यक्रममा सहभागी हुन औपचारिक आग्रह गरेका हुन । 

ललितपुर महानगरपालिकाले सुशासन, सम्पदा संरक्षण र सहरी विकासको क्षेत्रमा हासिल गरेका उपलब्धिलाई अन्य स्थानीय तहका लागि प्रेरणाको स्रोत मान्दै दुई नगरबिचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन यो पहल गरिएको मेयर जोशीले जानकारी दिए । 

नगरपालिकाले आगामी २०८३ वैशाख १४ गते परशुराम धाममा एक विशेष समारोहको आयोजना गर्दै छ । सो अवसरमा महाकाली नदीमा र्‍याफ्टिङको उद्घाटन, परशुराम धाम क्षेत्रको अवलोकन भ्रमण र दुई नगरबिच अनुभव साटासाट गर्न अन्तक्रिया कार्यक्रम तय गरिएको छ । 

‘ललितपुर जस्तो अनुभवी र विकासप्रेमी नेतृत्वको गरिमामय उपस्थितिले परशुराम धामको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रचारप्रसारमा ठोस टेवा पुग्ने हाम्रो विश्वास छ,’ नगर प्रमुख जोशीले शुक्रबार भने । 

डडेल्धुरामा अवस्थित परशुराम धाम स्कन्द पुराणमा वर्णित भगवान परशुरामको तपस्यास्थल र आध्यात्मिक ऊर्जाको केन्द्र मानिन्छ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो पावन भूमिलाई देशकै एक प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने संकल्प परशुराम नगरपालिकाले लिएको छ । 

स्थानीय तहहरूबिचको यो आपसी सहकार्यले एकातिर ओझेलमा रहेका धार्मिक क्षेत्रको प्रवर्द्धन हुने र अर्कोतिर संघीय राजधानी नजिकको महानगर र दुर्गमको नगरपालिकाबिच विकासका साझा एजेन्डामा छलफल हुने अपेक्षा गरिएको मेयर जोशीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप