मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
कांग्रेस राजनीति

कांग्रेसले राष्ट्रिय सभा दलको नेता परिवर्तन गर्न लागेको हो ?

आङ्देम्बे भन्छन् – अहिले कुनै तयारी छैन
सोमबार, १४ वैशाख २०८३, १७ : ४७
सोमबार, १४ वैशाख २०८३

सारांश

  • नेपाली कांग्रेसको प्रतिनिधि सभा संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे निर्वाचित भएसँगै राष्ट्रिय सभा दलको नेता परिवर्तन गर्ने चर्चा सुरु भएको छ ।
  • कांग्रेस संसदीय दलको विधान अनुसार प्रतिनिधि सभा दलको नेताले राष्ट्रिय सभा दलको नेता परिवर्तन गर्न सक्ने व्यवस्था छ ।
  • नवनिर्वाचित दलको नेता आङ्देम्बेले राष्ट्रिय सभा दलको नेता परिवर्तन गर्नेबारे अहिले कुनै तयारी नभएको बताएका छन् ।

काठमाडौँ । नेपाली कांग्रेसको प्रतिनिधि सभा संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे निर्वाचित भएसँगै राष्ट्रिय सभा दलको नेता परिवर्तन गरिने हो कि भन्ने आशंका गर्न थालिएको छ ।

प्रतिनिधि सभा दलको नेताले राष्ट्रिय सभा दलको नेता परिवर्तन गर्न सक्ने नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०८३ मा व्यवस्था भएकाले नयाँ दलको नेता आएपछि परिवर्तन हुने आशंका गरिएको हो ।

विधानको दफा १२ को ‘राष्ट्रिय सभा संसदीय दलको नेता’ शीर्षकमा ‘संसदीय दलको नेताले पार्टी सभापतिसँगको परामर्श र सहमतिमा पार्टीका राष्ट्रिय सभाका सदस्य मध्येबाट एक जनालाई राष्ट्रिय सभा संसदीय दलको नेता मनोनीत गर्नेछ’ भन्ने उल्लेख छ ।

त्यही आधारमा अहिले राष्ट्रिय सभा दलको नेता रहेका कृष्णप्रसाद सिटौलालाई परिवर्तन गर्न लागिएको हो कि भनी पूर्वसभापति शेरबहादुर देउवा / पूर्णबहादुर खड्का पक्षधरद्वारा आशंका गरिएको छ । अघिल्लो प्रतिनिधि सभामा दलको नेता रहेका निवर्तमान सभापति देउवाले सिटौलालाई राष्ट्रिय सभा दलको नेता तोकेका थिए ।

सिटौला पूर्वसभापति देउवा पक्षका रहेकाले उनलाई हटाएर कमला पन्तलाई नेता बनाउन आङ्देम्बेलाई दबाब दिइने रणनीति बनाएको हुनसक्ने उनीहरु बताउँछन्। पन्त सभापति थापा पक्षकी सांसद हुन्। पन्तका श्रीमान् मधु आचार्य सभापति गगन थापाका विश्वासपात्र हुन्।  

तर, नवनिर्वाचित दलको नेता आङ्देम्बेले भने अहिले त्यस्तो कुनै तयारी नभएको प्रतिक्रिया दिए । ‘भर्खर दलको नेता बनेर शुभकामना र बधाई लिइरहेको छु । त्यसबारेमा अहिले केही कुराकानी भएको छैन,’ आङ्देम्बेले रातोपाटीसँग भने ।

यसैबिच प्रतिनिधि सभाको प्रमुख सचेतकमा वासना थापा र सचेतकमा निश्कल राईलाई नियुक्त गर्ने तयारी गरिएको बताइएको छ। यद्यपि संसदीय दलको कार्यालयले भने यस सम्बन्धमा कुनै पनि प्रक्रिया सुरु नभएको बताएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप