सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

अमेरिकी नाकाबन्दीबिच रुसी सुपरयोटले गर्यो स्ट्रेट अफ होर्मुज पार

मङ्गलबार, १५ वैशाख २०८३, १० : ५२
मङ्गलबार, १५ वैशाख २०८३

सारांश

  • रुसी अर्बपति अलेक्सी मोरदाशोभसँग सम्बन्धित मानिएको 'नर्ड' नामक सुपरयोटले अमेरिकी नाकाबन्दीका बाबजुद स्ट्रेट अफ होर्मुज पार गरेको छ ।
  • करिब ५० करोड डलर मूल्यको यो १४२ मिटर लामो योट हालै दुबईबाट ओमानको मस्कट पुगेको थियो ।
  • युक्रेनमाथि रुसी हमलापछि मोरदाशोभमाथि पश्चिमी देशहरूले प्रतिबन्ध लगाएका थिए ।

तेहरान । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका निकट सहयोगीसँग जोडिएको एक विलासी सुपरयोटले जारी अमेरिकी नाकाबन्दीका बाबजुद स्ट्रेट अफ होर्मुज पार गरेको छ । करिब ५० करोड डलर मूल्यको बहुतल्ले ‘नर्ड’ नाम गरेको १४२ मिटर लामो योट सप्ताहन्तमा दुबईबाट ओमानको मस्कट पुगेको थियो । 

पछिल्ला महिनाहरूमा उक्त जलमार्ग पार गर्ने केही निजी जहाजहरूमध्ये यो एक हो । यो योट रुसी अर्बपति अलेक्सी मोरदाशोभसँग सम्बन्धित मानिन्छ, जसलाई पश्चिमी देशहरूले प्रतिबन्ध लगाएका छन् । यद्यपि उनी औपचारिक मालिकको रूपमा सूचीकृत छैनन्, २०२२ मा उक्त योट उनकी श्रीमतीको कम्पनीमा दर्ताख गरिएको रेकर्डमा देखिन्छ ।

‘नर्ड’ योटमा स्विमिङ पुल, पनडुब्बी र हेलिप्याड जस्ता सुविधाहरू रहेको बताइएको छ । सन २०२२ मा रुसले युक्रेनमाथि हमला गरेपछि मोरदाशोभमाथि बेलायत, अमेरिका र युरोपेली संघले प्रतिबन्ध लगाएका थिए । इरान युद्धका कारण स्ट्रेट अफ होर्मुज ठप्प प्राय छ । यसलाई खोल्ने विषयमा इरान र अमेरिकाबीच तनाव जारी छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी बन्दरगाहहरूमा नाकाबन्दी गर्ने घोषणा गरेपछि इरानले पनि जलमार्गमा आवागमन सीमित गरिरहेको छ । युद्धका कारण समुद्री यातायात पहिलेको तुलनामा निकै घटेको छ भने विश्व बजारमा तेलको मूल्य तीव्र रूपमा बढेको छ । सोमबार कच्चा तेलको अन्तरराष्टिय मापदण्ड ब्रेन्ट क्रुडको भाउ प्रति ब्यारेल १०९ डलरसम्म पुगेको छ ।

धेरै निजी जहाजहरूले जोखिमका कारण उक्त मार्गबाट यात्रा गर्न छाडेको भएपनि रूसी झण्डा बोकेको ‘नर्ड’ सफलतापूर्वक जलमार्ग पार गर्न सफल भयो । यसबीच इरानले रुससँग कूटनीतिक सम्बन्ध बलियो बनाउन प्रयास गरिरहेको छ । सोमबार सेन्ट पिटर्सबर्गमा भएको भेटमा पुटिनले इरानी प्रतिनिधिमण्डललाई स्वागत गरेका थिए । 

इरानी विदेशमन्त्री अब्बास अराघचीले दुई देशबीच रणनीतिक सम्बन्ध रहेको बताएका थिए । रूसी सरकारी समाचार एजेन्सी टासका अनुसार इरानी जनताले अमेरिकी र इजरायली दबाबका बीच साहसिक रूपमा आफ्नो सार्वभौमिकताको रक्षा गरिरहेको पुटिनले बताएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप