शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

भृकुटीमण्डपको जग्गा भाडामा भ्रष्टाचारः सर्वोच्चले दियो प्रत्यर्थी झिकाउने आदेश

मङ्गलबार, १५ वैशाख २०८३, १९ : २४
मङ्गलबार, १५ वैशाख २०८३

सारांश

  • सर्वोच्च अदालतले भृकुटीमण्डपको जग्गा भाडामा दिँदा भएको अनियमिततासम्बन्धी भ्रष्टाचार मुद्दामा प्रत्यर्थी झिकाउने आदेश दिएको छ ।
  • विशेष अदालतले पूर्वमन्त्री बद्री न्यौपानेसहित ९ जनालाई दोषी ठहर गरेपछि उनीहरू सर्वोच्च पुगेका थिए ।
  • समाज कल्याण परिषद्ले ६० रोपनी जग्गा मासिक ५ लाख ५५ हजार रुपैयाँमा १५ वर्षका लागि भाडामा दिँदा अनियमितता भएको आरोप छ ।

काठमाडौँ । समाज कल्याण परिषदको स्वामित्वमा रहेको भृकुटीमण्डपको जग्गा भाडामा दिँदा अनियमिततासम्बन्धी भ्रष्टाचार मुद्दा सर्वोच्च अदालतले प्रत्यर्थी झिकाउने आदेश गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले यो आदेश दिएको हो । 

विशेष अदालतका तत्कालीन अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरू शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले पूर्वमन्त्री न्यौपानेसहित ९ जनालाई भृकुटीमण्डपस्थित फनपार्क भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको थियो । विशेषको फैसलाविरुद्ध पूर्वमन्त्री बद्री न्यौपानेसहित ९ जना सर्वोच्च पुगेका थिए ।

अख्तियारले तत्कालीन मन्त्री एवं समाज कल्याण परिषद्का अध्यक्ष बद्रीप्रसाद न्यौपाने, उपाध्यक्ष प्रमोद मेहता, कोषाध्यक्ष कुञ्जविहारीप्रसाद चौधरी, सदस्य मोहनराज शर्मा, मदनकुमार लाल कर्ण, हरि न्यौपाने र सदस्य सचिव रवीन्द्रकुमार यादव तथा भृकुटीमण्डप फनपार्क मेलाका प्रमुख सञ्चालक रवीन्द्र गुरुङ र सञ्चालक टेकबहादुर गुरुङविरुद्ध मुद्दा दायर गरेको थियो ।

सबैमाथि ३१ करोड ५२ लाख रुपैयाँका दरले बिगो मागदाबी थियो । न्यौपाने, मेहता, चौधरी र रवीन्द्रकुमारको हकमा भने थप सजायको मागदाबीसमेत अख्तियारले गरेको थियो । न्यौपाने तत्कालीन चुरेभावर राष्ट्रिय पार्टीका नेता हुन् । उनी बाबुराम भट्टराई नेतृत्वको सरकारमा महिला, बालबालिका तथा समाज कल्याणमन्त्री थिए । मेलाका सञ्चालक गुरुङ पूर्वश्रममन्त्रीसमेत हुन् । उनी तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाका पालामा मन्त्री थिए । तर उनी मन्त्रीको हैसियतले नभई मेला सञ्चालकको भूमिकाका कारण मुद्दामा जोडिएका हुन् । गुरुङ नेपाली कांग्रेसका नेता हुन् ।

कोषका तत्कालीन कोषाध्यक्ष रत्न गाहामगर, निर्देशक मदनप्रसाद रिमाल, उपनिर्देशक बलबहादुर स्वाँर, तत्कालीन कानुनी सल्लाहकार प्रेमसिंह धामी र जगदेव चौधरी छन् । उनीहरूमाथि भृकुटीमण्डपको ६० रोपनी जग्गा भाडामा लगाउँदा प्रचलित मापदण्ड र प्रक्रिया मिचेर अनियमितता गरेको आरोप लगाएको थियो ।

२०६९ भदौ २० मा समाज कल्याण परिषद्ले टेकबहादुर गुरुङलाई १५ वर्षका लागि भृकुटीमण्डपको जग्गा फनपार्क मेला सञ्चालनका लागि ठेक्का दिने निर्णय गरेको थियो ।

मासिक ५ लाख ५५ हजार रुपैयाँमा ठेक्का दिने निर्णयले ‘प्रचलित बजारमूल्यको बेवास्ता गरेको’ भन्दै अख्तियारले उक्त निर्णयलाई ‘आपसी मिलेमतो’को आरोप लगाएको हो । उक्त मितिमा निर्णय गरेको आरोपमा १४ जनामाथि भ्रष्टाचार मुद्दा दायर भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप