आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

घरेलु टोली रुवान्डामाथि नेपालको जित

मङ्गलबार, १५ वैशाख २०८३, १९ : ५२
मङ्गलबार, १५ वैशाख २०८३

काठमाडौँ । रुवान्डामा जारी आइसिसी महिला च्यालेन्स ट्रफी क्रिकेट प्रतियोगितामा नेपालले घरेलु टोली रुवान्डालाई ३८ रनले पराजित गरेको छ।

नेपालले दिएको १०४ रनको लक्ष्य पछ्याएको रुवान्डा १७ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै ६५ रनमा समेटिएको हो । रुवान्डाका लागि म्यारी बिमेन्यिमानाले सर्वाधिक १९ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

रुवान्डालाई ६५ रनमा समेट्ने क्रममा नेपालकी मनिषा उपाध्यायले चार विकेट लिइन् भने कविता कुँवर, रचना चौधरी र रिया शर्माले समान दुई–दुई विकेट लिइन्।त्यस

अघि ‘टस’ जितेर पहिले ‘ब्याटिङ’ गरेको नेपालले निर्धारत २० ओभरमा सात विकेट गुमाएर १०३ रन बनाएको थियो । नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ३३ रन बनाइन् भने कविता कुँवरले २४ तथा रुबिना क्षेत्रीले ११ रन बनाइन्।

रुवान्डाका लागि हेनरित इसिम्वेले तीन विकेट लिँदा म्यारी बिमेन्यिमानाले दुई तथा बेलिसे मुरिकातेते र रोसिन इरेराले समान एक–एक विकेट लिए।

नेपालले यसअघि पनि रुवान्डालाई दुई विकेटले पराजित गरेको थियो । यसैगरी, नेपाल अमेरिकासँग दुवै खेलमा पराजित भएको थियो । यस्तै, नेपालले इटालीसँग जित निकाल्दा भानुआतुसँग भने पराजित भएको थियो।

हालसम्म नेपालले ६ खेलमा ६ अङ्क जोडेको छ भने अब इटाली र भानुआतुसँग खेल्न बाँकी छ । डबल राउन्ड रोबिन लिगका आधारमा भएको उक्त प्रतियोगितामा शीर्ष स्थान हासिल गर्ने टोलीले उपाधि जित्नेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप