मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भेरी अस्पतालका चिकित्सक आन्दोलनमा, सुरक्षा र दोषीमाथि कारबाहीको माग

मङ्गलबार, १५ वैशाख २०८३, २१ : १३
मङ्गलबार, १५ वैशाख २०८३

बुटवल । बाँकेको भेरी अस्पतालका चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन्। अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा‍. निराजन सुवेदीसहितका चिकित्सकमाथि हातपातको प्रयास, दुर्व्यवहार तथा ज्यान मार्ने धम्की दिइएको घटनापछि उनीहरूले दोषीमाथि कारबाही र सुरक्षाको माग गरेका हुन्।

जिल्लाको बैजनाथ गाउँपालिका–६ निवासी ६२ वर्षीया दिलसरा विकको मृत्यु प्रकरणलाई लिएर सोमबार एक समूह डा. सुवेदीको कार्यकक्षमै पुगेको थियो। सो क्रममा हातपातको प्रयास गर्नुका साथै गालीगलौज र दुर्व्यवहार गरिएको अस्पताल प्रशासनले जनाएको छ।

अस्पतालले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेलगायतका चिकित्सकलाई ज्यान मार्ने धम्कीसमेत दिइएको छ।

अस्पतालका प्रमुख डा. सुवेदीका अनुसार संलग्न व्यक्तिमाथि कारबाही र चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाको सुनिश्चितता नभएसम्म सेवा सञ्चालन गर्न सकिने अवस्था छैन। असुरक्षाका कारण सोमबार दिउँसोदेखि ओपिडी सेवा बन्द गरिएको उनले जानकारी दिए।

उपचारका क्रममा बिरामीको मृत्यु भएमा असन्तुष्टि भए कानुनी प्रक्रियामा जाने व्यवस्था हुँदाहुँदै चिकित्सकमाथि आक्रमण प्रयास हुनु दुःखद भएको उनले बताए। यस घटनापछि आफूहरू असुरक्षित महसुस गर्दै आन्दोलनमा उत्रिन बाध्य भएको उनको भनाइ छ।

यता पीडित परिवारले भने उपचारमा संलग्न चिकित्सकमाथि कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिएको छ। मृतकका छोरा सुरेश विकले आफूमाथि लागेको हातपातको आरोप अस्वीकार गरेका छन्।

गत वैशाख ६ गते उपचारका लागि अस्पताल भर्ना भएकी दिलसरा विकको वैशाख १३ गते मृत्यु भएको थियो।

IMG-20260428-WA0011(2)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप