कांग्रेस पुनर्जागरणको मार्गचित्र
सारांश
- नेपाली कांग्रेसले २०८३ वैशाख १ गतेदेखि सुरु गरेको ‘जरा अभियान’ पार्टीको आत्मा, विचार र भविष्यलाई पुनर्संरचना गर्ने राजनीतिक पहल हो।
- यो अभियानले कांग्रेसलाई पुनः जनताको भरोसाको केन्द्र बनाउने, कार्यकर्तालाई सक्रिय र आत्मविश्वासी बनाउने तथा नेतृत्वलाई जिम्मेवार र दूरदर्शी बनाउने सन्देश बोकेको छ।
- ‘जरा अभियान’ले सङ्गठनलाई तलबाट माथिसम्म सुदृढ बनाउने, जनतासँग निरन्तर संवाद गर्ने र विगतका कमजोरी सच्याउँदै सफलताका आधार विस्तार गर्ने मार्ग देखाएको छ।
नेपाली कांग्रेसले २०८३ वैशाख १ गतेदेखि प्रारम्भ गरेको ‘जरा अभियान’ केवल सङ्गठनात्मक कार्यक्रम मात्र होइन । यो पार्टीको आत्मा, विचार र भविष्यलाई पुनर्संरचना गर्ने गहिरो राजनीतिक पहल हो । बदलिँदो राष्ट्रिय परिवेश, मतदाताको बढ्दो अपेक्षा र प्रतिस्पर्धात्मक राजनीतिक धरातलबिच कांग्रेसले आफूलाई कसरी पुनः परिभाषित गर्ने भन्ने प्रश्नको उत्तर खोज्ने प्रयासका रूपमा यस अभियानलाई हेर्नुपर्छ ।
यो अभियानले कांग्रेसलाई पुनः जनताको भरोसाको केन्द्र बनाउने, कार्यकर्तालाई सक्रिय र आत्मविश्वासी बनाउने तथा नेतृत्वलाई अझ जिम्मेवार र दूरदर्शी बनाउने स्पष्ट सन्देश बोकेको छ । विशेषतः पाल्पा जस्तो ऐतिहासिक राजनीतिक चेतनायुक्त जिल्लामा यसको प्रभाव केवल कार्यक्रमको सीमाभित्र सीमित रहने छैन, बरु यसले सङ्गठनको जीवन्तता र जनसम्बन्धलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्नेछ ।
‘जरा अभियान’ केवल शब्द होइन, यो सङ्गठन निर्माणको दर्शन हो ।
कुनै पनि वृक्षको शक्ति यसको हाँगा वा पातमा होइन, त्यसको गहिरो र मजबुत जरामा निहित हुन्छ । ठिक त्यस्तै, राजनीतिक दलको वास्तविक बल शीर्ष नेतृत्वमा मात्र होइन, वडा, टोल र गाउँस्तरका समर्पित कार्यकर्तामा आधारित हुन्छ । ‘जरा अभियान’ ले यही यथार्थलाई आत्मसात् गर्दै सङ्गठनलाई तलबाट माथिसम्म सुदृढ बनाउने स्पष्ट मार्ग देखाएको छ ।
यसले कांग्रेसलाई केवल चुनावी गतिविधिमा सीमित पार्टीबाट जनतासँग निरन्तर संवाद गर्ने, उनीहरूको भावना बुझ्ने र समस्याको समाधान खोज्ने जीवित संस्थामा रूपान्तरण गर्ने अवसर प्रदान गरेको छ । आजको आवश्यकता भनेको आत्ममूल्यांकनसँगै आत्मविश्वास हो ।
विगतका निर्वाचनले दिएका सङ्केतहरूलाई इमानदारीपूर्वक स्वीकार्दै कमजोरी सच्याउनु र सफलताका आधारलाई विस्तार गर्नु नै ‘जरा अभियान’को मूल सार हो । यसले कार्यकर्तामा नयाँ ऊर्जा भर्ने, निराशालाई आशामा रूपान्तरण गर्ने र विभाजनलाई एकतामा परिणत गर्ने क्षमता राख्छ ।
काँग्रेस कार्यकर्ताले अब केवल दर्शक भएर होइन, परिवर्तनका सक्रिय संवाहकका रूपमा आफ्नो भूमिका निर्वाह गर्नुपर्ने समय आएको छ । यस अभियानको मेरुदण्डका रूपमा रहेको क्रियाशील सदस्यता अद्यावधिकले सङ्गठनलाई अनुशासित, पारदर्शी र प्रतिनिधिमूलक बनाउनेछ ।
सदस्यता संख्या बढाउने औपचारिकता मात्र होइन, यो नेतृत्व निर्माणको आधार, आन्तरिक लोकतन्त्रको मापन र सङ्गठनप्रतिको विश्वासको सूचक हो । समयमै सदस्यता नवीकरण गर्ने, नयाँ सदस्यलाई समेट्ने र प्रक्रियालाई प्रविधिमैत्री बनाउने कार्यले कांग्रेसलाई आधुनिक र विश्वसनीय सङ्गठनका रूपमा स्थापित गर्नेछ । यसले कार्यकर्तामा अपनत्वको भावना बढाउने मात्र होइन, मतदातामा पनि कांग्रेसप्रति भरोसा बलियो बनाउनेछ ।
केन्द्रीय प्रतिनिधिको भूमिका यस अभियानमा केवल निरीक्षणमा सीमित छैन; यो सक्रिय नेतृत्व, समन्वय र प्रेरणाको दायित्व हो । पाल्पामा कार्यकर्तासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको भावना बुझ्ने, विगतका असन्तुष्टि समाधान गर्ने र साझा लक्ष्यतर्फ अग्रसर गराउने कार्य अत्यन्त महत्वपूर्ण छ ।
जब कार्यकर्ताले आफूलाई सुन्ने नेतृत्व पाउँछन्, तब उनीहरूको प्रतिबद्धता स्वतः बलियो हुन्छ । यही प्रतिबद्धताले कांग्रेसलाई पुनः जनताको पहिलो रोजाइ बनाउने आधार तयार गर्छ ।
अभियानको सफलताका लागि स्थानीय सरकार र पार्टीबिचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता स्पष्ट देखिन्छ । जब पार्टी संरचना, निर्वाचित जनप्रतिनिधि र नागरिकबिच निरन्तर संवाद हुन्छ, तब विकासले गति लिन्छ र सुशासनको अनुभूति जनताले प्रत्यक्ष रूपमा गर्छन् ।
जिल्लामा भएका सकारात्मक अभ्यासलाई विस्तार गर्दै कमजोरी सुधार गर्ने अवसर ‘जरा अभियान’ ले दिएको छ, जसले कांग्रेसलाई केवल राजनीतिक दल मात्र होइन, जिम्मेवार शासन प्रणालीको संवाहकका रूपमा स्थापित गर्न मद्दत पुर्याउनेछ ।
१५औँ महाधिवेशनको सन्दर्भमा ‘जरा अभियान’ सङ्गठनात्मक पुनर्जागरणको आधारशिला हो । वडा तहको सक्रियता, युवाको सहभागिता, नेतृत्वको कार्यक्षमता र सदस्यताको पारदर्शिताले भविष्यको नेतृत्व निर्धारण गर्नेछ । चुनौतीहरू अवश्य छन्– समन्वयको कमी, प्रक्रियागत विवाद र कार्यकर्तामा देखिएको थकान ।
तर यी चुनौतीहरूलाई अवसरमा बदल्ने क्षमता नै सशक्त नेतृत्वको परिचायक हो । पारदर्शिता, समावेशिता र परिणाममुखी दृष्टिकोण अपनाएर यी समस्यालाई समाधान गर्न सकिन्छ । पाल्पामा ‘जरा अभियान’ लाई नमुना बनाउने सम्भावना प्रचुर छ ।
स्पष्ट कार्ययोजना, सक्रिय टिम परिचालन, युवामुखी कार्यक्रम, प्रविधिमैत्री सदस्यता प्रणाली र टाढिएका कार्यकर्तालाई सम्मानपूर्वक पुनः समेट्ने प्रयासले सङ्गठनलाई थप बलियो बनाउनेछ । जब कार्यकर्ता उत्साहित हुन्छन् र मतदाता विश्वस्त हुन्छन्, तब राजनीतिक सफलता केवल सम्भावना होइन, सुनिश्चित परिणाम बन्छ ।
अन्ततः, ‘जरा अभियान’ कांग्रेसका लागि नयाँ उत्साह, नयाँ सोच र नयाँ यात्राको प्रारम्भ हो । यसले कार्यकर्तामा आत्मविश्वास जगाउने, मतदातामा भरोसा स्थापित गर्ने र नेतृत्वलाई अझ प्रेरित बनाउने सामर्थ्य राख्छ । कांग्रेसको इतिहास गौरवशाली छ, वर्तमान चुनौतीपूर्ण छ र भविष्य सम्भावनाले भरिएको छ ।
जरा बलियो बन्यो भने हाँगा स्वतः फैलिन्छन्, फूल फुल्छन् र फल लाग्छन् । त्यसैले आजको आवश्यकता स्पष्ट छ–जरा सुदृढ बनाऔँ, सङ्गठन बलियो बनाऔँ र जनताको विश्वास जित्दै कांग्रेसको उज्ज्वल भविष्य सुनिश्चित गरौँ ।
(लेखक नेपाली कांग्रेस महासमिति सदस्य हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार एमालेप्रति पूर्वाग्रही बन्यो : भट्ट
-
तीन दिन कोशी, बागमती र गण्डकीका स-साना नदीमा बहाव बढ्ने
-
पाकिस्तानकी चर्चित मानवअधिकार अभियन्ता महरंग बलोचलाई आजीवन कारावास
-
वैदेशिक रोजगार : सरकारी नीतिकै मार, श्रमिकमाथि थपिँदो आर्थिक भार
-
बुधबार कुन सहरको मौसम कस्तो ?
-
मुन्योसको गोलमा कङ्गोविरुद्ध कोलम्बियाको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण