विराटनगर जुट मिल्सका सयौँ मजदुर परिवारको बास उठ्दै !
सारांश
- विराटनगर जुट मिल्सको करिब १० बिघा जग्गामा बसोबास गर्दै आएका पूर्व मजदुरका परिवारलाई हटाउने सरकारी तयारीले उक्त क्षेत्रमा तरंग ल्याएको छ ।
- पूर्व मजदुरका परिवारहरू आफूहरू कहाँ जाने भन्ने प्रश्न बोकेर बसेका छन् र व्यवस्थापन बिना हटाए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
- सरकारले जग्गा खाली गर्ने तयारीबारे छलफल भएको र वास्तविक सुकुमबासी पहिचान गरी व्यवस्थापन गर्ने वा हटाउने काम गरिने सहायक प्रमुख जिल्ला अधिकारीले बताएका छन् ।
विराटनगर । नेपालको औद्योगिक इतिहासको जननी मानिने विराटनगर जुट मिल्स अहिले पुनः चर्चामा आएको छ । सरकारले जुट मिल्सको करिब १० बिघा जग्गामा बसोबास गर्दै आएका पूर्वमजदुरका परिवारलाई हटाउने तयारी गरेपछि यो क्षेत्र तरङ्गित बनेको छ ।
जुट मिल्स प्रशासनले उनीहरूलाई हटाउने तयारी गरेको समाचार बाहिरिएपछि हड्ताली हाट क्षेत्रमा यतिबेला सन्त्रास र आक्रोश छाएको छ ।
बाजेको पालादेखि जुट मिल्समा रगत–पसिना बगाएका श्रमिकका सन्तानहरू यतिबेला ‘हामी कहाँ जाने ?’ भन्ने प्रश्न बोकेर बसेका छन् । उनीहरू आन्दोलनको मुडमा पनि छन् । फेरि आफ्नो व्यवस्थापन भए हुन्थ्यो भन्ने पनि छन् ।
मिल्सको ६९ बिघा जग्गामध्ये ठुलो हिस्सामा फैलिएको बस्ती र त्यहाँको जीर्ण उद्योगको कथाभित्र धेरै विषय पनि छन् ।
हड्ताली हाट क्षेत्रको सुकुमबासी बस्तीमा पुग्दा त्यहाँको वातावरण भारी देखिन्छ । स्थानीय मोहमद अन्सारी र इमाम अन्सारीका आँखामा अनिश्चितताको भय छ ।
उनीहरू भन्छन्, ‘हाम्रो बुबा–बाजेले यही मिल्समा काम गरे । मिल्सले नै काम गर्न सजिलो होस् भनेर बस्नलाई जग्गा दियो । अहिले आएर एकाएक उठ भन्दा हामी कहाँ जाने ? हाम्रो यहाँबाहेक केही छैन । हामीलाई व्यवस्थापन नगरी हटाउन पाइँदैन ।’
सोही ठाउँकी मिना श्रेष्ठ र धनवती चौधरीको अवस्था पनि उस्तै छ । सरकारले बस्ती खाली गर्ने तयारी गरेको समाचार सुनेपछि उनीहरूको निद्रा हराएको छ । मिना श्रेष्ठ आक्रोश र दुःख मिश्रित स्वरमा भन्छिन्, ‘हामी पुस्तौँदेखि यहाँ बसेका छौँ । आजको दिनमा आएर खाली गर भन्नु कत्तिको न्यायोचित हो ? पहिले जुटमिल सुचारु गर्नुहोस्, हामीलाई रोजगारी दिनुहोस् । बरु हामी यो जग्गाको मूल्य तिर्न तयार छौँ, तर हामीलाई घरबारविहीन नबनाइयोस् ।’
स्थानीय मुस्तम अली यो बस्तीले जुट मिल्सलाई सुरक्षा दिएको दाबी गर्छन् । ‘यदि हामी यहाँ नभएको भए जुट मिलका कयौँ मेसिन चोरी भइसक्ने थिए,’ अलीले भने, ‘हामीले जुट मिलको सुरक्षा गरेका हौँ । हाम्रो पुस्तौँको लगानी छ यहाँ । यदि हामीमाथि बल प्रयोग गरियो भने हामी मर्न तयार छौँ, तर यो ठाउँ छोड्दैनौँ ।’
_OshAWgbGPK.jpg)
यस्तै पीडा ३४ वर्षीय सुनिल पासवानको पनि छ । उनका बाजे नतुन पासवान २२ वर्षको उमेरमा भारतबाट यहाँ काम गर्न आएका थिए । जुट मिल्सले नै उनलाई टहरा दिएको थियो । ‘बाजेपछि बुबाले पनि यहीँ काम गर्नुभयो । अहिले दुवै हुनुहुन्न, तर हाम्रो परिवार यहीँ छ । यो हाम्रो इतिहास हो । कसरी सजिलै छोड्न सकिन्छ ?’
विराटनगर जुट मिल्समा ४४ वर्ष काम गरेका पूर्वकर्मचारी तारानाथ तिम्सिनाका अनुसार, यो उद्योगको पतनमा आर्थिक अभावमात्र होइन, कुव्यवस्थापन पनि उत्तिकै जिम्मेवार छ । तिम्सिनाले २०३५ सालमा २७५ रुपैयाँ मासिक तलबबाट जागिर सुरु गरेका थिए ।
‘वि.सं. १९९३ देखि सञ्चालन भएको यो मिलमा कुनै समय ५ हजारभन्दा बढी मजदुर–कर्मचारी कार्यरत थिए । २०३५ सालदेखि २०६५ सालसम्म मिल्सको अवस्था निकै राम्रो थियो । त्यहाँ आफ्नै अस्पताल थियो, स्टाफ क्वार्टरहरू थिए र एउटा ठुलो समाज नै त्यहाँभित्र बाँचेको थियो,’ उनले भने ।
तर, २०६४/०६५ सालतिर पुगेपछि मिल्स सङ्कटमा पर्न थाल्यो । तिम्सिनाका अनुसार आर्थिक अभावका कारण मिल घाटामा गयो, भुक्तानी रोकियो र उत्पादन घट्दै गएर अन्ततः मिल बन्द भयो । त्यसपछि मजदुरहरूको बिल्लिबाठ सुरु भयो ।’
उनका अनुसार जुट मिल्सको ६९ बिघा जग्गा अहिले पनि कायमै छ । त्यतिबेला काम गर्ने मजदुरका परिवारलाई बस्न दिएको जुट मिल्सले नै बनाइदिएका टहरामा अहिले पनि सयौँ परिवार बसिरहेको तिम्सिना बताउँछन् ।
‘जुट मिल्सले बनाइदिएका टहरा हटाएर नयाँ केही बनाए होलान्, तर त्यहाँ बस्नेहरू पूर्वमजदुरका परिवार नै हुन्,’ उनले भने ।
जुट मिल्सले त्यसबेला काम गर्ने मजदुरहरूलाई थोरै भाडा लिएर बस्ने ठाउँ दिएको थियो । हाल भने कसैले पनि भाडा नतिरेको जानकार बताउँछन् ।
त्यहाँका कर्मचारी मनोज खड्काका अनुसार जुट मिल्सको जग्गामा अहिले देखिएको बस्तीको विकास उद्योगकै आवश्यकताका कारण भएको हो । ‘सुरुमा मान्छे काम गर्न पाउँदैनथे, त्यसैले भारत र पहाडतिरबाट मान्छे ल्याइयो । उनीहरूलाई व्यवस्थित गर्न मिल्सले आफ्नै इँटाभट्टा खोलेर क्वार्टरहरू निर्माण गरिदिएको थियो,’ खड्काले भने ।
_vf6PZwXs7o.jpg)
खड्काका अनुसार सुरुमा मजदुरहरूबाट मासिक १०, २० वा ५० रुपैयाँ भाडा लिने र तलबबाटै कटौती गर्ने सहमति थियो । पछि उद्योग बन्द भएपछि र व्यवस्थापन फितलो भएपछि बाहिरका मान्छेहरूले पनि खाली जग्गामा टहरा बनाउन थाले ।
‘कतिपय इमानदार मान्छेले हिसाब लिएर ठाउँ छोडे, तर कतिपयले आफू बसेको ठाउँ तेस्रो पक्षलाई बेचेर गएका उदाहरण पनि छन्,’ खड्काले भने, ‘अहिले हड्ताली हाट, हरिनगर र दक्षिण गेट क्षेत्रमा गरेर करिब ५०० देखि ६०० घर परिवारको बसोबास छ । कतिपयले पुराना संरचना भत्काएर नयाँ पक्की घरसमेत बनाइसकेका छन् ।’
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले जुट मिल्सको जग्गाको बस्ती खाली गर्नेबारे छलफल भएको बताए । ‘उहाँहरूमध्ये को वास्तविक सुकुमबासी वा त्यहीँमात्रै घर–टहरा रहेका हुन् र कसको कहाँ घर छ भनेर छुट्ट्याउने काम भइरहेको छ,’ कोइरालाले भने, ‘यो छुट्ट्याइसकेपछि घर, जग्गा नहुनेको व्यवस्थापन हुने गरी वैकल्पिक व्यवस्था गर्ने र अरुलाई हटाउने काम हुन्छ ।’
जुट मिल्सको भयावह अवस्था
जुट मिल्सभित्रका तस्बिरले एउटा भयानक र कारुणिक कथा भन्छन् । मेकानिकल भवनको ढोकाभित्र पस्दा लाग्छ, यो कुनै उद्योग होइन, डोजरले ध्वस्त पारेको क्षेत्र हो । मेसिनहरूमा माकुरोको जालो लागेको छ, फलामका पार्टपुर्जाहरू खियाले खाएका छन् र छतबाट पानी चुहिएर भुइँ जलमग्न छ ।
मिल्समा रहेका बोर्डहरूमा अझै पनि लेखिएको देखिन्छ, ‘उत्पादन बढाऔँ, मिल जोगाऔँ, वेस्टेज घटाऔँ, नोक्सानी बचाऔँ ।’
तर, आज ती नाराले आफैँलाई गिज्याइरहेका छन् । मेसिनका गियरहरू जाम भएका छन् र कैयौँ महत्त्वपूर्ण पार्टपुर्जा वर्षौँदेखिको कुव्यवस्थापन र चोरीका कारण गायब भएका छन् । मिल्सभित्रको थ्रेड वेस्टेज बोर्डमा अन्तिम पटक कहिले तथ्याङ्क लेखिएको थियो भन्ने कसैलाई सम्झना छैन ।
_oauLDRjoNX.jpg)
एकातिर सरकार यो ऐतिहासिक उद्योगलाई पुनः सञ्चालन गर्ने वा यहाँ औद्योगिक क्षेत्र विकास गर्ने योजना बनाउँदैछ, जसका लागि जग्गा खाली गर्नुपर्ने दबाब छ । अर्कोतिर, पुस्तौँदेखि यहीँको धुलो र धुवाँमा बाँचेका मजदुरका परिवारहरूको अधिकारको कुरा छ ।
मिल्सका सञ्चालक समितिका अध्यक्षहरू फेरिरहने तर समस्या ज्युँका त्युँ रहने प्रवृत्तिले यहाँका बासिन्दामा चरम अविश्वास पैदा गरेको छ । ‘जुट मिल्सको जग्गा जोगाउन सशस्त्र प्रहरीको क्याम्प राखिएको छ, तर भित्रभित्रै उद्योग नै खोक्रो भइसकेको छ,’ एक स्थानीयले भने ।
विराटनगर जुट मिल्सको ६९ बिघा जग्गा र यसमा आश्रित सयौँ परिवारको भविष्य यतिबेला सरकारको एउटा निर्णयको पर्खाइमा छ– सरकारले यी मजदुरहरूको योगदानको कदर गर्दै उनीहरूलाई उचित व्यवस्थापन गर्नेछ वा विकासको नाममा उनीहरूलाई सडकमा पुर्याउनेछ ?
विराटनगर जुट मिल्सको भग्नावशेषले अहिले यही प्रश्न सोधिरहेको छ ।
औद्योगिक विकास केवल मेसिन चल्नुमात्र होइन, ती मेसिन चलाउने हातहरूको जीवन सुरक्षित हुनु पनि हो । विराटनगर जुट मिल्सलाई पुनर्जीवन दिने हो भने पहिले यसका मजदुरहरूको सम्मान र व्यवस्थापनलाई प्राथमिकतामा राख्नैपर्ने त्यहाँका मजदुरको माग छ ।
जहाँबाट सुरु भएको थियो हड्ताल....
विराटनगर–१६ को मिल्स एरियाको हड्ताली हाटमा मजदुरहरूको बाक्लो बस्ती छ । विराटनगर जुटमिलको गेटमै टाँसिएको सडकको पूर्वतर्फ रहेको हड्ताली हाटमा बुधबार र शनिबार बजार लाग्छ, तर त्यो बजार पहिले बरगाछीको फेदमा रहेको चौतारालाई केन्द्र बनाएर लाग्थ्यो । अहिले त्यहाँबाट दक्षिणतर्फको सडकमा सरेको छ ।
त्यही ठाउँमा ४० वर्ष अगाडिदेखि बस्दै आएकी ६५ वर्षीय कविता मगर पहिलेको त्यो ठाउँको रौनक सम्झिन्छिन् । सरसफाइ उस्तै थियो, मानिसको आवतजावत र घुइँचो उस्तै थियो । बजार–पसलमा मानिसको भिडभाड रहिनै रहन्थ्यो । ‘यहाँ त मेला नै लाग्थ्यो । जुटमिलमा काम गर्नेहरूले आ–आफ्नो घरबाट काम गर्न जान्थे । काम छुटेपछि फेरि सबै गुरुरु आउने आ–आफ्नो घर जाने गर्थे । त्यसबेला यो ठाउँमा घरको ढोका डोरीले बाँधेर हिँड्दा पनि चोरी हुँदैन थियो ।’
अहिले त घरै फोर्ने अवस्था रहेको मगर भन्छिन् । मिल चल्दा चौतारा आसपाको रौनक नै छुट्टै हुन्थ्यो । कस्तो राम्रो ठाउँ थियो । झिलिमिली थियो । अहिले फोहोर र गजगजी हिलो, दुर्गन्ध उस्तै छ ।
मजदुरहरू सबैको कमजोर आर्थिक अवस्था छ । त्यस ठाउँमा रहेको पुराना संरचनाको नाममा त्यही एउटा बरको रुख छ, साना तिना टहरा छन् । नजिकै मस्जिद छ । मन्दिर पनि छ, तर त्यस ठाउँका हराभरापन हराएको छ ।
त्यसबेला जुट मिल्समा काम गर्ने मजदुरहरूलाई क्वाटर बनाएर दिइएको थियो । अहिले पनि जुटमिलको जग्गामा सयौँ घर छन् । त्यही हाट आसपासमा ६०–७० घर परिवार छन् । पुराना मजदुरहरू भने धेरैले ज्यान गुमाइसके । कतिपयले ठाउँ छोडेर हिँडे ।
_SVKDPWvcMH.jpg)
‘गिरिजाबाबुले जुटमिलमै काम गर्दा उहाँसहितले हड्ताल गरेपछि यहाँको नाम नै हड्ताली हाट भयो,’ कविताले २००३ सालमा सुरु भएको आन्दोलनबारे आफूले सुनेको कुरा बताइन् ।
त्यतिखेर कांग्रेसकै नेताहरूले हड्ताल सुरु गरेका थिए, जहाँ कम्युनिस्ट नेता मनमोहन अधिकारी पनि सहभागी थिए । उनै मनमोहनले आफू प्रधानमन्त्री भएपछि मदन भण्डारीको स्मृतिमा त्यही बरको रुपखलाई बिचमा पारेर पक्की चौतारा बनाइदिए । पहिले काठको चौतारा थियो । नयाँ बनाको चौतारा पनि अहिले कुरुप बनेको छ । भत्किन थालेको छ ।
‘गाछी गिरिजाबाबुको भयो, चौतारा मनमोहनले बनाउनु भयो । अब कसको नाम राख्ने भनेर चौताराको नामै भएन,’ हाँस्दै सोही ठाउँकी ६३ वर्षीय मन्जु गुरुङले भनिन् ।
_sK9vK6sxO2.jpg)
जुट मिल्सबाटै सुरु भएको आन्दोलनले देशमा प्रजातन्त्रको बिजारोपण भयो । तर, अहिले जुटमिल बन्द भएपछि यहाँका आधाभन्दा धेरै मजदुर भारत गएर काम गर्न बाध्य छन् । पहिले मजदुरको सेवा सुविधा वृद्धि र सामाजिक सुरक्षाका साथै प्रजातन्त्र ल्याउने भाषण हुन्थ्यो, तर आजकल प्रत्येकजसो चुनावमा नेताहरूले त्यही चौतारामा उभिएर भाषण ठोक्छन् । भाषणमा जुटमिल चलाउछु भन्न कसैले छोड्दैनन् । जुटमिल चल्ने कुनै गुन्जायस भने देखिँदैन ।
अहिले त्यही मजदुरको बस्तीमा डोजर चल्ने कुरा हुँदैछ । फेरि मजदुरहरू त्यही हड्ताली हाटबाट सरकारविरुद्ध खबरदारीको तयारी गरिरहेका छन् । ‘यहाँबाट प्रजातन्त्रको आन्दोलन सुरु भएको हो । हामीलाई बिना व्यवस्थापन हटाउने कोसिस भयो भने यहीबाट पुनः अर्को आन्दोलन सुरु हुन्छ,’ सोही ठाउँका सुनिल पासवानले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सियाटलमा बोस्नियाको वर्चस्व, पहिलो हाफमा कतार २–१ ले पछाडि
-
सात विपन्न परिवारलाई घर
-
रास्वपा महाधिवेशनमा सुरु भयो मतदान
-
मध्यरातसम्म पनि सुरु भएन रास्वपाको मतदान, लाइनमै छन् प्रतिनिधि
-
१२ बजे १२ समाचार: रास्वपालाई महाधिवेशन व्यवस्थापन गर्नै धौधौदेखि कर्णालीको ‘कन्तबिजोग’सम्म
-
गर्मी बढेपछि वीरगन्जका विद्यालय ४ दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण