सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
राजनीति

प्रलोपामा गम्भीर वैचारिक र सैद्धान्तिक मतभेद

शुक्रबार, १८ वैशाख २०८३, १२ : १३
शुक्रबार, १८ वैशाख २०८३

सारांश

  • प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मा पार्टी घोषणा भएको केही महिनामै गम्भीर वैचारिक र सैद्धान्तिक मतभेद देखिएको छ ।
  • अध्यक्ष सन्तोष परियारले 'समाजवादी लोकतन्त्र' सम्बन्धी दस्ताबेज पेस गरेपछि संरक्षक बाबुराम भट्टराई पक्षधरले असन्तुष्टि जनाएका छन् ।
  • परियारले वामपन्थी विचार त्याग्न नसकेका साथीहरूले कम्युनिस्ट विचारलाई बल पुर्याउने दस्ताबेज ल्याएको भन्दै असन्तुष्टि जनाएका छन् ।

काठमाडौँ । गत फागुन २१ को निर्वाचन अघि घोषणा भएको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)मा गम्भीर वैचारिक र सैद्धान्तिक मतभेद देखिएको छ ।

 चुनावमा अनपेक्षित पराजय भोगेपछि समीक्षा गर्न प्रलोपा अध्यक्ष परिषद्ले वैशाख ११ र १२ गते काठमाडौँमा केन्द्रीय समितिको विस्तारित बैठक बोलाएको थियो । बैठकमा परिषद्का अध्यक्ष सन्तोष परियारले नयाँ युगको नयाँ ‘समाजवादी लोकतन्त्र’ सम्बन्धी दस्ताबेज पेस गरेपछि संरक्षक बाबुराम भट्टराई पक्षधर अर्थात् साबिक नयाँ शक्ति समूहले असन्तुष्टि जनाएका छन् । 

पार्टी घोषणा कार्यक्रममा भट्टराईले प्रस्ताव गरेको भन्दा फरक तरिकाबाट अध्यक्ष परियारले वामपन्थी विचार र सिद्धान्तलाई बल पुर्‍याउने खालको दस्ताबेज ल्याएपछि प्रलोपाभित्र वैचारिक सङ्कट गहिरिएको छ । नयाँ शक्ति पक्षधर एक नेताका अनुसार अध्यक्ष परियारले ल्याएको दस्ताबेज विस्तारित बैठकले पारित नगरेको जिकिर गरे ।

‘प्रगतिशील लोकतान्त्रिक पार्टी कुनै नयाँ घोषणा भएको पार्टी होइन । यो त नयाँ शक्तिकै निरन्तरता हो । हामीले १० वर्षअघि नै वामपन्थी विचार त्यागिसकेका छौँ । तर भर्खर पार्टी त्यागेर आएका साथीहरू कम्युनिस्ट वा वामपन्थी विचार त्याग्न सकेका छैनन्’, रातोपाटीसँग ती नेताले भने, ‘उहाँहरू मार्दा पनि कम्युनिस्ट नै भएर मर्न पाए हुन्थ्यो जस्तो गर्छन् । डाक्टर सा’बले भन्नुभएको वैज्ञानिक मानवतावाद हो तर उहाँहरू लोकतान्त्रिक समाजवादको कुरा गर्नुहुन्छ । वामपन्थी प्रविधिमा आधारित विचारले अहिले देशको आवश्यकता पुरा गर्न सक्दैन ।’

भट्टराईले यही ऐतिहासिक–वैज्ञानिक यथार्थलाई आधार बनाएर नयाँ राजनीतिक दर्शन ‘वैज्ञानिक मानवतावाद’ प्रस्तुत गरेको दाबी गरेको छ ।   ‘नयाँ शक्ति’ हुँदै प्रगतिशील लोकतान्त्रिक पार्टीको गन्तव्य समुन्नत समाजवाद भएको ती नेताको जिकिर छ ।

यद्यपि नेता कृष्ण शर्माले वैचारिक मतभेद भन्दा पनि बुझाइमा कमजोरी रहेकाले समीक्षा गर्न बाँकी नै रहेको जिकिर गरे ।

‘हामीले वैज्ञानिक मानवतावाद र समुन्नत समाजवादको कुरा गरेका हो । तर सन्तोषजीले सामाजिक लोकतन्त्रको कुरा गर्नुभएको छ । शब्दमा जे भनिएपछि त्यो भनेको वामपन्थी विचार नै हो’, शर्माले भने, ‘हामी वामपन्थी पनि होइन । लोकतान्त्रिक पनि होइन । अग्रगामी हौँ । समुन्नत समाजवादको कुरा गरेका छौँ । शब्दको बुझाइमा फरक परेको देखिन्छ । फेरि बैठक बसेर समीक्षा गर्न आवश्यक छ ।’

यता अध्यक्ष परियारले वामपन्थी बेगर समाजको कल्पना पनि गर्न नसक्ने बताएका छन् । पुँजीवाद र नवउदारवादले आज विश्वभर विभिन्न खाले अर्थ–सामाजिक एवं सांस्कृतिक सङ्कट निम्त्याएकाले  आज विश्वमा मानवीय सङ्कटहरू सिर्जना भएको उनको तर्क छ । 

‘तिनका मुख्य कारण नवउदारवाद र यसले सिर्जना गरेका तमाम आर्थिक एवं सामाजिक समस्याहरू नै हुन् । आर्थिक प्रणालीको नाफा र घाटासँग मात्र जोडिएको नवउददारी लोकतान्त्रिक व्यवस्था कहिले पनि जनताको पक्षमा हुन नसक्ने कुरा आज प्रमाणित भइसकेको छ’, परियारले भने, ‘खासगरी संसारभरि दक्षिणीपन्थी लोकप्रियतावाद हाबी छ । जसले मानवीय चेतना, विचार, सिद्धान्त र सङ्गठन केही पनि चाहिँदैन भन्छ र समाजको घोर अराजनीतिकरण गरेर मुठ्ठीभरका मान्छेहरूबाट शासन व्यवस्था सञ्चालन गर्ने षड्यन्त्र गरिरहेको छ ।’

केन्द्रीय समितिको विस्तारित बैठक कोरम नपुगेर स्थगित भएको भट्टराई पक्षधरको दाबी छ । उनीहरूको आरोप परियारले अस्वीकार गरेका छन् । १५१ सदस्यीय केन्द्रीय समितिमा बहुमत सदस्यहरू उपस्थित भएको उनले दाबी गरे । यद्यपि परियारले बैठकमा पेस गरेको दस्ताबेज वैचारिक र सैद्धान्तिक मतभेद भएपछि पारित हुन सकेको छैन । जेनजी आन्दोलनपछि भट्टराई नेतृत्वको नयाँ शक्ति, माओवादी केन्द्रबाट अलग भएका जनार्दन शर्मा, राम कार्की, सुदन किराती र रास्वपाबाट आएका सन्तोष परियार समूह मिलेर वैकल्पिक राजनीतिक पार्टीको रूपमा मङ्सिर ७ गते प्रलोपा घोषणा गरेका थिए । तर निर्वाचनमा प्रलोपाले प्रत्यक्षमा एक सिट पनि जित्न सकेन भने समानुपातिकतर्फ २५ हजार मत पनि कटाउन सकेन । पराजयको नैतिक जिम्मेवारी दिँदै अध्यक्ष परिषद्का अध्यक्षहरू किराती, दुर्गा सोव र ओजस्वी भट्टराईले राजीनामा दिएका थिए । किरातीले पार्टी नै परित्याग गरी श्रम संस्कृति पार्टीमा जाने तयारी गरेका छन् । सोव र भट्टराईको राजीनामा स्वीकृत नभएको परियारले जानकारी दिए ।

 परियारले पेस गरेको प्रतिवेदनमा नयाँ युगको नयाँ ‘समाजवादी लोकतान्त्रिक’ आन्दोलनका लागि सम्पूर्ण वामपन्थी एवं समाजवादीहरूको एउटै सशक्त सङ्गठन निर्माणको लागि आव्हान गरेको छ । 

 समाजवादी लोकतान्त्रिक आन्दोलनलाई नयाँ डङ्गबाट परिभाषित गर्नुपर्ने, नयाँ कार्यक्रम र कार्यदिशा बनाउनुपर्ने भएकाले वर्तमान पार्टीको पुनर्संरचना गर्ने प्रस्ताव गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप