शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

क्यानडाको प्रशिक्षकमा मोन्टी देशाई नियुक्त

शुक्रबार, १८ वैशाख २०८३, १४ : २४
शुक्रबार, १८ वैशाख २०८३

सारांश

  • नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक मोन्टी देशाई क्यानडाको पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्।
  • देशाईले क्यानडा क्रिकेटमा देखिएको कठिन समयमा जिम्मेवारी सम्हालेका हुन्।
  • उनले नेपाल र अफगानिस्तानले विश्वास र अनुशासनका माध्यमबाट सफलता पाए जस्तै क्यानडामा पनि त्यही संस्कृति विकास गर्ने प्रतिबद्धता जनाए।

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक मोन्टी देशाई क्यानडाको पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्। नेपाल र अफगानिस्तान जस्ता एसोसिएट राष्ट्रहरूलाई क्रिकेटको उचाइमा पुर्‍याउन सफल भएका देशाईले क्यानडा क्रिकेटमा देखिएको कठिन समयमा जिम्मेवारी सम्हालेका हुन्। 

उनको कार्यकाल कति समयको हुने भन्नेबारे भने क्रिकेट क्यानडाले स्पष्ट पारेको छैन। क्यानडा क्रिकेटका अध्यक्ष अर्विन्दर खोसाले टोलीको प्रदर्शन सुधार्न र व्यावसायिकता कायम गर्न देशाईको नियुक्तिले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे। 

उनले देशाईसँग नेपाल र अफगानिस्तान जस्ता राष्ट्रको टोलीलाई अनुशासन र दीर्घकालीन योजनामार्फत रूपान्तरण गरेको अनुभव रहेकाले क्यानडाका लागि पनि उनी सही विकल्प भएको बताए। सन् २०२६ को टी-२० विश्वकपमा क्यानडाको कमजोर प्रदर्शन र पछिल्लो समय भ्रष्टाचारको आरोपमा आईसीसीले गरिरहेको अनुसन्धानका बिच देशाईको काँधमा महत्त्वपूर्ण जिम्मेवारी आएको छ।

सन् २०२६ को विश्वकपमा क्यानडाले खेलेका चारवटै खेलमा हार व्यहोरेको थियो। त्यसैगरी गत अप्रिलमा विश्वकपका दौरान क्यानडाको एक खेलमा भ्रष्टाचार भएको आशंकामा आईसीसीको भ्रष्टाचार विरोधी इकाइले छानबिन सुरु गरेको थियो। 

यस्तो अन्योलपूर्ण अवस्थामा पदभार ग्रहण गर्दै देशाईले क्यानडा क्रिकेटको सम्भावनालाई नतिजामा बदल्न आफ्नो ध्यान केन्द्रित हुने बताए। उनले नेपाल र अफगानिस्तानले विश्वास र अनुशासनका माध्यमबाट सफलता पाए जस्तै क्यानडामा पनि त्यही संस्कृति विकास गर्ने प्रतिबद्धता जनाए।

देशाईले यसअघि पनि क्यानडाको क्रिकेट प्रणालीमा काम गरिसकेकाले त्यहाँको वस्तुस्थिति र क्रिकेटप्रतिको लगावलाई आफूले नजिकबाट बुझेको उल्लेख गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप