कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गर्न १५ दिने अल्टिमेटम
विराटनगर । विराटनगरस्थित कोशी अस्पतालले आफ्नो नाममा रहेको अतिक्रमित जग्गा खाली गर्न १५ दिनको अल्टिमेटम दिँदै सूचना जारी गरेको छ ।
अस्पतालको स्वामित्वमा रहेको अर्बौं मूल्य पर्ने सरकारी जग्गा खाली गर्न अटेरी गर्दै विभिन्न संस्था तथा व्यक्तिहरूलाई खाली गर्न अल्टिमेटम दिएको हो ।
नापी कार्यालय मोरङको फिल्ड रेखांकन प्रतिवेदन अनुसार अस्पतालको स्वामित्वमा रहेका कित्ता नम्बर ११, १२, १५, २२, २३ र २६ मा विभिन्न व्यक्ति तथा संस्थाहरूले अनधिकृत प्रयोग गरेको भन्दै खाली गराउन अस्पतालले आग्रह गरेको छ । तोकिएको समयभित्र जग्गा खाली नगरिए प्रचलित कानुनबमोजिम कानुनी कारबाही प्रक्रिया अगाडि बढाइने चेतावनी अस्पतालले दिएको छ ।
यो कदम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आन्तरिक प्रशासन शाखाले २०८३ वैशाख ३० गते देशभरका सरकारी अस्पतालहरूको जग्गा तथा भौतिक पूर्वाधारको सुरक्षा र संरक्षणका लागि जारी गरेको विशेष परिपत्रको जगमा चालिएको हो । मन्त्रालयको निर्देशन अनुसार अस्पतालहरूले आफ्नो स्वामित्वमा रहेको जग्गाको साँध सिमाना स्वीकृत नक्सा अनुसार भए नभएको यकिन गरी विस्तृत प्रतिवेदन तयार पार्नुपर्ने व्यवस्था छ ।
अतिक्रमण भएको पाइएमा निश्चित समयसीमा तोकी लिखित सूचना जारी गर्ने, सूचना पालना नभएमा जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा सुरक्षा निकायसँग समन्वय गरी अतिक्रमण हटाई अस्पतालको भोगाधिकार पुनः कायम गर्ने र भविष्यमा पुनः अतिक्रमण हुन नदिन कम्पाउन्ड वाल लगायतका सुरक्षात्मक उपाय अपनाउने नीति मन्त्रालयले तय गरेको छ । सोही निर्देशनलाई कार्यान्वयन गर्दै कोशी अस्पतालले अहिले अन्तिम चेतावनीयुक्त सूचना जारी गरेको हो ।
अस्पतालको सेवा विस्तारका लागि अत्यन्त आवश्यक रहेको यो जग्गा कब्जा गरेर विभिन्न प्रतिष्ठित संस्थाहरू बसेका छन् । नेपाल क्षयरोग निवारण संस्थाले अस्पतालको ६ कट्टा ८ धुर जग्गा ओगटेर पक्की भवन निर्माण गरेको छ र सो भवनका कोठाहरू भाडामा लगाएर मासिक २ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएको छ ।
त्यसैगरी, गणेश मन्दिर व्यवस्थापनले २ कठ्ठा जग्गा ओगटेर निर्माण गरेका व्यावसायिक सटरहरूबाट मासिक १ लाख ६० हजार रुपैयाँभन्दा बढी भाडा असुल गरिरहेको छ । नेपाल रेडक्रस सोसाइटीले पनि २ कठ्ठाभन्दा बढी जग्गा कब्जा गरी वाणिज्य बैंकदेखि विभिन्न पसलहरूलाई भाडामा दिएर मासिक करिब १ लाख ५० हजार रुपैयाँ आम्दानी गरिरहेको छ भने देवकोटा पुस्तकालयले २ कट्टा १० धुर जग्गा ओगटेर व्यावसायिक प्रयोजनका लागि कोठाहरू भाडामा दिएको छ ।
यसरी अस्पतालको जग्गाबाट यी संस्थाहरूले मासिक लाखौँ रुपैयाँ असुली गरिरहँदा अस्पताल आफैँ भने पूर्वाधार अभावका कारण सेवा विस्तार गर्न सकिरहेको छैन ।
कोशी अस्पतालले आफ्नो बहुमूल्य जग्गा फिर्ता लिन २०७६ सालदेखि नै निरन्तर प्रयास गर्दै आएको हो । तर, अतिक्रमणकारी संस्थाहरूले आफ्नो राजनीतिक र प्रशासनिक पहुँचको दबाब सिर्जना गरेर अस्पताल प्रशासनलाई नै पछि हट्न बाध्य पार्दै आएका छन् ।
अस्पताल विकास समितिका पूर्व सदस्य मुकेश बुढाथोकीका अनुसार, २०८० सालमा अस्पतालको जग्गा खाली गराउने अन्तिम तयारी भइरहेका बेला ठूलो शक्ति र पहुँचको दबाब प्रयोग गरेर सो अभियानलाई असफल बनाइएको थियो । अतिक्रमणकारीहरूले उल्टै अस्पताल प्रशासनलाई धम्क्याउने र दबाब दिने कार्य गर्दै आएका कारण जग्गा फिर्ता लिने कार्य वर्षौंदेखि अल्झिँदै आएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण