शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय
प्रविधि

टिकटकको लुकेको संसार

अल्गोरिदमले लुकाएको टिकटकको रहस्यमय र विचलित बनाउने दुनियाँ
शनिबार, ०६ असार २०८३, १७ : ००
शनिबार, ०६ असार २०८३

सारांश

  • टिकटकमा एउटा लुकेको संसार छ, जसलाई 'टिकटक फारल्यान्ड्स' भनिन्छ, जहाँ अनौठा र डरलाग्दा भिडियोहरू अल्गोरिदमले सामान्यतया देखाउँदैन।
  • यो रहस्यमय डिजिटल संसारमा पुग्नका लागि भिडियोका कमेन्टमा राखिएका अंग्रेजी अक्षर र अङ्कहरूको कोडलाई सर्च गर्नुपर्छ।
  • टिकटक फारल्यान्ड्स इन्टरनेटको अन्तिम विन्दु हो जहाँ कुराहरू अनौठा हुन थाल्छन् र यसले सामाजिक सञ्जाल कम्पनीहरूको शक्तिबारे बहसलाई पनि जोड दिएको छ।

टिकटकमा यस्तो एउटा लुकेको कुना छ, जहाँका अनौठा, डरलाग्दा र विचलित बनाउने भिडियोहरू अल्गोरिदमले तपाईंलाई देखाउँदैन। यो केवल एउटा भ्रम हुन सक्छ वा इन्टरनेटको भविष्यको झलक।

सामान्यतया सकारात्मक भिडियोहरूको निरन्तर प्रवाह देखाउने प्लेटफर्मको रूपमा टिकटक परिचित छ। कतिपय आलोचकहरू त यसलाई अति नै ‘सुसंस्कृत’ समेत भन्छन्। तर यसको भित्री तहमा यस्ता अर्बौँ भिडियो छन्, जुन टिकटकले सामान्यतया तपाईंलाई देखाउँदैन। तीमध्ये केही निरश छन्, केही अनौठा छन्, अनि केही साँच्चै नै त्रसित बनाउने खालका छन्।

हल्लाहरू सुन्ने हो भने, राति ढिलासम्म नसुती टिकटकका सामान्य सिफारिसहरू नसकिउन्जेल घण्टौँसम्म स्क्रोल गरिरहँदा तपाईंले यसको छोटो झलक पाउन सक्नुहुन्छ। तर टिकटकका प्रयोगकर्ताहरू यसको अझ गहिराइमा पुग्ने बाटो पत्ता लगाएको दाबी गर्छन्।

सही उपाय अपनाएर तपाईं यो रहस्यमय डिजिटल संसारमा पुग्न सक्नुहुन्छ। अल्गोरिदमले सामान्यतया देखाउने रमाइलो बाटोभन्दा यो संसार धेरै अनौठो, अँध्यारो र डरलाग्दो छ। यसैलाई ‘टिकटक फारल्यान्ड्स’ भनेर चिनिन्छ।

यहाँ पुग्ने सबैभन्दा सजिलो तरिका भनेको कुनै भिडियोको कमेन्टमा अर्को प्रयोगकर्ताले राखेको अंग्रेजी अक्षर र अङ्कहरूको जथाभावी कोडलाई सर्च गर्नु हो।

‘अल्गोरिदमको सिफारिसबाट मात्र तपाईं त्यहाँ पुग्न सक्नुहुन्न, यसका लागि कुनै व्यक्तिको निमन्त्रणा चाहिन्छ,’ इन्टरनेट संस्कृतिबारे रिपोर्टिङ गर्ने तथा मिम अनुसन्धानकर्ता एडन वाकरले यस विषयको एउटा पोस्टमा लेखेका छन्।

पछिल्ला केही महिनायता ‘टिकटक फारल्यान्ड्स’ बारे व्यापक चर्चा भइरहेको छ। यसमा षड्यन्त्रका सिद्धान्तहरू र सहरी किंवदन्तीहरूसँगै सामाजिक सञ्जाल कम्पनीहरूको शक्तिका विषयमा गम्भीर बहस पनि जोडिएका छन्।

प्रयोगकर्ताहरूले टिकटकको अल्गोरिदमलाई नियन्त्रणमा लिएर एपले लुकाउन खोजेका भिडियोहरू बाहिर ल्याउने तरिका पत्ता लगाएका छन्। यो एउटा मिम ट्रेन्ड मात्र नभएर सामाजिक अभियान जस्तै बनेको छ। मानिसहरू मेसिनले खडा गरेको पर्खाल भत्काउने प्रयास गर्दैछन्।

कृत्रिम बौद्धिकता (एआई) ले भरिएका सामग्री र निरन्तरको स्क्रोलिङको यो दुनियाँमा, यसले मलाई लामो समयपछि इन्टरनेटको भविष्यप्रति थप आशावादी बनाएको छ।

  • रहस्यको गहिराइमा

‘फारल्यान्ड्स’ भन्ने नाम माइनक्राफ्ट गेमको एउटा पुरानो र चर्चित प्राविधिक त्रुटि (ग्लिच) बाट आएको हो। गेमको सुरुवाती संस्करणहरूमा निकै टाढासम्म हिँड्दै जाँदा एउटा यस्तो त्रुटि उत्पन्न हुन्थ्यो, जसले सुरुङ र अनौठा संरचनाहरूले भरिएको अस्तव्यस्त परिदृश्य निर्माण गर्थ्यो।

‘माइनक्राफ्ट फारल्यान्ड्स गेमको अन्तिम विन्दु थियो। तपाईं साँच्चै नै संसारको अन्त्यमा पुग्नुहुन्थ्यो र त्यहाँबाट अगाडि बढ्न सकिँदैनथ्यो,’ सामाजिक सञ्जालको विषयमा अनुसन्धान गर्ने अमेरिकास्थित युनिभर्सिटी अफ जर्जियाकी मिडिया स्टडिजकी सहप्राध्यापक जेसिका म्याडक्स भन्छिन्।

‘टिकटक फारल्यान्ड्स’ को अवधारणा पनि यस्तै हो। यो इन्टरनेटको त्यो अन्तिम विन्दु हो जहाँ कुराहरू अनौठा हुन थाल्छन्। यहाँ तपाईं मूलधारलाई छोडेर गलत बाटोमा लाग्नुभएको हुन्छ।’

वाकरको भिडियो पोस्टमा गरिएका कमेन्टहरूको मद्दतले म पनि ती अक्षरहरू पछ्याउँदै त्यो शून्यतामा पुग्न सफल भएँ। मैले सर्च बारमा एउटा कोड राखें, त्यसपछि मैले जे देखेँ त्यो टिकटकको मेरो सामान्य अनुभवभन्दा बिलकुलै फरक थियो।

p0nsw3js.jpg

स्क्रिनमा एआईले बनाएका डरलाग्दा आकृतिहरू देखा परे। पिक्सेल बिग्रिएर अनुहारहरू विकृत भएका थिए। एउटा भिडियोमा टिभीको तारमा नसा जोडिएको कुनै एलियन जस्तो प्राणी पीडाले कराइरहेको थियो भने छेउमा एउटा किशोर भिडियोगेम कन्ट्रोलर समातेर हेरिरहेको थियो।

तीमध्ये धेरैजसो भिडियोहरू बीबीसीले लिङ्क राख्न समेत नमिल्ने गरी विचलित पार्ने खालका थिए। (र म तपाईंहरूलाई पनि आफैंले खोज्नुअघि अलिकति सावधान रहन सल्लाह दिन्छु।)

फारल्यान्ड्समा पुग्न मानिसहरूले पासवर्ड जस्तै सेयर गर्ने अक्षर र अङ्कहरूका कोड आफैँमा एउटा रहस्य हुन्। कहिलेकाहीँ प्रयोगकर्ताहरू आफ्नो कामको प्रचार गर्न आफ्नै भिडियोहरूमा यी कोडहरू ट्याग गरेर सेयर गर्छन्। तर मैले कुरा गरेका केही व्यक्तिहरूले किबोर्डमा जथाभावी थिचेर अन्दाजकै भरमा फारल्यान्ड्सका कोडहरू पत्ता लगाएको दाबी गरे।

कतिपय कोडहरूले साँच्चै नै जथाभावी नतिजाहरू देखाउँछन्। टिकटकको सर्चले फरक-फरक प्रयोगकर्तालाई फरक-फरक नतिजा देखाउने भएकाले वास्तवमा के भइरहेको छ भनेर बुझ्न कठिन छ।

यो सम्पूर्ण प्रक्रिया भनेको जानीजानी आफ्नो उद्देश्यका लागि टिकटकलाई तोडमोड गर्नु रहेको वाकर बताउँछन्। ‘यसैमा त मज्जा छ। जुन तरिकाले प्रयोग गर्नका लागि यो प्लेटफर्म बनाइएकै थिएन, तपाईं त्यसरी नै चलाइरहनुभएको छ,’ उनी मलाई भन्छन्, ‘तपाईं सामान्य टिकटकको सीमा पार गरेर यस्तो छेउमा पुग्नुभएको छ, जहाँ वास्तवमा के भइरहेको छ भन्ने कसैलाई थाहा छैन।’

यी अनौठा भिडियोहरूको कमेन्टमा मानिसहरूले ठूला अक्षरमा पटक-पटक ‘म फारल्यान्ड्समै बस्न चाहन्छु’ लेखेको पनि देख्न सकिन्छ। ५०० शब्द लामो कमेन्ट गर्दा अल्गोरिदमले यस्तै सामग्रीहरू देखाउँछ भन्ने केही प्रयोगकर्ताहरूको विश्वास देखिन्छ। के यो साँचो हो? ठोकुवा गरेर भन्न असम्भव छ। सामाजिक सञ्जालका अल्गोरिदमहरू रहस्यमय बक्सा जस्तै हुन्।

मैले टिकटकलाई सम्पर्क गरेँ तर उनीहरूले कुनै प्रतिक्रिया दिएनन्।

‘मानिसहरू आफ्नो फिड र अनलाइन अनुभवलाई पुनः आफ्नै नियन्त्रणमा लिन खोजिरहेका छन्,’ म्याडक्स भन्छिन्, ‘यसले मानिसहरू अल्गोरिदममा आधारित फिडबाट आजित भइसकेको कुरा देखाउँछ। हामीले के हेर्ने भनेर निर्धारण गर्ने यसको शक्तिप्रतिको हाम्रो चिन्ता पनि यसमा झल्किन्छ।’

‘इन्टरनेट निकै विशाल छ। एक हिसाबले भन्ने हो भने फारल्यान्ड्सले तपाईं साँच्चै नै अन्तिम विन्दुमा पुग्नुभयो र अब रोकिन सक्ने ठाउँमा हुनुहुन्छ भन्ने आशालाई प्रतिनिधित्व गर्छ।’

  • पुरानै कुरा फेरि नयाँ

‘इन्टरनेटको किनारा’ बारेको यो सम्पूर्ण बहस आफैंमा अलि विरोधाभासपूर्ण छ।

फारल्यान्ड्समा ‘प्रवेश’ गर्नुको मुख्य उद्देश्य भेटाउन गाह्रो हुने भिडियोहरू खोज्नु हो। तीमध्ये केही भिडियोहरू साँच्चै अनौठा छन्, जुन सामाजिक सञ्जालका नियमहरू नबुझ्ने वा वास्ता नगर्ने मानिसहरूले बनाएका हुन्। अन्य भिडियोहरू भने जानीजानी कलात्मक वा फरक शैलीमा बनाइएका छन्।

तर रहस्यमय भनिएका फारल्यान्ड्सका केही पोस्टहरूले दशौं लाख भ्युज पाएका छन्। यसको लोकप्रियता बढ्दै जाँदा केही प्रयोगकर्ताहरूले यही ट्रेन्डसँग मिल्ने नयाँ भिडियोहरू बनाएका छन्। यस्ता सामग्री फेला पार्न अब सजिलो छ, मात्र ‘फारल्यान्ड्स’ टाइप गरे पुग्छ।

तर प्रयोगकर्ताहरू यो वास्तविक फारल्यान्ड्स नभएको बताउँछन्। एउटा चर्चित भिडियोमा एक प्रयोगकर्ताले कमेन्ट गरेका छन्, ‘वास्तविक फारल्यान्ड्स भिडियोमा कुनै ट्याग वा शीर्षक हुँदैन, अझ फारल्यान्ड्स ह्यासट्याग त पक्कै हुँदैन।’

कतिपयका अनुसार एउटा वास्तविक फारल्यान्ड्स भिडियोमा केवल ३० भ्युज हुन्छन् र त्यो फलोअर्स नै नभएको एकाउन्टबाट पोस्ट गरिएको हुन्छ। त्यहाँसम्म केवल दृढ अठोट भएकाहरू मात्र पुग्न सक्छन्।

‘टिकटक फारल्यान्ड्स’ तुलनात्मक रूपमा नयाँ हो, तर यसका धेरैजसो अवधारणा, मिम, शैली र भिडियोहरू भने पुराना हुन्। यसका केही अंशहरूले ‘क्रिपिपास्ता’ युगका झलकहरूलाई पुनर्जीवित गर्छन्, जुन इन्टरनेटको सुरुवाती समयका भूतप्रेतका कथाहरूको विधा हो।

धेरै भिडियोहरूमा ‘डिप फ्राइड मिम’ शैली देखिन्छ, जसमा तस्बिरहरूलाई धेरै फिल्टरहरू प्रयोग गरेर पिक्सेल बिग्रने र मधुरो हुने गरी प्रशोधन गरिन्छ। यो ट्रेन्ड सन् २०१५ जत्तिकै पुरानो हो। सन् २०१९ र २०२० तिर प्रयोगकर्ताहरूले ‘डिपटक’ को अन्वेषण गर्दा पनि टिकटकको लुकेको पाटोबारे यस्तै चर्चा चलेको थियो।

‘यो इन्टरनेटको इतिहासभरिका विभिन्न कुराहरूको खिचडी जस्तो लाग्छ,’ वाकर भन्छन्, ‘विशिष्ट, अलि डरलाग्दो र अलि अनौठो।’

तैपनि, यहाँ केही नयाँ कुरा पनि छ। एउटा कुरा त के भने, मानिसहरूले फारल्यान्ड्स भनेर चिन्ने धेरैजसो लोकप्रिय सामग्रीहरू प्रविधि र सामाजिक सञ्जालमाथिकै व्यङ्ग्य जस्ता लाग्छन्।

टिकटकमा @smoorel8r नामले चिनिने शेन मुर यस्ता भिडियो बनाउँछन्, जुन सुरुमा सामान्य खानाको समीक्षा जस्तो देखिन्छ। तर पछि त्यसको दृश्य बिग्रिएको भिडियो फाइलको जस्तो हुन्छ, जहाँ हरर चलचित्रको जस्तै तर्साउने दृश्यहरू आउने जाने गर्छन्।

अन्य केही प्रयोगकर्ताहरू जस्तै @realityisoptional.net र लुकास विल्मले बनाउने भिडियोहरू सामाजिक सञ्जालका सामग्रीभन्दा पनि म्युजियममा राखिने भिडियो कला जस्ता देखिन्छन्। धेरै क्रिएटरहरूले मलाई फारल्यान्ड्सको चर्चा सुरु हुनुअघिदेखि नै आफूहरूले यस्तो शैलीका सामग्री बनाउँदै आएको बताए।

मैले वाकरलाई सोधेँ, बीबीसी जस्तो मूलधारको मिडियाले फारल्यान्ड्सको बारेमा लेख्दा यसको ‘रहस्यमय आकर्षण’ घट्छ कि घट्दैन?’ यो पहिल्यै मूलधारमा आइसकेको छ,’ उनी भन्छन्, ‘यो केही मानिसहरूको मिडिया खुराकको ठूलो हिस्सा बनिसकेको छ।’ अर्को शब्दमा भन्नुपर्दा, नयाँ कुरा खोज्नेहरू सायद अहिले यो भन्दा अगाडि बढिसकेका छन्।

तर फारल्यान्ड्सको बहसमा केही विद्रोही गतिविधि भइरहेको महसुस हुन्छ, विशेषगरी जब मानिसहरूले अल्गोरिदमलाई नै छल्ने तरिकाहरू पत्ता लगाइरहेका छन्।

‘यसले राम्रो सामग्री कस्तो हुनुपर्छ भन्ने स्थापित मान्यतालाई चुनौती दिन्छ,’ म्याडक्स भन्छिन्, ‘टिकटकलाई मन पर्ने आफ्नै सामग्री हुन्छन्। इन्स्टाग्रामलाई मन पर्ने आफ्नै हुन्छन्। फारल्यान्ड्स त्यसको ठीक विपरीत छ।’

यद्यपि यो याद राख्नु महत्त्वपूर्ण हुन्छ: यदि यी सबै कुराले तपाईंलाई टिकटकमा धेरै समय बिताउन बाध्य पार्छ भने, कम्पनीले चाहेको पनि ठ्याक्कै त्यही हो।

तपाईं यसलाई जसरी व्याख्या गर्नुहोस्, फारल्यान्ड्स एउटा ठूलो ट्रेन्डको हिस्सा हो। मानिसहरू वर्षौंदेखि इन्टरनेट नचल्ने साधारण फोन तर्फ फर्किरहेका छन्। एनालग क्यामेरा र तारयुक्त हेडफोनहरूको प्रयोग फेरि सुरु भएको छ। एआई विरुद्धको असन्तुष्टि यति धेरै बढेको छ, यस विषयमा इसाई धर्मगुरु पोपले समेत बोल्न थालेका छन्। समग्रमा, हाम्रो समाजमा प्रविधिविरुद्धको एउटा विद्रोह मडारिरहेको महसुस गर्न सकिन्छ।

सायद यो इतिहासको एउटा रोचक र क्षणिक घटना मात्र हो। वा यो भविष्यमा आउने ठूलो परिवर्तनको संकेत पनि हुन सक्छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

थोमस जर्मेन
थोमस जर्मेन
लेखकबाट थप