ओरेन्ज क्यापमा केएलको कब्जा, पर्पल क्यापमा भुवनेश्वरको दबदबा
सारांश
- दिल्ली क्यापिटल्सका केएल राहुल ४३३ रनका साथ आईपीएल २०२६ मा ओरेन्ज क्यापको शीर्ष स्थानमा पुगेका छन्।
- सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा रोयल च्यालेन्जर्स बेंगलुरुका बलर भुवनेश्वर कुमार १७ विकेटसहित शीर्ष स्थानमा छन्।
- राजस्थान रोयल्सका जोफ्रा आर्चर र सनराइजर्स हैदरावादका इशान मलिङ्गा समान १५ विकेटसहित पर्पल क्यापको दौडमा छन्।
नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत ओरेन्ज क्यापको दौड हरेक दिनजसो रोमाञ्चक बन्दै गएको छ। शुक्रबार राति राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबिचको खेल सकिएपछि सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा नयाँ अनुहार शीर्ष स्थानमा उक्लिएको छ।
यसका साथै सर्वाधिक विकेट लिने बलरहरूको पर्पल क्यापको सूचीमा पनि ठुलो फेरबदल भएको छ। दिल्ली क्यापिटल्सका ओपनर केएल राहुल ४३३ रनका साथ ओरेन्ज क्यापको शीर्ष स्थानमा पुगेका छन्।
यस सिजन उनको प्रदर्शन निकै उतारचढावपूर्ण रहे पनि ठूला इनिङ्स खेल्न उनी सफल भएका छन्। तीनवटा इनिङ्समा एकल अङ्क र एकपटक १८ रनमा आउट भएका राहुलले अन्य पाँच इनिङ्समा भने सानदार ब्याटिङ गरेका छन्।
उनले यस सिजन ९२, ५७, ३७ र अविजित १५२ रनको सानदार पारी खेलेका थिए भने शुक्रबार राजस्थानविरुद्ध ७५ रनको महत्त्वपूर्ण योगदान दिए। यही इनिङ्सको मद्दतले उनी सर्वाधिक रन बनाउने खेलाडीको सुचीमा पहिलो नम्बरमा उक्लिन सफल भए।
राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीलाई राहुललाई उछिन्ने राम्रो अवसर थियो। ४०० रनका साथ शुक्रबारको खेलमा मैदान उत्रिएका उनी जम्मा ४ रन बनाएर आउट भएपछि सूचीको चौथो स्थानमा खुम्चिन पुगे। राहुल र वैभवको बिचमा सनराइजर्स हैदरावादका दुई विस्फोटक ब्याटरहरू रहेका छन्। हैदरावादका अभिषेक शर्मा ४२५ रनका साथ दोस्रो र हेनरिक क्लासेन ४१४ रनका साथ तेस्रो स्थानमा छन्।
त्यस्तै शुक्रबारको खेलमा जम्मा ६ रन बनाएका राजस्थानकै अर्का ओपनर यशस्वी जैसवाल ३१२ रनका साथ दसौँ स्थानमा झरेका छन्। शीर्ष दसको बाँकी स्थानमा रोयल च्यालेन्जर्स बैंगलुरुका विराट कोहली, गुजरात टाइटन्सका शीर्ष तीन ब्याटर शुभमन गिल, बी साई सुदर्शन र इशान किशनका साथै पञ्जाब किंग्सका प्रभसिमरन सिंह रहेका छन्।

यता बलिङतर्फ रोयल च्यालेन्जर्स बेंगलुरुका प्रमुख बलर भुवनेश्वर कुमार सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा शीर्ष स्थानमा छन्। यस सिजन पाँच पटक एकै खेलमा तीन विकेट लिने कारनामा गरेका उनले कुल १७ विकेट आफ्नो नाममा गरिसकेका छन्।
विकेट सङ्ख्या मात्र नभएर इकोनोमी रेटमा पनि उनी शीर्ष दस बलरमध्ये सबैभन्दा अगाडि छन्। उनले प्रतिओभर मात्र ७.५४ रन खर्चिएका छन्।
यसैगरी राजस्थानका जोफ्रा आर्चर १५ विकेटसहित पर्पल क्यापको दौडमा दोस्रो स्थानमा उक्लिएका छन्। सनराइजर्स हैदरावादका इशान मलिङ्गाको पनि १५ विकेट नै रहे पनि आर्चरको इकोनोमी रेट (८.६२) मलिङ्गाको (९.१६) भन्दा राम्रो भएकाले उनी अगाडि रहेका हुन्।
चेन्नई सुपर किंग्सका तीव्र गतिका बलर अंशुल कम्बोज १४ विकेटसहित पर्पल क्यापको दौडमा छन्। अप्रिल २६ यता चेन्नईले कुनै खेल नखेलेकाले उनको विकेट सङ्ख्या बढ्न सकेको छैन, तर शनिबार राति मुम्बई इन्डियन्सविरुद्धको खेलमा उनले यो आँकडा सुधार गर्ने मौका पाउनेछन्।
१४ विकेट नै लिएका गुजरात टाइटन्सका कागिसो रबाडा पनि शीर्ष बलरहरूको सूचीमा सङ्घर्षरत छन्। लिगका बाँकी खेलहरूसँगै यी दुवै क्यापको दौड अझै कडा हुने निश्चित छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहुघाट जलविद्युत् आयोजना : सुरुङमा पानी भर्न थालियो
-
लुम्बिनीका विद्युतीय बसः अन्य विमानस्थलमा सेवा सुरु, भैरहवामा भने अझै अलपत्र
-
आँप महोत्सव सम्पन्न : मुख्यमन्त्रीको प्रतिबद्धताले हौसिए किसान
-
एकै विश्वकप दिवसमा डच राजपरिवारका लागि दोहोरो ठुलो सफलता
-
धनगढी उपमहानगरद्वारा २ अर्ब ६४ करोडको बजेट सार्वजनिक
-
हाकिमका घर जोगाउन सिंहदरबारको जग्गामा बाटो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण