आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

मोरिन्होको स्पष्टोक्ति: रियलसँग कुनै सम्पर्क भएको छैन

शनिबार, १९ वैशाख २०८३, १६ : ०२
शनिबार, १९ वैशाख २०८३

बेनफिका । पोर्चुगिज क्लब बेन्फिकाका प्रशिक्षक जोसे मोरिन्होले स्पेनिस जायन्ट रियल मड्रिडसँग आफ्नो कुनै सम्पर्क नभएको स्पष्ट पारेका छन्। 

रियल मड्रिडले उनलाई पुनः क्लबमा भित्र्याउन लागेको चर्चा चलिरहेका बेला ६३ वर्षीय प्रशिक्षकले शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै मड्रिडबाट आफूलाई कुनै प्रस्ताव वा सम्पर्क नआएको दाबी गरेका हुन्।

सन् २०१० देखि २०१३ सम्म रियल मड्रिडको कमाण्ड सम्हालेका भेट्रान प्रशिक्षक मोरिन्हो अहिले मड्रिडको नयाँ प्रशिक्षकको सर्टलिस्टमा रहेको खबर बाहिरिएका छन्। हालका प्रशिक्षक अल्भारो अर्बेलोआको नेतृत्वमा रियल मड्रिड लगातार दोस्रो सिजन मुख्य उपाधिविहीन बन्ने पक्का भएपछि उनलाई प्रतिस्थापन गर्ने तयारी भइरहेको छ। 

तर, मोरिन्होले भने आफू फुटबलमा लामो समयदेखि रहेको र यस्ता हल्लाको बानी परेको बताउँदै मड्रिडसँगको वार्तालाई अस्वीकार गरे। उनले सन् २०१२ मा मड्रिडलाई ला लिगाको उपाधि दिलाएका थिए।

रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले जाभी अलोन्सोलाई हटाएर गत जनवरीमा मात्रै अर्बेलोआलाई प्रशिक्षक नियुक्त गरेका थिए। तर, टोलीको प्रदर्शन सन्तोषजनक हुन सकेन। 

हाल ला लिगामा रियल मड्रिड शीर्ष स्थानको बार्सिलोनाभन्दा ११ अङ्कले पछाडि छ भने च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बायर्न म्युनिखसँग पराजित भएर बाहिरिसकेको छ।

बेन्फिकासँग अझै एक वर्षको सम्झौता बाँकी रहेको उल्लेख गर्दै मोरिन्होले अहिले आफू त्यहीँ केन्द्रित रहेको बताए। रोचक कुरा त के छ भने, मोरिन्हो प्रशिक्षक रहेको बेन्फिकालाई नै गत फेब्रुअरीमा च्याम्पियन्स लिगको प्ले-अफ चरणमा रियल मड्रिडले पराजित गर्दै बाहिर निकालेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप