आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

पुष्पराज टेबलटेनिसमा नेपाल प्रहरीको बर्चस्व: संयोग र नविता बने च्याम्पियन

शनिबार, १९ वैशाख २०८३, १८ : ३३
शनिबार, १९ वैशाख २०८३

सारांश

  • दोस्रो पुष्पराज स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको खुला सिंगल्सतर्फ नेपाल प्रहरीका संयोग कपाली र नविता श्रेष्ठ च्याम्पियन बनेका छन्।
  • पुरुष खुला सिंगल्समा संयोगले एभीएमका रुविन महर्जनलाई र महिला खुला सिंगल्समा नविताले एभीएमकी इभाना थापालाई पराजित गरे।
  • प्रतियोगितामा २०० खेलाडीले ६ विधामा प्रतिस्पर्धा गरेका थिए र कुल २ लाख रुपैयाँ नगद पुरस्कार वितरण गरियो।

काठमाडौँ । दोस्रो पुष्पराज स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको खुला सिंगल्सतर्फ संयोग कपाली र नविता श्रेष्ठ च्याम्पियन बनेका छन्। 

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शनिबार भएको फाइनल खेलमा पुरुषतर्फ संयोग र महिलातर्फ नविताले उपाधि जितेका हुन्। उपाधि जित्ने दुवै खेलाडी नेपाल प्रहरीका हुन्।

पुरुषतर्फको अत्यन्तै प्रतिस्पर्धात्मक फाइनल भिडन्तमा संयोगले एभीएमका रुविन महर्जनलाई ८–११, १७–१५, ११–९, ६–११ र ११–९ को सेटमा पराजित गरे। यस स्पर्धामा प्रहरीका गनञ्जय दाहाल र भिजन टेबलटेनिस एकेडेमीका हिमाल विष्ट तेस्रो भए। 

ललितपुर महानगरपालिका वडा ११ को मुख्य प्रायोजन तथा खोल्चा पुखु खेलकुद उपसमितिद्वारा आयोजित यस प्रतियोगिताको महिला सिंगल्सतर्फ नौ पटककी राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठले एभीएमकी इभाना थापालाई ११–८, १२–१४, ११–६, ७–११ र १५–१३ को सेटमा हराउँदै स्वर्ण हात पारिन्। महिलातर्फ एभीएमकी वियंका राई र भिजनकी योङगी पौडेल तेस्रो स्थानमा रहे।

प्रतियोगिताको भेट्रान ४० वर्षमाथि पुरुष सिंगल्समा काठमाडौं महानगरपालिका वडा २५ का महेश श्रेष्ठ पहिलो र एभीएमका राजकुमार शाही दोस्रो भए। त्यस्तै ५० वर्षमाथि पुरुष सिंगल्समा एभीएमका जय महर्जनले स्वर्ण जित्दा नक्सालका रक्त मानन्धरले रजत जिते।

 ६० वर्षमाथि पुरुषतर्फ काठमाडौंका अशोक शर्मा प्रथम र होप्सका राजन सुब्बा दोस्रो बने। यु–१६ मिक्स युथ स्पर्धामा एभीएमका आरभ मल्ल, इखाछेनका सोयम महर्जन र सुप्रिन्स महर्जन क्रमशः शीर्ष तीन स्थानमा रहन सफल भए।

विजेता खेलाडीहरूलाई ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, वडा ११ का अध्यक्ष अरोजकुमार खड्गी, अखिल नेपाल टेबलटेनिस संघका उपाध्यक्ष पूर्णशंकर श्रेष्ठ लगायतले नगद पुरस्कार र पदक प्रदान गरे। 

दुई दिनसम्म सञ्चालन भएको यस प्रतियोगितामा कुल २०० खेलाडीले ६ वटा विधामा प्रतिस्पर्धा गरेका थिए। सबै विधाका विजेताहरूलाई कुल २ लाख रुपैयाँ नगद पुरस्कार वितरण गरिएको आयोजकले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप