पश्चिम बंगालमा जनताले किन रुचाए बीजेपी ? यी हुन् मुख्य ४ कारण
सारांश
- पश्चिम बंगालमा तृणमूल कांग्रेस (टीएमसी) का स्थानीय नेता र कार्यकर्ताहरूको मनोमानी बढेको गुनासो जनतामाझ थियो।
- बीजेपीले सन् २०१४ देखि नै आफ्नो भोट प्रतिशत बढाउँदै लगेको थियो र सन् २०२१ को विधानसभा चुनावमा मुख्य विपक्षी दल बनेको थियो।
- कमजोर वाम मोर्चा र कांग्रेसका कारण टीएमसीविरोधी मत बीजेपीको पक्षमा गयो, जसले गर्दा बीजेपीले पश्चिम बंगालमा जित हासिल गर्यो।
कोलकाता । पश्चिम बंगाल विधानसभा चुनावलाई कभर गर्ने क्रममा मैले मानिसहरूको एउटा साझा गुनासो सुनेको थिएँ- तृणमूल कांग्रेस (टीएमसी) का स्थानीय नेता र कार्यकर्ताहरूको मनोमानी निकै बढेको छ।
पार्टी कार्यकर्ताको सहमतिबिना कुनै नयाँ काम गर्न गाह्रो हुने कुरा मानिसहरू खुलेरै बताउँथे।
यसका बाबजुद टीएमसीको पक्षमा तर्क गर्नेहरू पश्चिम बंगालका ग्रामीण भेगका बासिन्दा, मुस्लिम र महिलाहरू ममताको साथमा रहेको बताउँथे।
यस्तो अवस्थामा सत्ताविरोधी लहर भए पनि ममताले नै यो चुनाव जित्नेछिन् भन्ने उनीहरूको बुझाइ थियो। तर, चुनावी नतिजाहरूले मानिसहरूले परिवर्तन गरेको प्रस्ट पार्छन्।
वास्तवमा, परिवर्तनको आधार सन् २०२१ को विधानसभा चुनावमै बीजेपीले तयार गरिसकेको थियो। अघिल्लो विधानसभा चुनावमा बीजेपीले बंगालमा मुख्य विपक्षी दलको हैसियत प्राप्त गरेको थियो। तीन सिटबाट सुरु भएको उसको यात्रा ७७ सिटसम्म पुगेको थियो। यस्तोमा बीजेपी बंगालका लागि कुनै बाहिरी पार्टी थिएन।

उदाहरणका लागि, सन् २०२१ को विधानसभा चुनावमा माटीगारा-नक्सलबाडी विधानसभा क्षेत्रबाट बीजेपीका आनन्दमय बर्मनले तृणमूल कांग्रेसका राजन सुन्दासलाई ७० हजारभन्दा बढी मतले हराएका थिए। यो अनुसूचित जातिका लागि सुरक्षित सिट हो। यसपटक पनि आनन्दमय बर्मनले सोही अन्तरले टीएमसीलाई हराउने संकेत देखिएको छ।
यो त्यही नक्सलबाडी इलाका हो, जहाँबाट सन् १९६७ मा अतिवादी वामपन्थी नेताहरूले सशस्त्र आन्दोलनको सुरुवात गरेका थिए। उक्त आन्दोलनले धेरै राज्यका मजदुर, भूमिहीन, दलित, आदिवासी र शोषितहरूलाई आकर्षित गरेको थियो। नक्सलबाडीमा बीजेपीको जितलाई पश्चिम बंगालमा परिवर्तनको संकेतका रूपमा हेरिएको थियो, अनि पाँच वर्षपछि त्यो परिवर्तन साँच्चै भयो।
१. सत्ताविरोधी लहर वा हिन्दू भोटको ध्रुवीकरण
दमदम उत्तर विधानसभा क्षेत्रमा एक महिला मतदाताले टीएमसीबारे मसँग भनेकी थिइन्, ‘प्रहरी ममताका वफादारहरूको मात्र कुरा सुन्छ। हामीले उजुरी नै ममताका वफादारहरूविरुद्ध गर्नुपर्ने हुन्छ। गुण्डागर्दी यतिसम्म बढेको छ, उनीहरूको सहमतिबिना कुनै काम सम्भव नै छैन। हामीलाई परिवर्तन चाहिएको छ र यो परिवर्तन अहिले बीजेपीले मात्र गर्न सक्छ। कांग्रेस र सीपीएम यो अवस्थामा भएको भए म उनीहरूबारे पक्कै विचार गर्ने थिएँ।’
टीएमसीका लोकसभा सांसद सौगत रोयले बीबीसी हिन्दीसँग भने, ‘१५ वर्षको शासनमा सत्ताविरोधी लहर हुनु एकदमै सामान्य कुरा हो, तर यसको ठुलो कारण हिन्दू मतदाताहरू बीजेपीतर्फ गोलबद्ध हुनु पनि हो, जसको नोक्सान हामीले व्यहोर्नुपर्यो।’
युनिभर्सिटी अफ कलकत्ताका राजनीति विज्ञानका प्राध्यापक हिमाद्री चटर्जी बंगालमा बीजेपीको जितको श्रेय हिन्दू मतको ध्रुवीकरणलाई दिनेहरूले बंगालको राजनीतिलाई राम्रोसँग नबुझेको बताउँछन्।

प्राध्यापक चटर्जी भन्छन्, ‘बीजेपीको जितलाई हिन्दू मतको ध्रुवीकरणका रूपमा होइन, बरु टीएमसीविरोधी मतको एकजुटताका रूपमा हेर्नुपर्छ। कांग्रेसले टीएमसीविरोधी भोटलाई आफ्नो पक्षमा ल्याउन सक्थ्यो तर राजनीतिक रूपमा ऊ निष्क्रिय रह्यो। बीजेपीले यो जित अचानक पाएको होइन। बीजेपीले सन् २०१४ पछि नै आफ्नो भोट प्रतिशत बढाउँदै लगेको छ। सन् २०१६ देखि २०२६ सम्मको विधानसभा चुनावलाई हेर्ने हो भने बीजेपीको भोट प्रतिशत र सिट दुवै बढेको छ। यहाँसम्म कि अघिल्लो लोकसभा चुनावमा बीजेपीले कम सिट पाए पनि उसको भोट प्रतिशत घटेको थिएन।’
प्राध्यापक चटर्जी थप्छन्, ‘पश्चिम बंगालमा ममता बनर्जीको सरकारप्रति मानिसहरूमा असन्तुष्टि थियो। मानिसहरूले ममतालाई टक्कर दिने पार्टीका रूपमा बीजेपीलाई देखे। जनतालाई ममतालाई हराउनु थियो, त्यसैले बीजेपीलाई भोट दिए। जो धार्मिक ध्रुवीकरणको कुरा गरिरहेका छन्, उनीहरूका लागि म केही तथ्य दिन चाहन्छु- बंगालमा सन् १९५० यता कुनै साम्प्रदायिक दंगा भएको छैन।’
‘यसमा पक्कै पनि यहाँका राजनीतिक दलहरूको भूमिका छ। बंगाल विभाजनबाट प्रभावित राज्य हो, यसका बाबजुद यहाँ हिन्दू भर्सेस मुस्लिमको राजनीति भएको छैन। बीजेपीलाई बंगालका मानिसहरूले चिन्दैनन् भन्ने पनि होइन। यस्तो अवस्थामा बंगालमा बीजेपीलाई भोट दिनेहरू साम्प्रदायिक भए भन्नु हास्यास्पद हुनेछ।’
वरिष्ठ पत्रकार प्रसून आचार्य भन्छन्, ‘जस्तो नतिजा आयो, त्यसको अन्दाज हामीलाई थिएन। ममताविरुद्ध सत्ताविरोधी लहर पक्कै थियो तर यो जित सत्ताविरोधी लहरको मात्र होइन। मानिसहरू ममताका स्थानीय नेता र समर्थकहरूबाट निकै आजित थिए, तर बीजेपीलाई यसपटक हिन्दू मतको गोलबन्दीको पनि फाइदा मिलेको छ। मलाई लाग्छ, आगामी दिनमा बंगालमा प्रतिपक्षको अवस्था निकै कमजोर हुनेछ र टीएमसी फुट्न सक्छ। टीएमसीका जति पनि काउन्सिलर र स्थानीय नेता छन्, उनीहरूले फाइदाका लागि बीजेपीको दामन समात्नेछन्। धेरै विधायक र नेताहरू अनुसन्धान एजेन्सीहरूको डरले बीजेपीमा जानेछन्।’
२. एसआईआरको भूमिका
थिंक ट्यांक सबर इन्स्टिच्युटले पश्चिम बंगालमा एसआईआर (स्पेसल इन्टेन्सिभ रिभिजन) को डाटाको गहन विश्लेषण गरेको छ।
सबर इन्स्टिच्युटका निर्देशक साबिर अहमद यो चुनावी नतिजालाई हेर्ने हो भने एसआईआरको असर पनि प्रस्ट देखिने बताउँछन्।

अहमद भन्छन्, ‘यस चुनावमा करिब ३१ लाख मानिसले भोट हालेनन्। धेरै सिटहरूमा हारजितको अन्तर धेरै रहनेछैन। यस्तोमा बीजेपीको जितमा एसआईआरको पनि महत्त्वपूर्ण भूमिका रहेको छ।’
अहमद थप्छन्, ‘यसपटकको बंगाल चुनावमा धार्मिक ध्रुवीकरण पनि भएको छ। सहरी क्षेत्रमा त ध्रुवीकरण प्रस्टै देखिन्छ। अल्पसंख्यकहरू बहुसंख्यक हुनेछन् भन्ने डर मानिसहरूको मनमा पैदा गराइयो।’
३. कमजोर वाम मोर्चा र कांग्रेस
पश्चिम बंगाल विधानसभा चुनावमा दुईवटा पार्टी- टीएमसी र बीजेपीको मात्र उपस्थिति रहेको प्रस्ट देखिन्थ्यो।
कांग्रेस र सीपीआई (एम) ग्राउन्डमा कतै देखिएका थिएनन्।
कांग्रेस र सीपीआई (एम) ले टीएमसीलाई हराउन सक्दैनन् भन्ने आम बुझाइ मानिसहरूमा थियो। त्यसैले टीएमसीविरोधी मत बीजेपीको पोल्टामा गयो।

कांग्रेसको हालत कस्तोसम्म छ भने, पश्चिम बंगाल पार्टीका प्रदेश अध्यक्ष सुभांकर सरकार श्रीरामपुर विधानसभा क्षेत्रमा चौथो नम्बरमा चलिरहेका छन्। यहाँसम्म कि कांग्रेस नेतृ प्रियंका गान्धीले पश्चिम बंगालमा एउटा पनि र्याली गरेकी थिइनन्।
नक्सलबाडी आन्दोलनका सुरुवातकर्ता चारु मजुमदारका छोरा तथा सीपीआई (एमएल) का पोलिटब्युरो सदस्य अभिजीत मजुमदार यो नतिजा आफ्ना लागि अचम्मित पार्ने खालको नभए पनि बीजेपीले यस्तो जित हासिल गर्ला भन्ने अन्दाज भने नरहेको बताउँछन्।
अभिजीत मजुमदार भन्छन्, ‘ममता बनर्जी सरकारविरुद्ध आम मानिसमा असन्तुष्टि थियो भन्ने कुरामा कुनै शंका छैन, र यो असन्तुष्टिलाई वामपन्थी पार्टीहरूले आफ्नो पक्षमा ल्याउन सकेनन्।’
यसपटक कांग्रेस र वामपन्थी पार्टीहरू छुट्टाछुट्टै चुनाव लडिरहेका थिए। यस्तो अवस्थामा टीएमसीविरोधी मत छरिनुको सट्टा बीजेपीतर्फ केन्द्रित भयो।
श्रीरामपुर विधानसभा क्षेत्रमा राहुल गान्धीको र्यालीका क्रममा मैले आफैँले पनि महसुस गरेको थिएँ- राहुलले जब ममतामाथि प्रहार गर्थे, तब भिडले ताली बजाएर स्वागत गर्थ्यो। तर, जब उनले प्रधानमन्त्री मोदीको आलोचना गर्थे, तब भिडको प्रतिक्रिया निकै सुस्त हुन्थ्यो। यसको अर्थ, सत्ताविरोधी लहर स्पष्ट रूपमा देखिन्थ्यो।
४. मुस्लिम भोटको विभाजन ?
चुनावी नतिजाका विश्लेषक पार्था दासले एक्समा लेखेका छन्, ‘बीजेपीको पक्षमा हिन्दू मतको ध्रुवीकरण भएका कारण टीएमसीले सत्ता गुमाएको होइन। बरु यसको मुख्य कारण मुस्लिम भोट नराम्ररी बाँडिनु हो। उदाहरणका लागि तेहट्टा विधानसभा क्षेत्रको पहिलो चरणको नतिजालाई हेर्न सकिन्छ। बीजेपीले केवल तीन प्रतिशत भोट पाइरहेको छ भने लेफ्टले ३४ प्रतिशत भोट पाइरहेको छ। यो लगभग ९० प्रतिशत मुस्लिम बाहुल्य क्षेत्र हो। त्यसैले अन्ततः बीजेपीले यो सिट जित्नेछ।’

अभिजीत मजुमदार पनि भन्छन्, ‘हिन्दूहरूको ध्रुवीकरण भएको छ तर मुस्लिम भोट बाँडिएको छ। मुस्लिम भोट बाँडिनुको मुख्य कारण तृणमूल कांग्रेसले मुस्लिम भोटको प्रयोग गर्नु हो। ममताले पछिल्ला दुई चुनावदेखि बीजेपीको डर देखाएर मुस्लिमहरूको भोट लिइरहेकी थिइन्। तर यसपटक मुस्लिमहरूले स्वतन्त्र रूपमा भोट हालेका छन्। आईएसएफ र हुमायूँ कबीरको पार्टीले सिट पाउनुले मुस्लिम भोट बाँडिएको प्रस्ट पार्छ।’
तर जादवपुर युनिभर्सिटीका राजनीति विज्ञानका प्राध्यापक अब्दुल मतीन मुस्लिम भोटमा विभाजन भएको कुरा मान्दैनन्।
प्राध्यापक मतीन भन्छन्, ‘यो त मुस्लिमहरूलाई नै भिलेन बनाउने कुरा हो। मुस्लिमहरूले आईएसएफका बलिया उम्मेदवारलाई भोट दिए, केही सिटमा हुमायूँ कबीरको पार्टीलाई दिए। ओवैसीको पार्टीले हजार भोट पनि पाएको छैन। यस्तो अवस्थामा हामी मुस्लिमहरूको भोट बाँडियो भन्न सक्दैनौँ।’
प्राध्यापक मतीन थप्छन्, ‘ममताले पश्चिम बंगालमा हिन्दुत्वको राजनीतिलाई हराउन हिन्दुत्वकै बाटो अपनाएकी थिइन्। ममताले वक्फ बिलविरुद्ध विरोध प्रदर्शन हुन दिएकी थिइनन्। बीजेपीको डरले मुस्लिमहरूले ममतालाई आजीवन भोट दिन सक्दैनन्। यदि ७० प्रतिशत हिन्दू भोट एउटै पार्टीलाई जान्छ भने बाँकी के पो रहन्छ र ? यसका बाबजुद, बीजेपीको पक्षमा गएको हिन्दू भोट साम्प्रदायिक नै थियो भनेर म ठोकुवा गर्न सक्दिनँ। यसको ठुलो हिस्सा साम्प्रदायिक हुन सक्छ, तर बाँकी भोट ममताको कुशासनविरुद्ध पनि थियो।’
सन् २०१६ मा बीजेपीले केवल ३ सिटमा जित हासिल गरेको थियो भने सन् २०२१ मा ७७ सिटमा जित हात पार्यो। सन् २०१६ को पश्चिम बंगाल विधानसभा चुनावमा बीजेपीको भोट प्रतिशत करिब १० प्रतिशत थियो।
सन् २०१९ को लोकसभा चुनावमा बीजेपीको भोट प्रतिशतले ४० प्रतिशतको आँकडा पार गर्यो। बीजेपीले सन् २०२१ को विधानसभा चुनावमा ३८.१ प्रतिशत भोट पाएको थियो। यसपटक बीजेपीको भोट प्रतिशत ४५ प्रतिशत पार हुने देखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण