सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

धनगढीमा हुने भेलामा कांग्रेसले के गर्दै छ ?

मङ्गलबार, २२ वैशाख २०८३, ०८ : २५
मङ्गलबार, २२ वैशाख २०८३

सारांश

  • नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशमा पार्टीको सङ्गठन सुदृढीकरण, निर्वाचनको समीक्षा र आगामी कार्यदिशा तय गर्न धनगढीमा दुई दिने बृहत् भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्दैछ।
  • कार्यक्रमको पहिलो दिन निर्वाचनको सूक्ष्म समीक्षा गरिनेछ भने दोस्रो दिन निर्वाचित जनप्रतिनिधिलाई स्थानीय सरकारको कार्यसम्पादन, सुशासन र कांग्रेसको नीति जनतासम्म पुर्‍याउने विषयमा प्रशिक्षण दिइनेछ।
  • भेलामा पार्टी सभापति गगन कुमार थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल लगायतका शीर्ष नेताहरूको सहभागिता रहनेछ।

धनगढी । नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशमा पार्टीको सङ्गठन सुदृढीकरण, निर्वाचनको समीक्षा र आगामी कार्यदिशा तय गर्न आगामी २६ र २७ गते प्रदेश राजधानी धनगढीमा दुई दिने बृहत् भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ।

पार्टीका सह–महामन्त्री प्रकाश स्नेही रसाइलीका अनुसार, गएको निर्वाचनमा पार्टीले हासिल गरेको परिणाम, कमजोरी भएका क्षेत्रहरू र आगामी दिनमा पार्टीलाई वैचारिक तथा सङ्गठनात्मक रूपमा कसरी अगाडि बढाउने भन्ने विषयमा केन्द्रित रहेर यो कार्यक्रम आयोजना गर्न लागिएको हो।

कार्यक्रमको पहिलो दिन अर्थात् २६ गते धनगढीको वडा नं ४ स्थित सौराई हलमा सभापति गगन कुमार थापाले भेलाको उद्घाटन गर्नेछन्। सो सत्रमा सुदूरपश्चिमका १६ वटै निर्वाचन क्षेत्रका प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारहरू विजयी र पराजित दुवै, क्षेत्रीय सभापतिहरू, जिल्ला सभापतिहरू, स्थानीय तहका जनप्रतिनिधिहरू र पालिकाका सभापतिहरूको सहभागिता रहनेछ। पहिलो दिनको मुख्य उद्देश्य निर्वाचनको सूक्ष्म समीक्षा गर्दै आगामी दिनका लागि राजनीतिक रणनीति तयार पार्नु रहेको छ।

दोस्रो दिन अर्थात् २७ गतेको कार्यक्रम नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान (एकेडेमी)को समन्वयमा सञ्चालन हुनेछ। यस दिन कांग्रेसबाट निर्वाचित स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र प्रदेश सांसदहरूलाई विशेष प्रशिक्षण दिइनेछ। प्रशिक्षणमा स्थानीय सरकारको कार्यसम्पादन, सुशासन, प्रदेश र स्थानीय सरकारबीचको समन्वय र कांग्रेसको नीतिलाई जनताको घरदैलोसम्म पुर्‍याउने विषयमा छलफल हुनेछ।

भेलामा पार्टी सभापति गगन कुमार थापा पनि सहभागी हुनेछन्। यस्तै पार्टीका नेता विश्वप्रकाश शर्मा, प्रदीप पौडेल लगायतका शीर्ष नेताहरू २६ गते बिहान नै धनगढी पुग्ने कार्यक्रम छ। २७ गते बिहान शीर्ष नेताहरूले ९ वटै जिल्लाका पार्टी पदाधिकारी र कार्यकर्ताहरूसँग समसामयिक राजनीतिक विषयमा छुट्टै अन्तरक्रिया समेत गर्ने सह–महामन्त्री रसाइलीले जानकारी दिए।

 

समाचारमा यसअघि असावधानीबस् परेका केही नाम हटाएर सुधार गरिएको छ । –सम्पादक

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप