सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

कार दुर्घटनामा तमिल फिल्म निर्माता आरबी चौधरी र मलयालम अभिनेता नायरको निधन

बुधबार, २३ वैशाख २०८३, ०९ : ३०
बुधबार, २३ वैशाख २०८३

सारांश

  • दक्षिण भारतीय चलचित्र उद्योगका प्रख्यात निर्माता आर.बी. चौधरीको उदयपुर नजिकै भएको कार दुर्घटनामा निधन भएको छ।
  • सोही दिन मलयालम अभिनेता सन्तोष के. नायरको पनि छुट्टै कार दुर्घटनामा ज्यान गएको छ।
  • निर्माता चौधरीले सन् १९८८ देखि 'सुपर गुड फिल्म्स' ब्यानर अन्तर्गत थुप्रै स्मरणीय फिल्महरू निर्माण गरेका थिए।

चेन्नई । दक्षिण भारतीय चलचित्र उद्योगका प्रख्यात निर्माता एवं तमिल स्टार जीवाका पिता आर.बी. चौधरीको उदयपुरनजिकै भएको कार दुर्घटनामा निधन भएको छ। मंगलबार भएको उक्त सडक दुर्घटनामा उनको निधन भएसँगै चलचित्र जगतमा शोकको लहर छाएको छ।

दुःखद कुरा, सोही दिन अर्को छुट्टै कार दुर्घटनामा मलयालम अभिनेता सन्तोष के. नायरको पनि ज्यान गएको छ। एकै दिन दुई फरक–फरक सडक दुर्घटनामा फिल्म क्षेत्रका दुई प्रभावशाली व्यक्तित्व गुमाउनुपर्दा सिङ्गो चलचित्र उद्योग गहिरो सदमामा परेको छ।

निर्माता चौधरीले सन् १९८८ देखि ‘सुपर गुड फिल्म्स’ ब्यानर अन्तर्गत फिल्महरू निर्माण गर्दै आएका थिए। उनको निर्माणमा बनेको पहिलो तमिल फिल्म ‘पुधु वसन्तम’ थियो, जसबाट निर्देशक विक्रमले डेब्यु गरेका थिए। यो फिल्मले तमिलनाडु स्टेट फिल्म अवार्डसमेत जितेको थियो।

उनले के.एस. रविकुमारको पहिलो फिल्म ‘पुरियादा पुधिर’ लाई पनि लगानी गरेर स्थापित हुन सघाएका थिए। उनले आफ्नो व्यावसायिक यात्रामा चेरन पाण्डियन, ऊर मरियाधई, गोकुलम, नट्टमई, सुन्दर पुरुषन, मिस्टर रोमियो, सूर्यवंशम, आनन्दम, कीर्ति चक्र, जिल्ला, गडफादर र हालै प्रदर्शनमा आएको ‘मारीसन’ जस्ता थुप्रै स्मरणीय फिल्महरू दर्शकमाझ ल्याएका थिए।

दुर्घटनामा परेका अन्य व्यक्तिहरूको अवस्था र उनीहरूलाई लागेको चोटपटकका बारेमा थप विवरण सार्वजनिक भइसकेको छैन। चौधरीको अन्तिम संस्कार छिट्टै चेन्नेईमा गरिने बताइएको छ। उनी आफ्ना पछाडि श्रीमती महजबीन तथा छोराहरू जीवा, रमेश र अशोकलाई छोडेर गएका छन्।

चौधरीको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै एजीएस इन्टरटेनमेन्टका अर्चना कल्पथीले सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, ‘आरबी सर अब हाम्रो बीचमा रहनुभएन भन्ने सुन्दा स्तब्ध भएकी छु। चलचित्र उद्योगले धेरै ब्लकबस्टर फिल्म दिने एक दिग्गज निर्माता गुमाएको छ। उनी असाध्यै असल मानिस थिए। ईश्वरले उनको परिवारलाई यो पीडा सहने शक्ति दिऊन्।’

त्यस्तै, फिल्म निर्माता बी.ए. राजुको टोलीले पनि शोक व्यक्त गर्दै भारतीय सिनेमाले कहिल्यै परिपूर्ति हुन नसक्ने क्षति बेहोरेको उल्लेख गरेको छ। उनीहरूले लेखेका छन्, ‘फिल्म निर्माता आरबी चौधरी सरको उदयपुरमा कार दुर्घटनामा निधन भएको खबर सुन्दा अत्यन्तै दुःख लागेको छ। भारतीय सिनेमामा विशेष गरी दशकौँसम्म यादगार फिल्महरू सिर्जना गर्न उनले पुर्‍याएको ठूलो योगदान सधैँ स्मरण गरिनेछ। यो दुःखद घडीमा उनको परिवार र प्रियजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप