प्रतिष्ठानलाई बौद्धिक केन्द्र बनाउने शर्माको उद्घोष, सातै प्रदेशमा प्रशिक्षण हुने
सारांश
- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानलाई पार्टीको बौद्धिक केन्द्रका रूपमा विकास गर्ने घोषणा गरेका छन्।
- प्रतिष्ठानले पार्टीको आगामी रणनीतिमा केन्द्रित कार्यक्रम सञ्चालन गर्ने र सातै प्रदेशमा विशेष प्रशिक्षण तथा अन्तक्रिया कार्यक्रम गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।
- उपसभापति शर्माले प्रतिष्ठानको उप-प्रमुखमा मधु आचार्यको नाम प्रस्ताव गरेका छन् र जेठ ३ गते कार्यविभाजन टुङ्गिने जानकारी दिएका छन्।
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति एवं नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले प्रतिष्ठानलाई पार्टीको बौद्धिक केन्द्रका रूपमा विकास गर्ने घोषणा गरेका छन्।
ललितपुरको सानेपामा बुधबार बसेको प्रतिष्ठानको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले नेपाली समाजमा उब्जिएका समसामयिक प्रश्नहरूको पहिचान गरी तिनको सम्बोधनका लागि उचित रणनीति निर्माण गर्न यो संयन्त्र सधैँ क्रियाशील रहने बताएका हुन् ।
मुलुकको समुन्नति र लोकतान्त्रिक प्रणालीको सबलीकरणका लागि पार्टीभित्र नवीन सम्भावनाहरूको खोजी र विकास गर्नुपर्नेमा उपसभापति शर्माले जोड दिए। ७० वर्षभन्दा लामो गौरवशाली राजनीतिक इतिहास बोकेको पार्टीले वर्तमान समयका विशिष्ट चुनौतीहरूलाई चिर्दै नयाँ ढंगले अघि बढ्नुपर्ने उनको भनाइ छ।
मधु आचार्य उप-प्रमुखमा प्रस्तावित, जेठ ३ मा कार्यविभाजन टुङ्गिने
बैठकमा उपसभापति शर्माले प्रतिष्ठानको उप-प्रमुखका रूपमा पार्टीका केन्द्रीय कार्यसमिति सदस्य मधु आचार्यको नाम प्रस्ताव गरेका छन्। प्रतिष्ठानको कामकारबाहीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन आगामी जेठ ३ गते बस्ने बैठकले कार्यकारी निर्देशक, निर्देशकहरू नियुक्त गर्ने र सदस्यहरूको रुचिअनुसारको कार्यविभाजन टुङ्गो लगाउने जानकारी उनले दिए।
पार्टीको आगामी रणनीतिबारे बोल्दै उपसभापति शर्माले विगतका कार्यक्रमहरू ‘निर्वाचनमा किन पराजय भयो’ भन्ने समीक्षामा मात्रै सीमित हुने गरेकोमा अबका कार्यक्रमहरू ‘आगामी निर्वाचन कसरी जित्ने’ भन्ने ठोस रणनीतिमा केन्द्रित हुने स्पष्ट पारे।
स्थानीय तह र प्रदेश सरकारका उपलब्धिहरूको मसिनो समीक्षा गर्दै आगामी बजेट र नीति कार्यक्रमका सन्दर्भमा पार्टीका तर्फबाट सहजीकरण गर्न प्रतिष्ठानले देशका सातै प्रदेशमा विशेष प्रशिक्षण तथा अन्तक्रिया कार्यक्रम सञ्चालन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।
सातै प्रदेशको प्रशिक्षण कार्यतालिका यस्तो छ:
- सुदूरपश्चिम प्रदेश (कैलाली): वैशाख २६ र २७ गते
- कर्णाली प्रदेश (सुर्खेत): वैशाख २८ र २९ गते
- गण्डकी प्रदेश (कास्की): वैशाख ३१ र जेठ १ गते
- वागमती प्रदेश (काभ्रेपलाञ्चोक): जेठ ४ र ५ गते
- मधेस प्रदेश (महोत्तरी): जेठ ६ र ७ गते
- कोशी प्रदेश (सुनसरी): जेठ ८ र ९ गते
- लुम्बिनी प्रदेश (रुपन्देही): जेठ १४ र १५ गते
उपसभापति शर्माले पार्टीको विशेष महाधिवेशनपश्चात विकसित परिस्थिति र नवीन चरणलाई व्यवस्थित ढंगले सम्पादन गर्ने प्रमुख जिम्मेवारी केन्द्रीय कमिटीको काँधमा रहेको बताए। निर्वाचनमा पार्टीले सोचेजस्तो परिणाम ल्याउन नसके पनि १७ लाख मतदाताले काँग्रेसप्रति देखाएको अटुट विश्वासलाई कमजोर ठान्न नहुने उनको तर्क छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वाद र सुगन्धले चर्चित जोरायले बासमती पुनः किसानको रोजाइमा
-
झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन
-
भन्सालीको ‘लभ एन्ड वार’ को सेटमा भयानक दुघर्टना, एक जनाको मृत्यु
-
टिपर दुर्घटनामा चालकको मृत्यु
-
पूर्वप्रधानन्यायाधीश पराजुली भन्छन्, ‘न्यायाधीशलाई गोलाप्रथाबाट मुद्दा तोक्ने व्यवस्था संविधानसम्मत छैन’
-
‘झिंगे दाउ २’ असोजमा रिलिज हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण