सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
बुटवलमा प्रदर्शन

बुटवलमा सुकुमबासीको प्रदर्शन – लालपुर्जा होइन, डोजर दिने सरकार अवैध

बिहीबार, २४ वैशाख २०८३, १८ : १२
बिहीबार, २४ वैशाख २०८३

सारांश

  • सुकुमबासी बस्तीमा डोजर चलाइएपछि बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले प्रदर्शन गरेका छन् ।
  • प्रदर्शनकारीहरूले लालपुर्जा वितरण गर्नुपर्ने बेला सरकार डोजर आतंक मच्चाउन लागेको भन्दै विरोध जनाए ।
  • रुपन्देहीमा ७९ हजार २६१ घरपरिवारले लालपुर्जाका लागि निवेदन दिएका छन् ।

बुटवल । सुकुमबासी बस्तीमा डोजर चलाइएपछि बुटवलमा आज भूमिहीन तथा सुकुमबासीहरूले प्रदर्शन गरेका छन् ।

आन्दोलनका अगुवाहरूले सरकार मानवीय संवेदनशीलता बेवास्ता गर्दै 'निरंकुश शैलीमा अघि बढेको आरोप लगाए ।

नेपाल भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबास संघर्ष समिति रुपन्देहीको आयोजनामा बुटवलको राजमार्ग चौराहाबाट सुरु भएको र्‍याली ट्राफिक चोक पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनमा सहभागीहरूले लालपुर्जा वितरण गर्नुपर्ने बेला सरकार डोजर आतंक मच्चाउन लागेको भन्दै विरोध जनाए । उनीहरूले डोजर अभियान नरोकिए थप सशक्त आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् ।

कोणसभालाई सम्बोधन गर्दै संघर्ष समितिका सल्लाहकार विरेन्द्र विकले आफूहरूले दिएको मत सदर हुने तर बसोबासमाथि डोजर चलाउने सरकार नै अवैध भएको टिप्पणी गरे । उनले सरकारले मानवताको ख्याल नगरी ठाउँ–ठाउँमा डोजर आतंक मच्चाएको आरोप लगाए ।

संघर्ष समितिका रुपन्देही संयोजक खगेन्द्र पौडेलले बुटवलमा रोकिएको लालपुर्जा वितरण प्रक्रिया तत्काल सञ्चालन गर्न माग गरे । उनले बुटवल–रानीगञ्ज औद्योगिक क्षेत्र नजिक रहेका २७ घरपरिवारलाई हटाउने प्रयास स्वीकार्य नहुने भन्दै सोही स्थानमा व्यवस्थापन नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी दिए ।

रुपन्देहीमा भूमिहीन तथा अव्यवस्थित बसोबासीको संख्या अत्यधिक रहेको तथ्यांकले देखाएको छ । भूमि आयोग रुपन्देहीका अध्यक्ष कुमार थापाका अनुसार जिल्लामा लालपुर्जाका लागि ७९ हजार २६१ घरपरिवारले निवेदन दिएका छन् । तीमध्ये भूमिहीन दलित ३ हजार ७६, भूमिहीन सुकुमबासी ६ हजार ७६१ तथा अव्यवस्थित बसोबासी ६९ हजार ४२६ परिवार रहेका छन् ।

सबैभन्दा धेरै बुटवल उपमहानगरपालिकामा १६ हजार ८७४ परिवारले लालपुर्जा पाएका छैनन् । त्यस्तै सैनामैना नगरपालिकामा १६ हजार १४२, देवदह नगरपालिकामा १४ हजार ३०, कञ्चन गाउँपालिकामा १२ हजार ४०२, तिलोत्तमा नगरपालिकामा ८ हजार २९२ तथा गैँडहवा गाउँपालिकामा ४ हजार ५०६ परिवार लालपुर्जाको प्रतीक्षामा छन् ।

प्रदर्शनमा बुटवल तथा आसपासका क्षेत्रका ठुलो संख्यामा भूमिहीन र सुकुमबासीहरूको सहभागिता रहेको थियो ।

butwal-strike (3)butwal-strike (9)butwal-strike (2)butwal-strike (1)butwal-strike (5)butwal-strike (4)butwal-strike (7)butwal-strike (8)butwal-strike (6)butwal-doger

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप