भारतीय निजी अन्तरिक्ष क्षेत्रमा नयाँ इतिहास : स्काइरुट एरोस्पेस डलर अर्बपति क्लबमा सामेल
काठमाडाैँ। हैदराबादस्थित स्काइरुट एरोस्पेस भारतको पहिलो एक अर्ब डलरभन्दा बढी मूल्याङ्कन भएको निजी अन्तरिक्ष कम्पनी बनेको छ। सिङ्गापुरको सार्वभौम कोष जीआईसी र सिलिकन भ्यालीमा आधारित शेर्पालो भेन्चर्सबाट ६ करोड डलर थप लगानी प्राप्त गरेसँगै यो सफलता हात परेको हो ।
विश्व प्रसिद्ध लगानी व्यवस्थापन कम्पनी ब्ल्याकरकले समेत यस चरणको कोष सङ्कलनमा सहभागिता जनाएको छ । योसँगै स्काइरुटले अहिलेसम्म जम्मा १६ करोड डलर पुँजी जुटाएको जानकारी बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।
सन् २०२२ मा भारतको पहिलो निजी विकासको रकेट प्रक्षेपण गरेको यस कम्पनीको वर्तमान बजार मूल्याङ्कन १.१ अर्ब डलर पुगेको छ । भारतीय अन्तरिक्ष सङ्घका महानिर्देशक अवकाशप्राप्त लेफ्टिनेन्ट जनरल एके भट्टले यस लगानी र लगानीकर्ताहरूको उपस्थितिले भारतको अन्तरिक्ष क्षेत्रको विश्वसनीयताका बारेमा विश्वव्यापी लगानीकर्ताहरूलाई ‘बलियो सङ्केत’ दिएको बताएका छन् ।
भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले लगातार कक्षीय प्रक्षेपणमा असफलता भोगिरहेका बेला स्काइरुटले देशको पहिलो निजी कक्षीय रकेट विक्रम–१ को पहिलो प्रक्षेपणको तयारी गरिरहेको छ ।
सन् २०१८ मा स्थापना भएको स्काइरुटले सन् २०२० मा सरकारले निजी क्षेत्रका लागि ढोका खोलेपछि इसरोको प्रक्षेपण र परीक्षण सुविधाहरू प्रयोग गर्न सम्झौता गर्ने पहिलो स्टार्टअपको रूपमा पहिचान बनाएको थियो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा सह–संस्थापक पवन कुमार चन्दनाले थोरै देश वा निजी कम्पनीहरूसँग मात्र रकेट प्रक्षेपण गर्ने क्षमता भएको हुँदा यो क्षमता निकै महत्त्वपूर्ण रहने बताएका छन्। उनले भनेका छन्, ‘यसले भारतमा थप लगानी प्रवर्द्धन गर्नेछ।’
गुगलको सुरुवाती चरणका लगानीकर्ताका रूपमा चिनिएका शेर्पालो भेन्चर्सका संस्थापक राम श्रीराम अब स्काइरुटको सञ्चालक समितिमा सामेल हुनेछन्। प्राप्त नयाँ लगानीलाई स्काइरुटले विक्रम–१ को प्रक्षेपण सङ्ख्या बढाउन, उत्पादन क्षमता विस्तार गर्न र विक्रम–२ को विकासलाई अघि बढाउन प्रयोग गर्ने योजना बनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धमा मध्यस्थ भूमिका खेलेको पाकिस्तानले पाउला त आर्थिक लाभ ?
-
डेन्टल क्लिनिकमा अवैध जनशक्तिको बिगबिगी, छानबिन गरी खारेज गर्न एशोसिएशनको माग
-
प्रेमीसँग मिलेर हुनेवाला पतिको हत्या आरोप
-
१ अर्ब ८७ करोडको बजेट ल्याउँदै जितपुर सिमरा उपमहानगर
-
यी बानीले तपाईंलाई बनाइरहेछ समयभन्दा पहिले बुढो
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण