शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

कामु प्रधानन्यायाधीश मल्लको टिप्पणी : ‘एउटालाई खाने बाघले अर्कोलाई नखाला भन्न सकिन्न’

शनिबार, २६ वैशाख २०८३, १७ : ३९
शनिबार, २६ वैशाख २०८३

सारांश

  • कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले विधि र वैधानिक परम्पराको हत्या गरेर स्वार्थ प्रेरित कार्य भइरहेको टिप्पणी गरेकी छिन् ।
  • उनले कार्यपालिका र व्यवस्थापिकाले न्यायपालिकामाथि गरिरहेको हस्तक्षेप र दबाबलाई सङ्केत गर्दै ‘एउटालाई खाने बाघले अर्कोलाई नखाला भन्न सकिन्न’ भनेकी छिन् ।
  • उनले डर र प्रभावमा न्याय सम्भव नभएको भन्दै न्यायाधीशहरूलाई निर्भीक र निडर भई अघि बढ्न आह्वान गरिन् ।

काठमाडौँ । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले विधि र वैधानिक परम्पराको हत्या गरेर कुनै स्वार्थ प्रेरित कार्यका लागि काम भइरहेको भन्दै टिप्पणी गरेकी छिन् । बिहीबार मात्रै संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा भएको सिफारिस तर्फ इङ्गित गर्दै उनले उक्त टिप्पणी गरेकी हुन् ।

कानुन दिवसको अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै उनले  राज्यका अन्य अङ्गहरू, खास गरी कार्यपालिका र व्यवस्थापिकाले न्यायपालिकामाथि गरिरहेको हस्तक्षेप र दबाबलाई सङ्केत गर्दै भनेकी छिन्- ‘एउटालाई खाने बाघले अर्कोलाई नखाला भन्न सकिन्न।’ कामु प्रधानन्यायाधीश मल्लको भनाइले सत्ताको उन्मादमा रहेका र शक्तिको आडमा विधिको शासनलाई मिच्न खोजेको भन्दै इङ्गित गरेकी हुन् ।

उनको तर्क छ, ‘यदि आज कसैले आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न न्यायपालिकालाई कमजोर बनाउँछ, न्यायाधीशलाई महाभियोगको धम्की दिन्छ वा प्रक्रिया मिचेर निर्णय गर्छ भने त्यो प्रवृत्ति (बाघ) भोलि उसैको विरुद्ध पनि फर्कन सक्छ।’ 

आज अरूलाई सिध्याउन प्रयोग गरिएको ‘अस्त्र’ भोलि आफू सत्ता बाहिर हुँदा आफैँलाई सिध्याउन प्रयोग हुने चेतावनी समेत उनले दिइन् ।

‘संरचना भत्काएर परिवर्तन रोज्ने बहाना खोजेर आफ्नो परिवेशको उत्कृष्टता स्थापना गर्ने प्रयासले सत्तामा रहनेको धित त मर्ला, तर विधि र विधि संगतको अपेक्षा राख्नेको सपना भङ्ग हुने तय छ,’ उनले भनिन्, ‘विधि र वैधानिक परम्पराको हत्या गरेर गरिने स्वार्थ प्रेरित कार्यहरूले निरंकुशताको झझल्को पनि दिन्छ । औचित्यताको नाममा विधिमा छेडखानी गर्ने कार्य स्वेच्छाचारिता, शासकको स्वाभाविक भए पनि विधिको शासनमा विश्वास गर्नका लागि सैह्य हुँदैन ।’

उनले अब डर र प्रभावमा न्याय सम्भव नभएको भन्दै जस्तोसुकै परिस्थितिमा पनि आफू निर्भीक र निडर रहेको बताइन् । विशेष गरी ‘दुई तिहाइको सरकारको डर’ र ‘महाभियोगको त्रास’ देखाएर न्याय सम्पादनमा प्रभाव पार्न खोजिएको तर्फ इङ्गित गर्दै उनले न्यायाधीशहरूलाई कुनै पनि परिस्थितिमा नडराई अदम्य साहसका साथ अघि बढ्न आह्वान गरिन् । उनले डर र प्रभावमा अब न्याय सम्भव नभएको समेत बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप