शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

उत्तर कोरियाको संविधानमा नयाँ प्रावधानः किम जोङको हत्या भए तत्काल परमाणु हमला गर्ने

आइतबार, २७ वैशाख २०८३, १९ : १९
आइतबार, २७ वैशाख २०८३

सारांश

  • उत्तर कोरियाले आफ्नो संविधानमा नयाँ प्रावधान थपेको छ जसमा सर्वोच्च नेता किम जोङ-उनको हत्या वा नेतृत्व गर्न नसक्ने अवस्था आएमा तत्काल परमाणु हमला गरिनेछ ।
  • यो परिवर्तन इरानमा भएको हमलापछि गरिएको हो, जसले उत्तर कोरियालाई भविष्यमा यस्तै 'डिक्यापिटेसन स्ट्राइक' को डरले सताएको छ ।
  • रक्षा विज्ञहरूका अनुसार इरानमा भएका हमलाहरूले उत्तर कोरियाको नेतृत्वलाई स्तब्ध पारेको छ र यसलाई संविधानको हिस्सा बनाइएकाले यसको महत्त्व बढेको छ ।

प्योङयाङ । उत्तर कोरियाले आफ्नो संविधान र आणविक नीतिमा ठुलो परिवर्तन गर्दै नयाँ प्रावधान थपेको छ । 

अब देशका सर्वोच्च नेता किम जोङ–उनको हत्या भए वा कुनै विदेशी हमलाका बेला उनी नेतृत्व गर्न नसक्ने अवस्थामा पुगे उत्तर कोरियाले तत्काल परमाणु हमला गर्नेछ । 

ब्रिटिश अखबार द टेलिग्राफको रिपोर्टअनुसार यो परिवर्तन गत मार्चमा इरानको राजधानी तेहरानमा अमेरिका र इजरायलले गरेको हमलापछि गरिएको हो । ती हमलामा इरानका सर्वोच्च नेता अली खामेनी र धेरै वरिष्ठ इरानी अधिकारीहरूको मृत्यु भएको थियो । 

दक्षिण कोरियाली गुप्तचर निकायका अनुसार यी हमलाहरूले प्योङयाङलाई सोच्न बाध्य बनाएको छ र उत्तर कोरियालाई भविष्यमा यस्तै 'डिक्यापिटेसन स्ट्राइकु (शीर्ष नेतृत्वलाई समाप्त पार्ने हमला) आफ्नोविरुद्ध पनि हुन सक्ने डरले सताउन थालेको छ । 

यो नयाँ प्रावधान मार्च २२ मा प्योङयाङमा सुरु भएको १५औँ सर्वोच्च जनसभाको पहिलो सत्रका क्रममा अपनाइएको थियो । पछि दक्षिण कोरियाको नेसनल इन्टेलिजेन्स सर्भिसले वरिष्ठ सरकारी अधिकारीहरूलाई यस परिवर्तनबारे जानकारी गराएको थियो । 

किन परिवर्तन गरियो आणविक नीति ?

रक्षा विज्ञहरूका अनुसार इरानमा भएका हमलाहरूले उत्तर कोरियाको नेतृत्वलाई स्तब्ध पारेको छ । हमलाको तीव्र हमाला देखेर प्योङयाङलाई विदेशी शक्तिहरूले किम जोङ(उन र उत्तर कोरियाली सैन्य नेतृत्वविरुद्ध पनि यस्तै किसिमको अभियान चलाउन सक्छन् भन्ने लागेको छ । 

सियोलस्थित कूकमिन विश्वविद्यालयका इतिहास तथा अन्तर्राष्ट्रिय सम्बन्धका प्रोफेसर आन्द्रेई लाङ्कोवले सञ्चारमाध्यमसँग कुरा गर्दै इरानमा भएको घटना उत्तर कोरियाका लागि एउटा ठुलो चेतावनी संकेत भएको बताएका छन् । उनले भनेका छन्, 'इरान एउटा वेक–अप कल थियो । उत्तर कोरियाले अमेरिका र इजरायलका डिक्यापिटेसन हमला कति प्रभावकारी थिए, जसले तत्काल इरानी नेतृत्वको ठुलो हिस्सालाई समाप्त पारिदियो भन्ने देख्यो । र उत्तर कोरिया धेरै डराएको हुन सक्छ ।' 

उनले यस्तो नीति पहिले अनौपचारिक रूपमा अस्तित्वमा रहेको हुन सक्ने, तर अब यसलाई संविधानको हिस्सा बनाइएकाले यसको महत्त्व बढेको पनि बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप