बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
बहस

सङ्कटमा कम्युनिस्ट आन्दोलन : कहाँ चुक्यो, के गर्ने ?

चालु व्यवस्थाका शासक उत्पादन गर्ने मसिन जस्ता भए नेपालका कम्युनिस्ट पार्टीहरू, अब यो थितिलाई फेर्नै पर्छ
सोमबार, २८ वैशाख २०८३, ११ : ५६
सोमबार, २८ वैशाख २०८३

सारांश

  • नेपाली कम्युनिस्ट आन्दोलन पछिल्लो निर्वाचन परिणामपछि निराशा र छटपटीमा छ, जसको पुनर्जागरणका लागि वस्तुनिष्ठ विश्लेषण, समीक्षा र पुनर्गठन आवश्यक छ ।
  • कम्युनिस्ट पार्टीहरूले गणतन्त्र प्राप्तिको गौरवमा रमाएर नवउदारवादको निर्बाध प्रयोग र विश्व पुँजीवादबारे बेखबर रहँदा जनताका अपेक्षा पूरा गर्न सकेनन् ।
  • कम्युनिस्ट आन्दोलनको पुनर्जागरणका लागि विचारधारात्मक, साङ्गठनिक, कार्यक्रमिक र जनपरिचालनको तयारी गरी पुँजीवादसँगको वर्गसङ्घर्षलाई प्रभावकारी बनाउनुपर्छ ।

पछिल्लो निर्वाचन परिणाम पछि नेपाली कम्युनिस्ट आन्दोलनको पुनर्जागरणका सन्दर्भमा धेरै कोणबाट छलफल भइरहेका छन् । कतिपयमा निराशा, कतिपयमा छटपटी, कतिपयमा अहिलेका सत्ताधारी छिट्टै बदनाम हुन्छन् अनि हाम्रो पालो आउँछ भन्नेजस्ता भावहरू रहेको पाइन्छ । संसद्मा ठुला भएर सत्तामा आएका कम्युनिस्ट पार्टीहरू कम्युनिस्ट त परै जाओस् वाम पार्टीका रूपमा समेत थिएनन् । त्यसैले अब चाहिँ वास्तविक कम्युनिस्ट पुनर्जागरणको बेला आयो भन्नेहरू पनि छन् ।

दुनियाँको इतिहासले के बताउँछ भने क्रान्तिकारी आन्दोलन थुप्रै गल्ती, समस्या, अप्ठ्यारा र हारहरूका उतार–चढावबाटै अगाडि बढ्छ । यसरी नै क्रान्ति निर्माण भइरहेको हुन्छ । चे ग्वेभेरा भन्छन्, ‘क्रान्तिले गति गुमाएको बेला हामीले फेरि विश्लेषण गर्नुपर्छ, हाम्रा समस्याहरू बारे समीक्षा गर्नुपर्छ, शक्तिहरूलाई पुनर्गठन गर्नुपर्छ र अगाडिको बाटो तय गर्नुपर्छ ।’

यसर्थ नेपाली कम्युनिस्ट आन्दोलनको साँचो र प्रभावकारी पुनर्जागरणका लागि पनि वर्तमान परिस्थितिको वस्तुनिष्ठ विश्लेषण, समीक्षा र पुनर्गठनको नयाँ यात्रा आवश्यक छ ।

  • निशानामा कम्युनिस्ट आन्दोलन

०६२/०६३ को परिवर्तनका राजनीतिक अगुवा मूलतः नेपालका कम्युनिस्ट पार्टीहरू हुन् । जे संविधान बन्यो त्यसको प्रमुख अंशियार पनि कम्युनिस्ट पार्टीहरू नै हुन् । यो अवधिमा सरकार सञ्चालनको मुख्य हिस्सा पनि कम्युनिस्ट पार्टीहरू नै हुन् । प्रधानमन्त्री र मन्त्रीहरू पनि ज्यादा कम्युनिस्ट पार्टीले नै दिएको छ । पछिल्लो दश वर्ष मध्ये आठ वर्ष त कम्युनिस्ट पार्टीका नेताहरू प्रधानमन्त्री भएका छन् ।

यसरी हेर्दा नेपाली समाजको पछिल्लो करिब दुई दशकको मुख्य राजनीतिक अगुवा कम्युनिस्टहरू नै हुन् । तर, यति विघ्न अवसर पाउँदा पनि कम्युनिस्ट शक्तिले समाजका समस्या समाधानको भरपर्दो उपचार प्रस्तुत गर्न सकेनन् । त्यस्तो प्रयत्नै भएन, जसले आम मान्छेको खासगरी श्रमजीवी वर्गको आक्रोशको निशानामा कम्युनिस्टहरू परे ।

कम्युनिस्ट पार्टीहरू आसन्न चुनाव र त्यसको यान्त्रिक जीतलाई मात्र ध्यान दिने संसदीय चुनावमा टाक्सिन पुगे । फलस्वरूप आर्थिक सामाजिक रूपान्तरणका आन्दोलनबाट, र श्रमजीवी जनताका सुख–दुःखबाट नराम्रोसँग टाढिए ।

कम्युनिस्ट आन्दोलन मुख्य रूपमा साम्राज्यवाद विरोधी आन्दोलन हो । तसर्थ यो भनिरहनै पर्दैन कि साम्राज्यवाद पनि यसै लोकतन्त्रको खिलाफमा र अझ कठोर रूपमा मुक्तिकामी कम्युनिस्ट आन्दोलनको खिलाफमा रहन्छ । तर, ज्ञान, सङ्गठन, नेतृत्व, नीतिमा हुने साम्राज्यवादी हमलाका बारेमा कम्युनिस्ट आन्दोलनले यथोचित सतर्कता नअपनाउँदा वा अपनाउन नसक्दा समाजवादी आन्दोलन र प्रयत्नले धक्का खाएका थुप्रो उदाहरण छन् । त्यसमध्ये नेपाली कम्युनिस्ट आन्दोलन पनि महत्त्वपूर्ण पाठ भएको छ ।

किन कम्युनिस्ट पार्टीले जनताका अपेक्षामा काम गर्न सकेन त ? किन आक्रोशको निशानामा पर्‍यो त ? यसका अनेक कारणमध्ये महत्त्वपूर्ण र केन्द्रीय कारण नवउदारवादको निर्बाध प्रयोग हो । सरकारमा कम्युनिस्ट पार्टी र नेताको वर्चस्वका बाबजुद, योजनाका हिसाबले वर्ल्ड बैंक, आईएमएफ र तिनका प्रतिनिधिहरूले दिएका सुझावका आधारमा नवउदारवादी नीतिलाई नै बिना रोकटोक अगाडि बढाइयो ।

कम्युनिस्ट, समाजवादी, प्रजातान्त्रिक समाजवादी, उदारवादी सबै–सबै शक्तिहरूबिच नीतिगत रूपमा कुनै तात्त्विक भेद देखिएन । बरु उल्टै को चाहिँ नवउदारवादका असली सहयोगी हुन् भन्ने जस्तो प्रतिस्पर्धा नै चल्यो । यसरी कम्युनिस्ट आन्दोलनको नेतृत्वदायी हिस्सा नवउदारवादको पासोमा पर्‍यो र त्यसबाट निस्कने प्रयत्नहरू कि त आवश्यक ठानिएन, कि त कमजोर बन्दै गए । जसले गर्दा काम गरिखाने वर्गका आवश्यकता र प्राथमिकतासँग आन्दोलनको प्राथमिकता गाँसिएन । यसले, क्रान्ति लगत्तै जनताले जे अपेक्षा गरेका थिए, त्यो पुरा नहुनु स्वाभाविकै थियो ।

यस्तो बेलामा निराशा पनि स्वाभाविक हो । किनभने समाजमा नवउदारवादी आर्थिक नीति रोपेपछि विश्वभर कहीँ पनि आम जनताका जिन्दगीमा खुसीयाली छाएको छैन । अरू त अरू पुँजीवादको केन्द्रमा रहेका अमेरिकी नागरिक पनि, समृद्ध भनिएका युरोपेली सहरका मानिसहरू समेत सडकमा र गाडीमा सुत्न बाध्य छन् । एक छाक खानाका लागि परोपकारी चर्च र संस्थामा निर्भर छन् । मानसिक स्वास्थ्यबाट उम्किन विभिन्न लागुऔषधको नसामा लठ्ठिन बाध्य छन् ।

भन्नुको अर्थ पुँजीवादले दिने उपहार भनेकै– निराशा, शोषण र भोकमरी हो । उसले केटाकेटीको हातमा पुस्तक होइन, बन्दुक थमाई दिन्छ । उसले तपाईंको हातमा औषधि भन्दा सजिलो गरी लागुऔषध थमाइदिन्छ । जसका कारण योसँग भिड्ने विचारका बाहकहरू, सङ्घर्षका योद्धाहरू ‘कम्प्लिट्ली डिसएबल’ हुने परिस्थिति पैदा हुन्छ । 

यी विषयहरूमा मिहिन समीक्षा नगरी आजको लोकरिझ्याइँ आधारित सामाजिक राजनीतिक स्टण्टको जुन जगजगी छ, फासीवाद उन्मुख जे–जस्ता घटनाक्रम उजागर भएका छन्, त्यसको आधार पहिल्याउन सकिन्न ।

  • गणतन्त्रमा मक्ख, पुँजीवादबारे बेखबर

गणतन्त्र आफैँमा एउटा शासकीय व्यवस्था मात्र हो । तर, कस्तो गणतन्त्र ? कसको गणतन्त्र ? आम जनताको गणतन्त्र कि समाजका शक्तिशालीहरूको गणतन्त्र ? यसबारेमा पर्याप्त छलफल र कार्यक्रम जरुरी थियो, नेपाली कम्युनिस्टहरूको त्यता ध्यानै पुगेन ।

विचारधाराको टाटपल्टाइ सानो होस् वा ठुला सबै पार्टीमा हाबी छ । यो प्रवृत्तिसँग लडाइँ नभएको होइन, तर त्यहाँ पनि बलियो विचारधारात्मक तयारी भएन ।

हामीकहाँ पुँजीवादी गणतन्त्र आएको थियो । अर्थात् हामीकहाँ गणतन्त्र मात्र आएको थिएन, यो सँगसँगै पुँजीवाद झनै मुखर भएर आएको थियो । तसर्थ गणतन्त्र सँग–सँगै नेपालका कम्युनिस्टहरूले बदलिएको परिस्थिति अनुकूलको नयाँ सैद्धान्तिक वैचारिक, कार्यक्रमिक योजनामा लागू गर्नुपर्ने थियो । गणतन्त्र प्राप्तिको गौरवमा मक्ख परेर गणतन्त्रसँगै विकराल रूपमा आएको विश्व पुँजीवादबारे कम्युनिस्ट आन्दोलन बेखबर रहेकाले त्यस्तो हुन सकेन ।

पुँजीवाद के हो ? यसले राजनीतिक पार्टीहरूमा, त्यसको नेतृत्व र कार्यकर्ताको पङ्क्तिमा के–कस्तो प्रभाव पार्छ ? के–कस्तो भूराजनीतिक चलखेल, चुनौती र सङ्कट थोपर्छ भन्नेमा धेरै ध्यान दिन सकेनन् । फलस्वरूप त्यससँग लड्ने विचारधारात्मक तयारी गर्नबाट कम्युनिस्ट पार्टीहरू चुके । दुःखसाथ भन्नुपर्छ, चालु व्यवस्थाका शासक उत्पादन गर्ने मसिन जस्ता भए नेपालका कम्युनिस्ट पार्टीहरू । यिनीहरूको प्रमुख काम विभिन्न संसदीय वा सामुदायिक व्यावसायिक सामाजिक क्षेत्रमा हुने निर्वाचनमा टिकट दिने मात्र भयो । यिनीहरू क्रान्तिकारी रूपान्तरणको ज्ञान र नेतृत्व विकासको औजार बन्नै सकेनन् । अब यो थिति फेर्नै पर्छ ।

यसरी गणतन्त्र आफैँमा निकै महत्त्वपूर्ण उपलब्धि हुँदाहुँदै पनि यो व्यवस्था, निश्चित मानिसको वडाध्यक्ष, मेयर/उपमेयर, सांसद, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति वा यस्तै केही शासनका पद प्राप्तिमा मात्र केन्द्रित भयो । लडाइँ, झगडा, बेमेलको मूल कारण कसलाई कुन पद दिने नदिनेदेखि कसले लिने नलिनेमा कैद भयो । क्रान्तिका अगुवाहरू नै एक आपसमा मिल्न नसक्ने, मौका पाउनासाथ एक अर्कालाई झम्टन, सिद्ध्याउन तयार हुने, प्रतिबद्धताहरूलाई समेत पार्टी र राजकीय सत्ता कब्जा गर्ने गोटीका रूपमा दुरुपयोग गर्ने, सत्ता प्राप्तिका लागि एकता र कब्जाका लागि महाधिवेशन गर्ने, सामूहिकता समाप्त हुने, फरक विचारप्रति घृणा प्रकट गर्ने, असहिष्णु हुने, चाकरीलाई निष्ठा ठान्ने, प्रश्नलाई असहयोग मान्ने, निश्चित कोटरी र गुटमा मात्र भरपर्ने जस्ता प्रवृत्तिले कम्युनिस्ट पार्टी र नेताहरूलाई झन्–झन् पुँजीवादी भाषमा समाहित गर्दै लग्यो ।

कम्युनिस्ट पार्टीहरू आसन्न चुनाव र त्यसको यान्त्रिक जीतलाई मात्र ध्यान दिने संसदीय चुनावमा टाक्सिन पुगे । फलस्वरूप आर्थिक सामाजिक रूपान्तरणका आन्दोलनबाट, श्रमजीवी जनता र उनीहरुको सुख–दुःखबाट नराम्रोसँग टाढिए ।

यो वाम राजनीतिमा पुँजीवादी विचारधाराले गरेको हमला थियो । यस्तो हमला पुँजीवादी विश्व व्यवस्थामा स्वाभाविक पनि हो । यसैलाई ध्यानमा राखेर क्युबामा फिडेल क्यास्ट्रोले पुँजीवादसँगको ‘ब्याटल अफ आइडिया’ मा सिङ्गो पार्टी पङ्क्तिलाई तयार गर्न अभियान नै छेडेका थिए । उनको भनाइ थियो– आजको ज्वलन्त राजनीतिक लडाइँको छिनोफानो (समाजवाद कि पुँजीवाद) कुनै आणविक हतियार वा अस्त्रहरूले होइन, विचारको लडाइँले निर्क्योल गर्छ ।

तर, नेपाली कम्युनिस्ट आन्दोलनमा विचारको यो लडाइँको तयारी निकै कमजोर रह्यो । वर्गसङ्घर्ष चुनावमा मात्र हुन्छ, यो दैनन्दिनमा छैन भनेर पुँजीवादले निर्माण गरिदिएको भाष्यले कम्युनिस्ट पार्टीलाई समेत गाँज्यो । केही नेताहरूले त भन्दै थिए– राजनीतिक क्रान्ति पुरा भयो अब आर्थिक क्रान्ति । अब विचारको होइन, विकासका कुरा ।

खासमा कुरा के थियो भने, कस्तो आर्थिक सामाजिक रूपान्तरण, कस्तो विकास, कसको विकास ? पुँजीपति वर्गको कि श्रमजीवी वर्गको ? शासक वर्गको कि उत्पीडित समुदायको ? यसको जवाफबाट झल्किने पक्षधरताले त्यो अनुकूलको राजनीति माग गर्थ्यो । यसरी हेर्दा यो स्पष्ट विचारधारात्मक सवाल थियो ।

कतिपयले अबको विचार ‘कर्पोरेट समाजवाद’ हो भन्न पछि परेनन् । पहिला पनि भन्थे, अहिले फेरी केहीले कम्युनिस्ट पार्टीको नाम नै फेरौँ भन्न थालेका छन् । कतिले, अब समाजवाद आउँदैन ‘वेल्फेयर स्टेट’ नै सबैभन्दा राम्रो गन्तव्य हो भन्न थालेका छन् । कतिले अब ‘सेन्टर टु लेफ्ट’, ‘लेफ्ट डेमोक्रेटिक’ शक्ति निर्माणको कुरा गर्दैछन् । कतिले गरिबको राजनीति गरेर कम्युनिस्ट बिग्रिए, १७ प्रतिशत गरिबको पक्षमा कुरा गर्दा ८३ प्रतिशत गरिबीको रेखामाथि रहेको जनसङ्ख्या कम्युनिस्ट पार्टीसँग रिसायो भन्न पनि भ्याइरहेका छन् ।

यी सबै कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी विरासतलाई धुमिल्याउनका लागि, मानव समाजको वर्गसङ्घर्षलाई पुँजीवादको पक्षमा पार्न पुँजीवादले निर्माण गरिदिएको वैचारिकी हो । यस्ता नवउदारवादी विचारले भेदिएकाहरू कम्युनिस्ट आन्दोलनका अगुवा विचारक, संगठक भनिनु नेपाल कम्युनिस्ट आन्दोलनको विचारधाराको टाटपल्टाइको ज्वलन्त उदाहरण हो ।  

विचारधाराको यो टाटपल्टाइ सानो होस् वा ठुला सबै पार्टीमा हाबी छ । यो प्रवृत्तिसँग लडाइँ नभएको होइन, तर त्यहाँ पनि बलियो विचारधारात्मक तयारी भएन । मुद्दामा स्पष्ट हुनुको साटो, सैद्धान्तिक बाटो हिँड्नुको साटो कम्युनिस्ट आन्दोलनभित्रका सुधारका प्रयत्नहरूसमेत ज्यादातर नेतालाई गरिने गालीगलौजमा सीमित भए । यो पात्रको ठाउँमा त्यो पात्र भन्ने बहस प्राथमिक भयो तर नवउदारवादको नीतिसँग लड्ने– सिद्धान्त, कार्यक्रम र सामूहिकता नै कमजोर बन्न पुग्यो ।

के हामीलाई यो तीनवटा तत्त्व चाहिँदैनथ्यो ? के यसको विकासमा हामीले ध्यान दिनु पर्दैनथ्यो ? के यसका लागि अब पनि हामीले पहल लिनु पर्दैन ?

मुख्य कुरा त के थियो भने मुद्दामा स्पष्ट पार्टी निर्माणको थालनी गर्दा मुद्दाले नै नेता खोज्न थाली हाल्थ्यो । यसले कि नयाँ नेताको माग गर्थ्यो कि नेता स्वयं ठिक नीति–मुद्दामा अडिन्थ्यो । मुद्दाका भिन्नताले ल्याउने नीति र नेतृत्वसम्बन्धी बहसको रापताप यसै पनि ज्यादा हुन्छ । तर पुँजीवाद यस्तो रापतापयुक्त बहसको पक्षमा छैन । पुँजीपति वर्गको सत्ता र शक्तिलाई तलमाथि हुन नदिन, त्यस्तो मुद्दाकेन्द्रित बहस होइन बरु व्यक्तिकेन्द्रित समाधानमा, व्यक्तिको लडाइँमा यस्ता बहसहरूलाई खुम्च्याइने प्रयत्न गर्नेगर्छ ।

टेलिभिजन, पत्रपत्रिका, सामाजिक सञ्जाल विचारको बहसमा कम, व्यक्तिगत पक्षधरतामा ज्यादा सक्रिय हुन्छन् । यो पुँजीवादले जनताको आँखामा हालेको महत्त्वपूर्ण छारो हो । यसबाट नेपालको कम्युनिस्ट आन्दोलन पनि उम्किन सकेन । तसर्थ कम्युनिस्ट आन्दोलनमा विचार–सिद्धान्तको बहस निकै कमजोर बन्यो ।

विचारको बहस विश्वविद्यालयहरूमा समेत निकै कमजोर रह्यो । यो पुँजीवादी व्यवस्थाको विकल्प खोज्नेहरूले त्यस्तो वैकल्पिक ज्ञान र त्यो ज्ञान बोक्ने मान्छेको उत्पादन तथा पुनरुत्पादन गर्नुपर्ने हुन्थ्यो । कम्युनिस्ट पार्टीका नाममा वा आफूलाई कम्युनिस्ट भन्न रुचाउनेहरू नै विश्वविद्यालयका जिम्मेवारीमा गएता पनि त्यहाँ समाजवादको बहस भएन/छैन । पुँजीवादविरोधी आलोचनात्मक कक्षाहरू भएनन्/छैनन् । समाजका समस्या एकातिर छन्, विश्वविद्यालयका छलफल अर्कातिर । किन ? यहाँ पनि के पढाउने, केमा छलफल गराउने, कस्ता जनशक्तिको उत्पादन गर्ने, कस्ता थेसिसको पुनरुत्पादन गर्ने कुराको निर्क्योल नवउदारवादी चास्नीमा डुबेर आएकाहरूले नै तय गर्ने भए ।

समाजवादलाई कार्यक्रममा ढालेर त्यसमा आजैबाट काम गर्न सकिन्छ भन्ने छलफल थालौँ । व्यक्तिहरूले समाजवादलाई लक्ष्यका रूपमा मात्र बुझे, तर समाजवाद लक्ष्यमात्र होइन प्रक्रिया पनि हो ।

समाजवादी आन्दोलनलाई अगाडि बढाउन आवश्यक पर्ने ज्ञानको उत्पादन र त्यसको पुनरुत्पादन समेत नेपालको कम्युनिस्ट आन्दोलनले ध्यान पुर्‍याउन सकेन । कम्युनिस्ट आन्दोलनको वैचारिकी समाप्तिको यो पुँजीवादी प्रयत्नलाई प्रतिवाद गर्ने सवालमा कम्युनिस्ट पार्टीहरू छलफलमै प्रवेश गरेनन् । अर्कोतिर कतिपय कम्युनिस्ट पार्टीहरू हिजोकै व्याख्या विश्लेषणको रुढीमा अड्किए । कतिपयले मार्क्सवादी सङ्घर्षको पोयो नयाँ सन्दर्भमा फुकाउन सकेनन् ।

यी प्रतिनिधि विचार र प्रयत्नहरूको फेहरिस्तले के कथा कहन्छ भने नेपालमा कम्युनिस्टहरू विचारधारात्मक रूपमा यति कमजोर बने कि पुँजीवादले यसलाई विचारको मैदानमा काँचै चपाएर, पचाई दियो । होइन, पुँजीवादले हामीलाई, हाम्रो वैचारिकी, यत्न–प्रयत्न र सङ्घर्षमा चपाउन सक्दैन भन्ने स्तरमा हामीले के नै पो गरेका थियौँ र ? अनि उसले हामीलाई पचाई दिनु स्वाभाविक भएन र ? तयारी नगरी मैदानमा उत्रेपछि पछारिनु स्वाभाविक हो ।

यसरी हेर्दा नेपाली कम्युनिस्ट आन्दोलनमा पहिलो त विचारधारात्मक कामको अभाव छ । यसले गर्दा समकालीन पुँजीवाद बुझ्ने र यसविरुद्धको सङ्घर्षलाई प्रभावकारी गति दिन नेपालको कम्युनिस्ट आन्दोलन असमर्थ रह्यो । दोस्रो, श्रमजीवी वर्गसँग पनि टाढिँदै गएपछि वर्ग पक्षधरता कमजोर बन्यो । यसले, आर्थिक सामाजिक रूपान्तरणका एजेण्डा निर्माण र त्यसको कार्यान्वयनतर्फ जान प्रयत्न गरेन । तेस्रो, जसरी पनि सरकारमा रहनुपर्ने आग्रहका कारणले पुँजीवादी विश्व व्यवस्थाका विचार र संस्थानहरूसँग सामान्य सम्झौता होइन, आत्मसमर्पण गर्न पुग्यो यो आन्दोलन । मन्त्रालय, परियोजना र योजना आयोगमा वाम वा कम्युनिस्ट प्रतिनिधिका रूपमा पठाइएका अधिकांश मानिस नवउदारवादका प्रधानकर्ता भएर निस्के ।

चौथो कुरा, यी माथिको तीनवटाको प्रभाव सङ्गठन सञ्चालनमा पर्‍यो । पार्टी सङ्गठनभित्र लोकतन्त्र निकै कमजोर बन्यो । लोकतन्त्र बलियो हुँदा पार्टी कमिटी बलियो हुन्छ तर, यहाँ कमिटी होइन नेता बलिया बने प्रत्येक कम्युनिस्ट पाटीमा । प्रतिस्पर्धीलाई आवश्यक परे सदस्यता नै खाइदिने । निक्लेर जा भन्ने । धम्क्याउने, हप्काउने र पार्टीलाई निजी कम्पनी जसरी चलाउने कार्यशैलीलाई कसरी कम्युनिस्ट आन्दोलनबाट हुर्किएको चेतना भन्न सकिन्छ ?

कार्यकर्तामा पनि आलोचनात्मक चेत होइन, ‘बोस इज अल्वेज राइट’ भन्ने मान्यता संस्कारमा विकसित हुन थाल्यो । पुँजीवादी कर्पोरेट हाउस र पार्टी उस्तै भए । बैठक, भेलाहरू थपडी बजाउने समारोहमा परिणत भए । विचारधारात्मक काम कमजोर भएपछि हुने यस्तै त हो ।

यसरी गणतन्त्र आइसकेपछि त्यसले मान्छेको जिन्दगीमा दिनुपर्ने सजिलोपन, खुलापन, स्वतन्त्रता, शिक्षा, स्वास्थ्य र सुरक्षाका विषयमा पुँजीवादले पारेको प्रभावलाई निस्तेज गर्न कस्तो तयारी गर्ने भन्ने कुरामै अलमल भयो । जसले गर्दा न्यायपूर्ण र सजिलो जिन्दगीको खोजीमा रहेको बहुसङ्ख्यक जनता पुँजीवादको कोपभाजनमा त परे नै, तर यसको सामना गर्न उत्प्रेरित गर्ने अगुवाको समेत अभाव भोग्न बाध्य भए । यस्तो परिस्थितिमा मुक्तिको सपना बोकेका जो–कोही कम्पासविनाका यात्री बन्न पुगे । अनि सिङ्गो समाजले, राजनीतिले बाटो बिराउँदै गयो ।

  • हामी पुँजीवादको कुन तहमा छौँ त ?

जनवादी क्रान्ति पछाडि समाजवादी क्रान्तिका लागि श्रमजीवी वर्गको नेतृत्वलाई विशेष ध्यान दिनुपर्ने कुरामा पुष्पलाल निकै सचेत हुनुहुन्थ्यो । जर्मनीमा त्यहाँको समाजवादी पार्टी श्रमजीवी वर्गको नियन्त्रणमा नभएर पुँजीपति वर्गको पिछलग्गु बनेको कुरामा मार्क्स एंगेल्सको आलोचनालाई पुष्पलालले गहिरोसँग आत्मसाथ गर्नुभएको थियो । तसर्थ क्रान्तिपछि पुँजीवाद हाबी नहोस्, नत्र जनता अर्को डरलाग्दो शोषणको शृङ्खलामा पर्छन् भन्ने वहाँको जोड थियो । मदन भण्डारीको पनि बरु राजा रहने वा नरहने कुरा एउटा होला तर साम्राज्यवाद तथा दलाल नोकरशाही पुँजीवादको शोषण रहेसम्म जनताको जीवनमा खुसीयाली आउँदैन भन्ने भनाइ थियो ।

तर, गणतन्त्र प्राप्तिपछि पुँजीवाद नियन्त्रण गर्ने र समाजवादी प्रयत्नहरूको थालनी गर्नुका साटो, नेपालको कम्युनिस्ट आन्दोलनले क्रान्ति कहाँ गएर अडियो, नेपाली समाज कहाँ पुग्यो भन्ने कुराको ठिक निष्कर्ष निकाल्न सकेन । पछिल्लो परिवर्तनले नेपाली समाजमा कस्तो खाले आर्थिक सामाजिक परिस्थितिको निर्माण गर्‍यो ? अब हामी कता जाने हो ? र, त्यसका लागि कस्तो वैचारिकी चाहिन्छ भन्ने कुराको विमर्शमा छिर्दै छिरेन ।

लामो समय नेपालको कम्युनिस्ट आन्दोलनले नेपाली समाजलाई अर्धसामन्ती, अर्ध–औपनिवेशिक भनेर व्याख्या गरिरह्यो । अझै पनि कसैले यस्तै व्याख्या गर्छन्, कतिपयले हामी प्रारम्भिक पुँजीवादी व्यवस्थामा छौँ भन्छन् । यो बुझ्न सक्दैनन् कि हामी प्रारम्भिक होइन, आजको विश्व पुँजीवादमा छौँ । आजको विश्व पुँजीवाद वित्तीय पुँजीवाद हो । यसले कतै समृद्धि त कतै बरबादी दिन्छ ।

सबैलाई समृद्धि, सबैलाई विकास यो विश्व व्यवस्थामा अथवा भन्नुस् पुँजीवादमा सम्भव नै छैन । साम्राज्यवाद भनेकै एकहिसाबमा असन्तुलित असमान विकासको प्रणाली हो, जसले एकातिर गरिबी असमानता बेरोजगारी रोग भोक थोपरेर निश्चित भूगोल र मान्छेमा समृद्धि र धनको सञ्चय गर्छ । यो प्रणाली रक्षाका लागि भ्रममा पार्ने, फकाउने, धम्क्याउने, आक्रमण गर्ने, युद्ध गर्ने, मिडिया, विद्यालय विश्वविद्यालय, सिनेमा, साहित्य संस्कृति सबैतिरबाट चौतर्फी आक्रमण गर्छ । यसरी समाज पुँजीवादी बनिसक्यो, लडाइँको निशाना पुँजीवादलाई बनाउनुपर्ने भइसक्यो तर आन्दोलनले यसलाई राम्रोसँग बुझ्न नसक्दा त्यतापट्टि ध्यानै दिन सकेन ।

यसैले गर्दा नेपाली पुँजीवादको चरित्र कस्तो हो भन्ने नै सही निष्कर्ष निकाल्नु पर्नेछ । हामीले आजको पुँजीवादको चरित्र, यसका शोषणका हजार फणाहरू तथा नेपाली जनजीविका र नेपाली अर्थतन्त्रसम्म त्यो कसरी आइपुग्छ भन्नेबारे नै मिहिन व्याख्या गर्नु पर्नेछ । किनभने रतन्धोग्रस्त दृष्टिले भविष्यको बाटो कोर्न सहज छैन ।

यहाँ समाजवादबारे पनि यत्तिकै भ्रम रह्यो । कम्युनिस्ट पार्टीभित्र समाजवादलाई आदर्श शब्दका रूपमा प्रस्तुत त गरियो तर त्यसमा मसिनो गरी कहीँबाट पनि काम गरिएन । समाजवादलाई कार्यक्रममा ढालेर आजैबाट त्यसमा काम गर्न सकिन्छ भन्ने कुराको छलफल नै हुन सकेन । मान्छेले समाजवादलाई एउटा लक्ष्यका रूपमा मात्र बुझे, तर समाजवाद लक्ष्यमात्र होइन यो प्रक्रिया पनि हो । सङ्घर्षहरूमार्फत, प्रयत्नहरूमा आजैबाट समाजवाद प्रक्रियाका रूपमा थालनी गर्नुपर्ने कुरा हो । तर नेपालको कम्युनिस्ट आन्दोलन यता गहिरिएर लागेन, बरु, सामन्ती अवशेषसँग लड्ने, अहिलेकै व्यवस्थालाई सुदृढ गर्ने, समृद्धि ल्याउने र विकास गर्ने जस्ता पुँजीवादी भाष्यमा अलमलियो ।

वर्गसङ्घर्षलाई उल्लेखित क्षेत्रमा संगठीत गर्ने पहलकदमीमार्फत नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनर्जागृत गर्न सकिन्छ ।

मुख्य कुरा त सङ्घर्षलाई जति गहिरो बनायो, त्यति बौद्धिक विकास हुन्छ । सङ्घर्ष पुँजीवादसँग गर्नुपर्ने थियो । त्यो नै ठम्याउन नसकेपछि सङ्घर्ष बाटोमै कतै बरालिन पुग्यो । सङ्घर्ष नभएपछि ज्ञान निर्माणको प्रक्रिया पनि अवरुद्ध भयो । मार्क्सको चर्चित भनाइ छ– दार्शनिकहरूले व्याख्या त खुबै गरे तर मुख्य कुरा समाज बदल्नु हो । उनले यो नबुझी बदल्न लाग भनेर पक्कै भनेका थिएनन् । जो बदल्न लाग्छ उसैले बुझ्छ, जसले बुझ्छ, उसले राम्ररी बदल्छ भनिएको हो ।

मार्क्सको मुख्य योगदान नै बुझ्ने कुरालाई बदल्ने प्रयत्नसँग गाँस्नु थियो । हामीकहाँ के बदल्ने भन्नका लागि जे बुझ्नुपर्थ्यो त्यसमै कमी रह्यो । अर्थात् पुँजीवाद बुझ्ने सन्दर्भमा हाम्रो पर्याप्त ध्यान गएन ।

  • पुनर्जागरणको बाटो

दक्षिणपन्थसँग समाजलाई मानवीय तथा पर्यावरणमाथि थोपरिदिएको सङ्कटबाट समाधान दिने बाटो छैन । त्यसले पुँजीवादको नै सेवा गर्ने भएकाले सुशासन र रोजगारीका लागि काम गर्नु, गरिबीको रेखामुनि वा माथि नै रहेका किन नहोउन्, बहुसङ्ख्यक गरिखाने वर्गको पक्षमा उसको प्राथमिकता नै पर्दैन । पुँजीवाद फेरि पनि १ प्रतिशतमा धन थुप्रिने तर बहुसङ्ख्यक मानिसहरू भने आफ्नो थातथलोबाट निस्कनुपर्ने, अप्ठ्यारोमा पर्नुपर्ने रित जारी नै राख्न लागि नै रहन्छ ।

यसले वर्गसङ्घर्षमा मुठ्ठीभरकै मानिसहरूको सत्तालाई बलियो बनाउन नयाँ–नयाँ मान्छे र नामबाट प्रविधि, मिडिया र साम्राज्यवादको सबै ज्याबलहरूको प्रयोग गर्छ । यी सबै कुरालाई ध्यानमा राखेर कम्युनिस्ट आन्दोलनले चार प्रमुख तयारी गर्नुपर्ने हुन्छ ।

पहिलो, विचारधारात्मक तयारी । माथि पनि भनियो बदल्नका लागि पहिलो सर्त बुझ्ने प्रक्रियामा छिर्नु हो । यसको पहिलो काम आजको विश्व पुँजीवादको गति र दिशालाई राम्रोसँग बुझ्नु हो । पुँजीवादी संरचनाले ल्याएका समस्याहरूलाई निश्चित नेताको नैतिकता र चाहानाका कारणले भएन भन्ने दोष दिएर, गालीगलौजमा उत्रनुको सट्टा कुनै पनि समस्यालाई संरचनामा बुझ्न सक्ने ल्याकतको विकास गर्नुपर्नेछ ।

लेनिन भन्छन्– क्रान्तिकारी पार्टीको महत्त्वपूर्ण काम कार्यकर्ता र वर्गलाई ‘ट्रेड युनियन’ चेतनाबाट ‘समाजवादी’ चेतनामा स्तरोन्नति गर्नु हो । यो भनेको हरेक समस्यालाई पुँजीवादको संरचनामा, अलि ठुलो ‘क्यानभास’ मा हेर्न सक्ने, बुझ्न सक्ने चेतनाको विकास गर्नु भनेको हो । अर्थात् यो विचारधारात्मक तयारीको अनिवार्य आधार हो । तसर्थ समकालीन पुँजीवादलाई बहुआयामिक हिसाबले बुझ्नु, यसले वर्ग चेतनामा, पार्टीमा र रूपान्तरणका एजेण्डामा ल्याएका बदलावहरू बुझेर क्रान्तिको तयारी गर्नु, आवधिक रूपमा यसको समीक्षा गर्नु र पुनरावलोकन गर्नु र क्रान्ति कै दौरानमा सच्याउँदै हिँड्ने प्रक्रियालाई सुनिश्चित गर्नु विचारधारात्मक तयारी अन्तरगतको महत्त्वपूर्ण काम हो ।

दोस्रो, साङ्गठनिक तयारी । यो बुझ्ने प्रक्रियामा प्रवेश गरेका मानिसहरूको गतिशील सङ्गठन विकास गर्ने । ज्ञान, सङ्घर्ष र विधिले निर्देशित सङ्गठनको विकास गर्ने । हरेक सङ्गठित मान्छे बुझ्ने र बदल्ने प्रक्रियामा सामेल हुने कुराको सुनिश्चितता गर्ने । सामूहिकता र वर्गपक्षधरतालाई बलियो गरि समात्ने सङ्गठन निर्माण गर्ने । कुनै पनि व्यक्ति, कमिटी वा नेतामा कमजोरी देखिए त्यसलाई समेत करेक्सन गर्न सक्ने सामूहिक सामर्थ्य बलियो भएको सङ्गठन जरुरी छ । जहाँ व्यक्ति होइन समूह बलियो हुन्छ ।

त्यस्तो सङ्गठन, जहाँ फराकिलो लोकतन्त्रको अभ्यास हुन्छ । किसानको सङ्गठनमा किसान नै होस्, विद्यार्थीको सङ्गठनमा विद्यार्थी नै होस्, मजदुरको सङ्गठनमा मजदुर नै होस्, यस्तो साङ्गठनिक तयारीले विभिन्न सामाजिक आन्दोलनलाई सङ्गठित गर्ने निरन्तर पहल गर्नेछ । स्वभावतः यसले पुँजीवाद अनुकूलको एउटा ब्युरोक्रेटीक, आदेशात्मक, सङ्गठनात्मक कार्यशैलीको ठाउँमा गतिशील लोकतान्त्रिक साङ्गठनिक कार्यशैली विस्तार हुन्छ । यसले समूहमा सङ्गठनको र सङ्गठनमा समूहको पकड बलियो हुन्छ ।

तेस्रो, कार्यक्रमिक तयारी । आजको पुँजीवादसँग लड्ने कार्यक्रमहरूको निर्माण गर्नुपर्नेछ । शिक्षा, स्वास्थ्य, आवास, ऊर्जा, सूचना प्रविधि, खानेपानी, लगायत सार्वजनिक सेवाका क्षेत्र कस्तो बनाउने, साना मझौला व्यवसाय र उद्यमलाई कसरी हेर्ने, कृषि कस्तो बनाउने, भूमिलाई कसरी व्यवस्थित गर्ने भन्नेबारेको आफ्नो प्रस्ट कार्यक्रम बनाउनुपर्नेछ । सार्वजनिक, निजी र सहकारी जस्ता क्षेत्रहरूलाई कसरी व्यवस्थित गर्ने ? राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी र ऋणबारे हामी कसरी सोच्छौ ? सबैलाई सबैमा खुला गरोस् यो नवउदारवादको चाहाना हो, किनकि निजी र सार्वजनिक क्षेत्र संरक्षणविना हुर्कन सक्दैन ।

तसर्थ समाजवादी प्रयत्नले यसको ठिक र फरक ढङ्गले व्यवस्थापन गर्नुपर्ने हुन्छ । कस्ता क्षेत्रमा साम्राज्यवादको ज्यादा चासो र हमला हुन्छ, कस्ता क्षेत्र हामी आफ्नै योजनामा अघि बढाउन सक्छौँ ? हामीलाई कस्तो जनशक्ति, कस्तो पाठ्यक्रम यी सबै विषयमा तयारी आवश्यक छ । कस्तो भूराजनीतिक संरचना समाजवादी सङ्घर्षका लागि आवश्यक छ, दक्षिण विश्वबारे हामी कस्तो भूमिका निर्वाह गर्ने, कस्तो राष्ट्रिय अन्तर्राष्ट्रिय सम्बन्ध र कार्यक्रम आवश्यक छ भन्ने बारे प्रष्टता जरुरी छ ।

यसरी आर्थिक सामाजिक सांस्कृतिक कार्यक्रम र अन्तर्राष्ट्रिय सम्बन्धबारे ठोस तयारी जरुरी रहन्छ । त्यसको समुचित प्रचार गर्ने, जनस्तरमा यसलाई स्थापित गर्ने, विकसित परिस्थितिमा त्यसलाई आवश्यकता अनुसार पुनरावलोकन गर्ने कार्यक्रमिक तयारी जरुरी रहन्छ ।

चौथो, जनपरिचालनको तयारी । श्रमजीवी पक्षधर विचारधारा र कार्यक्रमलाई रक्षा गर्ने मात्र होइन, कम्युनिस्ट पार्टीको सङ्गठन र राजनीतिक नेतृत्वलाई समेत वर्ग पक्षधर विचार र कार्यक्रमको निष्ठालाई जगेर्ना गर्न जनपरिचालनको तयारी । ताकि कम्युनिस्ट पार्टी निर्वाचनदेखि निर्वाचनको गोलचक्करमा नफसोस् । पुँजीवादविरोधी सङ्घर्षमा व्यापक जनसमर्थन निरन्तर विस्तार होस् ।

पार्टी र जनता (वर्ग) छुट्टाछुट्टै दस्ताका रूपमा नभएर एउटै शक्तिका रूपमा एकीकृत रूपमा सुसूचित र परिचालित हुने प्रक्रियालाई जीवन्त बनाउनुपर्नेछ । समाजको सामूहिकतामाथि पुँजीवादले सकेसम्म आक्रमण गर्छ । एउटामाथिको अत्याचारमा अर्कोलाई चुप गराउने, बेवास्ता र लापरवाह गर्ने पुँजीवादी प्रयत्नलाई जनपरिचालनमार्फत ऐक्यबद्धता र सामूहिकताको विकास गर्न कम्युनिस्ट आन्दोलन निरन्तर प्रयत्नशील हुनुपर्छ । यसका लागि सामाजिक राजनीतिक आन्दोलनमा जनपरिचालनलाई उच्च महत्वका साथ सञ्चालन गर्नुपर्छ ।

यी कुराहरू नै पर्याप्त र पूर्ण भने होइनन् । सङ्घर्षकै दौरानमा क्रान्तिले आवश्यकता र पूर्णता प्राप्त गर्दै पनि जान्छ । तर वर्गसङ्घर्षलाई उल्लेखित क्षेत्रमा सङ्गठित गर्ने पहलकदमीमार्फत नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनर्जागरण गर्न सकिन्छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अशेष घिमिरे
अशेष घिमिरे
लेखकबाट थप