शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय
एसईई नतिजा

अघिल्लो वर्षको तुलनामा यो वर्षको एसईई नतिजामा सुधार देखियो

सोमबार, २८ वैशाख २०८३, २१ : ४३
सोमबार, २८ वैशाख २०८३

सारांश

  • राष्ट्रिय परीक्षा बोर्डले २०८२ सालको एसईई नतिजा घोषणा गरेको छ, जसमा अघिल्लो वर्षको तुलनामा सुधार देखिएको छ ।
  • यस वर्ष नियमिततर्फ सहभागी परीक्षार्थीमध्ये ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्, जुन अघिल्लो वर्षको ६१.८१ प्रतिशतभन्दा ४.१७ प्रतिशत बिन्दुले बढी हो ।
  • यसअघि २०८० सालको एसईईमा ४७.८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका थिए, तर लगातार दोस्रो वर्ष नतिजामा सुधार आएको छ ।

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सोमबार राति घोषणा गरेको छ । प्राप्त तथ्यांक केलाउँदाअघिल्लो वर्षको तुलनामा नतिजामा सुधार देखिएको छ ।

परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार नियमिततर्फ सहभागी परीक्षार्थीमध्ये ६५.९८ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’ अर्थात् उत्तीर्ण भएका छन् । उनका अनुसार  यस वर्ष देशभरबाट चार लाख ३० हजार ६६७ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । जसमध्ये दुई लाख ८४ हजार १६० जनाले विभिन्न ग्रेड प्राप्त गरेका हुन् भने एक लाख ४६ हजार ५०७ जना ‘नन–ग्रेडेड’ (एनजी) मा परेका छन् ।

यसअघि २०८१ सालको एसईई नतिजामा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । यस वर्ष उक्त प्रतिशत बढेर ६५.९८ पुगेको हो । अघिल्लो वर्षको तुलनामा यस वर्ष ४.१७ प्रतिशत बिन्दुले नतिजामा सुधार आएको देखिएको छ ।

त्यसअघि २०८० सालको एसईईमा भने ४७.८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका थिए भने ५२.१४ प्रतिशत विद्यार्थी एनजीमा परेका थिए । लगातार दोस्रो वर्ष पनि नतिजामा सुधार देखिएपछि शैक्षिक क्षेत्रमा सकारात्मक संकेत देखिएको छ ।

सार्वजनिक नतिजाअनुसार ३।६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या ४८ हजार ३९२ रहेको छ । त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउने ८० हजार ३७२, २.८ देखि ३.२ जीपीए ल्याउने ९४ हजार २२२ र २.४ देखि २.८ जीपीए ल्याउने ५५ हजार ९७७ विद्यार्थी रहेका छन् ।

यस्तै २ देखि २.४ जीपीए ल्याउने पाँच हजार १९० विद्यार्थी रहेका छन् भने १ देखि २ जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या सात रहेको बोर्डले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप